तीनधारा भनेर चिनिने पाँचवटा धारा भएको उक्त ठाउँले बिहानबिहानै हामीलाई स्क्याम हान्यो ।
– पूर्णिमा गिरी
योजना बनाउनु र योजना सफल बनाउनु बिल्कुलै भिन्न काम हुन् । संसारमा अरूलाई सुझाव दिनेपछिको सजिलो काम सायद योजना बनाउनु हो । योजना बनाउन किन सजिलो भन्नुहुन्छ भने योजना सफल पार्नु नै पर्छ भन्ने कुनै उर्दी जारी भएको छैन, कुनै मुलुकी संहिताको दफाले भन्दैन । संविधानको धाराले त झन फिटिक्कै भन्दैन, उल्टो ‘नीति तथा योजना पूरा भएनन् भनेर अदालतमा मुद्दा नहाल’ भन्छ ।
उसो त योजना बनाउने काम त्यति सजिलो पनि होइन । अलि अलि त दिमाग पनि लगाउनुपर्छ, फेरि समय पनि लगानी गर्नुपर्छ । भनिन्छ, जिन्दगीमा योजना नभएका मान्छेहरूको जिन्दगीले सार्थकता पाउन सक्दैन । फेरि उता फकिरहरूको तर्क बेग्लै छ । उनीहरू योजना नबनाई जिन्दगी बाँच्नेहरूलाई महान ठान्छन् ।
हामी त हिँड्ने मान्छे । हिँड्ने योजना बनायौँ । अब हिँड्नलाई पनि योजना चाहिन्छ भन्नुहुन्छ भने म बुझ्छु तपाईं हिँड्ने मान्छे त के काठमाडौँमा बसेर “कलंकी कता पर्छ?” भन्नेमा पर्नुहुन्छ । जिन्दगीमा जरुरी छैन, विधाताकै योजनामा चल्नुपर्छ भन्ने कहिलेकाहीँ विधातालाई पनि “इः खा !” भनेर हिँडिदिनुस् त । कम्ता मजा आउँछ ! सधैँ उसले दिएकै दु:ख कति झेल्नु हौ, आज हामीले अलिकति दु:ख दिऊँ । कि कसो ?
विधातालाई दु:ख दिऊँ भनेर योजना बनाएको यो पूरा हुन पनि केही हदसम्म अरूकै साथ र सहयोग चाहिनेरहेछ । जिन्दगीमा मन छुने दुईवटा योजनामा मेरै आखाँ अगाडि पानी फेरियो । फेरि दुवै योजना सिन्धुपाल्चोक जिल्लाका पदयात्राका परेछन् । कटक्क पेट दुख्छ । ए होइन, मन दुख्छ ।
मानिसहरू दुईथरी हुन्छन् जस्तो लाग्छ । एकथरी योजना बनाउँदासम्म बनाउने अनि अन्त्यमा आएर त्यसलाई पूरा हुन नदिन अहम् भूमिका खेल्ने र अर्कोथरी आफ्नो योजनालाई जुनसुकै हदसम्म गएर पूरा गर्ने । अब तपाईं कुनमा पर्नुहुन्छ आफैँ छुट्याउनुस् ।
यसरी दुईवटा ताजाताजा योजनामा पानी फेरिएपछि हामी लाग्छौँ तनहुँको ‘बन्दीपुर’ । अब योजना पूरा गर्ने हुटहुटीमा लागेको हाम्रो तीनजनाको टोली डिलक्स बसको कन्डक्टरसँग मोलमोलाइ गर्दै बिहानीको हुस्सुसँगै कलंकी छोड्छौँ । करिब एक घण्टापछि शौचालय समय पाँच मिनेट भनेर चालक दाइ र कन्डक्टर चिया खान थाल्छन् ।
चिया देखेपछि हामीले पनि नखाने कुरै भएन । अनिसा र म चिया र चना किन्न पसलतिर दगुर्छोँ । चिया र चना लिएर सिटमा बस्न के भ्याएका थियौँ । गाडी हल्लिन सुरु गरिहाल्यो । अनि त के को चिया खानु छचल्किएर सकियो । हाहा ! यो पनि एक किसिमको मजा नै हो । यात्रामा निस्किँदा, गाडीको कम्पनले चिया छचल्किएर पोखिएरै सकिनु- यो हरेक दिन, हरेक मौकामा हुने कुरा थोरै हो !
यसरी त्रिशुली र मर्स्याङ्दीलाई पछाडी पार्दै करिब बाह्र बजे हामी डुम्रे पुग्छौँ । गाडीबाट झर्नासाथ मन्जु पोखरेल भन्छे कि घले गाउँ गइदिने हो? हाहा । हामी हास्छौँ । खुसी हुन ठूलो कुरा नचाहिने । कुनै न कुनै गन्तव्यतर्फ गतिशील भइरहन पाए पुग्ने ।
उता डुम्रेबाट आठ किलोमिटरको दूरीमा रहेको बन्दीपुर पुर्याउन ट्याक्सीवाला दाइ तीनैजनालाई छ सयमा पुर्याईदिन्छु बहिनी भन्दै थिए । “हामी त पचास रुपैयाँमा जाने हो” भन्दै अगाडि बढ्छौँ तर, पचास होइन प्रति व्यक्ति नब्बे रुपैयाँ नै तिर्नुपर्छ हामीलाई । अनि दाइलाई हाँसो किन नलागोस् त ? भन्दै थिए, “पचास रुप्पेमा त सम्झिनी । हाहा ।”
यसरी हामी हाम्रो गन्तव्य अर्थात् “पहाडकी रानी” उपमा पाएको बन्दीपुर पुग्छौँ । खाजाको भरमा काठमाडौँबाट हिँडेका हामी चित्र दाइको बुढी अर्थात् नाम बिर्सेको दिदीलाई मिठ्ठो खाना बनाउन लगाउँछौँ र घुमघाम यसरी सुरु गर्छौँ:
पहिलो दिन
बन्दीपुर टुँडिखेल
तनहुँ जिल्लाको पुरानो सदरमुकामको रूपमा रहेको बन्दीपुरको एउटा मुख्य आकर्षण बन्दीपुर टुँडिखेल हो । जसलाई मर्स्याङ्दी उपत्यका र हिम श्रृङ्खला हेर्न सकिने केन्द्रको रूपमा लिन सकिन्छ । टुँडिखेलबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखलाहरूको मनोरम दृश्य देख्न सकिन्छ । हामी भने जाडो महिनामा गयौँ र तुवाँलोले लोप्पा खुवाइदियो । यत्तिकैमा खाना पाकिसकेको जानकारी दिदी दिनु हुन्छ र हामी फर्किन्छौँ ।
खाना खाइसकेर हामी बन्दीपुरमा कसरी घुम्ने र कहाँदेखि घुम्न सुरु गर्ने भनी होटलको दिदीसँगको सहायतामा घुम्नुपर्ने ठाउँलाई सूचिबद्द गर्छौँ । र लाग्छौँ गुरुङचेडाँडाको उकालोतिर ।
गुरुङचेडाँडा भ्यु प्वाइन्ट अर्थात् बन्दीपुर ग्रेटवाल
धेरै खाएर टुनटुन भएको भुडी मुसार्दै पूरै बन्दीपुरलाई नियाल्दै हामी बन्दीपुर ग्रेटवाल पुग्छौँ । ग्रेटवालको उकालो हिँडिरहँदा जब प्यास लाग्छ तब होस् आउँछ पानी बोक्न बिर्सिएको । जिन्दगीमा सबै कुरा सम्झिएर साध्य पनि छैन, जरुरी पनि छैन । मान्छेहरू कति कोसिस गर्छन् बिर्सनलाई हामीले सजिलै बिर्सियौँ । तर, हामीले बिर्सन नहुने कुरा बिरिसीरहेका थियौँ । आ.. होस् ! जाबो पानीको कुरामा के अल्झिरहनु होइन ?
बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हुँदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ । गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्नलाई पनि प्रचलित छ । हामी पनि साढे तीन बजेतिर हाइकिङ सुरु गरेको हुँदा सूर्यास्तको मजा लिन पाइयो । सुर्यास्तसँगसँगै हामी लाग्छौँ बन्दीपुर बजारतर्फ ।
बन्दीपुर बजार
सन् १७७८ तिर पृथ्वीनारायण शाहले काठमाडौँमाथि आक्रमण गर्दा भक्तपुरबाट भागेका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास हामी भेटाउन सक्छौँ । यहाँका घर प्राय: नेवार शैलीका छन् । तरपनि, हाल भने यहाँ जातीय विविधता रहेको दिदी बताउनुहुन्छ ।
यहाँ गुरुङ, मगर, नेवार, क्षेत्री, बाहुन तथा अन्य जातिहरू रहेको देख्न सकिन्छ । छ सय मिटर लम्बाइमा फैलिएको बन्दीपुर बजारमा सवारीसाधन निषेध गरिएको छ । बजारमा रहेका घरहरूमा प्राचीनता झल्किने कलात्मकता देख्न सकिन्छ । प्रायः घरमा होटल तथा रेस्टुरेन्ट रहेका छन् । यसरी, बन्दीपुर टुँडिखेल, बन्दीपुर ग्रेटवाल र बन्दीपुर बजार घुमेर हाम्रो यात्राको एकदिन सकिन्छ ।
दोस्रो दिन
गुम्बा
जाडो महिनामा बन्दीपुरमा नौ बजेसम्म त उज्यालै नहुँदो रहेछ । मतलब घाम लाग्दैन रहेछ । हाहा । जिल्ला पहाडी भएतापनि मौसम भने तराईको जस्तो । सबेरै ‘नौ बजे’ उठेर हामी लाग्छौँ गुम्बातिर ।
गुम्बा नपुग्दै एउटा सहिद स्मारक बाटैमा पर्दोरहेछ । यसो भित्र छिरिहाल्छौँ । र देख्छौँ, वि.सं. २००७ को जनक्रान्तिका बेला तनहुँका सातजना शहीद भएको भनेर लेखिएको स्तम्भ । यसबाट जनक्रान्तिले तनहुँलाई पनि राम्रै छोएको रहेछ भन्ने देखिन्छ । एकछिन टोलाउँछौँ र आत्माले शान्ति पाओस् भन्दै गुम्बातिर निस्किन्छौँ ।
बन्दीपुरबाट करिब बीस मिनेट लाग्ने स्थानमा रहेको गुम्बामा शाक्यमुनि बुद्धका मूर्ति रहेको देख्न सकिन्छ । उक्त गुम्बामा ल्होसार र बुद्ध जयन्ती धुमधामका साथ मनाइने त्यहाँका स्थानीय बताउँछन् । उक्त दुई पर्व धुमधामका साथ मनाइने भएतापनि गुम्बाको जीर्णोद्धार गर्ने काम सुरु भएको र आर्थिक अभावका कारण यत्तिकै छोडिएको पाइन्छ ।
पर्यटकीयस्थल मानिएको यति प्रसिद्ध स्थलमा एउटा गुम्बा आर्थिक अभावकै कारण बन्न नसकेको देख्दा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई एकपटक मन चसक्क हुने गर्दछ । जीर्णोद्धार हुँदै गरेको गुम्बा नियाल्दै हामी छेउमा रहेको पिङ खेल्छौँ र लाग्छौँ तीनधारातर्फ ।
तीनधारा
तीनधारा भनेर चिनिने पाँचवटा धारा भएको उक्त ठाउँले बिहानबिहानै हामीलाई स्क्याम हान्यो । बन्दिपुरको खानेपानी आपूर्ति गर्ने पुरानो र मुख्य श्रोतको रूपमा स्थापित भएको तीनाधारामा स्थानीयहरू नुहाउने, लुगा धुने काम गर्छन् । मूलको पानीलाई त्यसरी व्यवस्थित तरिकाले आपूर्ति गरेकाले दैनिक जीवन सहज भएको स्थानीय बताउँछन् ।
अन्य धार्मिक स्थलहरू,
बन्दीपुरमा विन्ध्यवासिनी, थानीमाई, खड्गदेवी, महालक्ष्मी र महादेव लगायतका विभिन्न मन्दिरहरू रहेका छन् । उक्त धार्मिक स्थलहरू नियाल्दै हामी खाना खान फर्किन्छौँ । आमा र दिदीको झल्को दिलाउने होटेलकी दिदी र दाइको झल्को मेटाउने खालका होटलका दाइसँग बिदा माग्छौँ र लाग्छौँ अर्को गन्तव्यतर्फ ।
सिद्ध गुफा
नेपालकै ठूलो र एसियाकै दोस्रो ठूलो भनिने सिद्ध गुफा पुग्न बन्दीपुरबाट करिब डेढ घण्टा जंगलको बाटो ओरालो हिँड्नुपर्ने हुन्छ । पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुन्द्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्छ ।
टिकट काउन्टरमा प्रति व्यक्ति पचास रुपैयाँ तिरेपछि गुफा छिर्नै के आँटेका हुन्छौँ टिकट काउन्टरको बुवा भन्नुहुन्छ फोनको लाइटले भ्याउँदैन ! हामी सय रुपैयाँ तिरेर टर्च भाडामा लिन्छौँ । गुफाभित्र घुम्न नेपाल प्रहरीले सहयोग गर्दोरहेछ । हामीलाई पनि एकजना दाइले गाइड गर्नुभो ।
केही भित्र पुग्नासाथ कोही बसिरहने ठाउँजस्तो देखिन्छ, म सोध्छु, “को बस्छ यहाँ?” दाइ भन्नुहुन्छ, “एकजना बाबा बस्नुहुन्छ, अहिले धेरै जाडो बढेकाले बस्नुहुन्न । गर्मीमा जहिल्यै आउनुहुन्छ ।”
गुफा एकातिरबाट गएर अर्कोतिरबाट निस्किने खालको होइन । जुन बाटो गयो त्यही बाटो फर्किनुपर्छ । पूर्व, दक्षिणपश्चिम फैलिएको गुफाको प्रवेशद्वारमा शिवलिंग, त्रिशुल र घण्टा देख्न सकिन्छ । बिचबिचमा विभिन्न किसिमका आकृतिहरू रहेका छन् जसको जस्तो कल्पना गर्यो त्यस्तै देख्न सकिन्छ ।
गुफाको कुनै भाग सम्म छ भने कुनै भिरालो । कुनै कुनै ठाउँ झर्न र निस्किन डोरीको भर पर्नुपर्छ । कतै ओसिलो छ कतै सुख्खा । अनौठो कुरा, गुफाभित्र ए.सी. कक्ष समेत रहेको दाइ बताउनुहुन्छ जहाँ छिर्नेबित्तिकै तातो हावा आउँछ । हामी भने अलिक डरपोक पर्यौँ ।
गुफाको अन्तिम बिन्दुतिर पुग्दा दाइ भन्नुहुन्छ, “एकछिन सबैजना बत्ती निभाउनुस् त ।” निस्पट्ट कालो मात्र देख्न सक्छौँ हामी । कति अँध्यारो । उज्यालो कहीँ कतै लेस मात्र पनि छैन । अनि उहाँ थप्नुहुन्छ, “भर्खरै हाम्रो ट्रेनिङ सकिएको हो । हामीले यस्तै अँध्यारोमा माथिको प्वालदेखि यहाँ तलसम्म झर्यौँ ।”
हामीले जिब्रो टोक्यौँ । मलाई खसखस लागिहाल्यो, सोधेँ, “माथि प्वाल छ भन्ने कुरा सबैलाई थाहा भएन भने?” भन्नुहुन्छ, “ठूलै छ, देखिन्छ ।” अक्सिजनको कमी महसुस भए भएन । यद्यपि, गुफाको उचाइभरिलाई देखाउन त टर्चले पनि सक्दैन । अन्तिम बिन्दुमै अडिरहेका थियौँ । दाइ गुफाको बीचतिर टर्च पुर्याउनु हुन्छ । अनि देखिन्छ, एउटा बाबाको आकृति । हामी छक्क पर्दै फर्किन्छौँ ।
थाहा पाएका कुराहरू
गुफाको लम्बाइ करिब ४२५ मिटर र चौडाइ २५ मिटरसम्म रहेको । होचो भागमा ५७ मिटर गहिरो सुरुङ रहेको ।पहिलोपटक २०४४ सालमा घुम्न भनेर निस्किएका स्थानीयसहितको पाँचजनाको टोलीले उक्त गुफा पत्ता लगाएको । प्रत्येक वर्ष साउन महिनामा विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू महादेव शिवको ध्यान गर्न आउने गरेको र उक्त क्षेत्रका कृषकहरूले बाली लगाउने र भित्र्याउने समयमा सिद्ध भगवानलाई अन्न चढाउने र पूजा गर्ने परम्परा रहेको ।
र अन्त्यमा
जंगलको बिचमा केही समयको हाइक गरेर पुगिने प्राकृतिक सिद्ध गुफा राम्रो त छ नै । तरपनि, गुफाभित्र बिजुलीको पहुँच पुर्याईदिए पर्यटकलाई सहज हुने कुरो महसुस हुन्छ । टर्च लाइट भाडामा दिने र गाइडको सुविधा दिइरहेको कुरालाई पनि नकार्न भने सकिँदैन ।
यसरी हिँड्न, डुल्न, घुम्न र नयाँ नयाँ परिवेशसँग साक्षातकार गर्न रुचाउनेका लागि बन्दीपुर एउटा राम्रो गन्तव्य बन्नसक्छ । घुम्न मात्र मन लाग्ने हिँड्न नरुचाउनेहरूलाई डुम्रेबाट बस चढेर बन्दीपुर पुग्ने र बजारको रौनकतामा मात्र हराउन पनि छुट छ । तर, जसलाई हिँड्न मन लाग्छ, हरेक ठाउँको केही न केही इतिहास हुन्छ भन्ने लाग्छ र त्यो जान्न मन लाग्छ भने दुई तरिकाबाट पूरै बन्दीपुरलाई घुम्न सकिन्छ ।
पहिलो तरिका
काठमाडौँबाट बिहानैको बस चढ्ने, डुम्रे झर्ने र डुम्रेबाट बन्दीपुरको गाडी चढ्ने । खाना खाइसकेर बन्दीपुर टुँडिखेल, बन्दीपुर ग्रेटवाल, बन्दीपुर बजार, विभिन्न धार्मिकस्थल घुम्ने र साँझमा बजारको रौनकताको मजा लिने ।
दोस्रो दिन, एडभेन्चर क्याम्प हुँदै माथि पुग्ने, विभिन्न हिमश्रृंखलाहरू तथा मर्स्याङ्दीको भ्यूहरू अवलोकन गर्ने र गुम्बा जाने । गुम्बा हुँदै तीनधारा झर्ने र तीनधारा घुमिसकेपछि बन्दीपुरको पुरानो गाउँ हुँदै बजार जाने । खाना खाने र सिद्ध गुफाको लागि हाइकिङ सुरु गर्ने । गुम्बाबाट करिब डेढ घण्टा ओरालो झरेपछि गुफा पुगिन्छ र गुफाबाट बीस-पच्चीस मिनेटमा हाइवेमा झर्न सकिन्छ ।
दोस्रो तरिका
अघिल्लो दिन साँझ विमलनगर बस्ने गरी जाने, बिहानै खाजा खाएर हाइकिङ सुरु गर्ने । खाजा पनि बोकेर हिँड्ने किनकि बन्दीपुर नपुग्दासम्म पूरै जंगल छ र होटेल तथा पसल हुँदैनन् । विमलनगरबाट करिब पैतालीस-पचास मिनेटमा गुफा पुगिन्छ । गुफा अवलोकन गरिसकेपछि करिब तीन घण्टामा बन्दीपुर पुग्न सकिन्छ । र दोस्रो दिन मजाले बन्दीपुर घुम्न सकिन्छ ।