बुधबार , कार्तिक २८, २०८१

बाइसधारा, जहाँ राजपरिवारका सदस्य पौडी खेल्न जान्थे

बाइसधारा धाराको मुहान नुवाकोट पर्वतसँग जोडिएको छ भन्ने गरिन्छ । सूर्य बहादुर थापाबाट शिलान्यास गरिएको यो पार्कमा देवीघाटको पानी आउने र त्यसले नुहाए चर्म रोग निको हुने जनविश्वास रहेको छ । डा. तुलसी गिरीबाट उद्घाटन भएको पार्कमा सार्वजनिक यातायात प्रयोग गरेरै पुग्न सकिन्छ ।

image

हप्ताभरिको कामको शारीरिक तथा मानसिक थकान मेटाउन मान्छे विभिन्न मनोरञ्जनका उपायहरू अपनाउँछन् । जसमा घुमफिर गर्नुलाई पनि एक महत्त्वपूर्ण मनोरञ्जनको श्रोत मानिन्छ । नयाँ ठाउँको अवलोकनले मान्छेको मानसिक थकान मेटाउनुका साथै शरीरलाई पनि चुस्त राख्न मद्दत गर्छ । बिदा आउँदा-नआउँदै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नले गिजोल्न थाल्छ ।

यस्तै ‘यसपालि कहाँ जाने त घुम्न ?’ भन्ने प्रश्नको जवाफमा बाइसधारा पार्कलाई लिन सकिन्छ । काठमाडौं उपत्यकाभित्रै रहेको त्यो ठाउँ सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ठाउँ रहेको छ । बालाजु बाइपासमा रहेको रहेको यो ठाउँलाई महेन्द्र उद्यान, बालाजु पार्क, वाटर गार्डेन आदि नामले पनि चिनिन्छ ।

करिब १६२ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क उत्तरमा बाइपास, दक्षिणमा बालाजु औद्योगिक क्षेत्र र बोहोराटार, पूर्वतर्फ बालाजुकै स्थानीय बस्तीभित्र पर्छ । आनन्दले आफ्नो दिन बिताउन सकिने पार्क क्षेत्रको वातावरण शान्त रहेको छ । सो ठाउँमा हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन मेला समेत लाग्ने गरेको छ । पार्क भित्र रहेका कृष्ण मन्दिर, कुमारी स्थान, बाल बुढानीलकण्ठ, शीतला माई मन्दिर र रत्नचूडेश्वर महादेवको मन्दिर छ । साथै, जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । चैत शुक्ल पूर्णिमामा बाइसधारामा नुहाउनाले मुक्तिनाथ र गोसाइँकुण्डमा नुहाए बराबरको पुण्य प्राप्त हुनाका साथै चर्म रोग निको हुने जनविश्वास रहेको छ ।

बालाजु बाइसधारा, १९५८

२०१८ जेठ २९ गते शिलान्यास भएर २०२१ जेठ २९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको पार्कको ऐतिहासिक किस्सा यस्तो छ । राजा प्रताप मल्लको बुढानीलकण्ठको नारायण मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगेर चोकमा राख्ने एवम् प्रतिष्ठापन गर्ने इच्छा थियो । तर, उनलाई सपनामा सो मूर्ति त्यहाँबाट नहटाउन र उनी लगायत उनका उत्तराधिकारीहरूले सो मूर्तिको दर्शन समेत नगर्न, गरेमा अनिष्ठ हुने बताइएको किंवदन्ती छ । त्यसैले उनले बालाजुमा र हनुमानढोका दरबार परिसरमा बुढानीलकण्ठको प्रतिमूर्ति बनाउन लगाएर चित्त बुझाए । उनले सन् १६६० मा सानो बाल बुढानीलकण्ठ स्थापना गरेपछि नै सो ठाउँको नाम बालाजु रहन गएको बुझिन्छ ।

यही ठाउँमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए । उनले आफ्नो शासनकालमा सो क्षेत्र जताततै पानीले जलमग्न भएका कारण पोखरी निर्माण गरी उक्त पोखरीबाट आएको पानीलाई निकासका रूपमा हात्तीको मुखाङ्कित २१ ढुङ्गेधारा निर्माण गरेको बताइन्छ । वि.सं १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठुलो ढुङ्गेधारा स्थापना गरेपछि सो ठाउँको नाम बाइसधारा रहेको हो । पार्कलाई आधुनिकीकरण भने २०१८ सालमा गरिएको हो ।

बाइसधारा धाराको मुहान नुवाकोट पर्वतसँग जोडिएको छ भन्ने गरिन्छ । सूर्य बहादुर थापाबाट शिलान्यास गरिएको यो पार्कमा देवीघाटको पानी आउने र त्यसले नुहाए चर्म रोग निको हुने जनविश्वास रहेको छ । डा. तुलसी गिरीबाट उद्घाटन भएको पार्कमा सार्वजनिक यातायात प्रयोग गरेरै पुग्न सकिन्छ ।

कति दिनपछि आज मैले बालाजी देख्याँ
पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ

वरिपरि लहरामा भुलिबस्न्या चरा छन्
मधुर वचन बोली मन लिँदा क्या सुरा छन् ।

आदिकवि भानुभक्त आचार्यले वर्णन गरेको यो ठाउँ आनन्ददायी छ । सो ठाउँमा धार्मिक तथा ध्यानी व्यक्ति साहित्यकार तथा युवायुवतीको रोजाइमा पर्ने गरेको छ । निकै समयसम्म पार्कमा पौडी पोखरी (स्विमिङ पुल) पनि राम्रोसँग प्रयोग हुने गरेको थियो । राजपरिवारका सदस्य समेत त्यहाँ पौडी खेल्न जाने गरेका थिए । यो काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो सार्वजनिक पौडी पोखरी पनि हो । उचित हेरचाह नपुगेका कारण ऐतिहासिक तथा प्राकृतिक पार्क अहिले केही समस्यामा भने रहेको छ । अबका दिनमा पार्क पुनः स्वच्छ ढङ्गले सञ्चालन हुने आशा राखौँ ।

सम्बन्धित समाचार