सोमबार , भाद्र ३१, २०८१

बडिमालिका, प्रकृतिको अनुपम उपहार

image

पर्यटनका लागि इतिहास बोकेका नेपालमा धार्मिक र आध्यात्मिक शक्तिपीठहरु धेरै छन् । अर्कोतर्फ तपस्वी ऋषिमुनिहरुका  तपस्यास्थलहरु पनि पर्यटनका लागि गन्तब्य बनेका छन् । शास्त्रीय मान्यता अनुसार नेपालमा शक्तिपीठहरु ५१ रहेका छन् तर आजभोलि ५२ शक्तिपीठ हुन् भन्ने तर्क पनि आउने गरेको छ । पौराणिक शास्त्रले सतिदेवीको अंग पतन भएको स्थानलाई शक्तिपीठ भन्ने गर्छ । शक्तिपीठलाई देवीको विशेष शक्ति भएको ठाउँका रुपमा लिइन्छ । शक्तिपीठमा तीर्थाटन गर्दा देवीको शक्ति मिल्ने र काम सिद्ध हुने धार्मिक मान्यताले तीर्थाटनका पर्यटकहरु शक्तिपीठमा पुग्ने गर्दछन् ।

सुदूरपश्चिम बाजुराको बडिमालिका शक्तिपीठको रुपमा मान्ने गरिन्छ । शक्तिपीठ मात्र नभएर बडिमालिका प्रकृतिको अनुपम उपहार पनि हो । पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने बडिमालिकाको यात्रामा बाटोबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र डोटी मात्र नभएर कालीकोट, मुगुलगायत भूगोलको दृश्य समेत पर्यटकहरुले नियाल्न सक्छन् । वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मेला लाग्ने गर्दछ । बाजुरा र कालीकोटको सिमानामा रहेको बडिमालिका तीर्थाटन पर्यटकहरुका लागि भू–स्वर्ग मानिन्छ । बडिमालिकामा श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म पूजा हुन्छ । समुद्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा रहेको बडिमालिकाको तीर्थाटनका लागि पर्यटकहरु पुग्ने गर्दछन् । बडिमालिकाको यात्रामा एक रात त्रिवेणीमा बास बसी भोलिपल्ट बिहान स्नान गरेर त्रिवेणीमा रहेका मन्दिरमा पूजा गरी उकालो बाटोको यात्रा गर्दछन् । यात्रामा त्रिवेणी पाटनमा ढकमक्क फुलेका विभिन्न प्रजातिका फूल, मैदानमा लस्करै चर्न लागेका भेडाका बथान, घोडाहरु पर्यटकहरुले देख्न सक्छन् । कालीकोट, बाजुरा, हुम्ला, मुगु, अछाम जिल्लाका भेडा गोठ वैशाखदेखि असोजसम्म त्रिवेणी क्षेत्रमा रहन्छन् ।

त्रिवेणीको फाँटबाट दुईतिरबाट बग्दै आएका नदी गंगा र जमुना मिसिन्छन् । झट्ट हेर्दा खप्तडको त्रिवेणीमा जस्तै देखिने गंगा र जमुना नदीको दोभान पनि सरस्वती विलुप्त भएको मानिन्छ । फाँटैभरि स–साना पोखरी देख्दा पर्यटकहरुले भूस्वर्गको अनुभूति गर्दछन् । बडिमालिकाको यात्रामा पर्यटकहरुलाई साहसिक लाग्न सक्छ । एकैछिनमा पानी र हावा अनि चिसो सिरेटोले यात्रा अविस्मरणीय हुन्छ । त्यसमाथि यात्रामा न बासको टुङ्गो न खाने टुङ्गो । यात्रामा कतै पनि होटल लज हुँदैनन् । बडिमालिकाको यात्रामा पर्यटकहरुले मार्तडीदेखि पैदल यात्रामा जहाँ तहीं खाना बस्नको लागि सुविधा छैन । होटलको सुविधा नभएको स्थानमा कम्तिमा तीन दिन बास बस्नुपर्दछ । त्यस कारण तीर्थाटनका पर्यटकहरुले आफूलाई आवश्यक पर्ने न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि साथमा लैजानुपर्दछ । यात्रामा छाता अथवा रेन कोट छुटाउनै मिल्दैन । पानी कतिखेर पर्छ थाहा हँुदैन । लेक लाग्ने हुनाले खुर्सानी र अमिलो पनि यात्रामा लैजादा बिर्सन हुँदैन । बाटोमा पानी सजिलै सबै ठाउँ मिल्दैन । त्यसैले पानीको बोतल छुटाउनुहँुदैन । बडिमालिकाको यात्रामा समूहमा जाँदा राम्रो हुन्छ  ।

त्रिवेणीदेखि लैरीविनायकसम्म पाटनको यात्रा हुन्छ । त्यसपछि भने कहीं भिरालो चुचुरो परेका अग्ला पहाड, कहीँ थुम्काथुम्की, कहीँ ठूला फाँट हेर्दैमा पर्यटकहरुले बाटो काटेको पत्तै पाउँदैनन् । यात्रामा भेटिने स–साना मठमन्दिर, कञ्चन हिमाली खोला, अविरल बगिरहने झरना, विशाल पाटन एवं घाँसे मैदानले तीर्थाटनका पर्यटकहरुलाई रोमाञ्चक अनुभूति हुन्छ । बडिमालिकाको यात्रामा कञ्चन नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेला–बेला लुकामारी खेल्ने कुहिरो, अनि चिसो सिरेटो मात्र नभएर तीर्थयात्रीहरुबाट गुञ्जने देउडाभाकाले यात्राको आनन्द छुट्टै हुन्छ । पहाडको कठिन भिरको बाटो नागवेली उकालो ओरालो बाटो बर्षेनि हजारौको संख्यामा तीर्थाटनका पर्यटकहरु बडिमालिका पुग्ने गर्दछन् । बडिमालिका पुग्नेमध्ये केही तीर्थाटनका पर्यटकहरुलाई मात्र थाहा हुन्छ तेत्रायुगको पौराणिक कथाको बारेमा । बडिमालिकाको पूजाआजा कहिलेबाट शुरु भयो एकिन भने छैन । तर वि.सं.१८८३ मा राजा रणबहादुर शाहद्वारा लालमोहर गरिदिएको प्रमाण भने पुजारी परिवारसँग छ । लालमोहरमा मत्गल्य गोत्रका ब्राह्मण बडिमालिकाका मूल पुजारी हुने भन्ने उल्लेख छ । लालमोहर दिएपछि राजा रणबहादुर शाहले बडिमालिकाको दर्शन गरेका थिए । बडिमालिकाको उत्पतिबारे स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिको यज्ञमा सतिदेवीले आत्मदाह गरिन् र महादेवले सतिदेवीको शव बोकेर हिँड्ने क्रममा मलयागिरि पर्वतमा आइपुगेपछि पार्वतीको कुम पतन भयो । त्यहीँ देवी उत्पन्न भई बडिमालिकाका रुपमा रहिन् भन्ने बिश्वास गरिन्छ ।

बडिमालिकाको तीर्थाटन गर्न पश्चिम क्षेत्रका बाइसे–चौबिसे राज्यमध्ये डोटी, अछाम र जुम्लाका शासकहरु पुग्ने गरेको इतिहास छ । बडिमालिकाको तीर्थाटन गर्न पृथ्वीनारायण शाहले पनि सेना खटाउने गरेका थिए । अमर सिंह थापा र भीमसेन थापाले समेत बडिमालिकाको तीर्थाटन गरेका थिए । राणा शासकहरुले पनि बडिमालिकाको तीर्थाटन गरेको इतिहास छ । राणाहरु अछामी कुवरको वंशज भएकाले पनि बडिमालिका तीर्थाटन गर्न रुचि राख्ने गरेको पाइन्छ । राणाकाल र त्यो भन्दा अगाडिका सेनाका कर्नेलहरुले बडिमालिकाको तीर्थाटन गर्दा सुनको जनै चढाउने र जनै प्रसादको रुपमा आफैले लैजाने गरेको पाइन्छ । बडिमालिकामा राजा वीरेन्द्रले २०३६ सालमा ठूलो घण्ट चढाएका थिए । जुन घण्ट अहिले पनि बडिमालिका परिसरमा छ । तीर्थाटनका पर्यटकहरुले एउटा हातले घण्ट हल्लाउन समेत कठिन पर्दछ । अहिले बडिमालिका पुग्ने तीर्थाटनका पर्यटकहरु घण्ट बजाउँदै फोटो खिच्छन् । बडिमालिकामा अछाम, बाजुरा, डोटी कालीकोट र जुम्लाबाट प्रत्येक वर्ष सरकारी स्तरबाट पूजाआजा गर्ने प्रचलन छ । डोटीको सरकारी टोली बडिमालिका भगवतीको मन्दिरमा जाँदा सरकारी पूजा सामग्री अर्थात पेटारोसहितको टोली बडिमालिका पुग्छ । अछामको वैद्यनाथ मन्दिरबाट आठ दिनअघि पाक्न लागेको धानको बालासहितको टोली बडिमालिका पुग्छन् । जुम्लाबाट नागपञ्चमीका दिन सरकारी टोली बाजागाजासहित बडिमालिकाका लागि प्रस्थान हुन्छन् । पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारीस्तरबाट पूजा गर्ने गरिएको इतिहास छ ।

सुदूरपश्चिमकै महत्वपूर्ण र प्रमुख धार्मिकस्थल बडिमालिका धार्मिक मात्र नभएर प्रकृतिप्रेमी पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु पर्यटनका लागि बडिमालिकाका गहना हुन् भन्दा पनि हुन्छ । बडिमालिका जाँदा पर्यटकहरुले पौराणिककालमा राक्षस र भगवतीबीच लडाईँ हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान पनि अवलोकन गर्न सक्छन् । जुन दृश्य अवलोकन गर्न भारतका  विभिन्न क्षेत्रबाट तीर्थाटनका पर्यटकहरु बडिमालिकामा पुग्ने गर्दछन् । बडिमालिकाको मन्दिर बाजुरा सदरमुकाम मार्तडी र त्रिवेणीको पैमा गाउँमा पनि रहेको छ । हिड्न नसक्ने पर्यटकहरु तिनै मन्दिरमा पुगेर तीर्थाटन गर्दछन् । बडिमालिकाको सुन्दरताको वर्णन गरेरै सकिन्न । पहिला खप्तड पुगेका पर्यटकहरु बडिमालिका पुगे भने प्रकृतिको तुलनानै गर्न सक्दैनन् । बडिमालिकामा प्राकृतिक र धार्मिक महत्व बोकेको बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिवेणी, कालाजग्रा गुफाताल, दउने ताललगायतका तालहरु रहेका छन् । बुढीनन्दामा चट्टानै चट्टानको बीचमा ठूलो ताल छ । सुदूरपश्चिममा बडिमालिका, शैलेश्वरी, उग्रतारा, निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीलाई सात बहिनी भगवतीमध्ये बडिमालिकालाई कान्छी बहिनी मानिन्छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका सुन्दर र महत्वपूर्ण धार्मिकस्थल हो । बडिमालिकाको भूगोलमा पाँच महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने गर्दछ । बडिमालिकाको परिसर अर्को अर्थमा भन्ने हो भने प्राकृतिक भ्यु–टावर पनि हो । पर्यटकहरुले बडिमालिकाको मन्दिर परिसरबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा, डोटी, कालीकोट, मुगुलगायत जिल्लाका अनगिन्ती गाउँ र प्राकृतिक सम्पदाको दृश्य अवलोकन गर्न सक्छन् । बडिमालिकामा साउन शुक्ल चतुर्दशीका दिन मूल पूजा हुने गर्दछ । जसमा बाजुराबाट एकजना र कालीकोटबाट एक गरी दुईजना पुजारीले पूजा गर्ने परम्परा रहेको छ । सरकारी पूजा भने डोटीको पेटारे टोलीबाट शुरु गर्नुपर्ने हुन्छ । डोटीबाट सरकारी पूजा नभई अरुले पूजा गर्न नपाउने प्रचलन छ । त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मा नुहाएर बडिमालिकाको तीर्थाटन गर्ने र नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास छ । बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटनको लागि प्रचुर सम्भावना बोकेको जिल्ला हो । पर्यटनका लागि बाजुरामा विविध खालका सँस्कृति, रहनसहन, भेषभूषा, कलाकौशल, भाषा, शैली र परम्परा छन् ।

सुदूरपश्चिमको बाजुरा जति दूर्गम छ, त्यति नै सुन्दर पनि । सदरमुकाम मार्तडीबाट उत्तर पूर्वतर्फ पर्ने बडिमालिका पुग्न सडक यातायातको सुविधा नहुँदा पर्यटकहरुले पैदल यात्रा गर्नुपर्ने हुन्छ । धार्मिक आस्था र पौराणिक महत्वको बडिमालिकाको क्षेत्र आफैंमा कुशल चित्रकारको हस्त शिल्प झैं देखिन्छ । बडिमालिका पुग्ने पर्यटकहरुले अपी र सैपाल हिमाललाई पृष्ठभूमिमा राखेर सबैलाई स्वागत गरेझै अनुभूति गर्दछन् । तीर्थाटनका लागि मात्र होइन बडिमालिकामा प्रकृतिप्रेमी पर्यटकहरु पनि पुग्नै पर्दछ । बडिमालिका जाँदा देखिने फाँटहरुले मौसम अनुसार रुप परिवर्तन गर्दछ । हिँउदमा यो सेताम्मे हुन्छ, वर्षायाममा रंगीचंगी । हरिया फाँटहरु ढकमक्क फुल्ने फूलहरुले सजायको देखिन्छ । बाजुरामा पर्यटनका लागि घुमफिर गर्ने धेरै प्राकृतिक सम्पदा छन् । भौगोलिक रुपमा विकट भए पनि बाजुरामा रहेका पर्यटकीयस्थल रमणीय छन् । बाजुरा पुग्न कठिन यात्रालाई सुन्दर प्राकृतिक सम्पदाले चटक्कै बिर्साइदिन्छ । बाजुरामा धेरैजसो प्राकृतिक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउँमा पुग्नुपर्दछ । त्यस्ता ठाउँहरुमा सहज यातायातको साधन उपलब्ध हुँदैन । सहज बाटो छैन र त्यसमाथि ती ठाउँमा पर्यटकहरुका लागि बास बस्ने होटल, स्वास्थ्य सुविधा अनि सुरक्षाको उचित प्रबन्ध पनि हुँदैन ।

बडिमालिका क्षेत्रमा पर्यटनको विकासका लागि पूर्वाधारको आवश्यकता छ । पर्यटकहरुका लागि पानी र शौचालय समेतको उचित व्यवस्था छैन । जुन कारणले बडिमालिका क्षेत्र दुर्गन्धित हुँदै गएको छ । पर्यटकहरुले यात्रामा धर्मशाला र बास बस्ने उचित व्यवस्थान नहुँदा तीर्थाटनका पर्यटकहरुले निकै कष्ट खेप्नुपरेको छ । बडिमालिका जाने बाटोमा कुनै चिह्न र संकेतहरु पनि राखिएको छैन । बडिमालिका क्षेत्रमा पर्यटनको लागि पूर्वाधारको विकास र प्रचारप्रसार नहँुदा बडिमालिकमा धेरै पर्यटकहरु पुग्न सकेका छैनन् । विकासमा भौतिक पूर्वाधार भएन भने कुनै परिवर्तन हुँदैन । अर्कोतर्फ विकास भएन भने समृद्धि पनि हुँदैन । बडिमालिका क्षेत्रको विकास सडक विकासमा जोडिएको छ । बिकासको पूर्वाधारमा सडकको महत्वपूर्ण भूमिका हुन्छ । सडक निर्माण बिना अरु पूर्वाधारको विकास सम्भव हँुदैन । पर्यटनका लागि सुदूरपश्चिमका अधिकांश ठाउँमा सडकको विकास भएको छैन भने भएका सडक पनि स्तरोन्नति भएका छैनन् । सरकारको ध्यान सडक पूर्वाधारतर्फ नपुग्दा पर्यटकहरुले सुदूरपश्चिमको भूगोल र जनजीवन देख्नै पाएका छैनन भन्दा पनि हुन्छ । सुदूरपश्चिममा प्रसिद्ध धार्मिक एवं सांस्कृतिक स्थल, प्राकृतिक सुन्दरता र जैविक महत्वका क्षेत्रहरु छन् ।

कसरी जाने बडिमालिका ?

बडिमालिका पुग्ने चलन चल्तीका चारवटा रुट छन् । मार्तडी–फुलचढाउना–त्रिवेणी भएर जाने । कालीकोटको सान्नीत्रिवेणी हुँदै जाने । बाजुराको नाट्यश्वरी हुँदै अथवा पैमा भण्डार गृह हुँदै पनि बडिमालिका पुग्न सकिन्छ । तर त्रिवेणी भएर बडिमालिका जानुपर्ने परम्परा रहेको छ । बडिमालिका कोर्धको बाटो भएर जान बेस हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि पुगिन्छ सोता । मेलाको समयमा सोतामा चिया र खाजा खान पनि पाइन्छ । त्यसपछि झण्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन । आधा घण्टा लामो रमणीय पाटन क्षेत्र पार गरेपछि अर्को एक घण्टाको ओरालो र उकालो । त्यसपछि भितो चिर्ना पुगिन्छ । भितो चिर्नाबाट करिव अढाई घण्टामा त्रिवेणी पुगिन्छ । त्रिवेणीबाट बिहानै हिँडेपछि चार घण्टामा बडिमालिका पुग्न सकिन्छ ।

अहिले सुदूरपश्चिमको बाजुरा जानको लागि कैलालीको अत्तरिया नपुगेर पनि जान सकिन्छ । कर्णाली प्रदेशको सुर्खेत, दैलेख हुँदै कर्णाली नदीको राकमको पुल तरेर अछामको मगलसेन हुँदै साफेबगर पुग्न सकिन्छ । साफेबगरबाट बाजुराको मार्तडी ५७ किलो मिटर पर्दछ । बाजुराको कोल्टीसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । तर हवाईयात्रा भने भरपर्दो छैन । कालीकोटको लालीघाटबाट कोल्टीसम्म मोटरबाट यात्रा गरी त्यसपछि पैदल यात्रामा बडिमालिका पनि पुग्न सकिन्छ ।

लेखक – केबी मसाल (नयाँ युगबोध राष्ट्रिय दैनिकबाट)

सम्बन्धित समाचार