बिहिबार , मंग्सिर ६, २०८१

आमा, आँधि र सपना (कथा)

समय चिप्लँदै गयो, वेगले बग्दै गयो । बगेर पनि नहराउनुको नाम समय होला सायद । उसको बहावसँगै आउने रहेछन् मान्छेका जीवनमा सुख, दुःखका बगरहरू ।

image

माघको चिसो सिरेटो मुटु छेड्ने गरेर चलिरहेको थियो । नजाने कति दिनदेखि थला परेकी मनसरा क्षेत्री उठ्न सकेकी थिइन । सधैं लिपपोत गरेर सफा हुने झुपडीमा जताततै लिउन उप्किएर प्वालैप्वाल परेर उनको जिन्दगी जस्तै थोत्रिएको थियो । फोहोर कसिङ्गरले ढाकेर आँगन पिंढी र मझेरी छुट्याउन नसकिने भइसकेको थियो । घर जस्तै मैलिंदै आएको जीवन सांसारिक असारताको मैलामा बिलाउने तरखर गरेजस्तै मदौरु सन्नाटाले घर आँगन व्यप्त थियो । उप्किएको घरको भित्तो खसेर धर्तीको माटोमा पग्लिएजस्तै जीवनका सारा तन्तुहरु छिन्नभन्न हुने तयारी गर्दै थिए ।

आँखामा केही दिनदेखि उही बिम्ब सलबलाइरहेको थियो जुन आपतमा आशा भएर छातीबाट फुत्त निस्कन्थ्यो र अन्तरकुन्तरमा मिठोसँग श्पर्श गर्दथ्यो । नजाने पूर्वस्मृतिका त्यस्तै स्वप्नील कौतुकका मिठास पिउँदै भोकप्यास सहेर बितेका यी कहरपूर्ण समय कटिएका हुनसक्छन् । उनको अर्धचेत मनसबिम्बमा अर्को घटना चलचित्रको पर्दामा झै सलबलाएको र बेला-बेलामा उनको मुखबाट संवाद बोलिएजस्तै अस्पष्ट आवाज निस्किरहेको थियो, “बाबु तेरो संसार उज्यालो हुन्छ भने बेच् त त्यही भएको एक टुक्रो खेत । त्यसैमा अलिअलि धान उब्जनी भएपछि मैले आफू कादो कोइरालो खाएर धान बेच्दै तँलाई पढाएको छु । चाडपर्व त्यसैले मनाएको छु । वर्षमा एकसरो कपडा त्यसैले लगाएको हो । तेरो पढाइको खुशीमिश्रित बोझले यी खरको छाना फेरेर टिन बनाउन सकिएको छैन । ”

छोरा कौशल पाँच वर्ष नपुग्दै बाबु धनबहादुरको निधन भयो । यो छोराको उज्यालो अनुहार हेरेर नै मनसराले जीवनका आँधि तुफानलाई सहेकी हुन् । छोरा विद्यलयमा सधैँ प्रथम हुन्थ्यो । घरमा आमाको सुसेधन्दामा पनि नियमित हाजिर हुन्थ्यो । मेलापात, रोपाईमा दुःख बिसाउने टेको थियो र दुई चार पैसाको जोहो गर्न मनसरालाई सजिलै भएको थियो । थोरै भएपनि फाँटभरको अब्बल खेतमा आठ, दश मुरी धान फल्थ्यो । मनसराले त्यो धानको चामल बनाएर खाएको दशै तिहार र लोग्नेको तिथी, श्राद्धमा बाहेक थिएन होला । कौशलको ट्युसन फिस, कापी कलम, काठमाडौं पढ्न गएपछि उसका लागि चामल, डेराडण्डाको भाडा त्यही चामलको भर थियो अनि बिचरीको पेटमा सपना र आशाबाहेक कसरी पसोस् र चामलको भात ?

