काठमाडौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा तीन सय ७० मिटर लम्बाइमा बनेको झोलुङ्गे पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको छ । गाउँपालिका अनुसार उमा/थानी हिमशिखर जेभीसँग रु. दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भई पुल निर्माण सम्पन्न भएको हो ।
बञ्जीका लागि गाउँपालिकाले गत वर्ष डाएनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो । डिपिआरले रु. पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ ।
गुम्बाको सहर भनेर चिनिने हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जीजम्प खेलाउने उद्देश्यका साथ पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताइन् ।
ह्योल्मो जातिको बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य सुरु भइसकेको छ । “पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो”, गाउँपालिका अध्यक्ष शेर्पाले भने, “झोलुङ्गे पुल तयार भएसँगै अब बञ्जीजम्पको कामको थालनी गरिनेछ ।”
साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल निर्माण भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न पहिले खर्चिँदै आएको झन्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सबइन्जिनियर शेरबहादुर राईले बताए ।
पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले बताए । कूल एक सय ६० मिटर उचाइको बञ्जीजम्प २०५६ सालदेखि जिल्लाको भोटेकोसी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोसीको भन्दा १३ मिटर बढी उचाइको हुनेछ ।