सोमबार , भाद्र ३१, २०८१

टेवानको, तीज सांस्कृतिक महोत्सव भव्यरुपमा सम्पन्न

image

संस्कृति संरक्षणसँगै पोखराको पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ भव्यरुपमा सम्पन्न भएको छ ।

तीजको अवसरमा फेवाताल किनार वाराहीघाटमा २ दिनसम्म चलेको महोत्सवमा महिला दिदीबहिनीहरुले विभिन्न तीजेभाकामा पोखराको पर्यटन प्रवद्र्धनसँगै यहाँका विकृति विसंगतिबारे चर्चा समेत गरे ।

टेवानले दोस्रो संस्करणको रुपमा आयोजना गरेको सो महोत्सवले आफूहरुलाई निकै उत्साह थपेको टेवान अध्यक्ष कमला गिरीले बताइन् । उनले भनिन्, ‘महत्वपूर्ण तीज पर्वलाई आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धनमा समेत एउटा ब्रान्ड बनाई ‘पोखरा सबै मौसमका लागि’ घुम्न रमाउन उपयुक्त स्थान हो भन्ने सन्देश दिने हाम्रो प्रयास रहने छ ।’ उनका अनुसार महोत्सवमा पर्यटन प्रवद्र्धन र उद्यमशीलता शीर्षकमा तीज गीत प्रतियोगिता, टक शो, रस्साकसी, सारी दौड प्रतियोगिता भएका थिए ।

जसमा मोटिभेसनल स्पिकर डा. राजु अधिकारी, युवा नेता खुस्वु ओली, पर्यटक विश्लेषक सोम सापकोटा लगायत विभिन्न विषयका सम्वादमा गफिए ।

लाइफ कोच, योगा ट्रेनर, मोटिभेसनल ट्रेनर डा. अधिकारीले तीजको मर्म र नारी शक्तिबारे विचार राख्न भ्याए । डा. अधिकारी र युवा नेता ओलीसँग पत्रकार दुर्गा अधिकारी गफिइन् भने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् उपमहासचिव एवं एनआरएनए पर्यटन प्रवद्र्धन समिति संयोजक सोम सापकोटासँगको सम्वादलाई पत्रकार दीपेन्द्र पहारीले सहजीकरण गरेका थिए ।

तीज गीत प्रतियोगितामा पोखरा वडा ६ सञ्जीवनी आमा समूह प्रथम भएका थिए । दोस्रो सहनशील दिदीबहिनी समूह, तृतीय अमरसिंह दृष्टिविहीन समूह भएका हुन्  । उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार पाए । रस्सी तान्नेमा समावेशी दिदीबहिनी समूह प्रथम हुँदा । सारी दौडमा आमा समूहबाट प्रथम, दोस्रो र तेस्रो तथा छोरी समूहबाट प्रथम, एकल नृत्य, दुई दिनको लगातार नृत्यमा ४ जना गरी प्रथमलाई सुन उपहार दिइयो भने अन्यले पनि पुरस्कार पाए ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित आयोजित महोत्सवको गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गरेका थिए ।

कार्यक्रम संचालन महासचिव अनिता खड्का भट्टराईले गरेकी थिइन् । साथै कार्यक्रमकी संयोजक शान्ता सुवेदीले यस्ता कार्यक्रमलाई विगतमा पनि निरन्तरता दिने बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार र भारतीय राजदूतावासको सहकार्यमा भारतीय सांस्कृतिक गीत एवं नृत्य प्रस्तुत भएको थियो । सो अवसरमा विभिन्न जातजाति र समुदायको नृत्य समेत समेटिएको थियो । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका, विभिन्न वडा, गाउँपालिका, पर्यटनसम्बद्ध विभिन्न संघसंस्था, एनआरएन लगायतले उक्त महोत्सवलाई सहयोग गरेका थिए ।

पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा २०७४ सालमा टेवान स्थापना भएको हो । स्थापना कालदेखि नै टेवान विभिन्न सामाजिक र विकासका कार्यमा निरन्तर लागिपरेको छ ।

सम्बन्धित समाचार