उस्तै उज्यालो सम्भावना देखायो छोराले काठमाडौंमा । कक्षा ११ र १२ पढ्दा घरबाट चामल ल्याउँथ्यो । कोठामा ग्यास, क्याम्पस फिस, कोठाभाडा सबै व्यहोर्न आमाले आठ दश पाथी चामल बेचेको पैसाबाटमात्रै सम्भव थिएन । कालिमाटीमा बिहान बिहान बसबाट तरकारीका भारी उचालेर दिनको दुई/चार सय बनाउँथ्यो र आजीविका चलेकै थियो । कक्षा १२ को परीक्षा पनि सकियो । कस्तो विचित्र ? ऊ जन्मदा आमाको सुनौला सपना जन्मिएको हो । ऊ हुर्कँर्दै जाँदा सपनाका आकार पनि फकाकिलो बन्दै गएको थियो । छोराको उज्यालोभित्र आमा झनै पिंसिंदै गइन् धुलो पिठो हुँदै गइन् । आमाका दुःखको आयतन पनि बढ्दै गयो । उसरी नै थपिएका सपनाले उज्यालो भित्रका कहरहरुको आकार चाङ् लाग्न थाल्यो ।

उज्यालोले पनि मान्छेलाई निल्दो रहेछ, पिस्दो रहेछ र उज्यालोभित्र पनि त अँध्याराहरु छाउँदा रहेछन् । आमा आसा, आँधि र उज्यालो अन्धकारभित्रै हराइरहिन् ।

आफ्नो आकारभन्दा ठूलो सपना देख्ने छोराको भविष्यका लागि घोटिएका हाडबाट सुस्केराभन्दा ज्यादा केही निस्केनन् । थाहा कसरी होस् र बरा त्यो उज्यालोले अहिलेको राप र तापमात्रै दिने हो कि भोलिको प्रकाश पनि ।

समय चिप्लँदै गयो, वेगले बग्दै गयो । बगेर पनि नहराउनुको नाम समय होला सायद । उसको बहावसँगै आउने रहेछन् मान्छेका जीवनमा सुख, दुःखका बगरहरु । हराएन समय, आयो पनि र गयो पनि । गन्न नजानेकी मनसराका लागि कति गौंडा आए, कति गल्छेडा आए ? कस्तो धुप र कस्ता वर्षात्हरु आए ? थाहा भएन । बगिजाने समयको पुच्छरमा बेरिएर मनसराका अत्यासहरु पनि बग्नु पर्ने, पखालिनु पर्ने तर झन थेग्रिँदै, थुप्रिँदै उरुङ्खात दुःखका बगरहरु लागिरहे ।

छोरा कौशल कक्षा १२ उतीर्ण गर्दा पनि अब्बल दर्जामै सफल भयो । यसले उसका सपनाका आकार पनि थप बढाइदियो । त्यसैले अरू उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सपना पाल्न थाल्यो । उसले आमासँग भन्यो, “आमा तीन वर्ष न हो, तपाईँ धैर्य गरेर बस्नुस् । खानलाई पाखो बारीको उत्पादनले पुगिहाल्छ । म उता कमाएरै पढ्छु र अलि अलि पैसा पठाउन सकिहाल्छु । खेत बेचौँ । अब हजुरले पनि दुःख गर्न सक्नुहुन्न । राखेर पनि म खेती गरेर बस्न भ्याउँदिन । मलाई अहिले अष्ट्रेलिया जान दिनुहोस् । यसका लागि ३० लाख खर्च हुन्छ, खेत नबेची त्यत्रो पैसा जोहो गर्न सकिन्न । त्यसैले बेचौँ । तीन वर्ष आमाले मेरा लागि सहिदिनु भयो भने म जीवनभर आमालाई भुइँमा नटेकाइ पाल्छु नि आमा । हजुरले देख्नुभएको उज्यालो भविष्य अब टाढा छैन आमा । तपाइँले नखाइ नलाइ मेरा धेरै सपनाहरु पूरा गर्नुभएको छ । अब यति सहिदिनुभयो भने ..,” उसले आमालाई यति भनेर ढोगिदियो ।

आमाका आँखामा विगत झलझल नाच्न थल्यो लोग्ने मरेको केही समयपछि नै देवर, जेठाजुले आफूलाई अर्काको बात लगाउन के सम्म गरेनन् । छोरा नै जिउने आधार थियो । ऊ थिएन भने मनसराले उहिल्यै आफूलाई त्रिशुलीको गहिरो गर्तमा हेलिसक्थिन् वा पुछार बारीको खनिउमा आफैंले घाँस बोक्ने नाम्लाको पासो बनाएर जीवनका दुःख कहरलाई विश्राम दिइसक्थिन् । प्रयास नगरेको पनि त होइनन् तर अन्तिममा त्यही अभागी छोराको अनुहार छातीमा झल्किएपछि यो संसारको भवसागरबाट दुःखको मेलो बिसाउनै सकिनन् ।

