एक दिन काठमाडौंमा 'आकाशबाट माछा खस्यो' भन्ने हल्ला फैलियो । माछा हेरेर फर्किएकाहरूसँग हल्ला मात्रै सुनेकाहरूले सोधे, “कहाँ हो माछा खसेको ?"
एक दिन काठमाडौंमा ‘आकाशबाट माछा खस्यो’ भन्ने हल्ला फैलियो । माछा हेरेर फर्किएकाहरूसँग हल्ला मात्रै सुनेकाहरूले सोधे, “कहाँ हो माछा खसेको ?”
‘अन: सं’ उनीहरूले जवाफ दिए । अन : सं भनेको नेवारी भाषामा ‘उ त्यहीँ’ हो ।
त्यही अन : सं अपभ्रंश भएर असन हुन पुग्यो भन्ने कथन स्थानीयहरू बताउँछन् ।
अहिले भन्ने हो भने माछा असनमा खसेको रहेछ ।
त्यो दिन आकाशबाट खसेको माछाको प्रतिरूप अहिले पनि असनमा छ । त्यसलाई मत्स्यनारायणको रूपमा पूजा गर्ने गरिन्छ । यसको कुनै खास जात्रा वा छुट्टै पर्व भने रहेको पाइँदैन । तर पनि असनमा मनाइने कुनै पनि पर्व, जात्रा आदिमा ल्याइने खट वा रथले यो माछोलाई पनि एक चक्कर परिक्रमा गरेरै जान्छ ।
छवटा बाटो एकै ठाउँ जोडिएको फराकिलो चोक र विभिन्न देवीदेवताको मन्दिर रहेको असनमा पुग्दा हामीमध्ये धेरैले याद नै गर्देनौं, असनको बीचमा कुनै माछाको मूर्ति पनि छ भनेर ।
भोटाहिटी तिरबाट असन पुग्दै गर्दा चोकको बिच भागमा तीन फिट जति अग्लो पानीको ट्याङ्कीजस्तो संरचनामा ढुंगेमाछा अर्थात् ‘न्या ल्वँ’ छ । नेवारी भाषामा ‘न्या’ भनेको माछा र ‘ल्वँ’ भनेको ढुङ्गा हुन्छ ।
सम्पदा संरक्षणमा काम गर्ने स्थानीय आलोकसिद्धि तुलाधरका अनुसार एक दशक अघिसम्म पनि यहाँ यस्तो अग्लो संरचना थिएन । “ढुंगेमाछा चाहिँ थियो तर जमिनको सतहमै थियो । सडकको बिचमा ढुंगेमाछा राख्दा मान्छेहरूले टेक्ने, गाडीले ठक्कर दिने अनि हिँड्ने मान्छेहरू अल्झिएर लड्ने क्रम बढेपछि उक्त माछालाई पूजा गरेर जमिनमुनि पुरेको हो । त्यसपछि उस्तै देखिने माछाको नयाँ मूर्ति बनाएर स्थापना गरिएको हो ।” तुलाधरले भने ।
कसरी खस्यो त माछा ?
काशीमा एक जना ज्योतिष आचार्यको घरमा छोरा जन्मिए । छोरा जन्मिएपश्चात् ज्योतिषले छोराको अनुहार हेरेनन् । कारण हो, नक्षत्र हेर्दा छोराको अनुहार हेरे आफ्नै मृत्यु हुने देखियो । यसपश्चात् उनी परिवारलाई नै खबर नगरी तीर्थयात्रामा हिँडे । तीर्थयात्राकै क्रममा उनी काठमाडौं आइपुगे ।
काशीमा पढेका निपुर्ण ज्योतिष आफ्नो देशमा आएका छन् भन्ने सुनेर नेपालका महाराज भेट्न गए । उक्त ज्योतिषका क्षमता आफ्नै आँखाले देखेपछि महाराजाले उनलाई राजज्योतिष नियुक्त गरे ।
उता काशीमा ती ज्योतिषका छोरा हुर्कँदै थिए । श्रीमानले भन्दै नभनी घर छोडेर गएपछि ज्योतिषकी श्रीमती चिन्तित थिइन् । उनले छोरालाई पनि ज्योतिष नै बनाउने प्रण लिइन् र पढाउन थालिन् ।
छोराले ज्योतिष पढ्दै गर्दा यता नेपाल देशमा राजज्योतिषले आकाशबाट माछा खस्ने भविष्यवाणी गरेको हल्ला संसार भरी फैलियो ।
ती ज्योतिषपुत्रले पनि भविष्यवाणी गरेर हल्ला चलेको कुरा सही हो कि होइन भनेर हेरे । नतिजा हो नै आयो । माछा खस्ने पक्का भयो । उनले आफ्नो अध्ययनको परीक्षण पनि हुने र यस्तो अनौठो कुरा त आँखाले नै हेर्न उचित हुन्छ भन्ने सोचेर काठमाडौं आए ।
काठमाडौं आएपछि उनलाई थाहा भयो माछा खस्ने भनेको रानीपोखरीमा रहेछ । उनले गरेको भविष्यवाणीमा माछा असनमा खस्ने देखिएको थियो । त्यसैले उनले फेरि ग्रह नक्षत्रको हिसाबकिताब गरेर हेरे, माछा असनमा नै खस्ने देखियो । त्यसपछि उनले महाराजसँग बिन्ती चढाए, ‘महाराज माछा खस्न चाहिँ खस्छ तर, रानीपोखरीमा होइन असनमा ।’
चिन्दै नचिनेको ज्योतिषले आफ्नो भविष्यवाणीलाई चुनौती दिँदा राजज्योतिष छक्क परे । “माछा खस्ने भनेको दिन माछा त खस्छ तर, असनमै खस्छ ।” युवा ज्योतिष आफ्नो बोलीबाट टसको मस भएनन् । युवा ज्योतिषले भने बमोजिम नै भयो, माछा असनमा खस्यो ।
एक युवक ज्योतिषले गरेको भविष्यवाणी मिल्दा महाराजा खुसी भए । महाराजाले युवा ज्योतिषबारे सोधखोज सुरु गरे । जब सबैलाई ती युवक राजज्योतिषका छोरा हुन् भन्ने थाहा हुन्छ, सबै दङ्ग पर्छन् ।
राज ज्योतिष भने डराउँछन् र सबै कुरा छोरालाई भन्छन् । छोराले भन्छन् कि ‘मेरो अनुहार हेर्दैमा तपाईँको मृत्यु हुने भए तपाई अहिले यो संसारमा हुनुहुन्न थियो । माछामा गरेको भविष्यवाणी जस्तै यो भविष्यवाणी पनि गडबडी पो भएको थियो की ?’
बाबुछोरा दुवैले फेरी नक्षत्र हेर्दा कुनै अशुभ देखिँदैन । त्यसपछि महाराजले प्रसन्न भई राजज्योतिषलाई उक्त पदबाट मुक्त गराई छोरालाई नियुक्त गर्छन् भन्ने किम्बदन्ती पाइन्छ ।
यो कथाको कुनै लिखित दस्ताबेज वा कुनै ऐतिहासिक प्रमाण भने प्राप्त हुन सकेको छैन ।
आकाशबाट माछा झर्न सम्भव छ त ?
असनमा मात्र होइन, अन्यत्र पनि माछा बर्सेको घटना हुँदो रहेछ । सन् २०१४ मा श्रीलङ्कामा आकाशबाट माछाको वर्षा भएको समाचार आएको थियो । टेक्सासमा पनि आकाशमा माछा बर्सिएको थियो । “रेनीङ फिश या एनिमल रेन’को नाममा इन्टरनेटमा थुप्रै सन्दर्भसामाग्रीहरू भेटिन्छन् । समुन्द्री सतहदेखि नजिकका ठाउँहरूमा यसप्रकार माछा, भ्यागुता, गंगटा लगायतका साना जीवहरू आक्षदेखि खस्न सक्ने या खसेका प्रमाणहरू उपलब्ध छन् ।
वैज्ञानिक रूपले हेर्दा पनि ठुलो पानी पर्दा आकाशबाट माछा झर्न सक्छन् । वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले कतै लेखेका छन्, “ कुनै मत्स्यकुण्ड वा जलाशयमा चक्रवात (साइक्लोन) पुग्यो भने त्यसको भुमरीले माछा, सर्प आदि जलचरलाई उडाएर बादलमा पुर्याउँदो रहेछ। त्यही बादल हुर्रिएर विभिन्न ठाउँमा वर्षा गराउँदा माछा पनि बर्सने गर्दो रहेछ। असनको माछा पनि त्यसरी नै बर्सेको होला भन्ने विश्वास गर्न थालेको छु ।”
ढुंगेमाछाकै कारण असन समृद्ध भयो
असनको ढुंगेमाछासँग अन्य धेरै कथनहरू जोडिएको छ । जस्तो, उक्त ढुंगेमाछालाई पूजा गर्दा छालासम्बन्धि रोगहरू दादुरा, लुतो निको हुन्छ भन्ने गरिन्छ । आकाशबाट खसेको उक्त माछालाई पूजा गरेपछि नै असन बजार समृद्ध भयो भन्ने समेत स्थानीयको भनाइ रहेछ । यसका साथै, दिनको एकपटक यो माछा हेर्दा खराब आत्माको प्रभावबाट छुटकारा मिल्छ भन्ने विश्वास समेत रहिआएको रहेछ ।
उक्त ढुंगेमाछाको ऐतिहासिक पक्ष भने यकिनसाथ भन्न सकिन्न । मल्लकालमा ज्योतिषीय गणना गर्दा यही ढुंगेमाछालाई नै केन्द्र मान्ने गर्दथे । यही असन इलाकामा मानदेवको नामाङ्कित ढुङ्गेधारा भेटिएकोले यो स्थानलाई लिच्छवीकलासम्मको गणना गर्ने गरिन्छ ।
ज्योतिषीय गणनाको सन्दर्भमा टुँडिखेलका महाकाल मकर राशि, असनका अन्नपूर्ण कुम्भ राशि, असनको माछा अर्थात् मीन भैरव मीन राशि र भेडासिं मेष राशिका प्रतीक हुन् । यी स्थानहरू ज्योतिषीय कालगणनाका लागि स्थापना गरिएका बिन्दुहरू हुन् ।