यस कलियुगमा लोप, मोह र क्लेशले विक्षिप्त अन्धकारमा अर्थहिन कर्ममा रूमलिरहेका अति व्यस्त मनुष्य लगायत सम्पूर्ण जगत प्राणिहरूलाई सर्वप्रकारम् जगतहिताय अर्थात् उपाय कौशल्य महाकरूणा र महाप्रज्ञाको व्यवहारिक र अति सरल माध्यमद्वारा चाँडो भन्दा चाँडो बुद्धत्व प्राप्त गर्ने मार्ग विशेषता भएको बुद्धको ज्ञान नै बज्रयान बौद्ध धर्म हो यसलाई गुह्ययान, तन्त्रयान, सहजयान, उपाययान र फलयान इत्यादी नामले पनि चिनिन्छ । यो बज्रयान बौद्ध धर्मको महायान र हिनयान (थेरबाद) दुई सम्प्रदाय मध्ये महायानी सम्प्रदायबाट प्रार्दुभाव भएको हो ।
यो यान विशेषगरी अति तिक्ष्ण बुद्धि भएको पुद्गल (व्यक्ति)हरूका लागि हो जो एकै जुनिमा बुद्ध बन्न सक्ने क्षमता भएको हुन्छ र अन्य मध्यम र समान्यजनको लागि हो भने प्रयास गरेमा अन्तरभव (बार्दो)को अवस्थामा र तीन वा बढिमा सात जुनिसम्ममा बुद्धत्व हाँसिल गर्ने शिघ्र मार्ग हो । शाक्यमुनि बुद्ध स्वयंले आफ्नो जिवनकालमा शम्बालाको राजा सुचन्द्रको प्राथना र सविनय अनुरोधमा त्यस राजा सुचन्द्र लगाएत निश्चत असाधारण शिष्यहरूलाई धन्यकताका चैत्य, श्रिपर्वत, आमरावतीमा कालचक्र तन्त्रको ज्ञान दिनुभएको थियो हाल त्यस ठाँउ दक्षिण भारत मदरास, गुन्तुर जिल्लाको सातनपाली तालुकामा पर्दछ जुन कालचक्र तन्त्र धर्मदेशना महापवित्र तिथि तिब्बती तेस्रो महिनाको पूर्णिमाको दिन (नेपाली बैशाख पूर्णिमा) पर्दछ र त्यसैगरी राजा ईन्द्रबोधीले शाक्यमुनि बुद्धबाट असाधारण रूपले तन्त्रको ज्ञान पाएर एकै जुनिमा बुद्धत्व प्राप्त गरेको कुरा त्रिसंवर नामक शास्त्रमा उल्लेख गरेको पाईन्छ । शाक्यमुनि बुद्धका जीवनकाल पछि बौद्ध तन्त्रको अभ्यासको परम्परा अनुसार नै ८४ महासिद्धहरुको प्रार्दुभाव भएका थिए जसमध्ये नागर्जुन, ईन्द्रबोधी, लक्क्षिमकरा, विरूपा, तिलोपा, नरोपा, सरहपा आदि रहेका छन् । पछि तिनै महासिद्ध नरोपाले कालचक्र तन्त्र भोटमा लगेर प्रचारप्रसार गरेका हुन् अझै सम्म पनि नेपालमा तिलोपा र नरोपाको ध्यान गुफा काठमाण्डौको सूर्यघाट, पशुपतिमा दर्शनिय रहेको छ त्यसैगरी भारतका सिद्ध सरहपाले दोलखाको रोल्वालिङ उपत्यकाको लाब्चीमा ध्यान साधना गर्नुभएको थियो ।
चौरासी महासिद्धहरु