त्यही गैरी खेतले आमाछोराको प्राण धानेको थियो । छोराको मिठो बोली लगनशीलताले आमाको जीवन लम्ब्याएको थियो । लोग्नेले छोडेर गएपनि बाँच्न भरलाग्दो अर्को खुड्किलो त्यही कैजले खेत थियो अब त्यसलाई पनि बेच्नुपर्ने भो कस्तो बिडम्बना ? छोराले हेरेन भने ? उनले उज्यालो भित्र छुस्स अँध्यारो आयतनको छायाँ देखिन् ।

आमाको मन एकतमासको भो । हुँदैन भनु भने दुःख गरेर यहाँसम्म पढाइयो । अब टुङ्गो पुग्ने बेला कसरी हुन्न भन्नु ? हुन्छ भनौं भने टेक्ने लौरो, उभिने जमिन भास्सिएपछि कहाँ अडिनु ? उनी अन्यमनस्क भइन् केही बोलिनन् ।

अन्ततः खेत बेचेरै छोराले आफ्नो सपना पूरा गर्यो । अस्ट्रेलिया गयो ।

यता आमाका थप वेदनाका कहरहरु चाङ्ग लाग्न थाले ।

कोरोनाको विश्वव्यापी कहरले संसारलाई आक्रान्त पार्दै ल्यायो । के गाउँ, के सहर सबैतिर यसले आफ्नो राक्षसी मुहार बाइरह्यो अनि चवाइरह्यो दुनियाँका रगत मासु र हड्डी । समातिएकाहरु कतिले ऐया, आत्था भन्ने अवसर समेत पाउन सकेनन् । कति मृत्यमय कहर सहेर ब्युँझिए, अघाउञ्याल कोरोनाले मान्छेका लासहरू निलिरह्यो, संसारलाई शमसानहरूकै बगर बनाउने रहर गरिरह्यो । यस्तो आतङ्कको समय थियो छोराले अस्ट्रेलिया पाइला टेकेको समय ।

जताततै उज्यालो, विकासको सगरमाथा उक्लिसकेका सहरहरु, सभ्यताका उत्तुङ्ग शिखर आरुढ भइसकेका मान्छेहरू र प्रविधिको पराकाष्ठा चुलिएको भूगोलमा कौशललाई लाग्यो अब त जीवनको उज्यालो भेटियो । केही समय सानातिना काम गरेर सन्तुष्टिको सास पनि फेरेकै हो । आमाका साना साना अवश्यकतालाई भरथेग गर्न अलिअलि पैसा पठाएको पनि हो । पैसा पाउँदा आमाका अनौठा सुस्केरा आकाशतिर फर्किएर उफ्रिएका थिए भने खुशीका आँशु भुइँभर वर्षिएका थिए । कलेज पनि भर्खर चालु हुन थालेको थियो । संसारभरबाट उज्यालो सहरमा उज्यालो भविष्य खोज्न आएका ऊ र ऊ जस्तै अबोधहरूको थेगिनसक्नु भीडमा ऊ पनि हराउँदै गएको थियो । के थाहा र उसलाई उज्यालो भित्र पनि त अँध्यारा कुहरहरु हुन्छन् । उज्यालो भित्र पनि तरिनसक्नु अन्धकार हुँदोरहेछ भनेर । उसले उज्यालो सपना देख्यो त्यही उज्यालो खोज्दै खोज्दै बिरानो मुलुकसम्म पुग्यो र आफूलाई झिलिमिलिमै हराउन चाह्यो तर उज्यालो अन्धकार पनि भयङ्कर त्राशदीय हुन्छ । भीषण आततायी हुन्छ । विचरा के थाहा र गाउँबाट बामे सर्दै आएको कोपिलालाई त्यो उज्यालो आतङ्कको कथा ? अलिखित,अदृष्य त्यस्तै अन्धकार कोरोना कहरसँगै आएर आयतन बढाउँदै गयो ।

