भूमिरमणको बस्ने खाने र आराम गर्ने पनि ठेगान हुँदैनथ्यो । अहिले बसाहा भएका मान्छे, एक घण्टामा ढोलाको कुनै सामुदायिक वनमा हुन्थे । बिहान गुम्दी छेलाङ् सामुदायिक वनमा भेटिएका भूमि दिउँसो सलाङ ठूलो वनको कुरा सुन्न आइपुग्थे ।
कुनै बेला भूमिरमणको बस्ने खाने र आराम गर्ने पनि ठेगान हुँदैनथ्यो । अहिले बसाहा भएका मान्छे एक घण्टामा ढोलाको कुनै सामुदायिक वनमा हुन्थे । बिहान गुम्दी छेलाङ् सामुदायिक वनमा भेटिएका भूमि दिउँसो सलाङ ठूलो वनको कुरा सुन्न आइपुग्थे ।
उनीसँग सामुदायिक वनका उपभोक्ताहरूका हजारौँ गुनासोहरू थिए । जिल्ला वन कार्यालयका प्राविधिकहरूका अनेक दुखेसोका पोका पुन्तुराहरू पनि थिए । तस्करले रात-विरात वन फाँडेका र त्यहाँ बिना सुरक्षा खट्नु परेका कहरहरू थिए ।
तर उनी को थिए ? यो सबैका हतभागिता बुझ्ने ? सबैका गुनासाहरू सुनिदिनु पर्ने उनी को हुन् त ? आफैँलाई पो थाहा थिएन । किन उनी सग्ला रुख कसैले काट्दा आफ्नै गोडा काटिए जस्तै धुरुधुरु रुन्छन् ? किन वनमा डढेलो लाग्दा ज्यान माया मारेर निभाउन उद्द्वत हुन्छन् ? उनैलाई थाहा छैन । आखिर उनी को हुन ? र, उनलाई
यी सबै प्रेरणा कहाँ बाट मिलिरहेको छ त ? हर प्रश्नहरू निरुत्तर छन् । उनी जो हुन् र जे हुन्, त्यही भूमिरमण नेपाल नै हुन् । बसाहाका सर्वसाधारण किसान, जो वन र वातावरण संरक्षणमा पर्याय बनेर खटिरहेका छन् । यो कतैको कर, बल र छल नभएर उनकै अन्तर प्रेरणाको उपज हो ।
हरेक व्यक्तिसँग केही न केही रुची, लगाव, दिनचर्या र जीवनपद्दति हुन्छ नै । मान्छे रुचीले बाँच्छ । इच्छाले सेवा गर्छ । लगावले सफल, असफल हुन्छ अनि दिनचर्या भित्र आयूका समग्रता व्यतित गर्दछ । हरेकका यिनै लगाव, रुची, अभ्यास वा कार्यप्रणालीकै कारण हामी विशेषण लगाई दिन्छौँ वा पगरी झुण्याई दिन्छौँ– नेता, कवि, अभियन्ता, समाजसेवी र अरू अरू ।
एकै किसिमका रुची र इच्छाले मान्छे स्थापित बन्नै सक्दैन । फरक स्वभाव र रुचीकै कारण हाम्रो हेर्ने दृष्टिकोण सपाट हुन्छ र सबैको नजर पर्छ पनि । नीलकण्ठ नगरपालिका साँखुमा जन्मिएका भूमिरमण नेपालको नाउँ जसले जुराएका भए पनि ती भविष्यदृष्टा नै हुन् भन्दा हुन्छ । उनले नेपालका करीब ६५ जिल्लाको भूमि रमण गरिसकेका छन् । त्यो पनि सामुदायिक वन संरक्षणकै लागि र आफ्नै खर्चमा ।
नीलकण्ठ नगरपालिका साँखुमा उनी २०१३ साल श्रावण ६ गते जन्मिएका हुन् । उनका मामा अदालतमा राम्रै प्रभाव पार्न सक्ने जागिरे भएकाले भाञ्जाको लागि सानै पदमा भए पनि जागिर मिल्यो । उनी लेक-लेकमा म्याद तामेलीका लागि जानुपर्दथ्यो । लेक-लेकमा उत्तिस, सल्ला आदिका काठहरू सोत्तर बनाएर काटिएका हुन्थे र त्यसका फलेक बनाएर घर छाइएका हुन्थे । त्यसरी काटिएका रुखहरू देखेर उनको मन कटक्क खान्थ्यो । म्याद तामेलीकै सन्दर्भमा गाउँ-गाउँ पुग्दा उनलाई महिलाहरूले खानेपानी नभएकै कारण बास नबसिदिए हुन्थ्यो झैँ गरेका प्रशस्त सम्झनाहरू छन् । पँधेरामा पानी सुकेका र कुवाहरूमा कम भएकै कारणले बालबालिका दिनभर पानीको पालो कुर्नु पर्नाले पढाई छोड्नु परेका प्रशस्त उदाहरण पनि देखेका छन् । त्यसैले उनी पर्यावरण संरक्षण र खास गरी विरुवा रोपणको महाअभियानमा होमिए ।
‘खिर्रै होस्, बाङ्गै होस् तर नाङ्गो नरहोस्’
नेपालीमा उखान नै छ, ‘फिस्टोले ज्यान दिन सक्छ तर कसैलाई सन्तुष्ट बनाउन सक्दैन ।’ आजकाल नेपाली सामुदायिक वनका अभियन्ता भूमिरमण नेपाल यस्तै अनुभव गर्दै होलान् । एक समय थियो –अदालतमा जागिर थियो, नियमितरूपमा थोरै भए पनि आम्दानी थियो । त्यसैले इनामेल, ब्रस र डायरीहरू, मायन्युट बुकहरू किनेर डाँडाकाडा दगुर्थे ढुङ्गा-ढुङ्गामा नाराहरू लेख्थे,
‘खिर्रै होस्, बाङ्गै होस् तर नाङ्गो नरहोस् ।’
‘नाङ्गा डाँडा र पाखाहरूतिर हेरौँ र सोचौँ भविष्यका लागि वन कहाँ छ ?’
उनी यस्तै-यस्तै नाराहरू एक्लै-एक्लै भएको बेला लेख्थे । समुदायलाई जिज्ञासा हुन्थ्यो । यो कसले लेखेको होला ? हामीलाई नै हुने कुरा नै पो लेखेको छ त ? उनी पानीको मूल सुकेका, धारा पँधेरामा पानी कम भएका इलाकामा पनि पुग्थे र भन्थे, ‘हाम्रै कारणले पानी सुकेको छ नि । पहिला माथि जङ्गल भएको बेला त यहाँ पानी प्रशस्त थियो होला हैन र ?’
उनी अलि बुझ्न खोज्नेहरूलाई एक्लै-एक्लै भेट्थे र सम्झाउँथे । तिनै व्यक्तिहरू मार्फत् समुदायलाई बटुल्थे । बैठक र भेलामा उनी भाषण त गर्न जान्दैनथे तर एक्ला-एक्लै सम्झाए जस्तै गरेर बुझाउँथे । उनको त्यो कर्मको शिलशिला निकै बढ्यो ।
भूमिरमणको काम अदालतको म्याद तामेलीको थियो । सानो तहको जागिर र घरायसी अवस्था उस्तो राम्रो नभए पनि संरक्षणमा होमिई रहे । उनी मन देखि नै वनसंरक्षणमा प्रतिबद्ध भएर लागेका थिए । उनले अदालत बाट पाउने तलब हिँड्दा-हिँड्दै सकेका हुन्थे । सामुदायिक वन उपभोक्ता समिति बनाउने, भेला बोलाउने, भेलामा खाजा खुवाउने गर्दा-गर्दै तलब सकिन्थो । बैठक भेलामा जानका लागि घरमा परिवार बिमार छन् भनेर छलेर जान्थे भने उता घरमा अड्डाको काम छ भनेर निस्कन्थे । यस्तो लाग्थ्यो कि उनको जीवनको मूल अभीष्ट नै पर्यावरण संरक्षण मात्र थियो ।
उनको अड्डा झगडियाहरू जम्मा हुने र मुद्दा मामिला गर्नेहरूले भरिने ठाउँ हो । त्यहाँ फिराद लिएर आउने दुवै पक्षलाई सम्झाएर वन संरक्षमा लाग्न सल्लाह दिन्थे । कतिपय अवस्थामा उनले दुवै झगडियाहरूलाई सम्झाई बुझाई गरेर बिरुवा बोकाएर पनि पठाएका छन् । दुवैलाई सामुदायिक वन संरक्षण समूहको कार्यसमितिमा राखेर काम पनि लगाएका छन् । मिलापत्रका लागि सज्जन, इमान्दार र कर्मशील कर्मचारी भएकाले उनलाई ‘एक नम्बरी डोर’ भन्ने नाम दिइएको थियो ।
उनको शालीनता र सज्जनपनाको फाइदा उठाएर २०३६ पछाडि केही हाकिमले ‘तँ त वनको प्रोजेक्टको पैसा खाएर हिँड्छस्, तँलाई के को तलब?’ भनेर खाली कागजमा दस्तखत पनि गराएर आफूले खाएका पनि छन् । उनी भने संरक्षण कर्ममा दख्खल नदिए ‘पैसा खाए पनि खाऊन्’ भन्ने ध्येयले उनी काम गर्दै रहे ।
आफ्नो तलब अरुले खाए पछि नाङ्गै बनेका भूमिरमणको जीवनचर्या दयानीय बन्दै गयो । त्यतिबेला उनी धुँवाकोटका भक्तबहादुर गुरुङ, बसाहाका टेकबहादुर सामरी, खाल्टे-७ का रिलबहादुर गुरुङले दिएका चन्दाको भरमा पेट भरेर बाँच्नुपर्ने अवस्थामा पुगे । ती सज्जनहरू नभएका भए उनको त्यतिबेला नै घरखेत बेच्नुपर्ने अवस्था थियो ।
२०४५ सालमा भूमिरमणको जनसम्पर्क व्यापक भयो । सुदूर उत्तरी धादिङको लापा खादिङ देखि दक्षिणतर्फ जीवनपुर सम्म र रि तावल देखि जोगिमारा सम्म झण्डै एकसय सामुदायिक वन संरक्षण समुहहरू उनले बनाई सकेका थिए । त्यतिबेला संगठित वन समुह बनाएका आहाले छिरिङ्गे वन, भुसुण्डे पाखा वन, डुँडेपाखा वन नेपालकै नमुना वन क्षेत्र हुन् ।
सामुदायिक वन संरक्षणमा स्वस्फूर्त र स्वयमसेवी तवर बाट लाग्न थाले पछि अदालतमा उनलाई भेट्न आउनेहरूको लस्कर हेर्न लायक हुन्थ्यो र त्यो जनचासो तथा सम्मान देखेर भूमिलाई भूमिगत कार्यकर्ताको आरोप लगाएर कारवाही गर्न समेत अदालतका हाकिमहरू तयार भए । उनको तलब रोक्का मात्रै गरी दिएनन्, नुवाकोटमा सरुवा समेत पनि गरिदिए । देश र समाजको काम गर्दा पनि निर्दोष दण्डित हुनुपर्ने नियतिका वविरुद्ध बोल्ने उति बेला कोही थिएनन् ।
नुवाकोट अदालतमा सरुवा भए पछि पनि उनलाई जागिर र वन सँगसँगै लैजाने अवसर मिल्यो । त्यहाँ पनि नाङ्गा पाखाहरू र त्यहाँका छिमेकी गाउँहरूलाई समेटेर सामुदायिक वन बनाउने अभियान चलाइरहे । तारुका, बुधंसिंह, दाङ्सिङ्, ढिकुरी, मदानपुर आदि क्षेत्रमा पचासौँ समुहहरूलाई उनले संगठित तथा संरक्षित गर्दै गतिविधि तीब्र बनाए । नुवाकोट रहँदा उनलाई प्रतिबन्धित काँग्रेस पार्टीको आरोप लगाएर दण्ड स्वरूप फेरि सरुवा गरियो ।
भूमिरमणले वन पाल्ने अभियान मात्र आरम्भ गरेका होइनन् कि सामुदायिक वनको रूपमा गाउँलेले पालेका वनलाई स्थानीय उपभोक्ताहरूलाई नै अधिकार सुम्पनु पर्छ भन्ने पैरवी पनि गर्न थालेका थिए । उनले यसरी वन र उपभोक्ताको पक्षमा पैरवी गर्दा प्रहरीमा उजुरी गर्ने त्राश पनि दिएका थिए । वन जनताकै अधीनमा हुनुपर्छ । वन जोगाउने पनि जनता हुन् र यसको योजनाबद्ध उपभोग पनि उनीहरूले नै गर्न पाउनु पर्छ भन्ने उनको माग थियो । उनको अभियान र मागलाई सुने पछि सबै सशंकित हुन्थे । कसैले उनलाई भूमिगत कुनै पार्टीको कार्यकर्ता हो कि भन्ने आरोप पनि लगाएका थिए ।
२०४३ सालमा उनलाई अकस्मात् ‘जराजुरी पुरस्कार’ प्राप्त भयो । पुरस्कार प्राप्त भएको खबर रेडियो नेपालले प्रमुखता साथ देशभर फिँजाए, पछि बल्ल उनलाई उच्च सम्मानका साथ कदर गर्न थालियो । भूमिरमणलाई अब भने ‘सिंगो सम्पदा’ नै हुन् भनेर मान्नेहरू पनि निस्किए । त्यसैले उनलाई जिल्ला वन कार्यालयमा सरुवा गर्नुपर्छ भन्ने तर्क पनि बलियो बन्न थाल्यो ।