बज्रयान शिक्षा बाहिरी अल्पज्ञानको दृष्ट्रिकोणबाट हेर्दा बडो काल्पनिक, अन्धविश्वास, हाँस्यास्पद र बुद्धको उपदेश सूत्र र थेरवादी शिक्षा परम्परासँग सामज्यस्यता नमिल्दो खालका देखिए पनि एउटा उच्च बज्रयान सद्गुरूको निर्देशनमा तन्त्रको गहिरो अध्ययन, अभ्यास र ध्यान साधना लाई निरन्तरता दिँदै गर्दा बुद्धको ज्ञान धम्मचक्र शिक्षामा अद्वेत, कुनै प्रकारको दोष रहित शुक्ल पक्षको पूर्ण चन्द्रमा सरि अकाट्य प्रमाण, विश्वास र मनमा गहिरो श्रद्धा र करूणा उत्पन्न हुनुको साथै सम्यक सम्बुद्ध ज्ञानको सुख र आनन्दको भावनमय रसस्वादन हुँदै जान्छ ।
त्यसैगरी ८ औं शताब्दिमा गुरू पद्मसंभवको तिब्बतमा प्रबेश हुनु भन्दा अगाडि तिब्बतिहरूले बोन धर्मलाई आफ्नो मौलिक धर्मको रूपमा अंगिकार गरेको थियो । जब आचार्य पद्मसंभवको तिब्बतमा प्रवेश सँगै वहाँले हिँसा, जंगली र जर्जर सँस्कृतिबाट प्रेरित बोनहरू लाई पराजित गर्दै त्यस उत्तरी हिमवत खण्डमा रातो अनुहारका तिब्बतिहरूलाई सभ्य, आधुनिक र बैज्ञानिक बौद्ध धर्म तथा बज्रयान मार्गको शिक्षा दिनुभयो तब त्यसैको फलस्वरूप तिब्बतको ३८ औँ धर्म सम्राट ठिस्रोङ देउचेन (सन् ७५५–७९७) र महागुरूको अति नजिकका वैरोचना, नामखाई ञिङ्पो, ज्ञान कुमार, दोर्जे दुईज्योम, पाल्गी दोर्जे, नानम हिशे लगायत २५ जना भोटको शिष्यहरू (जेबाङ ञेरङा) ले एकै जुनिमा लौकिक सिद्धि आकाशमा उड्ने, सुर्यको किरणमा हिँड्ने, पहरामा वारपार गर्ने, दिव्यदृष्ट्रि र पञ्च तत्वमा स्वतन्त्र प्राप्त ईत्यादि ऋद्धि सिद्धि प्राप्त गर्नुको साथै त्यो भन्दा माथिको सर्वश्रेष्ठ ज्ञान ईन्द्रेणी देह (बुद्धत्व) प्राप्त गरेका थिए र त्यसैको निरन्तरता धारा प्रभाह वर्तमान समयसम्म पनि एकै जुनिमा ईन्द्रेणी देह (ज्यालु) बुद्धत्व प्राप्त गरेका र गर्नमा लिन भएका कैयौँ साधक ध्यानी योगीहरू भोट र नेपालका हिमाली भेगका कुना कन्दरा गुफाहरुमा प्रशस्त रुपमा पाईन्छन् ।
गुरु पद्यसंभवको भोटमा २५ जना ऋद्धि सिद्धि प्राप्त शिष्यहरू (जेबाङ ञेरङा)
अझ भन्नु पर्दा तिब्बतमा बुद्ध धर्मको बिजारोपण नै नेपालबाट भएको देखिन्छ । ७ औं शताब्दितिर नेपालका राजकुमारी भृकुटी (ल्हचिग ठिचुन ई.६४०) ले तिब्बतका ३३ औं राजा स्रोङचेन गम्पो (सन् ६१८–६४९)सँग विवाह बन्धनमा बाँध्नुभयो र नेपालबाट बुद्धमुर्तिहरू उपहार स्वरूप लानुभई तिब्बतको राजधानी ल्हासामा भोटको सबैभन्दा पहिलो गुम्बा (विहार) ज्योखङ् स्थापना गर्नुको साथै महारानी भृकुटिको माईती देश नेपालको संस्मरण गरी उक्त विहारको मूल ढोका नेपालतिर फर्काएर स्थापना गरेका थिए जुन अहिले सम्म पनि प्रसिद्ध र दर्शनिय रहेको छ ।
ज्योखङ विहार, तिब्बत
