परापूर्वकालमा भगवतीको र महिषासुर दैत्यबिच घमासान युद्ध भयो । अन्त्यमा महिषासुरको वध गरीसकेपछि कालिकोटको 'द्वारेढुङ्गा' भन्ने ठाउँमा भगवतीले विश्राम गरिरहेकी थिइन् ।
जहाँतहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ती चौटाहरू
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकन
मानिसको धरिति डुल्न आउँछन् !! (वासु शशी, कवितांश)
प्रविधिसँगको ज्यादा लसपसका कारण पृथ्वीका धेरै चौटाहरू सित्तै खेर गएका छन् । प्रविधिको एउटा बैगुन, यसले हामीलाई प्रकृतिदेखि दूर गरिदियो । संसार जति जति अगाडि बढ्दै जाँदो छ, घुम्ने संस्कार उति उति पर सर्दो छ । जङ्गल जङ्गल घुम्दै फिर्दै सिकार खेल्ने, काँडे भ्याकुर, रिट्ठा कन्दमूलको खोजी गर्दै हिँड्नमा मजा मान्ने मान्छेको जातले आफ्नो सो प्राचीन बानी भुल्दै गइरहेको छ ।
हाम्रा सभ्यता, इतिहास, लोक परम्पराहरूलाई नियाल्ने हो भने मानवले लामो यात्रा गरेको छ । अनेकन् ठाउँहरू खोजेको छ । अनेकन् रीतिथिति बसाएको छ । जन्म, मृत्यु, बिहे, व्यापार, लेनदेन, युद्ध लगायतका अनेकन् घटनाहरूले सामाजिक, आर्थिक रूपमा जेजस्तो प्रभाव पारेता पनि घुमघामको संस्कार स्थापित गराएको थियो । महात्मा, ऋषि मुनिहरूदेखि लेखक, अनुसन्धानकर्ताहरू विभिन्न बहानामा अनेकन् ठाउँ पुगिरहेका थिए/छन् । धर्मको बहानामा तीर्थ यात्राका लागि निस्कनेहरूको सङ्ख्या पनि बाक्लै छ । आज पनि घुमन्ते र सिकारी जीवनयापन गरिरहेको अल्पसङ्ख्यकहरू विश्वका अनेकन् ठाउँहरूमा भेटिरहन्छन् । यस हिसाबले हामी मानव स्वभावैले घुमन्ते जाति हौँ ।
त्यसो भए घुम्ने जाने होइन त ? आउनुहोस्, यसपालि बाजुराको बडिमालिका मन्दिर घुम्न जाऊ ।
बडिमालिका नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । बडिमालिका नेपालका प्रमुख मन्दिरहरू मध्य एक हो । यो मन्दिर सुदूर पश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रतिवर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । यस मन्दिर समुन्द्री सतहदेखि चार हजार दुई सय १६ मिटरको उचाईमा रहेको छ ।
बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर, अचेल यी फाँटहरू विस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।
मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखार्ने गरेको छ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मीक तथा ऐतिहासिक दृष्टीले महत्त्वपुर्ण मानिन्छ ।
जाने बाटो : मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २ -३ दिनमा पुग्न सकिन्छ । यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । बडिमालिका जानका लागि मुख्यतया दुई वटाबाट प्रयोगमा आएका छन । एउटा हो, कोहलपुर, सुर्खेत, राकम कर्णाली, जिते, रास्कोट हुँदै त्रिबेडिसम्म पुग्ने । अर्को हो- अत्तरिया, सिलगडी, मार्तडी हुँदै त्रिबेडिसम्म पुग्ने ।
गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । त्यहाँबाट ब्रह्मतोलाको शेरा बजारसम्म गाडीको सुविधा छ । बर्खायाममा गाडीको यात्रा सम्भव नहुँदा साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुग्न सकिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ ।
इतिहासको एक पाटो ।
परापूर्वकालमा भगवतीको र महिषासुर दैत्यबिच घमासान युद्ध भयो । अन्त्यमा महिषासुरको वध गरीसकेपछि कालिकोटको ‘द्वारेढुङ्गा’ भन्ने ठाउँमा भगवतीले विश्राम गरिरहेकी थिइन् । त्यही बेला द्वारेढुङ्गामा एक जना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी मागेछन् ।
देवीले सो दलितको मनोरथ पुरा गरी दिइन् । दलितले पुरै बहरलाई एक्लै खान नसकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाउन थाल्यो । उसको घर टाढा भएका कारण कसैले उसले बोलाएको सुनेनछन् । त्यसपछि दलितलाई रिस उठ्यो, उसले भगवतीलाई भन्यो, ‘हे ! परमेश्वरी मेरा घरका सबै मान्छे मरुन् ।”
देवीले उनको त्यो इच्छा पनि पूरा गरिदिइन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरी दलित रिसाएर द्वारेढुङ्गा पुग्यो । देवी उसलाई त्यहाँ देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन्। दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारेढुङ्गामा स्पष्ट रूपमा देखिन्छ ।
त्यस दिनपछि देवी सधैँको लागी त्यो ठाउँ छोडेर त्रिवेणि, पन्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडिमालिकामा गएर बसिन्। त्यसैले दलितहरू बडिमालिका आजसम्म पनि जाँदैनन् । कालिकोटबाट बडिमालिका जाने भक्तजनहरू जुन बाटो देवी गएकी हुन्, त्यही बाटो भएर जान्छन् ।