यात्रामा थुप्रै मान्छे भेटिन्छन् थुप्रै मान्छे सँग हाम्रो अनुहार ठोकिन्छ । कहिलेकाहीँ तपाईंलाई लाग्दैन ती अनुहारहरूमा कत्ति कथाहरू लुकेका हुन्छन् ?
झ्यालपट्टीको सीटको पट्यार लाग्दो घाम मेरो आँखामा र शरीरको एक भागमा परिरहेको थियो । त्यो घाम बाट पन्छिन मैले थोरै शरीर पल्टाउन खोजेँ । मेरो नजीककै अर्को सीटमा एक महिला बसेकी थिइन् । अन्दाजी तीस वर्ष उमेरकी । मेरो शरीरले उनको शरीर केही धकेले जस्तो गर्यो । मेलै हतास सरी ! भनिहालेँ । तर उनी एकोहोरो मोबाइलमा घोप्टिरहेकी थिइन् । उनको म प्रतिको वेवास्ताले यस्तो लाग्थ्यो कि उनको मोबाइल बाहेक यताउता अन्त कतै ध्यान छैन ।
मैले उनलाई हेर्न खोजेँ । उनी मोबाइलमा कसै सँग च्याट गरिरहेकी थिइन् । यस्तो लाग्थ्यो, तेहाँ उनको असन्तुष्टी पोखिएको छ । बसमा भएको कारण उनी रुन मात्र सकिरहेकी छैनन् । उनी शिक्षिकाको पोसाकमा थिइन् । मैले उनको मोबाइलमा पनि ध्यान दिन खोजेँ । सायद उनका श्रीमान् हुन् कि ! लेखिएको थियो, ‘स्कूल कसलाई भेट्न जान लागेकी ?’ ओहो ! मेरो पारा तातिहाल्यो तर उनि यताबाट लेख्दै थिइन्, ‘म पढाउन जादैँछु । काम गर्न जादैँछु । जहिले शंका । कहिले के, कहिले के यसरी त कतिन्जेल जिन्दगी चल्छ हो ?’
त्यसपछि उनको श्रीमान्ले मेसेज सिन गरेन । उनी थप मेसेज लेख्दै थिइन् अरूको व्यक्तिगत जिन्दगी भएकोले मैले उति ध्यान दिन खोजिनँ । तर उनी झन्-झन् चिन्तित देखिन्थिन् । घरि मेसेन्जरबाट त घरि फोन नम्बरबाट आफ्नो श्रीमान्लाई फोन हान्थिरहन्थिन् । तर उता बाट कुनै रेसपोन्श नआए पछि उनले फोन अफ गरिन् ।
उनको चिन्ता बढ्दो देखेर मैले उनलाई सोध्न आवश्यक ठानेँ र सोधेँ, ‘केही चिन्तामा हुनुहुन्छ हो ?’ उनले पुलुक्क हेरिन् । मलाई देख्दा केही आत्मीय महसूस गरिन् कि उनले भनिन्, ‘हेर्नुस् न मेरो श्रीमान् म माथि सधैँ शंका गर्छ । अफिस पनि राम्रो सँग जान पाउन्नँ, दिक्क लाग्छ । काम गर्न जाने बेला कहिले के कहिले के सधैं टर्चर हुन्छ ।’ उनको समस्यालाई मैले अझ चासो देखाए झैँ गरेँ । उनलाई पनि आफ्नो पीडा कहाँ पोखौँ भएको हुनुपर्छ उनी थप भन्दै थिइन्, छोरी नभएकी हुन्थी भने त म यसलाई उहिल्यै छोड्देर हिँडिसक्थेँ, आखिर एउटा ज्यानै पाल्नु त हो । त्यो त सकिहाल्छु ।
पढेलेखेका शिक्षित महिला त सहन बाध्य छन् । उनले आफ्नो पाँच वर्षकी छोरीकै भविष्यका निम्ति सहेकी छु भनि बताउँदै थिइन् । कोटेश्वरको जाम बीच उनी सँग लामो संवाद भयो उनी भन्दै थिइन् म मेरो छोरीको बिहे गर्दिन चाहन्नँ अथवा ऊ आफैंले पनि नगरोस् भन्ने चाहन्छु । मैले यस्ता थुप्रै महिला देखेकी छु जो सहन बाध्य छन् । म काम गरेर खाने महिलाको त यो हालत छ भने काम गर्न, बोल्न नसक्ने महिलाको झन् कस्तो हालत होला । म चाहन्छु मेरी छोरी ती महिलाहरूको आवाज बन्दियोस् ।
उसले बिहे नै गरी भने पनि उसमा सहनु पर्छ भन्ने चेत नहोस् । उसमा प्रतिकार गर्ने क्षमता होस् । ऊ आफ्नो हकहितको लागि आफैँ लड्न सकोस् तर मेरो जस्तो जिन्दगी उसको नहोस् । उनको श्रीमान् खासै पढेलेखेका रहेनछन् । उनीहरूको प्रेम विवाह भएको रहेछ । आफूले काम गर्न नसकेको र श्रीमतीको कमाई खाएर बस्नु पर्दा उनको श्रीमान्ले उनलाई पनि काम गर्न जान नदिन, उनलाई कमजोर बनाउन पटक-पटक थुप्रै लान्छना लगाएर प्रयास गरिरहँदा रहेछन् ।
हामीले छोटो समयमा लामो कुरा गर्यौं । फोन नं साटासाट गर्यौं । उनी भित्र थुप्रै कुन्ठाहरू थिए जुन उनी पोख्न चाहन्थिन् । मलाई पनि उनलाई सुन्न पाउँदा आनन्द लागिरहेको थियो । हामीले फेरि भेट्ने वाचा गर्यौँ । उनी वानेश्वर झरिन् । म उनलाई नै सोच्दै-सोच्दै रत्नपार्क पुगेँ ।