शुक्रबार , अषोज २५, २०८१

ब्रह्माजीको पिलो [कविता]

चङ्गेज खान समयको रगत तुर्कियो, तुरुक्क तिरिक्क रोइदिए ब्रह्माजी, बोनापाटे युग आयो बाहिर

image

ब्रह्माजीको पिलो

सारा ब्रह्माण्ड
चराचर जगतको सृष्टि गर्दा गर्दै
शरीरको तल्लो भागमा कतै
उत्पन्न भयो एउटा नौलो किसिमको दुखाई
छटपटाउन थाले ब्रह्माजी पिडाले
लौन! मेरो नितम्बमा पिलो पो आएछ

टनक टनक रन्किए पछि
घोचेर  निचोर्दिए ब्रह्मलोकका वैद्यहरूले
पिलित्त निस्कियो महाभारतको लडाई
रामायणको युद्ध

अझै निस्किएन सायद आँखो, भएन सञ्चो
पुनः निचोरियो बल गरेर
चङ्गेज खान समयको रगत तुर्कियो, तुरुक्क
तिरिक्क रोइदिए ब्रह्माजी, बोनापाटे युग आयो बाहिर
आयो मजेल नदी र जर्मनी हुँदै
प्रथम र दोस्रो विश्व युद्धका पिपहरू ह्वाल्ल

सफा गरियो आएपछि
जोन्सटाउन मास सुसाइड
पुचुक्क!
पाकिस्तानी चक्रवत बाहिरियो

अफगानिस्तान, सिरियाले बिच्कायो फेरी
झिकियो बाहीर पिलित्त
थिली पिथीली बनाएर निकालियो
हिन्द महासागरको सुनामी
नेपालको भूकम्प

सोमिलियाका भोका ब्याक्टेरिया
भारतको किसान आत्महत्या बगीरहेका छन्
बेला-बेला पुछी रहनु पर्छ

जसै सुक्दै गएको छ पिलो
उसै बढ्दै छ ग्लोबल वार्मिङ

बल गरेर निचोरेका निचोरै छन् वैद्यहरू
निस्किरहेछ एवम् रितले
नयाँ-नयाँ तरिकाले मृत्यु

याद राख्नुस्! जुन दिन बाट पूर्ण रूपले निको हुनेछ
ब्रह्माजीको नितम्बको पिलो
मेटिनेछ मानव जातीको अस्तित्व
त्यसैदिनबाट हराउनेछ अन्तरिक्षबाट एउटा ग्रह
पृथ्वी !

सुरज पराजुली

 

सम्बन्धित समाचार