शुक्रबार , कार्तिक २३, २०८१

बालेन शाहको पहिलो गाँसमै ‘फोहोर’

फोहोर व्यवस्थापनको विषय टुङ्गो नलागेसम्म खादा, अबिर नलगाउने घोषणा गरेका बालेन्द्र शाहले चुनावी प्रचारका क्रममा फोहोरको बहुउपयोगको संरचना बनाएर व्यवस्थापन गर्ने बताउने गरेका थिए । तर, शाहको 'पहिलो गाँसमै फोहोर' परेको छ ।

image

काठमाडौं । काठमाडौंको फोहोर बिहीबार बन्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । बुधवार प्रहरीको सुरक्षा घेरामा ‘फोहोर फ्याँक्न’ काठमाडौंदेखि हिँडेका त्रिपालले छोपिएका लोडेड ट्रकहरूले दिउँसोभर स्थानीय र प्रहरीको झडप हेरेर साँझपख चुपचाप काठमाडौं फर्किए र थन्किए ।

आक्रोशित स्थानीयले फोहोर बोकेको टिपर बञ्चरे डम्पिङ साइट नपुगोस् भनेर बाटोमा विभिन्न अवरोध राखेकाले आफ्नो सवारी साधनमाथि क्षति पुग्न सक्ने भएपछि ल्याण्डफिल नगएका हुन् ।

मेयर बालेन शाहले पछिल्लो घटनाबारे कुनै प्रतिक्रिया जनाएको देखिँदैन । शहरी विकास मन्त्रालयले पनि चुप्पी साँधेको छ ।

महानगर एवम् शहरी विकास मन्त्रालयको पछिल्लो प्रतिक्रिया नआएपश्चात् फोहोर लोड गरिएका गाडीहरू काठमाडौंमै थन्किए नि भन्ने प्रश्नको जवाफमा काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा ‘गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै गाडीहरूलाई त्यतातर्फ पठाउने तयारी गरिरहेको’ बताउँछन्  ।

यता, बुधबार बञ्चरेडाँडामा काठमाडौंबाट लगेको फोहोर फाल्न नदिएपछि प्रहरीले ढुंगानासहित श्रीकृष्ण बजगाईं र तपन उप्रेतीलाई नियन्त्रणमा लिएको थियो । बुधबार दिउँसो २ बजेतिर समातिएका उनीहरूलाई रातभरि ककनी चौकीमा राखेर बिहीबार बिहान १० बजेतिर छाडिएको  छ । ककनी चौकीबाट छुटेर आएका संघर्ष समितिका संयोजक ढुंगानाले आफूहरूलाई बालुवाटारमा छलफलका लागि डाकिएको बताएका छन् । छलफलको समय भने तय भएको छैन ।

बुधवार के भयो ?

बुधबार काठमाडौंबाटै दुई सयभन्दा बढी प्रहरी टोली परिचालन भएको थियो । स्थानीयहरूले डाँडामाथि चढेर प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपमा स्थानीयले फोहोर बोकेर गएका ट्रक तोडफोड गरे । प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गर्‍यो ।

“बालेनले काठमाडौंको फोहोर काठमाडौंमै राख्छु तर प्रहरी ल्याएर धरपकड गर्दिन भनेको थियो, प्रहरी किन आयो?’ भन्दै स्थानीयवासीहरू आक्रोशित बने । प्रहरीको दमनविरुद्ध स्थानीयवासीहरू आक्रोशित बनेका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छन् ।

मंगलबार के भयो ?

झडपको अघिल्लो दिन प्रहरीको सुरक्षामा डेढ सय ट्रक फोहोर विसर्जन गरियो । धादिङको धुनिबेसी नगरपालिका–१ स्थित बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भयो । कयौं स्थानीयलाई घरभित्रैबाट नियन्त्रणमा लिइएको थियो ।

सोमबार काठमाडौंमा भएको फोहोर व्यवस्थापनसम्बन्धी सहमति नमान्ने भन्दै स्थानीयले अवरोध सिर्जना गरेता पनि मंगलबार काठमाडौंको डेढ सय ट्रक फोहोर बाहिरियो ।

त्यसयता फोहर फाल्न सकिएको छैन ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति सोमबार सिंहदरबारमा भएको सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेंसी नगरपालिका, ककनी गाउँपालिकाबीच भएको सहमतिलाई अमान्य भएको भन्दै पुनः आन्दोलनमा उत्रिएपश्चात् काठमाडौंको फोहोर व्यवस्थापनमा अनिश्चितता छाएको हो ।

सहमति के भएको थियो ? 

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, प्रभावित धुनिबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङलगायत जनप्रतिनिधिको बैठकले फोहोर विसर्जन गर्ने सम्बन्धमा सहमति जुटाएको थियो । सहमतिमा बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रवीन्द्र बोहरा, प्रमुख प्रशासकीय अधिकृतहरू काठमाडौं महानगरका लोकनाथ पौड्याल, धुनिबेंसी नगरपालिकाका हरिदत्त कँडेल र ककनी गाउँपालिकाकी गीताकुमारी शर्माले हस्ताक्षर गरेका थिए ।

सहमतिअनुसार मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका ५ वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गर्ने, जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सोको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरी प्रक्रिया सुरु गर्ने बताइएको छ । साथै, प्रभावित क्षेत्रका बासिन्दाका लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति भएको थियो ।

काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित धुनिबेंसी नगरका वडा नम्बर १, ३, ४ र ककनीको १, २ र ३ नम्बर वडाका बासिन्दाको एक साताभित्र स्वास्थ्य बिमा गर्ने, पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नास्टको प्रतिवेदनलाई आधार मानेर १० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाउने काम थाल्ने, साउन १ देखि उपत्यकाबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरी लैजान व्यवस्थापन गर्ने सहमति थियो ।

सहमतिपश्चात् फोहोर किन उठ्न सकेन ?

सोमबार प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरेपछि उपत्यकाको फोहोर विसर्जन हुने अपेक्षा गरिएको थियो तर, स्थानीयवासीले सम्झौता हस्ताक्षर गर्दा आफूहरूलाई नगराइएको भन्दै विरोध सुरु गरे । मंगलबार बिहानदेखि बन्चरे डाँडामा भेला हुन् पुगे । उनीहरूले प्रहरी आएर जबर्जस्ती फोहोर फ्याँक्न खोज्नुलाई सहमतिको अपहेलनाको रूपमा लिएका छन् । आफूलाई सोध्दै नसोधी गुपचुप सहमति हुनु आफूहरूलाई सह्य नहुने उनीहरू भनाई छ ।

ल्याण्डफिल साइट संघर्ष समितिका संयोजक श्रीराम ढुङ्घनाले आफूहरू वार कि पारको लडाइँमा रहेको बताउँदै भनेका छन्, “पटक–पटक फोहोरमैला रोकेर आन्दोलन गर्दा पनि सुनवाइ नभएपछि निर्णायक आन्दोलनका लागि मैदानमा आएका छौँ ।’

आन्दोलनरत स्थानीयवासीले आफूहरूको बाँच्न पाउने अधिकारको सुनिश्चितता नभईकन फोहोर विसर्जन गर्न नदिने अडान छन् । उनीहरूले फोहोर र मान्छे एकसाथ बस्न नसकिने बताएका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सरोकारवालाले पीडितसँग बसेर कानुनी, वैज्ञानिक, बौद्धिक, स्थानीयवासीलाई मान्य हुने किसिमको नयाँ सहमति गर्नुपर्ने माग गरिरहेको छ ।

 “यो क्षेत्रमा रहेका गुठीका जग्गाहरू के गर्ने भन्नेबारे पनि सम्झौता मौन छ । स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था पनि सम्झौताले गरेको छैन”, ढुंगाना भन्छन्, “संघर्ष समितिलाई समेत संलग्न गराएर यो सम्झौता पुनः तयार पार्नुपर्छ । हामीले अहिलेको सम्झौता कार्यन्वयन हुनेमा शंका छ, हामीलाई विश्वास दिलाइओस् ।”

दूषित खानेपानीको मुहान, झाडापखाला र हैजा 

फोहोरको अवैज्ञानिक व्यवस्थापनका कारण ककनी–२ का चलेटार, मगटाटोल, धुनीबेसी नगरपालिकाको १ र २ वडाका मानवबस्ती विस्थापित हुने अवस्थामा पुगेको छ भने त्यस क्षेत्रका खानेपानीका मुहानहरू दिनप्रति दिन प्रदूषित हुँदै गएका छन् । अन्नबाली धान, गहुँ र आलुलगायत तरकारी खेतीहरू हुने खेतीयोग्य जमिनहरू सबै मरुभूमिमा परिणत हुँदा छन् । लिचेड मिसिएको दूषित पानी पिउनाले सिसिडोल बासीहरू क्यान्सर, मुटु रोग र मिर्गौला फेल हुनेलगायतका प्राणघातक रोगहरूको सिकार बन्न पुगेका छन् । झाडापखाला र हैजालगायतका महामारी फैलिँदै यसअघि नै समस्या निम्तिसकेको थियो । आफ्नो बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नका लागि उनीहरूले यस पहिले पनि कहिले फोहोरमैलाको गाडी रोक्ने त कहिले सिंहदरबारलाई खबरदारी गर्ने कार्य गर्दै आइरहेका थिए ।

बालेनले के गर्लान् ?

फोहोर व्यवस्थापनको विषय टुङ्गो नलागेसम्म खादा, अबिर नलगाउने घोषणा गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चुनावी प्रचारका क्रममा फोहोरको बहुउपयोगको संरचना बनाएर व्यवस्थापन गर्ने बताउने गरेका थिए । कुहिने र नकुहिने फोहोर काठमाडौंमै छानेर कुहिनेलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने र नकुहिनेलाई प्रशोधन गर्ने वा जलाउने योजना उनले सुनाउने गरेका थिए । बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने र त्यहाँ इन्सिनेरेटर (जलाउने मेसिन) सेल राखेर फोहोर नष्ट गर्ने उनको भनाइ थियो ।

तर, बालेनको पहिलो गाँसमै ढुङ्गा परेको छ । स्थानीयको विरोधलाई सही व्यवस्थापन नगरेसम्म काठमाडौंको फोहोर व्यवस्थापन हुने सम्भावना देखिँदैन ।  फोहोर व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि सिसडोल र बञ्चरेका बासिन्दालाई विश्वासमा नलिनुको परिमाण के आउनेछ, त्यो हेर्न बाँकी छ ।

भिडियो

सम्बन्धित समाचार