बलिउड अभिनेता अक्षयकुमारको आउँदो चलचित्र ‘रक्षाबन्धन’ ११ अगस्टबाट प्रदर्शनमा आउने भएको छ
काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारको आउँदो चलचित्र ‘रक्षाबन्धन’ ११ अगस्टबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत अक्षयले चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
आनन्द एल रायको निर्देशनमा बनेको चलचित्रमा अक्षयका अलावा भूमि पेडनेकरको पनि मुख्य भूमिकामा देखिनेछिन् । अक्षयले एक भिडियो शेयर गर्दै चलचित्रले मानिसहरूको बलियो सम्बन्धको कथा उठाएको जनाएका छन् । कलर येलो प्रोडक्शन, जी स्टुडियो, अल्का हिरान्दावी र केप ओप गुड फिल्मस्ले संयुक्त रूपमा बनाएको चलचित्रको कथा हिमांशु शर्मा र कनिका ढिल्लोले लेखेका हुन् ।
अक्षयको ‘रक्षाबन्धन’सँगै सोही मितिमा अभिनेता आमिर खानको ‘लाल सिंह चड्ढा’ पनि प्रदर्शनमा आउँदैछ । अद्भैत चन्दनको निर्देशनमा तयार भएको चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो । चलचित्रमा आमिर खान, करिना कपुर, मोना सिंह, नागा चैतन्य, नेगर खान आदि कलाकारहरूको अभिनय रहेको छ । सामान्यभन्दा केही फरक एक साधारण व्यक्तिको सङ्घर्षको कथा बोकेको चलचित्र अगस्ट ११बाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा अभिनेता शाहरुख खान पनि क्यामियो रोल (सानो भूमिका)मा देखिने छन् ।