काठमाडौं । आरम्भ कम्युनिटीले पोयट्री स्ल्याम गर्ने भएको छ । कविताको सम्पूर्णता, लयात्मकता, सांगीतिकता, भावनात्मकतासँग गाँसिउ भनेर यस कार्यक्रम गरिएको आयोजकले बताएको छ ।
“कार्यक्रममार्फत्, भावुक मनोदशा, व्यङ्ग्य, परिहास, चरित्रको बद्खवाइँ, राजनीतिक उहापोहको चित्रण र बेथिति आदिआदिको काव्यात्मक आलोचना गरौँ न भन्न खोजेका हौँ”, संस्थापक मध्ये एक सुमन मगरले बताए । “कार्यक्रममा कविता पारखी, काव्यकलाको मर्मज्ञ, तथा सहजात काव्यकौशल भएका तपाइँ सम्पूर्णमा हार्दिकतायुक्त निम्तो छ है”, उनले थपे ।
आरम्भ समूहले चैत्र २९, ३० र वैशाख १ गते ‘तीन दिने आर्ट एण्ड म्युजिक मेला’ गर्न लागेको संस्थापक मध्ये एक अभिषेक राज सिंह थापाले बताए । “काठमाडौं नजिकैको कार्की गाउँमा ३ दिन बिताउनेछौँ । स्थानीय स्वाद चाख्दै मौलिक भेषभूषामा सजिएर रैथाने गीत एवम् संगीतको मेला गर्नेछौँ । कविता एवम् चित्रकलाका साथीहरू पनि हामीसँग जोडिनुहुनेछ । सांगीतिक ब्याण्डहरूको पनि उपस्थिति हुनेछ । हामीले ढुंगाको मूर्ति कुद्ने काम पनि गरिरहेका छौँ”, उनले भने । थापाको अनुसार, पोयट्री स्ल्याम सो मेलाको प्रि-उद्घाटन हो, यस दिन सो मेलाबारे बृहत जानकारी दिइनेछ ।
आयोजक Arambha Community, सनातन संस्कृत वाङ्मयलाई आत्मसात् गरि धर्म, दर्शन र अध्यात्मसँग नजिक भई इतिहास, संस्कृति, दर्शन, योग-ध्यान, संगीत, साहित्यमा काम गरिरहेको युवाहरूको संस्था हो ।