शुक्रबार , अषोज ४, २०८१

महावीरलाई मार्न खोज्ने मक्खाली गोशालको ‘आजभिक दर्शन’ के हो ?

गोशालको विचारमा, संसारको दु:ख भोगेर सकिन्छ, अर्को उपयुक्त उपाय छैन । सुख र दु:ख बराबर छन् ।

image

Photo by: Himal Darpan

कुनै पनि मानव समाजको विकासको सन्दर्भमा विचारको भुमरीका अहम् रहँदै आएको छ । समय-कालका खासखास परिस्थितिलाई (भौतिक तथा अ-भौतिक) सम्बोधन गर्न ज्ञानको विकास हुने गर्छ । यस्तो ज्ञान छरिएर रहेको अवस्थाबाट एकीकृतरूपमा जब विकास हुन्छ, तब त्यो एकीकृत मानव चेतनालाई दर्शन भन्ने गरिन्छ । दर्शनको शाब्दिक अर्थ ‘देख्नु-देखाउनु, बुझ्नु-बुझाउनु’ अथवा, भूगोलको पल्लो किनारले बताएको परिभाषा अनुरूप ज्ञानप्रेमी बताए पनि दर्शनको सोझो नाता मानवको चेतना वा चेतनशील विकाससँग जोडिएर आउनेगर्दछ ।

दर्शनको समयावधिलाई विभिन्न भागमा विभाजन गरिएको छ । दर्शन विश्व विकासक्रमा आधारित हुनसक्ला तर, दर्शनलाई भौगोलिक आधारमा, विभाजन गर्दा पूर्व र पश्चिम् गरि दुई मुख्य भागमा छुट्याइने गरिन्छ । दर्शनको विकाससँगै, दर्शनका धारहरू पनि छुट्टिने गर्दछन् । यो पूर्व र पश्चिम् सबैतिर भएकै हुन्छ । यस्ता धारलाई दर्शनका शाखा भनिने गरिन्छ । यहाँ पूर्वीय दर्शनका शाखा भन्नाले भारतका ‘दार्शनिक सम्प्रदायहरू’ को बारेमा बुझ्नु पर्ने हुन्छ किनभने अरब, जापान र चीनको भूभागमा विकास भएको दर्शनलाई ‘पूर्वीय दर्शन’ मान्न थालिएको भर्खर-भर्खरै मात्रै हो ।

सामान्यतया, पूर्वीय दर्शनका शाखामा ‘आस्तिक’ र ‘नास्तिक’ वर्गमा मत छन् तर, यसको विभाजनको अन्तिम आधार वेदहरूमा विश्वास गर्ने वा नगर्नेमा पुगेर टुङ्गिन्छ । वेदमा विश्वास गर्नेहरूलाई ‘आस्तिक’ भनिन्छ भने ‘वेदहरू’ अप्रमाणित गर्ने, वैदिक दर्शनमा विश्वास नगर्नेहरूलाई ‘नास्तिक’ भनिन्छ ।

आस्तिक दर्शनभित्र ‘वैशेषिक’, ‘साङ्ख्य’, ‘योग’, ‘मीमांसा’ र ‘वेदान्त’ भनिने छ वटा दर्शनहरू छन् । यी दर्शनहरूको विपरीत नास्तिक दर्शनतर्फ ‘चार्वाक’, ‘बौद्ध’ र ‘जैन’ पर्दछन् । यी दर्शनहरूमा धेरै भिन्नताहरू छन् , तर भिन्नताहरूपिच्छे प्रत्येक दर्शनमा केही न केही सिद्धान्तहरूको प्रामाणिकता उपलब्ध छ ।

चाहे आस्तिक होस् वा, नास्तिक दर्शन होस्, सबैमा केही न केही पनि समानता भेटिने गर्दछ । यो समानताको कारण के पनि होला भने, एकै सभ्यताको विभिन्न कालखण्डमा विकास भएका दर्शनका धारमा एक प्रकारको समानता आउनु स्वाभाविक नै हो । एउटै भूगोल र संस्कृतमा जन्मेका कारण यी दर्शनहरूमा भारतीय प्रतिभा, निष्ठा र हिन्दु संस्कृतिको अमिट छाप छ।

पूर्वीय दर्शनमा भौतिकवादी दर्शन भन्नाले चार्वाक, जैन,बौद्ध दर्शनलाई लिइन्छ । चार्वाकको अर्थ ‘चपाउन तयार हुनु वा खाने र पिउन सबै कुरा बुझ्ने मानिस अथवा, संसारको भोग गर्ने मानिस’ भन्ने बुझिन्छ ।

