बिहिबार , मंग्सिर ६, २०८१

अमृता प्रितमको तीन कविता

image

म तिमीलाई फेरि भेट्नेछु ।

म तिमीलाई फेरि भेट्नेछु ।
कहाँ र कसरी, त्यो म जान्दिनँ
सायद तिम्रो कल्पना बनेर आउनेछु
सायद तिम्रो क्यानभासमा
कुनै धर्को बनेर कोरिनेछु
र तिमीलाई टुलुटुलु त्यहीँबाट नियाल्नेछु ।
तिम्रा रङहरूले अँगाल्ने घामका किरण पो बन्छु कि ?
थाहा छैन कसरी र कहाँ
तर हामी फेरि भेट्नेछौं ।
शरीर नरहे पनि
टुक्राटुक्रा यादहरू त रहलान् नि कतै
तिनै यादहरूका टुक्रा
बटुल बाटुल पारेर एउटा माला गाँस्छु
र म फेरि आउँछु ।

निलो आकाशको कुनामा

निलो आकाशको कुनामा
राती मिलले साइरन बजाउँछ
चन्द्रमाको चिम्नीबाट
सादा गाढा धुँवा उठ्छ
सपना जस्ता धेरै भट्टिहरू छन्,
हरेक भट्टिमा आगो झोस्दै
मेरो प्रेमले मजदुरी गर्छ
तिमीसँगको हरेक भेट मलाई यस्तो लाग्छ
जस्तो कि कसैले मेरो हातमा थमाईदिएको छ
एकदिन भरिको ज्याला
जसले अरूका खाली हाँडीहरू भर्छ
आफ्नै सपनाहरू पकाएर, अन्नहरू पस्किएर
उसैले हरदिन आफ्नो हाँडी उल्टो राख्छ
बचेको तातोमा आफ्नो हात सेक्छ
एकछिन सुस्ताउँछ
र, ईश्वरलाई धन्यवाद दिन्छ
रातमा मिलको साइरन बज्छ
चन्द्रमाको चिम्नीबाट
धुँवा यो विश्वासले निस्कन्छ कि
जे कमाउँनु छ, त्यहि खानु छ
न कुनै गाँस हिजोको बाँकी छ
न कुनै गाँस भोलीको निम्ति बाँकी रहनेछ ।

पहिचान

जब तिमीलाई पाएँ
कैयौ जन्म तिमी
मेरो नाडिमा धड्कियौ
मेरो सासले तिम्रो सासको घुँट पियो
तब आनन्दमा बिते कैयौं काल
एउटा गुफा हुने गथ्र्याे,
जहाँ म थिएँ र थियो एकजना योगी
जब उसले अँगालोमा बाँधेर
मेरो सासलाई छुन्थ्यो
तब भगवान कसम !
यस्तो सुगन्ध आउथ्यो उसको ओठबाट
यो कस्तो माया कस्तो लिला
कि सायद तिमी पनि कुनै दिन त्यहि योगी थियौ
वा त्यहि योगी हो
जो तिम्रो अनुहार बोकेर म सँग आएको छ
र, म पनि त्यहि हुँ…त्यहि सुगन्ध हो यो..

सम्बन्धित समाचार