बिहिबार , मंग्सिर ६, २०८१

वैकुण्ठ–कैलाश कसरी बन्यो पर्यटकीय ‘हब’ ? यस्ताे छ नालीबेली (भिडियो)

image

विगत पाँच–सात वर्ष अघिसम्म मकवानपुरकै ‘विकट बस्ती’को उपमा भिरेर बसिरहेको वैकुण्ठ र कैलाश गाउँले अहिले आफ्नो परिचय फेरेका छन् । मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित वैकुण्ठ र कैलाश गाउँले अहिले ‘विकट बस्ती’को ट्याग हटाउँदै ‘आन्तरिक पर्यटकको हब’को रूपमा आफूलाई चिनाएका छन् ।

गाउँको मुहार र परिचय फेरिदिने प्रमुख व्यक्ति हुन्, वडाध्यक्ष राजेन्द्र घिसिङ । मकवानपुरको उत्तरी भेगमा महाभारत पर्वत लेकको काखमा जिल्लाकै ‘दुर्गम बस्ती’को ट्याग भिरेर बसिरहेको आफ्नो गाउँलाई कुनै न कुनै दिन पर्यटकीय गन्तव्यको रूपमा चिनाउने हुटहुटी उनमा सानैदेखि थियो । वडाध्यक्ष घिसिङ भन्छन्, “यहाँको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता, ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेका स्थलहरू पर्यटकीय आकर्षण बन्न सक्छन् भन्ने मलाई स्कुल पढ्दै गर्दादेखि नै महसुस भएको थियो । पछि अझै बुझ्दै जाँदा गाउँलाई पर्यटकीय गन्तव्यको रूपमा नै विकास गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो । ‘विकट बस्तीको’ ट्याग हटाउने उपाय पर्यटन बाहेक अरू थिएन ।”

दुर्गम क्षेत्रमा अन्धकारमा रुमलिरहेको गाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र चिनाउने मनमा हुटहुटी त बढ्यो, तर त्यसको कार्यान्वयन गर्ने मार्ग के हो उनलाई थाहा थिएन । गाउँमा विभिन्न चाडपर्व, जात्रा, उत्सवहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्न थाले । कार्यक्रम आयोजना गरेपछि वरिपरिका छिमेकी गाउँहरूबाट मेला भर्न आउनेहरू बढे । निकै वर्षसम्म यस्तै गतिविधिमै सीमित भयो । पर्यटनको विकास हुन सकेन ।

यस्तैमा देश सङ्घीयतामा गएसँगै ०७४ मा पहिलो स्थानीय तहको चुनाव भयो । उनलाई लाग्यो, अब गाउँको विकास र समृद्धिको लागि आफूसँग भएको भिजन र मिसन कार्यान्वयन गर्न उपयुक्त अवसर चुनाव नै हो । चुनावबाट आफू नेतृत्वमा पुग्ने र काम गर्ने । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने । लोकप्रिय मतसहित निर्वाचित भए घिसिङ । गाउँ र गाउँलेको मुहार र परिचय फेर्ने उनको ठोस अभियान सुरु भयो ।

त्यसो त उनी राजनीतिक पृष्ठभूमिमा नै हुर्किएका थिए । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक नै थियो । घिसिङका पिता हर्क बहादुर घिसिङ नेपाली कांग्रेसमा रहेर राजनीतिक गतिविधि र नेतृत्वमा सक्रिय थिए । साबिक डाँडाखर्क गाविस वडा नम्बर ५ (हाल कैलाश–२ मा पर्ने वैकुण्ठ गाउँका) पूर्व वडाध्यक्ष समेत रहेका हर्क बहादुर घिसिङले तत्कालीन डाँडाखर्क गाविसको नेपाली काँग्रेस सभापति भएर पनि काम गरेका थिए । राजनीतिक एवम् सामाजिक गतिविधिमा सक्रिय रहेर गाउँको विकास र समृद्धिमा समर्पित हर्क बहादुरको गाउँको विकास आयोजना (गुम्बाको निर्माण कार्य) कार्यान्वयनका लागि सदरमुकाम हेटौँडा धाउने क्रममा खोलाले बगाएर करिब डेढ दशकअघि दुःखद स्वर्गारोहण भयो ।

तिनै हर्क बहादुरको छत्रछायामा हुर्किएका राजेन्द्रलाई पिताको राजनीतिक बिँडो थाम्नुपर्ने जिम्मेवारी थियो । एकातिर गाउँको विकास र समृद्धिका लागि पिताले थालेको अभियानलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी काँधमा आएको थियो भने अर्कोतिर गाउँ र गाउँलेको मुहार र परिचय बदल्न आफूसँग भएको भिजन र मिसनलाई पनि पुरा गर्नुपर्ने थियो ।

“आफूसँग भएको भिजनको कार्यान्वयन गर्न आफैँ नेतृत्वमा पुग्न जरुरी छ”, उनी भन्छन्, “अरूलाई सल्लाह दिएर, सिकाएर मात्रै हुँदैन, कार्यान्वयन गर्न आफैँ अघि सर्नुपर्छ, अनि मात्रै भिजनले ठोस रूप धारण गर्छ ।”

०७४ को स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित भएपछि उनलाई आफ्नो भिजन अनुसार काम गर्ने मार्ग प्रशस्त भयो । उनले निर्वाचित भएको छोटो समयमै अन्धकार गाउँलाई राष्ट्रिय प्रसारण लाइन जोडेर झिलिमिली बनाइदिए । टोलटोलमा मोटरबाटो पुर्‍याइदिए । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिँचाइको क्षेत्रमा थुप्रै काम गरे । पर्यटनको विकास पहिलो प्राथमिकता छँदै थियो । गाउँमाथि रहेको विष्णु कुण्डमा गुरु रिम्पोछेको प्रतिमा स्थापना गरे । केही वर्षपछि कुण्ड परिसरमा डाँफे मुनालको प्रतिमासहितको डाँफे मुनाल पार्क निर्माण गरे । सोही वडामै पर्ने कैलाश डाँडामा महादेव शिवको मूर्ति स्थापना गरे । सो डाँडाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । डाँडासँगै सुन्दर कैलाश गाउँ पनि रहेको छ ।

घिसिङ ०७९ मा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनबाट दोस्रो कार्यकालमा लागि पुनः वडाध्यक्षमा निर्वाचित भए । अघिल्लो कार्यकालका अधुरा योजनाहरूलाई पुरा गर्ने र नयाँ योजनाहरूलाई अघि सार्ने अवसर प्राप्त गरे ।

“मैले चाहेको भए गाउँपालिका अध्यक्षमा पनि चुनाव लड्न सक्थेँ, तर पहिला वडालाई नै समृद्ध बनाउनुपर्छ भनेर पुनः वडाध्यक्ष बनेको हुँ”, नेपाली कांग्रेस कैलाश गाउँपालिकाका सभापति समेत रहेका घिसिङ भन्छन्, “फेरी नेतृत्वमा पुग्नु मात्रै चाहिँ ठूलो उपलब्धि होइन, सो अनुसारको काम गर्न, भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्त्वपूर्ण हो ।”

उनले दोस्रो कार्यकाल सम्हालेयता एक वर्षमा थुप्रै कामहरू गरिसकेका छन् । खासगरी पर्यटन क्षेत्रमा उल्लेख्य काम भएको छ । डाँफे मुनाल पार्कसँगै भाइरल पिङको स्थापना गरिएको छ । अहिले पिङ खेल्नकै लागि टाढाटाढादेखि पर्यटकहरू आउन थालेका छन् ।

गुरु रिम्पोछेको प्रतिमा, सुन्दर डाँफे मुनाल पार्क, भाइरल पिङ, कैलाश डाँडामा स्थापित महादेव शिवको प्रतिमा र सँगै रहेको गुफा प्रमुख पर्यटकीय आकर्षणहरू हुन् ।

गाउँ र गाउँ परिसर आफैँमा सुन्दर छ । जहाँबाट देखिने प्राकृतिक सुन्दरताको बयान शब्दमा गर्न सकिँदैन । उत्तर दन्ते लहर झैँ हिमश्रृङ्खला, हरियाली पहाडहरू, दक्षिणमा तराइको समथर फाँट, हेटौँडा, वीरगन्जदेखि भारतको रक्सौल बजारसम्म देख्न सकिन्छ ।

वैकुण्ठ, कैलाश भन्ने बित्तिकै धार्मिक भाव जागृत गर्ने नामहरू हुन् । यीसँगै जोडिएका विभिन्न धार्मिक किंवदन्तीहरू छन् । स्थलहरू छन् । धार्मिक पर्यटनको अथाह सम्भावना गाउँको नामबाटै प्रष्ट झल्किन्छ ।

सांस्कृतिक हिसाबले गाउँ सम्पन्न छ । नेपालमा लोप हुन लागेको घाटु नाच, मारुनी नाच वैकुण्ठ गाउँमा जीवन्त छ । गुरुङ समुदायमा प्रचलित घाटु नाच तामाङ समुदायले नाच्ने गाउने एक मात्र ठाउँ हो, वैकुण्ठ । अन्य हिन्दु र बौद्ध धर्मसँग जोडिएका थुप्रै संस्कृतिहरू छँदै छन् । तिनलाई मान्ने र मनाउने विशिष्ट परम्परा छ ।

अहिले वैकुण्ठ र कैलाश गाउँको बीचमा जिपलाइन निर्माणको लागि डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार हुँदै छ । खासगरी साहसिक पर्यटकहरूका लागि जिपलाइनको अवधारणा अगाडि बढाएको वडाध्यक्ष घिसिङ बताउँछन् । “वैकुण्ठ–कैलाशलाई सबै खालका पर्यटकहरूको रोजाइको गन्तव्य बनाउने हाम्रो उद्देश्य छ । साहसिक पर्यटकहरूलाई मध्यनजर गरेर जिपलाइन निर्माण गर्न लागिएको हो ।” उनले भने ।

उनका अनुसार अबको एकदेखि डेढ वर्षभित्रमै वैकुण्ठ–कैलाशमा जिपलाइनको मज्जा लिन सक्नेछन् ।

यातायात, सञ्चार, विद्युत्को सुविधा, पर्यटकीय पूर्वाधारहरूको निर्माण र प्रचारप्रसार सँगसँगै अहिले वैकुण्ठ कैलाशमा पर्यटकहरू पुग्न थालेका छन् । विभिन्न चाडपर्व, नयाँ वर्ष लगायत विशेष अवसरहरूमा आन्तरिक पर्यटकहरूको घुइँचो नै लाग्ने गरेको छ । वैकुण्ठ कैलाश भन्ने बित्तिकै पर्यटकीय क्षेत्रको रूपमा चिनिन थालेको छ ।

वैकुण्ठ कैलाशको पर्यटन विकास, सम्भावना, यसको विगत, वर्तमान र भविष्य, पर्यटन विकासमा स्थानीय समुदायको चासो र सहभागिता लगायत विषयमा केन्द्रित रहेर हिमाल दर्पण’का चन्द्र तामाङ र वडाध्यक्ष राजेन्द्र घिसिङबीच भएको भिडियो कुराकानीको सम्पादित अंश हेर्नुहाेस्ः

भिडियो

सम्बन्धित समाचार