तत्कालिन ८ औँ शताब्दिका समयमा नेपालमा आचार्य हुँकार, मञ्जुशिला, सिद्धकला, शाक्यदेमा (शाक्यदेवी) जस्ता बुद्धत्व प्राप्त व्यक्तिहरू थिए । प्रसिद्ध आचार्य हुँकार जो प्राचिन कालमा काठमाण्डौ उपत्यकामा एक ब्राह्मण कुलमा जन्मनु भएको थियो जसले तनहुँ जिल्लामा रहेको प्रसिद्ध तिर्थ देवघाट धाम गुफामा ध्यान साधना गरी सिद्धि प्राप्त गरेको पाईन्छ, साथै वहाँले ललितपुर पाटनको यम्पि महाविहार इवहि (ऐई चुग्लाखाङ)मा समेत ध्यान साधना र चोभारमा सूर्यासन नामक विहार स्थापना गरेको कुरा बौद्ध वाङमयमा उल्लेख गरेको पाईन्छ ।
त्यसैगरी नेपालमा गुरु पद्यसंभवले अमरत्व सिद्धि प्राप्त गरेको खोटाङ हलेशी मारतिका गुफा, महामुद्रा विद्याधर (बुद्धत्व) प्राप्त गरेको स्थान फर्पिङ ह्याङलेश्यो गुरु गुफा, असुर गुफा, त्यसैगरी काभ्रेको यरिनाग गुफा, क्षुमिक ज्याङछ्युब बोधिसत्व जलधारा मकवानपुर, साँखु वज्रयोगीनी, बौद्ध (ज्यारुङ खास्योर, खास्ती चैत्य),स्वयम्भू (फाग्पा सिङ्कून), चाङ्खाल्हाई ल्हाथोकतु त्रिशुली, किमोलुङ गोरखा नुव्रीभ्याली छुमभ्याली, लाङटाङ गुप्तनिधि क्षेत्र रसुवा, रोल्वालिङ लाप्ची दोलखा, खेन्पालुङ वरुणभ्याली संखुवासभा, मुस्ताङका गुरु साङफुग लगायतका गुफाहरु ईत्यादी नेपालमा बज्रयानी बौद्ध धर्मका साधना सिद्धि गर्ने अति पवित्र स्थलहरु हुन् ।
पद्मसम्भवको जिवन इतिहास पेमा काथाङ ग्रन्थ शास्त्रको उल्लेख अनुसार आचार्य हुँकार र आचार्य पद्मसंभव दुवैले एक आपसमा ज्ञान आदनप्रदान गर्नुभएकोले दुवै एक अर्कामा गुरूशिष्य भएको समेत बुझिन्छ । त्यसैगरि ११ औँ शताब्दिमा तिब्बतका ठुल्ठुला गुरूहरू जस्तै मिलारेपाका गुरू मार्पा समेत नेपालको फर्पिङमा आउनु भई गुरू वागेश्वरी किर्ति सँग तन्त्र सिकेका कुराहरू छन् । त्यसै फर्पिङ बासी वागेश्वरी किर्ति गुरूले त्यस फर्पिङमा फमथिङ (फाग्मो थिङका) भोट भाषामा फाग्मो भन्नाले आर्य वज्रयोगिनी र थिङ्का भन्नाले गाढा निलो अर्थात निलो वर्णको बज्रयोगिनीको साधना गरि सिद्धि प्राप्त गरेको व्यक्ति वागेश्वरी किर्तिलाई सम्मान स्वरूप तिब्बति गुरुहरूले ढुपथोप फम्थिङपा भनि सम्बोधन गर्नुहुन्थ्यो त्यस फम्थिङ शब्द नै पछि अप्रभंश हुँदै हाल त्यस स्थानको नाम फर्पिङ भएको पाईन्छ ।
त्यस्तै पछिका समयकालमा सबैले सुनेका योगी मिलारेपा (सन् १०५२–११३५), मुस्ताङ लोमान्थाङका ङारी पेन्क्षेन र आज हाम्रो समयकाल सम्म रहनुभएका फर्पिङको विश्व प्रसिद्ध गुरू ज्याडाल रिन्पोक्षे, दक्षिण भारत मैसुरका पेनोर रिन्पोक्षे, हिमाञ्चल सिम्लाका चेटुल रिन्पोक्षे आदि तन्त्रयान बाटै बुद्धत्व प्राप्त गरि सकेका महान् व्यक्तित्वहरू हुन् ।
ऐतिहासिक प्रमाण अनुसार बज्रयान धर्म तिव्बतका आफ्ना निजि मौलिक धर्म र लामाबाद नभई अनुयोग तन्त्रको उल्लेख अनुसार बज्रयान धर्म तिब्बतमा मात्रै उत्पन्न नभएर त्यस ठाँउ लगायत अन्य २४ स्थान (देश र भेग)बाट झिकाएका हुन् जुन श्रिलंकाको श्रिगृह पर्वत (रिवो मलाया), पाकिस्तानको स्वातभ्यालि, उड्डियान, चिनको उताईशान पर्वत (ज्ञानक रिवोचेङा), भारत, नेपाल, ईन्डानेशियाको सूवर्णद्विप लगाएतका देश तथा ठाँउहरूबाट बज्रयान धर्म पुस्तक तत्कालिन समयमा भोटका विद्वानहरू यी ठाँउहरूमा पुगेर त्यस तन्त्रशास्त्रका भाषा र ज्ञानमा पोख्त भए र कति यी ठाँउहरूको विद्वानहरू जस्तै उड्डियानका पद्मसभंव, भारतवर्षका नालन्दा महाविहार, विक्रमशिला महाविहार, उडन्तपुरी, जगतदल लगाएत विहारका महापण्डितहरू जस्तै विमलमित्र र शान्तरक्षिता, कमलाशिला आदि र बंगलादेशका अतिश दिपंकर (सन् ९८२–१०५४), नेपालका मञ्जुशिला लगायत अनगिन्ती तन्त्रका महापण्डित प्रकाण्ड विद्वानहरूलाई भोटको राजाहरुले निरन्तर प्राथना र निमन्त्रणा गरि तन्त्रयानको पुस्तकलाई भोटभाषामा हुबहु उतारी जस्ताको त्यस्तै अभ्यास र साधना गरेका हुन् यसमा तिब्बतिकरण र राजनितिकरण गरी प्रयोग गरिएको शब्द लामाबाद मिसाएको होईन । खासमा लामा संस्कृत भाषाको गुरु शब्दलाई भोट भाषामा लामा भनी अनुबाद गरेको हो जसको अर्थ ला ना मेद्पा, गोङ्ना मेद्पा अर्थात् त्यो स्थान भन्दा माथि नभएको सर्वश्रेष्ठ श्रद्धा र सम्मानिय स्थान, पद वा अहोदा भनेर लेखिएको छ ।
त्यसैले भोट र नेपालको बज्रयान बौद्ध धर्म परम्परा यो कुनै रातो वस्त्रधारी वर्गको सिद्धान्त र दर्शन नभई यो आदिबुद्ध समन्तभद्रदेखि वर्तमान युगसम्म शिक्षा व्याप्त रहेको शाक्यमुनि बुद्धसम्मको शुद्ध बुद्धवाद हो लामावाद होईन । हाल तिब्बतियन बुद्धिजम लाई हिमालयन बुद्धिजम भनेर चिनिन्छ । विशेषगरि यो बज्रयान तत्कालिन भोटमा धेरै लामो कालान्तरसम्म राजकिय धर्म, त्यहाँको जनताको गहिरो श्रद्धा, विशेष लगनशिलता र उच्च विद्वता प्राप्त विद्वानवर्गहरूको अति बाहुल्यता भएको कारणले तन्त्र शिक्षा उत्कृष्ट रूपमा फल्न र फुल्न पाएका थिए र प्राचिनकाल देखी नै नेपालका विशेष हिमाली क्षेत्रहरुमा बज्रयान बौद्ध शिक्षाको गहिरो प्रभाव र आजको दिनमा पहाडी भेगहरू, अन्य क्षेत्रहरू र एसिया तथा पाश्चत्य मुलुक युरोप लगायत अफ्रिकन मुलुकसम्म बज्रयान बुद्ध धर्म फैलिएका हुन् ।