उनी र उनी जस्तै अभियन्ताहरूको प्रयासले देशमा सामुदायिक वनको जागरण र संरक्षणमा युध्दस्तरका प्रयासहरू भए पनि नियमावलीहरू आइसकेको थिएनन् । २०३८ साल देखिको अभियान २०५१ साल सम्म पनि मूर्त आकार पाएको थिएन । उनले आफू जस्तै उपभोक्ताहरूको जुलुस लिएर सिंहदरबार घेराउ सम्म गरेका छन् ।
‘आफ्नै हात काट्न मञ्जुर छ’ भन्ने तमसुक
२०४९ पुष २७ गते भूमिरमण नेपालले आफ्नै हात काटिने सजाय भोग्न मञ्जुर गरेको तमसुकमा सही छाप गरेका थिए । ‘दुवै हात काट्न मञ्जुर छु र त्यसका लागि कही कतै उजुरबाजुर गर्ने छैन’ भनेर कबोल पनि गरेका थिए । रक्सी, भट्टीले वन मासे पछि दैलेखको लाँकुरी गाउँमा पानीको मूल सुकेको थियो । गाईवस्तुका लागि घाँसपात कथा जस्तै भएको थियो । दाउरा काट्न त एक दिन पर पुग्नु पर्ने बाध्यता थियो । त्यसैले गाउँमा आफैँ सचेतता आएर वन जोगाउनु एकजुट भएका थिए र आफ्नो वनलाई गाउँलेहरूले छोराछोरीलाई जस्तै माया गरेका थिए । लौरो पालो लगाएर वन कुर्ने पनि चलन छँदै थियो । दैलेखको लाँकुरी वनको कुरा भूमिले वातावरण भित्ते पत्रिका र अन्य माध्यम बाट पनि सुनेका थिए ।
आफूले पनि वन अभियानमा लागेर जीवन समर्पण गरिरहेको मान्छे, उनीहरूले के फरक गरेका रहेछन् त भन्ने हुटहुटीले भूमिरमणलाई त्यहाँ पुर्यायो । उनी दैलेखको लाँकुरी वन पुगे, मनमोहक वनको सौन्दर्यमा लाडिए, घुमी घुमी फोटो खिचे र प्रकृतिको प्यारमा भोक तिर्खा भुलेर दिन बिताए । दिनभर वन जंगलमा हराए पनि रात त्यहाँ बिताउन सकिँदैन त्यसैले बास खोज्दै गाउँ पसे ।
जब उनी गाउँ पसे एक दुई जना गर्दै मान्छेहरू जम्मा हुन थाले, कहाँ बाट आएको ? किन आएको ? कसले पठाएको ? हाम्रो वनको फोटो किन खिचेको ? आदि-आदि अनेक प्रश्नका वर्षाले उनी थिच्चिए । कहाँ-कहाँ धादिङे देखि दैलेख सम्म वन हेर्न मात्र आएको कुरा मान्न उनीहरू तयार भएनन् । कही कतैको जासुस हुन् भन्ने शंका गरिरहे । मध्यरात भइसक्यो उनी बोलिरहे सफाइ दिइरहे अँहँ कसैले मानेन् र पत्याएनन् । उनलाई कारबाही गर्नुपर्छ नै भन्ने निचोडमा पुगे । रात छिप्पिँदै गयो, मान्छेहरू अनेक तर्क वितर्कहरू गर्दै गए । उनलाई गाली गर्नेहरू र अत्याउनेहरू थपिँदै गए ।
रातको १२ बजे पछि त्यहाँका एकजनाले फैसला सुनाए कि अनुमति नलिईकन हाम्रो वनमा पस्ने र फोटो खिच्ने यसका दुबै हात काट्नुपर्छ । अन्त्यमा, उनले दुबै हात गुमाउनु पर्ने भो । आफ्नो वनमा अनुमति नलिई आएर फोटो खिचेको र वन घुमेकोमा दुबै हात काट्ने र उनलाई छोड्ने सहमति भयो । ‘हात नदुख्ने गरी काटिदिनू’, उनले केही नलागेर भने । कसैले उनको झोला ताने, खोतले र हेरे । त्यहाँ हस्तकुमारी र भूमिरमणका कुरा शीर्षकमा उनको फोटो छापिएको वातावरण भित्ते पत्रिका थियो । कसैले त्यो पत्रिका झिकेर पढे ।
‘यो त मैले कतै पढेको थिएँ’, कसैले भने ।
‘भूमिरमण नाम त पहिले पनि आएको थियो’, अर्काले थपे ।
एकाध गर्दै गाउँलेको भीड पातलिँदै गयो र लाजले मान्छेहरूले क्षमा मागेर फर्किए । धन्न बाँचिने भयो भन्दै उनको आँत रसायो । तुरुक्क आँसु चुहाएर पिँढीमा टुसुक्क बसे ।
त्रिशूलीको त्यो घटना
बहुदल आए पछि राजमार्गका धेरै वन मासिएका थिए । खयरका त बुटा पात पनि सकिँदै गएका थिए । वन कसरी सकिन्छ त ? हेर्न उनी राजमार्ग क्षेत्रमा रात एक्लै बिताउँदै थिए । उनी मध्यरातमा झोलामा क्यामेरा बोकेर एक घट्टमा गल्छी नजीकै पागल जस्तै बनेर गुन्द्री ओडेर सुते । राती करीब १ बजेतिर सडक एक्कासी सुनसान भयो र, करीब एकसय जना जतिले भकाभक काठ ओसार्न थाले । विशाल ट्रक आएर रोकियो । त्यहाँ धमाधम काठ लोड गर्न लागियो । भूमिरमण गुन्द्री नै ओढेर निस्किए । ‘कसैले को हो ? त्यो त्रिशूलीमा हालिदे’ भन्न लागे । कसैले ‘हैनm पागललाई किन मार्नु ? छोडिदे’ पनि भने । फोटो खिच्ने आँट आएन । उनी फेरि घट्टमै सुते । त्यस पछि उनले जिल्ला वन कार्यालय, वन विभाग र वातावरण पत्रकार समुहमा यस सन्दर्भको जानकारी गराए पछि तस्करी केही कम भएको थियो । यो घटना २०४९ फागुन २९ को थियो ।
२०३६ साल पछि संरक्षण अभियानमा तीब्र गतिले चल्ने कार जस्तै बत्तिएका भूमिरमणको गति २०५१ पछि माओवादी युद्धताका पनि रोकिएन । उनलाई कसैले माओवादी भने होला । कसैले सरकारी जासूस भने होला तर, रोकिएनन् उनका पाइलाहरू । उनकै अभियानले गाउँका डाँडापाखा अहिले हराभरा छन् । उतिबेला रोपिएका विरुवाहरू अहिले वडेमानका वृक्ष बनिसेका छन् ।
फरक त उनको उमेरलाई परेको छ । अहिले उनी ६ दशक कटिसकेका छन् । घरमै धान मकै फल्ने जग्गामा नर्सरी बनाएका छन् । गाउँघरमा बिरुवाहरू वितरण गर्छन् । अझै नाङ्गा पाखाहरू छन् भने संरक्षण गर्न विरुवा रोप्न प्रेरित गर्छन् । जोश, जाँगर र उत्साह अझै मरेको छैन तर, केही कुरा त पक्कै फरक परेको छ नि ? त्यो हो- समाजको चासो ।
अहिले समाज पैसा नभए केही काम गर्न मान्दैन । ‘आफ्नो घर बनाउन त सरकारले पैसा देओस्’ भन्ने दुनियाँदारले सामाजिक काममा कहाँ रुची देखाउनू ? उनी केही निराशा पनि प्रकट गर्दछन् । संरक्षण अभियानमा उनको लगाव कम नभए पनि उमेर अवस्थाले र घरायसी कारणले उनी बाहिर निस्कन उति सकेका छैनन् । उनले जोडेको सदरमुकामको घर संरक्षण अभियानकै क्रममा बेचेर सकियो । संञ्चयकोष पनि वनकै यज्ञमा चढाए । केटाकेटीको पढाई बिग्रियो तर, पनि उनलाई खेद छैन । ‘मैले युगलाई आवश्यक कर्म गरेँ’ उनी भन्छन् ।
समाजले बिर्सदै गए पनि भूमिरमण निःस्वार्थ कर्म साथ आफ्नै वरपर अँध्यारोमा दीप जलाइरहेका छन् । उज्यालो छरिरहेका छन् । आउनुहोस् हामी पनि त्यो दीपकमा तेल थपौँ ।