बिहिबार , मंग्सिर ६, २०८१

उद्योग वाणिज्य महासङ्घको पर्यटन समिति उपसभापतिमा अच्युत गुरागाईँ मनोनीत

image

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को पर्यटन समितिको उपसभापतिमा अच्युत गुरागाईँ मनोनीत भएका छन् । आइतबार बसेको एफएनसीसीआईको पर्यटन तथा हवाई यातायात समिति बैठकमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले गुरागाईँलाई उपसभापतिमा मनोनीत भएको पत्र हस्तान्तरण गरेका हुन् ।

समितिको सभापति देशबन्धु बस्नेत (अजित) छन् । आइतबार दिउँसो बसेको पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले नेपालको पर्यटनलाई चलायमान बनाउन र देशैभर रहेका पर्यटन व्यवसायीको हितमा समितिले काम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

एफएनसीसीआईको पर्यटन समितिमा अहिलेसम्मकै उत्कृष्ट सदस्य संयोजन भएको टिम रहेको भन्दै अध्यक्ष ढकालले उपसभापतिमा गुरागाईँको नियुक्तिले नयाँ आशा र विश्वास जगाएको बताए ।

नाट्टाका निवर्तमान अध्यक्षसमेत रहेका गुरागाईँले कोभिड महामारी र आर्थिक मन्दीमा पनि नेपालको आन्तरिक पर्यटन पुनरुत्थान गर्न अग्रमोर्चामा खटिएर काम गरेका थिए ।

पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता संस्था नाट्टालाई काठमाडौँ उपत्यका बाहिर परिचित गराउन र सातै प्रदेशमा समिति गठन गर्न सफल रहेका गुरागाईँ बुद्धिस्ट इन्टरनेश्नल ट्राभल मार्ट (बीआईटीएम)का संस्थापकसमेत हुन् । यस्तै उनी युवा पर्यटन पत्रकार तथा अभियन्ता प्रेरित नेपाल पर्यटन महोत्सवका प्रमुख सल्लाहकार पनि हुन् ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा समितिको सल्लाहकारसमेत रहेका डा. धनञ्जय रेग्मीले उपसभापतिमा गुरागाईँको मनोनयनले देशैभरका पर्यटन व्यवसायीलाई एकताबद्ध गराएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

बीआईटीएम, डब्लुटीएम लगायत महत्त्वपूर्ण कार्यक्रम गरेर नेपालको पर्यटन क्षेत्रलाई निरन्तर सक्रिय बनाइरहेका गुरागाईँले पर्यटन समितिको उपसभापतिको जिम्मेवारीमा रहेर थप सक्रियतापूर्वक काम गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

बैठकमा पर्यटन समितिका सभापति देशबन्धु बस्नेतले नेपालको पर्यटनलाई नयाँ शिराबाट चलायमान बनाउन वर्तमान समिति अग्रसर रहने बताए । केही नयाँ र फरक कार्यक्रमबाट निरन्तर पर्यटन व्यवसायीको हितमा काम गर्ने कार्ययोजना आफूले बनाएको भन्दै उनले उपसभापतिमा गुरागाईँको नियुक्तिले समिति थप व्यवस्थित, सङ्गठित र जिम्मेवार बनेको पनि बताए ।

बैठकमा गुरागाईँले आफूले तीन दशकको अनुभव अब पर्यटन समितिलाई जिम्मेवार बनाएर काम गर्ने बताए । उनले बैठकमा पर्यटन व्यवसायलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने, पर्यटन ऐन जारी गराउन सरकारलाई निर्णायक दबाब दिन सबै व्यवसायीको साझा आवाज लिएर सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।

पर्यटन क्षेत्रका सबै संस्था र व्यवसायीको हितका लागि आफू निरन्तर लाग्ने र अब पर्यटन समितिमार्फत नै सबै पर्यटन व्यवसायीको एजेन्डा लिएर सरकारसँग मिलेर काम गर्ने र थप कार्यक्रम ल्याउन पहल गर्ने पनि उनले बताए ।

साथै उनले सातै प्रदेशमा पर्यटनको समानुपातिक विकास र वितरणको लागि पर्यटन सम्बद्ध सङ्घ संस्था तथा व्यवसायीहरूको हितका लागि एफएनसीसीआईको नेतृत्वमार्फत सिर्जनात्मक काम गर्ने बताए ।

समितिको अर्को उपसभापतिमा टानका अध्यक्ष निलहरी बास्तोला मनोनीत भएका छन् । यस्तै समितिको सदस्यमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभीएका अध्यक्ष कूलप्रसाद न्यौपाने, नाट्टाका अध्यक्ष रमेश थापा, नेपाल पर्यटन बोर्डकी अधिकृत सिर्जना नेपाली र व्यवसायी सचिन ढकाल रहेका छन् ।

यस्तै रेवानका उपाध्यक्ष सङ्घर्ष विष्ट, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठकुरी, होटल इस्टर्न स्टार विराटनगरका प्रमुख भवेश श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल, एभरेष्ट ग्रुप अफ कम्पनीका निर्देशक प्रनील प्रधान पनि समितिको आमन्त्रित सदस्य रहेका छन् ।

यस्तै सल्लाहकारमा पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी, पर्यटन व्यवसायी शशिकान्त अग्रवाल, विक्रम पाण्डे, उपुल मजुम्दार रहेका छन् ।

समितिको कार्यकाल तीन वर्षको हुनेछ । यसअघि पर्यटन समितिको सभापति ज्योत्सना श्रेष्ठ थिइन् । दुई कार्यकाल पर्यटन समितिको नेतृत्व गरेकी श्रेष्ठ महासङ्घकी एशोसिएट उपाध्यक्ष हुन् ।

पत्रः

सम्बन्धित समाचार