कालुपाण्डे राजमार्गबाट एक घण्टाको उकालो चढेपछि भेटिन्छ, जङ्गबहादुर राणाको प्रेमिक सहयोगमा बनेको सुन्दर कलात्मक दरबार, जहाँ जीवित छ जङ्बहादुर र उसका स्मृतिका अलोकहरु ।
मान्छेका सपना र सपनाले सङ्गाल्ने अभिप्साहरु पनि अनौठा-अनौठा नै हुन्छन् र जिउँदा हुन्छन् पुर्खाप्रतिका बिम्झनाहरु पनि । यस्तै बिम्झना सँगालेर बाँचिरहेका छन्, नलाङ आवृ (आप्री)का दागजुंग शाह । जसका कुन्तुरमा अहिले पनि जंगबहादुर र उनकी श्रीमती दीव्यराज्यक्ष्मीदेवीका तस्वीरहरु सुरक्षित छन् ।
दागजुंग जसले यही दरबार र यही बाटोका आसपास जीवनका ८७ वसन्त भन्दा धेरै गुजारेका छन् र बाल्यकालमा हनुमानढोका त्यसका आसपासमा आफ्ना पुर्खाले गरेका रजगजका कथा सुनेर सुनाएर पनि त्यसैको स्वादमा बाँचिरहेका छन् । अहिले पनि उनी आफूलाई भेट्न आउनेहरुलाई आफ्ना पुर्खाका गौरव , आफ्ना स्वप्नील बाल्यकालको कथा यसरी सुनाउँछन् कि मानौ उनी अहिले पनि १६ वर्षे तन्नेरी नै हुन् ।
दागजुंग शाहका पुर्खाहरु जुम्लेली खसहरु हुन् । उनीहरु त्यहाँ खेतीपाती नै गरेर बसेका थिए । उनका पुर्खाहरु मध्ये केही जंगबहादुर राणाका दरबारमा सिपाही थिए र उनले जङ्गबहादुरको मन लगाएर सेवा पनि गरेका थिए । जङ्गबहादुरकी साहिली रानीकी ठाँहिली मैया (छोरी)को विवाह गर्ने बेला भएपछि तिनै विश्वासिला सेवकसँग भने ‘मेरी ठाहिँली मैयाको विवाह गर्ने बेला भयो । कुनै उपयुक्त ठकुरी वर देखेको छस् भने भन् ।’ उनले भने, “महाराज रिसानी हुन्न भन्ने मर्जी भयो भने भन्छु । निकै लायक र खाइलाग्दो पनि छ । उसले हजुरकी मैसाबलाई खुशी पनि राख्छ ।”
सिपाहीको कुरा सुनेपछि जङ्गबहादुरले भन्छ, “भन् म विवाह गरिदिन तयार छु ।”
सिपाहीले जङ्गबहादुरको कुरा सुनेपछि भन्यो, “महाराज घोडसबार र शिकारमा सहयोग गर्न सक्छ । मेरै छोरा पनि ठकुरी नै हो । के बक्सन तयार हुनुहुन्छ त ?”
जङ्गबहादुरले वचनमा हारिसकेको थियो र उसले युवकलाई जुम्लाबाट झिकाएर छोरीको विवाह गरिदियो । विवाह मात्रै गरेन कि भक्तपुर कटुञ्जे र गुण्डुमा ५० रोपनी, नुवाकोटमा ५० रोपनी ,बेनिघाटमा ३०० मुरी र नलाङ आवृमा पनि उति नै जग्गा बिर्तामा दिएका थिए ।
बिर्ताहरु प्रशस्त भएकैले उनीहरुको रजगज रोविलो थियो । कुत उठाएर खान्थे । भक्तपुरको गुण्डु कटुञ्जे ,बेनिघाट हर्कपुर,नुवाकोट र नलाङमा राम्रै बिर्ताहरु थिए । यहाँ नलाङमा गुरुङ्हरु हाम्रो कुत उठाउने मुखिया (द्वारे) थिए ।
‘यताका कुमाइ (उनकै भाषामा)हरु उत्पात जण्ड थिए र तिनले सर्वसाधारणलाई हेप्ने चेप्ने र अन्यायमा परेका उजुरी हाम्रा जिजुलाई वीरबल द्वारेले गरे । उनले हाम्रा जिजुलाई बिन्ति बिसाएका थिए कि महाराज हजुरको बसोबास नलाङ् आवृमा हुनुपर्यो । हाम्रा प्रजाहरु अन्यायमा परे । हजुरले दरबार उतै बनाउनु पर्यो, नभए म कुत उठाउन सक्दिनँ ।” द्वारेले यसो भनेपछि मात्रै वि सं १९४७ मा यो दरबार बनेको हो । यहाँ सलाङ् पाखाको बाबियोले छाउने चलन थियो र बाबियो पनि करको रुपमा ल्याइदिने प्रचलन थियो ।
दागजुंगले हामी (राजु झल्लु प्रसाद साथमा थिए)लाई एक सासमा बताए र आफ्ना कन्तुरमा भएको जङ्वहादुर राणा र उनकी श्रीमती दीव्येश्वरीको फोटो पनि देखाए ।
हामीले उत्तर मात्रै के दिएका थियौं उनी अलि जङ्गिए । “किन नहुनु ? यस्तै मान्छेहरुले हामीलाई पनि बिगारे र देश पनि भाँडिछाडे । कोही अनुशासनमा छैनन् । कसैले कसैलाई मान्दैनन् ।” उनी जनताहरुले आफ्नो मर्यादा गर्न छाडेको गुनासो हामीतिर पोख्दै थिए ।
अहिले कौसी तोषाखाना अड्डा रहेको घर हाम्रो थियो रे । विर्ता उन्मुलन गर्ने काँङ्ग्रेसले उहिल्यै भक्तपुर र नुवाकोटका विर्ता खाइदियो । हाम्रा अरु विर्ताहरु पनि खोसियो । अब त के बाँकि छ र ? यही जंगबहादुरको अहिले पनि जिउँदोजाग्दो फोटो न बाँकि छ”, उनी सरासर बोले ।
उनकी जिजु दुर्गाकुकारी जङ्गबहादुरकी ठाइँली छोरी थिइन । जसको विवाह उनका जिजुबाबु दीप बहादुर शाहसँग गरिदिएका थिए । जङ्गबहादुरकै निर्देशनमा उनीहरु हुर्किएको यो घर बनेको थियो र यसले पनि एक शताब्दी पार गरिसकेको छ । साथै, दागजुगं जस्तै सहारा र स्याहारहीन भैगएको छ ।
हो, अहिले उनले भनेजस्तै केही बाँकि रहेनछ । उनीहरुको शाह खलकमा पनि टाठा बाठाहरु निस्किएछन् । उनले पाउनुपर्ने पुख्र्यौली र जग्गाका कागजपत्र पनि अलि जान्ने बुझ्ने दाजुभाइले लगे । दरबारको भत्ता हजरुमुमा होऊञ्जेल बुझ्नु भएको थियो रे ! अब त उनको स्मरणमा पिता-पुर्खाका धिमा स्मृतिहरु उप्काएर सुनाउनुबाहेक अरु त केही बाँकि नै छैन ।
अहिले उनको लागि यो विशाल दरबार स्याहार गर्ने पनि भारी छ । बरु उनी बसिरहेको रोड मुन्याडको सानो छाप्रो नै प्रिय छ । काफी छ । बरु यो दरबार सरकारले स्याहार गरेर पुख्र्यौली गौरवको सम्मान गरिदिए हन्थ्यो भन्ने लाग्छ दागजुंगलाई । किनभने यस ऐतिहासिक दरबार ‘बाख्रा बाँध्ने गोठ’ बनेको उनी देख्न चाहँदैनन् ।
हो, गाउँघरमा हाम्रा पुराना र मौलिक घर र वस्तीका आदिम संरचनाहरु लोप हुँदै गएको अवस्था छ र भावि सन्ततिहरुले त्यसको भेउसम्म नपाउने भैसकेका छन् । गर्मीमा टिनका ताता छानामुनि वाफिएर उसिन्निएर बस्ने बिडम्बना र जाडोमा तप्प तप्त चुहिएका लछप्रै ठिहीयुक्त शितमा कठ्याङ्ग्रिदै गुडुँल्किएर बस्नुपर्ने बाध्यता छ ।