शुक्रबार , अषोज ४, २०८१

ओलीलाई गगनको जवाफ: ‘रन्थनिएको बेलामा जे बोलिदिए पनि हुन्छ’

image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्षी दलले नीति तथा कार्यक्रममाथि लगाएको आरोपलाई कुण्ठाको संज्ञा दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै कुण्ठामा सहानुभूतिबाहेक अरू केही नहुने बताएका हुन् ।

प्रतिपक्षी दलका नेताहरूले नीति तथा कार्यक्रम र सरकारको चर्को विरोध गरेपछि उनले भने, ‘यहाँ घण्टौँको लामो गन्थन प्रस्तुत भयो । त्यसको जवाफ दिनुपर्छ भनेर मलाई साथीहरूले भन्नुभयो। मैले साथीहरूलाई भनेँ प्रश्नको उत्तर हुन्छ। विचारको टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति र असहमति हुन्छ।, तर कुण्ठाको केही हुँदैन सहानुभूति मात्रै हुन्छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गरेर रन्थनिएको बेलामा बसेर सुतेर उठेर जसरी जे बोले पनि आफूहरूले सुनिदिनेबाहेक केही गर्न नसक्ने बताए ।

‘रन्थनिएको बेलामा जे बोलिदिए पनि हुन्छ। कहाँ कहिले बोल्ने त्यो कुरा बोल्ने हेक्का राख्ने कुरा हो’ उनले भने। सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराएको भएकाले मंसिरमा प्रदेश र संघीय निर्वाचन गराउने उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममा भाग लिने क्रममा बिहीबार केपी शर्मा ओलीले करिब ३ घण्टा रोष्ट्रममै कुर्सीमा बसेर सरकार खरो आलोचना गर्नुका साथै स्थानीय निर्वाचनमा सरकारले धाँधली गरेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार