गण्डकी प्रदेशमा हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ वाह्य पर्यटकहरु धेरै पुग्ने जिल्ला हुन् । पदयात्रामा रमाउने धेरै पर्यटकहरु राउण्ड अन्नपूर्णको यात्रामा यी दुई जिल्लामा पदयात्रा गर्दछन् । पर्यटनको क्षेत्रमा विश्वमा नै मनाङ र मुस्ताङको बारेमा धेरै चर्चा हुने गर्दछ । मनाङसँगै जोडिएको उपल्लो गोरखाको हिमालपारीको चुमनुब्री उपत्यकामा पर्ने मनास्लु हिमाल, श्रृंगी हिमाल र ऐतिहासिक र पुरातात्विक हिसाबको चुम र नुब्री उपत्यका पुग्ने पर्यटकहरुको संख्या पनि धेरै छ । उत्तरी गोरखामा दुईवटा मनोरम पर्यटकीय उपत्यका छन् चुम र नुब्री । चुम उपत्यकामा चुम्चेत र छेकम्पारमा पर्दछ । नुब्रीमा बिही, प्रोक, ल्हो र सामागाउँ पर्दछ । चुम उपत्यका शान्ति र अहिंसा क्षेत्र भनेर विश्वभर चिनिन्छ ।
जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट सन् १९५६ मा मनास्लु हिमाल आरोहण गरेपछि हरेक वर्ष हिमाल आरोहण गर्ने विदेशी पर्यटकको संख्या बढेको छ । मनास्लु क्षेत्र भ्रमण गर्नेमा जर्मन र फ्रान्सका पर्यटक धेरै हुन्छन् । नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोर्डन, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, टर्की, अमेरिका र साउथ अफ्रिकाका नागरिकहरु पनि मनास्लु क्षेत्रमा पुग्ने गर्दछन् । भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरुले आफ्नो माने जस्तै मनास्लुलाई जापानी पर्वतको रुपमा लिइन्छ । मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । मनास्लु हिमालको उचाइ आठ हजार १५६ मिटर छ । चुमनुब्री उपत्यकामा पर्ने मनास्लु हिमाल माउन्ट किलरका नामले पनि चिनिन्छ । मनास्लु हिमाल आरोहण गर्नुलाई आरोही पर्यटकले आफूलाई साहसिक मान्छन् । मनास्लु क्षेत्रमा पर्यटकले तीन सातासम्म बिताउँछन् ।
वाह्य पर्यटकहरु विशेष गरी नेपालमा हिमाल आरोहण, हिमाली क्षेत्रमा पदयात्रा, यहाँको संस्कृति र जैविक विविधताको बारेमा अध्ययन अवलोकन गर्नमा रुचि राख्छन् । गोरखा जिल्लाको उत्तरी भेग मनास्लु संरक्षण क्षेत्रभित्र पर्ने कुल्हा पाल्साङ हिमाल, गणेश हिमाल, श्रृङ्गी हिमालबीचमा बग्ने बुढीगण्डकी र स्यारखोलाको बीचमा बनेको चुम र नुब्री उपत्यकामा पर्यटकहरु पुग्छन् । पर्यटकहरु गोरखाको आरुघाट हुँदै सोती, माछाखोला, सिर्दिबास भएर छेकम्पारको चुम उपत्यका पुग्ने गर्दछन् । बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको बुढीगडकी र स्यारखोला मिसिएको ठाउँ गम्पुलबाट चुम उपत्यका र नुब्री उपत्यका जाने बाटो छुट्टिन्छ । धेरै पर्यटकहरु पहिला चुम उपत्यका पुग्छन् भने चुमबाट फर्किएर सामागाउँ हुँदै नुब्री उपत्यका भएर अधिकांश पर्यटक लार्केपास गरेर मनाङको थोचे हुँदै लमजुङको बेशी शहर फर्कन्छन् भने कतिपय सामागाउँबाट आरुघाट फर्कन्छन् ।
