बुधबार , अषोज २३, २०८१

नागार्जुन नगरपालिकाको भ्रष्टाचार र कुशासनका बिरुद्ध, समाजवादी मोर्चा

image

समाजवादी मोर्चा नेपाल, नागार्जुन नगर कमिटीले नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मोर्चाका नगर संयोजक दिव्य सीको नेतृत्वमा गएको मोर्चाको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालमार्फत नगरप्रमुख मोहन बहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य तथा मोर्चाका बागमति प्रदेश संयोजक माइला सीको विशेष उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत रिजालले छिट्टै बस्ने कार्यपालिका बैठक बस्दा ज्ञापनपज्ञमा उल्लेखित मागहरुका बारेमा छलफल गर्ने बताए । नगरप्रमुख बस्नेत काम विशेष बाहिर भएकाले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई ज्ञापनपत्र बुझाइएको हो ।

‘नागार्जुन नगरपालिकामा व्याप्त चरम बेथिति, विसंगतिको अन्त्य, भ्रष्टाचार नियन्त्रण एवम् सुशासनका लागि समाजवादी मोर्चाका नेपाल, नागार्जुन नगरसमितिको तर्फबाट नगरप्रमुखसमक्ष देहायबमोजिमका मागहरु पेस गर्दछौं ।’, नगर प्रमुखलाई बुझाएको ११ बुँदे ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा अघिल्लो साता गएको बाढी र पहिरोबाट भएको क्षतिको विवरण संकलन गरि उचित राहत र पुननिर्माणमा जुट्नु पर्ने, सार्वजनिक सम्पत्ति दोहन रोक्नुपर्ने, फोहोरमैलाको सेवा शुल्क घटाउनु पर्ने, करका दरमा पुनरावलोकन गर्नुपर्ने, लागू पदार्थ दुर्व्यसनी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन् ।

ज्ञापनपत्रपछिको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मोर्चाका बागमती प्रदेश संयोजक माइला सीले ११ बुँदे माग जनताको तर्फबाट बुझाएकाले सम्वेदनशील भएर कार्यान्वयन गर्न आग्रह गरेका छन् । ‘हामीले जनताको तर्फबाट यी माग बुझाएका छौं । तपाईं पनि जनताबाट निर्वाचित भएकाले जनताका मागमा सम्वेदनशील भएर कार्यान्वयन गर्नुहोला ।’, उनले भने, ‘तपाईंले जनतामा मागमा ध्यान दिनुभएन भने यसले ल्याउने आधीबेहरीको सामना गर्न तयार भए हुन्छ ।’

उनले जनताको तागतका अगाडि कसैको केही नलाग्ने बताउँदै जनता सडकमा आउने वातावरण नबनाउन चेतावनी दिए । नगर संयोजक दिव्यले संचालन गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा मोर्चामा आवद्ध दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार