बिहिबार , अषोज ३, २०८१

विश्वकाे लामाे धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमा सुरु

प्रत्येक वर्ष पदयात्रामा भक्तजनको सङ्ख्या थपिँदै गइरहँदा यस वर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा लिइएको छ । 

image

काठमाडौँ । विश्वकै लामाे धार्मिक पदयात्राका रूपमा परिचित मिथिला मध्यमा परिक्रमा आज सोमबारदेखि सुरु भएको छ ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेपछि परिक्रमा विधिवत् रूपमा सुरु भएको हो । मुख्यमन्त्री यादवले मिथिल बिहारी मन्दिरबाट निस्कने भगवान रामजानकीको डोला काँधमा उठाएर परिक्रमाकाे उद्घाटन गरेका छन् । परिक्रमा उद्घाटनको शोभा बढाउन परिक्रमा उद्घाटनको इतिहासमा पहिलो पटक नेपाली सुरक्षाकर्मीका जवानले पञ्चेबाजा बजाउनुको साथै, नेपाल प्रहरीका जवानले सलामीसमेत अर्पण गरेका छन् ।

झाँकी किर्तनसहित सोमबार बिहान यहाँबाट निस्कने परिक्रमा टोली जनकपुरधामको हनमानगढी पुग्नेछन् । सो ठाउँमा जानकी मन्दिर र राममन्दिरलगायत अन्य मठमन्दिरबाट आएका भगवानका डोला तथा भक्तजन एकत्रित भएर मङ्गलबार भारतको कल्यानेश्वरका लागि प्रस्थान गर्नेछन् ।

पदयात्रामा नेपालको धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिनेछ, जसलाई ‘मिथिला मध्यमा परिक्रमा’ भन्ने गरिन्छ । पछिल्लो दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणका कारण मिथिला मध्यमा परिक्रमा हुन सकेको थिएन ।

परिक्रमा जनकपुरको हनुमानगढीबाट कल्याणेश्वर हुँदै औपचारिक सुरु भएर फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र फेरि कल्याणेश्वर हुँदै फागुपूर्णिमाको दिन जनकपुरधाम फर्कन्छ र नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।

बृहत्, मध्य र अन्तरगृह गरी ३ प्रकारको परिक्रमा गरिन्छ । डोलाको पछिपछि परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा लाखाैँ नरनारी सहभागी हुने गर्दछन् । लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गरिन्छ ।

परिक्रमा अन्तर्गत पर्ने विश्रामस्थलमा साधुसन्त तथा भक्तजनका लागि भोजन, पानी, विद्युत, अस्थायी शौचालय, स्वास्थ्य शिविर व्यवस्था रहने मिथिला बिहारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अजय झाले बताए । उनले यस पटक परिक्रमा विश्रामस्थलको सम्पूर्ण व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्ने जानकारी दिए ।

यता, वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले परिक्रमाका सहभागीलाई विशेष सहयोग गर्दै आएको छ । परिषद्का प्रमुख कार्यकारी निर्देशक शितल साहले एशियाकै सबैभन्दा लामो धार्मिक पदयात्रालाई पर्यटन क्षेत्रसँग जोडेर यसको विकास तथा प्रचारप्रसार हुनुपर्ने बताए ।

प्रत्येक वर्ष पदयात्रामा भक्तजनको सङ्ख्या थपिँदै गइरहँदा यस वर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा लिइएको छ ।

सम्बन्धित समाचार