आइतबार , अषोज २७, २०८१

पदयात्रामा जाने पर्यटकहरूका लागि आजदेखि नयाँ नियम लागु

नयाँ नियमअनुसार आजैदेखि लागु हुनेगरी Free Individual Trekkers (FIT) टिम्स कार्ड बन्द हुनेछ । हरेक पदयात्रीले ट्रेकिङ कम्पनी मार्फत ट्रेकिङ गाइड अनिवार्य लिएर जानुपर्नेछ ।

image

काठमाडाैं । पदयात्रामा जाने पर्यटकहरूका लागि आज (अप्रिल १) देखि नयाँ नियम लागु भएको छ । अब हरेक पदयात्रीले ट्रेकिङ कम्पनी मार्फत ट्रेकिङ गाइड अनिवार्य लिएर जानुपर्नेछ । यसअघि एक्लो व्यक्तिले विना गाइड जान पाउने नियम थियो ।

नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको आज बसेको ३३६ औँ बैठकले यस्तो निर्णय लागु गरेको हो । हिजो बसेको बोर्ड कार्यकारी समितिको बैठकले ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७९’ जारी गरेको हो थियो ।

पर्वतीय पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायी मैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले विभिन्न निकायसँगको सहकार्यमा लामो समय देखि आवाज उठाउँदै आएको थियो ।

सोलो ट्राभल बन्द

नयाँ नियमअनुसार आजैदेखि लागु हुनेगरी Free Individual Trekkers (FIT) टिम्स कार्ड बन्द हुनेछ । हरेक पदयात्रीले ट्रेकिङ कम्पनी मार्फत ट्रेकिङ गाइड अनिवार्य लिएर जानुपर्नेछ ।

टिम्स कार्ड अनलाइनमार्फत जारी गर्ने

नेपाल पर्यटन बोर्ड र टानबीच अनलाइन माध्यमबाट मात्रै टिम्स कार्ड जारी गर्ने सम्झौता भएको छ । साझेदारी पत्र बमोजिम ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) द्वारा सङ्घको केन्द्रीय कार्यालय मालिगाउँ, टान गण्डकी च्याप्टर पोखरा र अन्य चेकपोष्टहरुबाट बिक्री गर्दै आइरहेको पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको हो ।

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सञ्चालन सम्बन्धमा नेपाल सरकार (म.प.) बाट स्वीकृत पदयात्री सूचना व्यवस्थापन प्रणाली: सञ्चालन निर्देशिका, २०६४ मा मिति २०६६।०८।२३ मा भएको पहिलो संशोधन अनुसार नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) का बीच पछिल्लो पटक मिति २०७१।१२।०५ मा भएको समझदारी पत्र बमोजिम व्यक्तिगत पदयात्री (Free Individual Trekkers / FIT) का हकमा नेपाल पर्यटन बोर्डबाट सिधै र कम्पनीहरू मार्फत समूहगत रूपमा सेवा लिई पदयात्रामा जाने पर्यटकहरूका हकमा टानबाट टिम्स कार्ड बिक्री गर्दै आइरहेको थियो ।

संशोधित नयाँ मापदण्ड २०७९ अनुसार प्रस्तावित प्रावधानले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाई विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यको रूपमा चिनाउने, यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीहरूको आत्मविश्वास बढाई यस क्षेत्रमा थप लगानी आकर्षित गर्ने उल्लेख्य रूपमा रोजगारी वृद्धि गर्ने र पर्वतीय पर्यटन द्वारा राज्यको कुल ग्राहस्त उत्पादनमा पुऱ्याउने योगदानलाई वृद्धि गर्ने कुरामा विश्वस्त रहेको टानले जनाएको छ ।

टानले बोर्डको निर्णयको स्वागत गर्दै नयाँ मापदण्डको पालना गर्न सम्पूर्ण पर्वतीय पर्यटन व्यवसायीहरू समक्ष अपिल गरेको छ । “पर्यटकको सुरक्षाको पूर्ण प्रत्याभूति र गुणस्तरीय पथ प्रदर्शक ( गाइड) सेवा प्रदान गरिने प्रतिबद्धता सहित टान र सम्पूर्ण सदस्य कम्पनीहरूको निरन्तर प्रयास पश्चात् नेपाल पर्यटन बोर्डद्वारा पुनरावलोकन गरिएका टिम्स सम्बन्धी सम्पूर्ण निर्णयहरू र नयाँ मापदण्ड २०७९ को प्रभावकारी कार्यान्वयन गरी / गराई पर्वतीय पदयात्रा क्षेत्रलाई सुरक्षित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सहयोग गरिदिनुहुन सम्पूर्ण सदस्यहरूमा हार्दिक अनुरोध गर्दछु ।” टानले भनेको छ ।

सार्क राष्ट्रहरूका पदयात्रीहरूकाे हकमा प्रति पदयात्री रु १००० (एक हजार मात्र) र बाँकी सम्पूर्ण विदेशी पदयात्रीहरूका हकमा प्रति पदयात्री रु २००० (दुई हजार मात्र) तिरेर टिम्स अनुमति पत्र प्राप्त गर्नु पर्नेछ ।

सम्बन्धित समाचार