मंगलबार , मंग्सिर ४, २०८१

बन्दीपुरको छायाँमा सुन्दर गाउँ रामकोट 

image

तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकमाझ परिचित छ । बन्दीपुर भन्ने बित्तिकै मौलिक कला र संस्कृतिले पोतिएको सुन्दर अनि शान्त बजारको चित्र पर्यटकहरूको मानसपटलमा बन्ने गरेको छ । बन्दीपुरको मुख्य आकर्षण नै बन्दीपुर बजार बनेको छ । बन्दीपुर बजार र यसका परिसर मात्रै पर्यटकमाझ चिनिएको छ । तर, बन्दीपुरमा बन्दीपुर बजार बाहेक थुप्रै पर्यटकीय आकर्षणहरू रहेका छन् । ती बन्दीपुरको छायाँमा परेका छन् । यस गाउँपालिकाको वडा नम्बर तीनमा अवस्थित रामकोट बन्दीपुरको छायाँमा परेको एक सुन्दर पर्यटकीय गन्तव्य हो ।

मगर समुदायको बसोबास रहेको एक सुन्दर गाउँ हो, रामकोट । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा रामकोट गाउँ लमजुङको घले गाउँ भन्दा पनि सुन्दर रहेको बताउँछन् । “बन्दीपुरमा बन्दीपुर बजार बाहेक अन्य थुप्रै सुन्दर गाउँहरू पनि छन् । उदाहरणको लागि भन्नुपर्दा रामकोट गाउँलाई लिन सकिन्छ । हाम्रो वडा नम्बर तीनमा पर्ने रामकोट गाउँ साँच्चै भन्ने हो भने लमजुङको घले गाउँभन्दा पनि सुन्दर छ, तर प्रचारमा आउन सकेको छैन,” अध्यक्ष थापाले भने ।

बन्दीपुर बजारस्थित मतिना चेन हाेटलका सञ्चालक एवम् स्थानीय अनिल प्रजापतिले रामकाेटमा हाेमस्टे (घरबास) पर्यटनकाे अथाहा सम्भावना भएपनि पर्याप्त प्रचारमा ल्याउन नसकेकाे बताए  । बन्दीपुर बजार बाहेक गाउँपालिकाभित्रका अन्य थुप्रै पर्यटकीय गन्तव्यहरूलाई प्रचारमा ल्याउन बन्दीपुरकाे रि-ब्राण्डिङ गर्न जुरुरी रहेकाे प्रजापतिकाे भनाइ छ । “अहिलेसम्म बन्दीपुर भनेर बन्दीपुर बजार मात्रै चिनिएकाे छ । यसका वरिपरि गाउँपालिकाभित्र अन्य पर्यटकीय गन्तव्यहरू पनि छन् । तिनलाई प्रचारमा ल्याउन जरुरी छ। नयाँ गन्तव्यहरू थपिँदा पर्यटकहरूकाे बसाइ पनि लम्बिने छ ।”

करिब एकसय घरधुरी रहेको रामकोट गाउँ मौलिक मगर संस्कृतिको खानी हो । यस गाउँमा मगर समुदायको भाषा, संस्कृति, भेषभुषा, रहनसहन तथा जीवनशैलीको अवलोकन गर्न सकिन्छ । ढुङ्गाको छानो, काष्ठकलाको अत्यधिक प्रयोग गरेर बनाइएका शताब्दी भन्दा पुराना चिटिक्क परेका घरहरू एकै थुम्कामा झुप्प भएर बसेका छन् । घरहरू एक आपसमा जोडिएर बसेका छन् । थुप्रै घरहरूको एउटै आँगन, एउटै धारा, जोडिएको पिँडी । जसले मगर समुदायमा एकता र मेलमिलापयुक्त समाजको प्रतिबिम्बित गरेको छ । गल्लीहरूमा ढुङ्गा बिछ्याइएको छ । छेउछेउमा ढुङ्गाको गाह्रो लगाइएको छ । गाउँ चहार्दा गल्लीहरूले नै रोमाञ्चकता थपिदिन्छ ।