कोरोनाको कहरले संसारलाई खर्लप्प निल्यो । ऊ बसेको सहरमा पनि बन्दाबन्दीको घोषणा भयो,कफ्र्युको आदेश भयो अब भने समय निश्चल भएर कौशलको कोठामा स्थिर बसिरह्यो । त्यहाँको स्थानीय सरकारले दिएको दाल चामल र आँटोमा कौशलका सारा कौशलताहरु खुम्चिए । न आमालाई फोन गरिरहन पायो, किनकि ऊसँग त्यो महङ्गो सहरमा उकालो फोनको बिल तिर्ने हैसियत बनिसकेको थिएन । अनलाइन कक्षाका लागि जसोतसो धान्न सकेर धन्य भइरहेको थियो । पखेटा लागेका चराहरू उड्न नपाएपछि, चारो खोज्न नसकेपछि खुम्चिरहनुको अपार गथासो बोकेर झिलिमिली अँध्यारो भित्र कौशल छट्पटाउन थाल्यो ।

उता कौशल महामारीको पञ्जामा फसेपछि एकान्तबासको निष्पट्टतामा छट्पटाउन थालेको पनि दुई महिना बितिसकेको थियो । मर्ने र बाँच्ने ठेगान थिएन । त्यतिबेला उसले निवेदन गरेको अस्थायी बसोबासको प्रमाणपत्र भने स्वीकृत भइसकेको थियो । सासको धुकधुकी मात्र बाँकि भएको कौशललाई यो अर्थहीन प्राप्ति थियो ।

आमालाई त्यही महामारीे विषले दंशित गरायो । सुनौला बजारको सारा गाउँघर आक्रान्त भयो । ओल्लो घरबाट पल्लो घर जाने बाटोमा पर्खाल लगाइएको थियो । बाटोमा भेटिएकाहरु दशहात परैबाट तर्किएर भाग्थे । मेला पात, सरसहयोग भन्ने कुरा कहावत सरह भयो । एकसरो भएका घरका बिरामीहरुको वस्तुभाउ किलाको किलै मर्न थाले, बाख्रा कुखुराहरु खोरभित्रै थुनिएर सुक्नथाले । घरहरु पूरै डम्पिङसाइडभन्दा ज्यादा गन्हाउन थालेका थिए । कोरोनासँग हैजा महामारी पनि भित्रन्छ कि भन्ने डर भैरहेको थियो ।

यस्तैमा मनसरालाई पनि आतङ्कले छोयो । नजिकका अरु छिमेकीहरु कसै कसैले ज्यान गुमाइसकेका थिए भने कसैको घरमा पानी पिलाइदिने मानिससम्म थिएनन् । मुखौटोले मुख छोपिएर हिंडेकाले मान्छे चिन्नै हम्मे हम्मे पथ्र्यो । एक घरबाट अर्को घरमा बोलीचाली ,आऊजाऊ बन्द भएकोले मनसरालाई पानी तताएर दिने पनि कोही थिएनन् । त्यसैले बिचरा मनसरा ओछ्यानमा परेपछि उठ्ने साहस पनि गरिनन् । मान्छे सपनाले बाँच्ने प्राणी भएकाले सपना साकार हुने स्थानसम्म मात्र उसभित्र जीवनको चेष्टामा रहने रहेछ । जब अगाडि उज्याला दिनहरु कहरका अँध्यारा भएर जान्छन्, सपनाका सबै ताँदो चुँडिएर लथालिङ्ग भताभुङ्ग हुन्छन् त्यहाँ बाँच्ने कुनै उमेद शेष रहँदो रहेनछ ।

सायद त्यस्तै भयो मनसरालाई । उनलाई कोरोनारुपी राक्षसले समातेपछि ओछ्यानमा ढलिन् । आँत प्याक प्याक हुँदा पनि कसैले एकथोपा पानीले घाँटी रसाइदिएनन् । पानीको प्यासभन्दा पनि ज्यादा छोराको सम्झनाका तृष्णा उधुम उम्लिएर आयो । उनलाई कसैले बोलाउन पनि आएनन् । छोरो अन्तिम र एकमात्र भरोसा जुन सम्भावनाभन्दा निकै पर भएकाले उठ्ने र तङ्ग्रने अपेक्षा आँतबाटै मर्दै गयो । उठ्न चहिनन् ।
दिनको उज्यालो त ठिकै थियो । कहिले कहिले खोलिएका रसिला नजरहरु पर पर फ्याँक्थिन मानौ ती दृष्टिका अन्तिम लक्ष्य थिए कौशल र उसका पाइलाहरु । जो भञ्ज्याङका गल्छेडाहरु काटेर उपल्लो क्षितिज पुग्न चाहन्थे तर सक्दैथे ।

