बिहिबार , अषोज ३, २०८१

पिठ्यूँ फर्काएर बसेका सोह्र हाते गणेश !

यदि विवाहपश्चात् श्रीमान् श्रीमतीमा कुनै समस्या छ, सम्बन्धमा खटपट छ भने यो १६ हाते गणेशलाई लड्डु चढाउँदा सबै समस्या समाधान हुन्छ भन्ने कथन यहाँ प्रचलनमा रहेको छ ।

image

प्राय: मन्दिरहरू मान्छे हिँड्ने बाटोतिर फर्काएर बनाइएका हुन्छन् तर, काठमाडौँको मध्य भागमा एउटा यस्तो मन्दिर छ, जो मान्छे हिँड्ने बाटोलाई पिठ्यूँ फर्काएर बसेको छ । ढन्नेसो (ढड्नेसो) फर्काएर बसेको छ । भोटाहिटीको आकाशे पुल सकाएर रत्नपार्कतर्फ जाँदा गर्दा रानीपोखरीतिर फर्किएको एउटा मन्दिर छ । यही मन्दिरभित्र छन् – १६ वटा हात भएका गणेश ।

यस मन्दिरभित्रका गणेश (मूर्ति) को एउटा हातमा कान्छी श्रीमती ऋद्धिको प्रतिमूर्ति छ, जसले भक्तहरूलाई आशीर्वाद दिइरहेको जस्तो देखिन्छ । अर्को हातले भने आफ्नी पत्नी सिद्धिलाई कम्मरमा समातेर आफूसँग टाँसेका छन् ।  उनका देब्रेतिरका सात हातहरू र दाहिनेतिरका सात हातहरूले विभिन्न सामाग्रीहरू समातेका छन् । सम्भवत: १६ हाते गणेशको मूर्ति संसारमै नबनेको विश्वासमा स्थानीयवासीहरूले यस मन्दिरप्रति आ-आफ्ना भक्तिभाव अर्पित गरेका छन्  ।

रिलिजन फ्याक्ट नामको अनलाइन अनुसार गणेशका मूर्ति वा चित्र बनाउँदा दुई वटा हात मात्रै बनाउन बर्जित गरिएको रहेछ । तर दुई वटा भन्दा बढी जोर नम्बरका हातहरू बनाउन भने स्वीकृति दिइएको रहेछ ।

गणेशका मूर्तिमा कसैकसैले चार, छ, आठ, दश, बाह्र र चौध हातसम्म मात्रै बनाएर हातमा विभिन्न प्रतिमाहरू राख्ने गर्दा रहेछन् । तर, सो लेखअनुसार १६ हातको पनि गणेश हुन्छन् या बनाउन सकिन्छ भनेर कतै लेखिएकै छैन । हामीले अहिलेसम्म देखेका, किताबमा देखाइएका गणेशका पनि चार वटा मात्रै हातहरू हुन्छन् । १६ हाते गणेशको मूर्ति यस सवालमा साच्चै दुर्बल ठहरिन्छ ।

सर्पको जनै लगाएका गणेश :

मल्लकालमा बनेको उक्त मूर्तिमा गणेशले सर्पको ‘यज्ञपवित’ अर्थात् जनै लगाएका छन् । उक्त मूर्तिमा गणेशको टाउको पछाडि नवनागहरू छन्, जसले उनको रक्षा गर्न बसेजस्तो देखिन्छ । भगवान् गणेशको एउटा नाम छ; ‘नागयज्ञोपवीती’ अर्थात् जसले नागको जनै लगाउँछ । महादेवले लगाउने सर्पको माला जस्तै गरी गणेशले किन सर्पको जनै लगाएका होलान् त ? यस विषयमा एक दिन गफैगफमा मैले आचार्य मनोज भण्डारीलाई सोधेको थिएँ । उनी भन्छन्, ‘बा’का कपडा छोराले लगाइहाल्छन् नि !’