घुमाउने/गोलो घर रामकोटको एक आकर्षण हो । स्थानीयका अनुसार उहिले रामकोटमा थुप्रै घरहरू गोलाकारका थिए । तर, अहिले पनि एउटा मात्रै गोलो घर बाँकी रहेको छ । गाउँपालिकाको सहयोगमा संरक्षण गरिएको यो घर करिब एक सय पचास वर्षअघि बनेको हुनसक्ने घरधनी चन्द्र बहादुर आले मगरले बताए । आलेको चार जनाको परिवार सानो चिटिक्क परेको घुमाउने घरमै बस्दै आएका छन् । रामकोटमा पुग्ने पर्यटकहरू आफ्नो घरमा आउने गरेको र सबैले रुचिपूर्वक हेर्ने, सोध्ने गरेको उनले बताए । गाउँको एक पर्यटकीय आकर्षण भएकाले संरक्षण गर्न जरुरी रहेको तर संरक्षण गर्न भने कठिनाइ भइरहेको उनले सुनाए । घर वर्षैपिच्छे खर खोजेर छाउनुपर्ने, नजिकै खर नपाइने, डाँडाबाटाको लागि बाँस तथा काठ किन्नुपर्ने भएकाले झन्झटिलो भएको उनले बताए ।

गाेलाेघर । घरधनी चन्द्र बहादुर मगर ।

रामकोटमा सामुदायिक होमस्टे सञ्चालनमा छ । त्यहाँको लोकल अर्ग्यानिक खानाको स्वाद लिन सकिन्छ । गाउँमै उत्पादित धान, मकै, कोदो, दाल, गेडागुडी, तरकारी, सागसब्जी, फलफूलहरूको स्वाद पाहुनालाई चखाउने गरेका छन् । त्यसैगरी मकै र कोदोबाट बनेको पेय पदार्थहरू पनि पाइन्छ । लोकल कुखुरा, सुँगुर/बुङ्गुरका विभिन्न परिकार पनि उपलब्ध रहेको छ । साँझको खाना, बास अनि बिहानको खाजासहित प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । तर, परिकार र परिमाण अनुसार खर्च मात्र तलमाथि हुन सक्छ ।

गाउँमा पर्यटनको अथाह सम्भावना भए पनि स्थानीय बासिन्दामा पर्यटनप्रतिको बुझाइ र आकर्षण कम भएको बन्दीपुर–३ का वडा सदस्य समेत रहेका स्थानीय नीरकाजी मगरले बताए ।

“बन्दीपुर आउने थुप्रै पर्यटकहरू रामकोटमा आउने गरेका छन्, तर हामीले सेवा दिन नै सकिरहेका छैनौँ । कतिपय पाहुना नआउनुस् भन्नुपरेको छ ।” उनले भने ।

होमस्टे सञ्चालनमा ल्याइए पनि सञ्चालकहरू सेवा दिन तयार नभएपछि समस्या सिर्जना हुने गरेको उनले बताए । अहिले ६० जनासम्म पाहुनालाई सेवा दिन सकिने उनले बताए । गाउँका ३० घरपरिवारले होमस्टे सञ्चालन गर्ने भनेपनि सेवा दिन तयार नभएको उनले बताए । गाउँका बासिन्दालाई पर्यटनबारे जनचेतना बढाउने खालका कार्यक्रमहरू आवश्यक रहेको नीरकाजीको भनाइ छ ।

बन्दीपुरको पश्चिममा रहेको रामकोट गाउँ समुन्द्री सतहबाट करिब एक हजार मिटरको उचाइमा अवस्थित छ । सवारी साधनमा जाँदा बन्दीपुरबाट ३० मिनेटमा पुग्न सकिन्छ । तर पैदलयात्रा गर्न रुचाउनेहरू मुकुन्देश्वरी डाँडा हुँदै करिब दुई घण्टाको यात्रा गरेर पनि रामकोट पुग्न सकिन्छ । पैदलयात्रा गरेर जाँदा थुप्रै बोटबिरुवा तथा वनस्पतिहरू, जीवजन्तु तथा किराफट्याङ्ग्राहरूसँग भलाकुसारी गर्दै यात्रा गर्न गर्न पाइन्छ ।

त्यसैगरी मनोरम हिमशृङ्खला, हरियाली पहाड र उपत्यकाको दृश्यावलोकन गरेर पनि आनन्द लिँदै यात्रा गर्न सकिन्छ । पहाडी संस्कृति, गाउँले जीवनशैली, रहनसहन, खानपान, मगर समुदायको विशिष्ट संस्कृतिको अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो, रामकोट । बन्दीपुर पुगेपछि रामकोटमा पाइला नटेकी फर्किनुभयो भने तपाईँको बन्दीपुर यात्रा अधुरो हुने छ ।

सम्बन्धित समाचार