नेपाल। दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा सहयोगी लैजान पाउनेछन् ।
निर्वाचन आयोगको अनुसार उनीहरूले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने स्थानमा लैजान अनुमति मागे मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई अनुमति दिनेछन् ।
अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
आयोगद्वारा जारी विज्ञप्तिका अनुसार ‘दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ ।
मतदान अधिकृतले मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ ।