सुरुमा महिलाहरू मात्रै सडकमा निस्किएका थिए भने पछि इरानका कतिपय आम नागरिकले पनि हिजाब विरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
अहिले इरानी महिलाहरू ज्यानको माया मारेर सडकमा उत्रिएका छन् । यसको मुख्य कारण हिजाब हो । इरानमा घरबाहिर निस्कँदा हिजाब लगाउनैपर्ने नियमलाई लिएर कतिपय महिलाहरूमा पहिल्यैदेखि असन्तुष्टि थियो । तर यो प्रस्फुटित हुन भने सकेको थिएन । किनकि इस्लामिक देशमा हिजाबको विरोधमा खुलमखुल्ला बोल्न महिलाहरूका लागि कम खतरापूर्ण हुँदैन । तर २१ सेप्टेम्बरमा भएको एक घटनापछि महिलाहरू ज्यानको बाजी थापेर हिजाबको विरोधमा उत्रिएका छन् ।
२१ सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनी हिजाब नलगाई घर बाहिर निस्किएकी थिइन् त्यसपछि उनलाई प्रहरीले देख्यो र तुरुन्तै गिरफ्तार गर्यो । यति मात्रै होइन, हिरासतमा राखेर कुटपिट समेत गर्यो । यो यातना सहन नसकेर उनको मृत्यु भयो । यसरी मारिएकी अमिनीको कसुर भनेको उनी हिजाब नलगाई बाहिर निस्कनु थियो ।
सुरुमा महिलाहरू मात्रै सडकमा निस्किएका थिए भने पछि इरानका कतिपय आम नागरिकले पनि हिजाब विरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । अहिले इरानमा यो आन्दोलनले चर्को रूप लिएको छ । आन्दोलन रोक्न सरकारले अनेक उपाय अपनाएको छ तर पनि आन्दोलन झन् झन् चर्किँदै गएको छ ।
इरानमा अयातुल्लाह खोमैनी सत्तामा आएपछि देशमा केही कानुन संशोधन गरिएको थियो । यसको सबैभन्दा बढी असर महिलाहरूले झेलिरहेका थिए । सन् १९७९ मा युवतीहरूका लागि विवाहको उमेर १८ वर्ष थियो तर इस्लामिक क्रान्तिपछि विवाहको उमेर १३ वर्ष गरियो । फेरि १९८२ मा युवतीको विवाह गर्ने उमेर १३ वर्षबाट समेत घटाएर ९ वर्ष बनाइयो । यद्यपि, सन् २००२ मा यो कानुनमा संशोधन गरी फेरि १३ वर्ष नै बनाइएको थियो ।
महिलाहरूलाई सार्वजनिक रूपमा बाहिर हुँदा शरीर ढाक्नलाई कोट लाउन अनिवार्य गरियो । ड्रेस कोड पालना नगर्नेलाई भारी जरिवानासहित २ महिनाको जेल सजाय हुन्थ्यो । इरानमा विवाहित महिलाले एक्लै देशबाहिर जान नपाउने व्यवस्था छ । एकल महिलाले आफ्नो बुवाको मञ्जुरी लिनुपर्छ ।
इरानमा कुनै युवतीले सार्वजनिकरूपमा पुरुषसँग हात मिलाउन पाउँदिन । यहाँसम्म कि, पुरुष खेल हेर्न स्टेडियमसम्म जानसमेत महिलालाई वर्जित छ । इरानमा न्यायाधीशको इजाजतबिना कुनै महिलाले सम्बन्धविच्छेद गर्न पाउँदिनन् । तर पुरुषको हकमा यस्तो हुँदैन । पुरुषले बोलीको भरमा श्रीमतीलाई डिभोर्स दिन सक्छन् ।
सन् १९३० मा हिजाब लगाउन प्रतिबन्ध थियो, पछि त्यही इरानमा महिलालाई हिजाब नलगाउँदा जेल पठाउन थालियो । यसकै प्रतिरूप हुनुपर्छ इरानमा अहिले यस आन्दोलनले चर्को रूप लिएको छ ।