आरुघाटबाट लार्केभञ्ज्याङसम्म पदयात्रा गर्ने पर्यटकहरुले बुढीगण्डकीको झोलुङ्गे पुल २० ठाउँमा तर्नुपर्दछ । चुम उपत्यका पुगेपछि पर्यटक स्वर्गको अनुभूति गर्दछन् । चुम उपत्यका अद्भूत आध्यात्मिक भूमि मानिन्छ । चुमको पिरेन फु गुफाको ढुङ्गामा तिब्बतका महान तान्त्रिक गुरु चिप्चुन मिलारेपाको पैतालाको छाप छ । उनी एघारौं शताब्दीमा यस गुफामा आएर ध्यान र साधना गरेर बसेका थिए भन्ने मान्यता रहेको छ । चुमका गुम्बामध्ये राछेन गुम्बा र मु गुम्बा बढी महत्वपूर्ण मानिन्छन् । तिब्बती बौद्ध धर्मशास्त्रअनुसार किमोलुङ बेयुलको अर्थ शान्ति र खुशियालीको उपत्यका भन्ने हुन्छ । चुम उपत्यकाको हिमाली मनोरम दृश्य र गुम्बा, माने, कानी, मन्दाम, छोर्तेन र घरघरमा फहराएका लुङदर अर्थात झन्डाले पर्यटकहरुलाई स्वर्गीय आनन्दको अनुभूति दिलाउँछ । तीन हजार मिटरको उचाइमा रहेको चुम करिब २० वर्गकिलोमिटर क्षेत्रको उपत्यका बनेको छ । उपत्यकाको बीचबाट स्यारखोला बगेको छ । माथिल्लो चुम अर्थात छेकम्पार चीनको तिब्बतसम्म फैलिएको छ । सबैभन्दा बढी उचाइमा तीन हजार पाँच सय १० मिटरमा म्हु गुम्बा रहेको छ । अन्य सानाठूला गरेर चुममा २३ वटा गुम्बा छन् । अर्को चुम्चेत अर्थात तल्लो चुममा १० वटा गुम्बाहरु पर्छन् ।
चुम उपत्यकामा शान्तिप्रिय संस्कार र संस्कृति, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छयोर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृतिको अलग्गै महत्व छ । चुम उपत्यकामा बौद्ध समुदाय धेरै भएकाले बौद्ध भिक्षु भिक्षुनीहरु धेरै छन् । यही क्षेत्रमा विश्वकै सबैभन्दा पुरानो डेफु डोल्मा भिक्षुनी (आनी) गुम्बा रहेको छ । यो गुम्बा करिब ८२० बर्ष अघि स्थापना भएको मानिन्छ । चुम क्षेत्रलाई जीवजन्तुको खुला संग्रहालय भन्दा पनि हुन्छ । चुम क्षेत्रका जीव–जनावर र चराचुरुंगीको मानिससँग पारिवारिक सम्बन्ध छ । चुम क्षेत्रमा झारल, घोरल, कस्तुरी मृग, कालिज, डाँफे तथा मुनाल फ्या अर्थात स्थानीय भाषामा मुसा भनिन्छ र लंगुर बाँदर जस्ता जीवजन्तु पाइन्छन् । पर्यटकहरुले पदमार्गमा खुलारुपमा झारल नाउर कस्तुरी घर वरपर चरिरहेको देख्छन् । मानिससँगै जंगली जनावर पनि खेलिरहेका हुन्छन् । चुमको अर्थ खा चुम, निग चुम हो । यो भनेको आँखा चिम, मुख चिम, अर्थात् धार्मिक रुपले काम गर्ने, शान्त र इमानदार भन्ने हो । त्यस्तै चुम भनेको धम चुम शान्त र इमानदार धार्मिक व्यक्तिहरुको बसोबास गर्ने ठाउँ भन्ने बुझिन्छ ।
चुम क्षेत्रलाई अहिंसा क्षेत्रको रुपमा पनि चिनिन्छ । चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । यो क्षेत्रमा पशुहत्या निषेध गरिएको छ । चुमचेतलाई तल्लो चुम र छेकम्पारलाई माथिल्लो चुम भनेर पनि चिनिन्छ । यो उपत्यकामा पर्ने अति प्राचीन ऐतिहासिक तथा पवित्र भूमि आजसम्म पनि बौद्ध धर्मको आस्था र उपासना स्थलको रुपमा रहिआएको छ । गणेश हिमाल, बौद्ध हिमाल र श्रृङ्गी हिमालले चुम उपत्यकाको प्राकृतिक सौन्दर्य थपिदिएको छ । हिमालको दृश्यावलोकनको लागि पनि पर्यटकहरु चुम उपत्यका पुग्ने गर्दछन् । तिब्बतसँग जोडिएको निले गाउँ चुम उपत्यका पुगेपछि पर्यटकहरु पुग्न खोज्छन । चुम उपत्यका मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । चुमले वातावरण संरक्षण तथा जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरेको छ । यसले पर्यटनको क्षेत्रमा नेपाललाई नै प्रतिष्ठित बनाइ दिएको छ । हिमाली जनजीवन, बौद्ध संस्कृति, चुम्बा संस्कृति र प्राचीन सम्पदाहरु माने, गुम्बा, चैत्य, गुफा आदि अवलोकन गर्दा चुम उपत्यका पुगेपछि पर्यटकहरु रमाउँछन् ।
गोरखाको चुमनुब्री गाउँपालिकाको चुम्चेत र छेकम्पार दुई वडालाई चुम उपत्यका भनिन्छ । करिब ८ सय घरधुरी रहेको चुम उपत्यकामा कहिल्यै पनि काटमार गरिँदैन । जहाँ घोषितरुपमै पशुवली निषेध गरिएको छ । जुन कुराले पर्यटकहरु अचम्म मान्छन् । पशुबली त टाढाको कुरा जंगलमा गुलेली समेत हान्न पाइँदैन । चुमका बासिन्दाहरुले दूध, दही, ध्यू, छुर्पीको लागि मात्रै पशुपालन गर्छन् । चीनसँग सीमा जोडिएको यी गाउँको प्रहरी चौकीमा बस्ने प्रहरीहरुले समेत काटमार गर्न पाउँदैनन् । चुम उपत्यका जाने पर्यटकहरुले पनि मासु खान पाउँदैनन् । किनभने होटलहरु सबै शाकाहारी मात्रै हुन्छन् । यो नियम अर्थात स्याग्या नियम उल्लंघन गर्नेले ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । जरिवाना मात्र होइन गुम्बामा गएर एक हजारवटा बत्ती बालेर मूर्तिलाई एक हजार पटक नै ढोगेर माफी पनि माग्नुपर्छ । यो नियम चुम उपत्यकामा काम विशेषले जाने पर्यटक, सरकारी, गैरसरकारी कर्मचारी, प्रहरी सबैले पालना गर्नुपर्ने व्यवस्था छ ।
चुमनुब्रीमा पर्ने ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिवास र सामागाउँ पर्यटकीय क्षेत्र मनास्लु संरक्षण क्षेत्रभित्र पर्दछ । अहिले माथिल्लो मनास्लु क्षेत्रमा बढी पर्यटकहरु पुग्छन् । जहाँ लहरै देखिने टलक्क टल्किएका हिमाल, मनास्लुको हिउँ पग्लेर बनेको वीरेन्द्र ताल, काल ताल, गुम्बा, माने, चैत्य अनि हरिया खर्कले मनास्लु पुग्ने पर्यटकलाई आकर्षण गर्दछ । चुम उपत्यकामा राजेन गुम्बा, मु गुम्बा, मिलारेपा थिरन फु जस्ता ऐतिहासिक सम्पदामा पर्यटकहरु पुग्छन् । नुब्री उपत्यकामा पर्यटकहरुका लागि मनमोहक ठाउँहरु छन् । गोम्बालोम्टाङ गणेश हिमालको वेसक्याम्प नजिकै धोरचोङ पास, कुताङ क्षेत्र, सेराङ, काल ताल, इनाङ गुम्बा, मनास्लु वेश क्याम्प, रुइला पास, लार्के पास र खर्कहरुमा पर्यटकहरु पुग्छन् । चुमनुब्री क्षेत्रमा अहिले पर्यटनको लागि ठूलो लगानीमा होटल सञ्चालन भएका छन् । चुमनुब्रीमा उपत्यकामा पर्यटकहरुलाई खाना बस्न कुनै असुविधा हुँदैन । गाउँमा होटल र होमस्टेकोे सुविधा पर्यटकहरुले पाउँछन् । अहिले चुमनुब्री उपत्यकामा पर्यटकहरुका लागि पदमार्ग राम्रो बनेको छ । पर्यटकहरु मनास्लु क्षेत्रमा जाँदा धेरै पर्यटकहरु चुम उपत्यका पुगेकै हुन्छन् । चुम उपत्यकामा पुग्ने अधिकांश पर्यटकहरु नुब्री हुँदै लार्के पास भएर मिताङ स्याउलीखर्क सुतिखोला भएर तिल्चे हुँदै मनाङको थोचे धारापानीमा निस्कन्छन् । लार्के पास नपुग्ने पर्यटकहरु गएकै बाटो फर्कने गर्दछन् । चुमनुब्री अर्थात मनास्लु पदमार्गमा वाह्य पर्यटकहरु मात्र होइन आजभोलि आन्तरिह पर्यटकहरु समेत पदयात्रामा रमाउँछन् । पदमार्गमा फुलेका रंगीबिरंगी हिमाली फूल र तिनको बास्नाले पर्यटकलाई मोहित पार्ने गर्दछ । हिमाल प्रतिको मोह, पहाडका रमणीय दृश्य र हिमालका अनुपम रंगहरुको फोटो खिच्न पाउँदा पर्यटकहरु खुशी हुने गर्दछन् ।
बुढीगण्डकीको किनारै किनार बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको मनास्लु क्षेत्र जोड्ने सडक अहिले बुढीगडकी र स्यारखोला मिसिएको ठाउँ गम्पुल अर्थात म्याकफेदीसम्म पुगेको छ । म्याकफेदी चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम बजार नजिकै पर्दछ । बेनिघाट आरुघाट लार्केभन्जाङ्ग सडकको कूल एक सय ५४ किलोमिटर पर्दछ । लार्केभन्जाङ्ग सडकखण्ड ९२ किलोमिटर सडक ट्रयाक खोल्ने काम नेपाली सेनाले गर्दैछ । सेनाले लार्के भञ्ज्याङसम्म सडक जोड्ने र नियमित सवारी आउजाउ हुने हो भने पर्यटकहरुलाई मात्र होइन उत्तरी गोरखाका सर्वसाधारणको दैनिक जीवन निकै सस्तो र सहज हुन्छ । चीनको सीमासम्म सडक सञ्जाल पु¥याउन अब झन्डै ६० किलोमिटर ट्रयाक निर्माण हुन बाँकी रहेको छ । आरुघाटबजारदेखि थुमीको आर्खेतबजार, सोतीबजार, लापुवेसी, माछाखोला, तातोपानी, जगत, फिलिम क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरी सानाठूला होटल सञ्चालनमा छन् । मनास्लु पदमार्गमा फिलिम बजार भन्दा माथि सडक पहुँच छैन । बिही, प्रोक, ल्हो, छेकम्पार, सामागाउँ क्षेत्रमा पदमार्गमा यात्रा गर्ने पर्यटकहरुका लागि होटलहरु सञ्चालनमा छन् ।
पदमार्गमा यात्रा गर्ने पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्व जानकारी दिन पदमार्गमा सूचना बोर्ड राखिएको छ । यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ । पदमार्गमा पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका सूचना बोर्डले पर्यटकहरुललाई सजिलो भएको छ । सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जंगली जनावरका बारेमा पनि जानकारी दिइएको छ । हिमालय क्षेत्रको पदयात्राका क्षणहरु अविस्मरणीय हुन्छन् । नयाँ ठाउँमा यात्रा गर्न जति रमाइलो र मनोरम हुन्छ त्यतिनै कठिन पनि हुन्छ । यात्रालाई सहज बनाउन आफ्नो स्वास्थ्य स्थितिको पनि पर्यटकहरुले ख्याल राख्नुपर्दछ । पर्यटकहरुले आफू जाने गन्तव्यको बारेमा पूर्वजानकारी लिएर मात्र यात्रामा जाँदा राम्रो हुन्छ । पदयात्रामा वातावरण तथा मौसम सुहाउँदो लुगा बोकेर मात्र यात्रा गर्नुपर्दछ । पदयात्राका क्रममा चाहिने अत्यावश्यक सामग्री बोकेर हिड्नुपर्दछ । प्राथमिक उपचारका सामग्रीहरु आफूसँगै राख्न्नुपर्दछ । ती सामग्री आपतकालीन अवस्थाका लागि चाहिन सक्छ । मोबाइल फोन लिई हिडे यात्रामा सजिलो हुन्छ । सकेसम्म यस्तो पदयात्रामा एक्लै नगई साथी वा गाइडको साथमा जानुपर्दछ ।
कसरी पुग्ने चुमनुब्री उपत्यका ?
चुमनुब्री उपत्यका गोरखाको आरुघाट क्षेत्र हुँदै र लमजुङबाट मनाङको धारापानी हुँदै लार्के पास गरेर पनि जान सकिन्छ । मनास्लु क्षेत्र अर्थात चुमनुब्री उपत्यकामा जाने गोरखाबाट धेरै बाटा छन् । गोरखाको आरुघाट बजार मध्य पहाडी लोक मार्गमा पर्दछ । आरुघाटमा पृथ्वीराजमार्गमा पर्ने बेनीघाटदेखि बसमा यात्रा गर्न पनि सकिन्छ । आरुघाटमा धादिङ बेसीबाट समेत मोटरमार्ग जोडिएको छ । गोरखा बजार र पोखरादेखि मध्यपहाडी लोकमार्गबाट यात्रा गर्ने पर्यटकहरुका लागि पनि सडकमार्गले आरुघाट बजार जोडिदिन्छ । आरुघाटदेखि सोती खोला, लापुवेसी, माछाखोला हुँदै यात्रा गर्नुपर्दछ । त्यस्तै अर्काे रुट भनेको बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला नै निस्कने पदमार्ग पनि छ । अर्काे धादिङकोे फूलखर्क हुँदै गोरखाको केरौंजा यार्साबाट माछाखोला पुग्ने पदमार्ग पनि पर्यटकहरुले प्रयोग गर्न सक्छन् । माछाखोलाबाट दोभान, जगत, फिलिम हुँदै चुम उपत्यका पुग्न सकिन्छ ।
लेखक – केबी मसाल (नयाँ युगबोध राष्ट्रिय दैनिकबाट)