शुक्रबार , अषोज ४, २०८१

बालेनले विस्थापित गरिदिएपछि स्थापितले बधाई दिदै भने- ‘म बाट रचनात्मक सयाेग रहने छ’

‘तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु,’ उनले भने ।

image

काठमाडौं । काठमाडौं महानगरको मेयरमा पराजित केशव स्थापितले नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन् । स्थापित नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका थिए । उनी बालेन शाहसँग २३ हजार भन्दा बढी मतान्तरले पराजित भएका हुन् । निर्वाचनको प्रचारका क्रममा आफ्नो प्रतिस्पर्धी नै नमानेका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव जितेपछि स्थापितले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनताको सेवक भएर काम गर्ने आफ्नो आकांक्षा भए पनि निर्वाचनको परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनले बताए ।

‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु,’ उनले धन्यबाद वक्तव्य जारी गर्दै भनेका छन्, ‘काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधरमराएको पनि उनले उल्लेख गरेका छन् ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु ।’

केही कमजोरी भए भने निरन्तर खबरदारी गरिरहने पनि उनले बताएका छन् । ‘तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु,’ उनले भने ।

साथै उनले एमालेबाट उम्मेदवार भई उपमेयर निर्वाचित सुनिता डंगोललाई पनि बधाई दिएका छन् ।

सम्बन्धित समाचार