बिस्तारै बिस्तारै उनले आँखा उघार्न छोडिन् , वचन निकाल्न छोडिन् र चुहिने खरका छानोबाट एकदिन उनको प्राण पखेरु निस्किएर विशाल ब्रम्हाण्डमा मिसियो । उनको जीवनगाथाले विश्राम पायो ।

सिड्नीको अस्पतालको एकान्तबासमा आमाको प्राण पखेरु निस्किएकै दिनसम्म कौशल अचेत थियो । त्यसैदिन रातको निस्पट्टतालाई चिर्दै उसको अन्तस्करणमा एक आवाजले घच्घच्यायोे “कौशल ! आजकाल तँ कति अल्छी भएको ? उठ् अब त ठिक भइसकिस् । ” त्यो आवाज कसैको थिएन उसकै आमाको थियो । सपनामा आमाले नै आएर उसको निधारमा मुसारेकी थिइन् । कौशलको आँखामा अनायास आसुको बाढी आयो र गालासम्म चुहिएर भिज्दै गयो । त्यही चिसो श्पर्षले ब्युँझिएर कौशलले आँखा खोल्यो । न त्यहाँ आमा थिइन् न उसको फुसको घरको परिवेश नै थियो । त्यहाँ त झिलिमिली बिदेशको बङ्लाको बिशालकाय महलको एकान्त खोपीमात्र थियो । कौशल बिस्तारै उठ्यो । ओछ्यानमा बसेर पर परसम्म आँखा मिल्कायो । आमाको धुमिल सम्झनाले औधि सतायो र भन्यो “आमा धन्य छौ देवी यति परसम्म आएर पनि तिम्रै आशीर्वादले बाँचेको छु माते । अब छिटै घर आउँनेछु ” ।

कोरोकाको आतङ्क बिस्तारै कम हुँदै गएपछि उसले ठानेको सर्बोच्च कमाइ ग्रिनकार्ड हात पारेको दिन छातीमा राखेर आमा सम्झँदै खुब रोयो । छिमेकतिर फोन गरेको कसैले उठाएनन् । केही दिन बसेर ऊ घर फर्कने टिकट लियो ।

मनभित्र अनेक कौतुहलता थिए । जिज्ञाशाहरु थिए । आशंका र अतेश पनि थिए । यसै तुमुल अन्यौलमा बिहान काठमाडौं उत्रेपछि सिधै सुनौलाबजार हान्नियो ।

आदमघाटबाट निकै हतारसँग उकालो चढ्दै चारबजेतिर ऊ नेवारपानी खाल्डोमा पुगेको थियो ।

जति घर नजिक पाइला पुग्यो उति वात्सल्यले आँत हर्हराएर आउँथ्यो । आमाका झभल्काले उति दिल पुलकित हुन्थ्यो । लामो बाटो काटेर आएपनि घरको परिदृष्य ओरपर नाच्नथालेपछि थकानको लेश पनि बाँकि रहेन ।

कौशल घर पुग्यो ।

घरको दैलो खुलै थियो । छाप्रामा बाँधिएको भैसीको थुप्रोमा किरा स्याउँस्याँउति खेलिरहेका थिए । खोरमा बाख्रापाठा दाम्लामै सुकेका थिए । यो विभत्सताले उसलाई ठुङ्नसम्म ठुङ्ग्यो । के भयो होला ?

आमा ! एक्कासी उसको मुखबाट चिच्याहटपूर्ण आवाज आयो र फेरि दोहोरियो आमा !
अँह कतैबाट केही चालचुल देखिएन बदलामा वीभत्स दुर्गन्धले मात्र नाकमा ठुगिरह्यो ।

ऊ उफ्रेर दैलामा पुग्यो । मझेरीमा मैलो थोत्रो सिरकले छोपिएको आकारलाई बिस्तारै उचालेर हेर्ने कोशिस ग¥यो । त्यहाँ त आमासँगै सडिसकेको सपनाको दुर्गन्धमात्र थियो ।

उसलाई भाउन्न भएर आयो र अन्तस्करण चिच्याएर छाती फुटेजस्तै आवाजमा भन्यो “आमा, आँधि र सपना किन एकैपटक सकिन्छन् मेरा लागि ?”

अक्षर आवास धादिङ
सम्पर्क नं ९८६०१५९०३३

सम्बन्धित समाचार