यहीँनेर एउटा प्रसंग सान्दर्भिक छ,

एक दिन गणेशले धेरै लड्डु खाएर मुसामाथि हिडीरहेका रहेछन्, अकस्मात उनी लड्न पुगेछन् । लडिसकेपछि उनको पेट फुट्छ र लड्डुहरू वासरल्ल भएर खस्छन् । लड्डु उठाएर गणेशले फेरी पेटमा हाल्छन् र सर्प समातेर पेट बाँधे भन्ने कथन भेटिने गर्दछ । गणेशको कुनै कुनै फोटोमा पेटमा सर्प बाँधिएको देख्न सकिन्छ । यसपछी अरू कुनै बेला गणेश लडेको छैनन् भनिन्छ र यतिबेला गणेश लडेको देखेर हाँसेको हुँदा नै चन्द्रमामा दाग (श्रापस्वरूप) रहेको बताइन्छ ।

Buy Kalakrithi's Very Unique Ganesh Statue with 5-Headed Snake Above Head - 8" Online at Low Prices in India - Amazon.in Photo : Amazon

यसै सन्दर्भमा तन्त्रका अध्येता सन्दीप सापकोटा भन्छन्, ‘पृथ्वी तत्वात्मक मूलाधार चक्र चार पत्रे कमल भएको सर्पाकृत कुण्डलिनी शक्ति रहने निवासस्थान हो । यहाँ ऋद्धिसिद्धी सहित गणेश रहने मान्यता तन्त्र शास्त्रको छ ।’

उनले थपे, “वैदिक प्रसङ्गहरूको अनुशीलन गर्दा सर्प सामान्य प्राणीलाई मात्र भनिएको होइन कुनै व्यापक तत्त्वको समेत सर्पमा अनुप्रवेश भएको मान्नुपर्छ, देखिन्छ। शतपथ ब्राह्मणमा ‘इमे वै लोका सर्पाः (७/४/१/२५)’ भनिएको छ। अर्थात् ‘यी सबै लोक सर्प हुन् ।’ लोक अर्थात् जीवन । जीवनको तात्पर्य प्राण, प्राणको नाम पनि नाग हो । ‘उद्गारे नाग आख्यात:।’ हामीले श्वास लिँदा दायाँ र बाँया श्वास लिन्छौँ, यिनलाई इडा र पिङ्गला भनिन्छ । यो एक शीत प्रवृत्तिको हुन्छ भने अर्को उष्ण प्रवृत्तिको हुन्छ । दुवैको मध्य विन्दु सुषुम्ना हो । सुषुम्णा नाडी सामान्यतया निष्क्रिय हुन्छ । यसको मूल कुण्डलिनी हो, त्यो सर्पाकार हुन्छ । मानिसको कन्दस्थानमा रहने मूलाधार चक्रमा रहेको सर्पाकार कुण्डलिनी शक्तिलाई जगाएर षट्चक्र भेदन गरी सहस्रारमा रहेको परम शिवसँग मिलन गराउँदा मोक्ष प्राप्त हुने कुरा विभिन्न शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ । योगीहरूले कठोर योग साधनाको माध्यमद्वारा कुण्डलिनीलाई जागरण गराउँछन् । सिद्धि प्राप्त गर्छन् । यो प्राणविद्या हो । गोरखनाथले यसलाई ‘हंसविद्या’ पनि भने । सो यो प्राणको गतिसँग सम्बद्ध मन्त्र हो । सामान्यतया प्रतिदिन २१,६०० पटक सामान्य मानिसले श्वासप्रश्वास गर्दछ । यो २१,६०० चोटिको श्वासप्रश्वासलाई ‘अजपा गायत्री’ पनि भन्दछन् । अजपा जप सामान्य मानिसले पनि हरदम गरिरहेको हुन्छ । कुण्डलिनी शरीरको मेरुदण्डको उभय पार्श्वमा रहने, मूलाधार चक्रमा करिब साँढे तीन फन्का लगाएर आफ्नो पुच्छर आफ्नै मुखमा बेरेर रहेको हुन्छ । त्यसैलाई योगचूडामणिले सर्पको नामले सम्बोधित गरेको छ ।’

ताण्डव गर्ने गणेश :