पुरातन चार्वाक सिद्धान्तहरूमा भौतिकवादका सिद्धान्तहरू थिए, जस्तै: ‘ईश्वर छैन, आत्मा छैन, पुनर्जन्म छैन र मृत्युपछिको जीवन छैन । जीवनको आनन्द स्वीकार्य छैन । सत्यको खोजीमा अनुभव र बुद्धिलाई हाम्रो पथप्रदर्शक बनोस् ।’ यसअलवा पनि चार्वाक दर्शनका अन्य धेरै लक्ष्यहरू थिए ।

जीवनपछिको पुनर्जीवन, देववादलाई अस्वीकार गर्नेहरूको समूह नै नास्तिकवादको समर्थक हो । यस दर्शन देवलोक र मृत्यलोक मान्नेहरूको लागि दुर्व्यवहारको रूपमा प्रयोग गरिएको थियो । अनईश्वरवादका प्रवर्द्धनमा समाजको दमन र अल्पसङ्ख्यक ज्ञानीहरू लागेका देखिन्छ ।

हिन्दु परम्पराका नास्तिकवादी दर्शन बाहेक पनि केही  व्यक्तिगत विचारले बौद्ध र जैनको समयमा समाजमा प्रभाव पारेका थिए । यी सबै कट्टर भौतिक दर्शन थिए । यहाँ प्रमुख व्यक्तिगत भौतिक दर्शन प्रस्तुत छन् ।

१. अजित केशकम्बल (भौतिकवादी)
अजित केशकम्बलको समयावधि ५२३ ई°.पु. हो । अजित केशकम्बल बुद्धका समयका एक प्रतिष्ठित र स्वतन्त्र विचारक थिए । उनी बुद्धकालिन भएको हुनाले उनको विचार र नाम त्रिपिटकमा भेटिन्छ ।

अजितको दर्शनमा, भौतिकता निकै प्रभाव देखिन्छ । अजितको भनाइ के थियो भने, यो संसारमा सत्य केवल प्रत्यक्ष छ र, तत्त्वको कुनै पनि आकार, परलोकसँग जोडिएको हुँदैन । संसारको वस्तुस्थितिलाई बुझ्न संसारभन्दा बाहिर जानू आवश्यक छैन । प्राणी चार तत्त्वले बनेको छ, जब प्राणी मर्छ तब, पुनः त्यही चार तत्त्वमा पृथ्वीमा परिवर्तन हुन्छ । यहाँ न परलोक छ, न ईश्वर छ । सत्यको अन्वेषण गर्न पदार्थको जुन सुकै भाग महसुस गरे पुग्छ । ‘पानी पानी हो,आगो आगो हो ।’ ‘परलोक, मृत्यु छि आउने ईश्वरको कथा, अथवा मुक्ति र मोक्ष’ केवल पण्डितहरूको बनाइएको झुटो कथा मात्र हो  किनभने जब पण्डित अथवा मूर्ख मर्छ तब, दुवै जना केवल खरानी हुन्छन् । त्यसैले यो लोक नै सत्य हो, यहीँबाट मुक्त हुनु नै मुक्ति हुनु हो ।

२. मक्खाली गोशाल (अकर्मण्यतावादी/आजभिक)

मक्खाली गोशालबारे बुद्ध र जैन दुवै समय र सम्प्रदायमा भेटिएको छ । पहिले जैनमा विश्वास राख्ने गोशालले जैनकै सिद्धान्त र विचारलाई मान्न छोडेपछि उनलाई जैन सम्प्रदायबाट बाहिरिएका थिए । भनिन्छ, उनले जैन गुरु महावीरलाई मार्नसम्म खोजेका थिए । देवताको मूर्तिमा दिसा- पिसाब समेत गरिदिएका थिए । उनी आजभिक सम्प्रदायका एक साधु थिए भनिन्छ ।

गोशालको दर्शनमा ईश्वर अथवा कुनै अलौकिक कुराको व्याख्या भेटिँदैन तर, गोशालको विचार नियतिवादतर्फ उन्मुख भएको पाइन्छ । बिनाकारण कुनै पनि तत्त्वमा हेरफेर आउँदैन किनभने मानिसको मन विशुद्ध हुनुको कुनै कारण छैन र, अशुद्ध हुनुको पनि कुनै कारण छैन ।

गोशालको विचारमा, संसारको दु:ख भोगेर सकिन्छ, अर्को उपयुक्त उपाय छैन । सुख र दु:ख बराबर छन् । साधु र पण्डितहरूले भने जस्तो, तप, जपले संसारको दु:ख कम हुँदैन । जसरी धागोको गोली बेरिएको समय सानो देखिए पनि, जब त्यो फुस्कन्छ, तब त्यो लामो देखिन्छ तर मात्रामा कुनै कमी आउँदैन । ठिक यस्तै दु:ख र सुख पनि हुन् ।

(अर्को भागमा अर्को दर्शनको चर्चा गर्नेछौँ ।)

Tags:

सम्बन्धित समाचार