लुगा लगाउने मात्रै होईन् गणेशले शिवले जस्तै ताण्डवमा नृत्य पनि गर्ने रहेछन् । नेपाली वाद्यविद् रामशरण दर्नालले प्राचीन नेपालको एक लेख ‘नेपाली मूर्तिकलामा नृत्य गणेश’ मा उक्त कुरालाई लेखेका छन् । उनले लेखेका छन्, “नेपाली काष्ठकला र धातुकलामा पनि नृत्य गणेश वा नृत्य गणपतिहरू ढालिएका छन् । काष्ठकलामा टुँडाल र तोरणमा त्यस्ता नृत्य गणेश कुँदिएका हुन्छन् भने धातुकलामा मुसोमाथि नृत्य गणेश चार बाहु भन्दा बढी बाहु र एक शिरभन्दा बढी शिरहरू भएका मूर्ति पनि धातुमा ढालिएका हुन्छन् ।”

उनी अगाडी लेख्छन्, “नेपालको नृत्य  रूप प्रस्तर गणेशको अध्ययन गर्दा केही मूर्तिहरू शिवको ताण्डव नृत्य शैलीसँग मिल्दोजुल्दो देखिन्छ भने केही मूर्तिहरू स्वच्छन्द रूपले नृत्य गर्न लागेका देखिन्छन् । नेपाली गणेश मूर्तिहरूको विशेषतामा ध्यान दिँदा एउटा कुरा के स्पष्ट हुन्छ भने नेपाली मूर्तिकारहरुद्बारा कुँदिएका पछिका सबै गणेश मूर्तिहरूका पिँडौलामा तीन कुने आकारका चाँप कुँदिएको हुन्छ । यस्तो चाँप कुँदिएको नृत्य रूप गणेशमा त अवश्य हुने नै भयो । तर यस बाहेक उभिएका र बसेका गणेशको मूर्तिहरूमा समेत पिँडौलामा चाँप कुँदिएको देख्न सकिन्छ । शिव परिवार फलकमा रहेका नृत्य गणपतिका मूर्तिहरूमा चाँपहरू प्रस्ट ठम्याउन नसके पनि एक्लो र शक्ति सहितका महागणपति वा गणेशका मूर्तिहरूमा भने पिँडौलाका चाँपहरू प्रस्टसँग देख्न सकिन्छ ।

यसैले नेपाली मूर्तिकारहरूले वास्तवमा गणेशलाई नृत्य देवताको रूपमा हेरेको थाहा पाइन्छ । गोविन्द टण्डनले आफ्नो पुस्तकमा गणेशका मूर्तिहरूमा पिँडौलामा चाँप कुँद्ने चलन सोह्रौँ सत्रौँ शताब्दी पछिको मूर्तिकलाको देन मान्नु भएको छ । भारतका नृत्य  गणपतिका पछिका मूर्तिहरूमा पनि चाँप लगाएको देखिएको छैन । खास गरी पिँडौलामा चाँप लगाउने चलन नेपालको प्राचीन र परम्परागत नृत्यको  प्रभाव हो । यस प्रकारले पिँडौलामा चाँप लगाउने चलन आज पनि हाम्रो कतिपय देवी नाच कटि प्याखँ जस्ता नाचहरूमा देख्न सकिन्छ । पिँडौलामा चाँप लगाउने चलन नेपाल बाहेक अन्यत्र कहीँ देखिएको छैन । यसैले यो नेपाली कलाको विशिष्ट र  मौलिक शैली हो भन्नुमा अतियुक्त हुँदैन ।’

सोह्र हाते मन्दिरका अनौठा कथनहरू 

प्रताप मल्लले निर्माण गरेका यस् अनौठो मन्दिरको अनेक कथनहरू छन् ।

१.

कतिले घरमा मुसा लागेको छ भने त्यहाँ आएर पूजा गर्दा मुसाबाट छुटकारा पाइने बताउने रहेछन् । कसैले नयाँ काम, व्यापार सुरु गर्दा उक्त मन्दिरमा आएर पूजा गरेमा कुनै बाधा अड्चन नआउने पनि बताए ।

२.

यो मन्दिरमा अर्को अचम्मको कुरा पनि छ । त्यो हो गणेश भगवानकी जेठी श्रीमती सिद्धिको मात्रै मूर्ति हुनु ।  उनका दुई वटा श्रीमती  छन् । ऋद्धि र सिद्धि ।

ऋद्धि उनकी कान्छी पत्नी हुन् भने सिद्धि उनकी जेठी पत्नी हुन् । उनका फोटोमा सधैँ उनका दुवै पत्नीहरू काखमा हुन्छन् । यो मूर्तिमा भने उनकी जेठी पत्नी सिद्धिलाई मात्रै काख च्यापेका छन् । कान्छी पत्नी ऋद्धिको भने प्रतिमा मात्रै उनको हातमा छ ।

सोह्र हाते गणेश

उनले एउटै मात्रै श्रीमतीलाई समातेर बसेको मूर्ति या फोटो अन्यत्र भेटिन गार्‍हो नै पर्दो रहेछ । यदि विवाहपश्चात् श्रीमान् श्रीमतीमा कुनै समस्या छ, सम्बन्धमा खटपट छ भने यो १६ हाते गणेशलाई लड्डु चढाउँदा सबै समस्या समाधान हुन्छ भन्ने कथन यहाँ प्रचलनमा रहेको छ ।

तुलसी, गणेश र सिद्धि 

एक पटक गणेश गङ्गा नदीको किनारमा तपस्या गर्दै थिए । सोही अवधिमा धर्मात्माकी छोरी तुलसी विवाहको इच्छा लिएर तीर्थयात्रामा गइन् । देवी तुलसी सबै तीर्थस्थलमा पुगेर गङ्गाको किनारमा पुगिन् । गङ्गाको किनारमा, उनले गणेश तपस्यामा लीन भएको देखिन्। शास्त्रका अनुसार, तपस्यामा मग्न भगवान गणेशका सबै अङ्गहरू चन्दनले छोपिएका थिए । उनको घाँटीमा पारिजात फूलसहित सुन र रत्नका धेरै हार थिए । भगवान् गणेशको यो सुन्दर रूपले तुलसी मोहित भइन् । उनको मनमा गणेशसँग विवाह गर्ने इच्छा जाग्यो । तुलसीले उनको तपस्या भङ्ग गरेर विवाहको प्रस्ताव गरिन् ।

त्यसपछि भगवान् गणेशले तुलसीको तपस्या विघटन अशुभ भएको र तुलसीको मनसाय थाहा पाएर ‘आफू ब्रह्मचारी भएको’ भन्दै उनको विवाहको प्रस्ताव अस्वीकार गरिदिए । विवाहको प्रस्ताव अस्वीकार गरेपछि तुलसी क्रोधित भइन् र गणेशजीलाई श्राप दिइन् कि ‘उनले एउटा होइन, दुई-दुई वटा विवाह गर्नुपरोस् ।’ यसैमा श्रीगणेशले तुलसीलाई पनि असुरसँग विवाह गर्ने श्राप दिएका थिए । त्यस्तो श्राप सुनेर तुलसीले गणेशसँग माफी मागेकी थिइन् । त्यसपछि गणेशजीले तुलसीलाई भने कि ‘तिम्रो विवाह शंखचुर्ण राक्षससँग हुनेछ । तर, भगवान् विष्णु र श्रीकृष्णको प्रिय भएर कलियुगमा संसारलाई जीवन र मोक्ष दिने तिमी नै हुनेछौ । यद्यपि, मेरो पूजामा तुलसी चढाउनु शुभ मानिने छैन ।’

त्यसयता भगवान् गणेशको पूजामा तुलसी चढाउनु वर्जित मानिन्छ ।

‘गणेशको टाउको हात्तीको थियो’ भन्ने कुरा त हामी सबैलाई थाहा छ । भगवान् परशुरामसँग युद्ध हुँदा गणेशको एउटा दाँत पनि भाँचिएको थियो । त्यसैले उनलाई एकदन्त पनि भनिन्छ । यी कारणहरूले गर्दा कोही पनि देव कन्या गणेशसँग विवाह गर्न मान्दैन थिए । तुलसीलाई ब्रह्मचारी भनेर अस्वीकार गरे पनि गणेश आफ्नो विवाह नभएपछि क्रोधित भएका । त्यसपछि गणेश र उनको वाहन मुसो भएर अरु देवताहरूको विवाहमा गएर विवाह बिगार्न थाले । सबै देवताहरू गणेशको यो व्यवहारले आजित भएर भगवान् शिव कहाँ पुगे । भगवान् शिवले पनि यो समस्या समाधान गर्न नसक्ने बताएर देवताहरूलाई ब्रह्मालाई भेट्न पठाए । ब्रह्माले यो समस्या समाधानको लागि ऋद्धि र सिद्धि नाम गरेका दुई कन्या सृष्टि गरे । तिनै कन्याहरूसँग गणेशको विवाह भयो र उनीहरूको ‘शुभ र लाभ’ नाम गरेका दुई पुत्र छन् भन्ने गरिन्छ  ।

Lord Ganesh With Devotees - 19th Century - Indian Vintage Miniature Painting - Framed Prints by Raghuraman | Buy Posters, Frames, Canvas & Digital Art Prints | Small, Compact, Medium and Large Variants

गणेशको हातमा मुला 

नेपाली मूर्तिकलामा सर्वमान्य तथा लोकप्रिय गणेशको मूर्तिको दायाँ हातमा फल वा मुला हुन्छ । गणेशको टाउको हात्तीको भएको हुनाले पनि सायद मुला समातेको हो की भनेर अड्कल लगाउने गरिन्छ । तन्त्रका अध्येता सन्दीप सापकोटा हातमा मुला हुनुलाई विनायक भएको जनाउने बताउँछन् । उनले भने, ‘उहाँ पञ्चमकार ग्रहण गर्ने गणेश हो, जसको हातमा मूला छ, यसले स्थान विनायक भएको जनाउँछ ।’

काठमाडौँमा रहेको उक्त गणेशलाई ‘सोह्र हाते शक्ति विनायक’ पनि भनिन्छ । यो मन्दिर तान्त्रिक प्रभावमा निर्माण गरिएको विश्वास गरिन्छ ।

प्रताप मल्ल ले आफ्ना दिवङ्गत छोरा चक्रवतिन्द्रको सम्झनामा रानी भुवनलक्ष्मीको लागि रानीपोखरी बनाउँदा पोखरीको बिचमा शिवालय (विसं १७२५-२९ सम्म) बनाए । शिवालय बनाएपछि शिवका छोराले ‘गणेशको पनि मन्दिर बनाउनु पर्छ’ भन्ने लागेर उक्त मन्दिर बनाएको हुनसक्ने स्थानीयहरू बताउँछन् । तर, उनले रानीपोखरी तिरै फर्काएर किन बनाए भन्ने चाहिँ अहिलेसम्म रहस्यकै विषय हो । जे होस्, प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्र हाते गणेश स्थापना गरेको देखिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि सुमन र सचिन महर्जनले तयार पारेको रानीपोखरीको डिजाइन।

यो मन्दिरमा हिन्दु मात्रै होइन, बौद्ध धर्मवालम्बिहरूले समेत पूजा गर्छन् । बौद्ध धर्मको वज्रयान साधकहरूले गणेशलाई आफ्नो साधनाको सिद्धिका लागि प्रमुख देवता मान्छन् । नेपालका अधिकांश मध्यकालीन बौद्ध विहारहरूको मूल ढोकाभित्र दायाँबायाँ भागमा क्रमशः गणेश र महाकालका मूर्तिहरू पाइन्छन् । पाँच टाउके गणेशलाई ‘हेरम्ब गणेश’का रूपमा बौद्ध धर्मको वज्रयान साधकहरूले मान्यता दिई पूजाआजा गर्ने चलन नेपाली बौद्ध समाजमा छ । पाटनमा हालसम्म पनि वर्षको एक पटक एक महिनासम्म गणेशको मूर्ति र मन्दिरहरू रहेको ठाउँमा गएर समूहगत रूपबाट पूजाआजा गर्ने चलन आजसम्म पनि यथावत् रहेको छ ।

सन्दर्भ सामग्री
सागर लामिछाने, आनन्द नेपाल
कन्दोर्ध्वे कुण्डली शक्तिरष्टधा कुण्डलाकृतिः (योगचूडामणि उपनिषद्, ३६। ४४)

सम्बन्धित समाचार