६०० वर्ष पुरानो प्रेमपत्र यसरी सुरक्षित राखिएको छ । आजका प्रेमिल जोडीको प्रेम पनि यसरी नै अमर रहुन् ।
ईसाको तेस्रो शताब्दीमा रोमनका राजा क्लाडियसले रोम राज्यका सैनिक तथा कर्मचारीलाई विवाह गर्न वञ्चित गराए । विवाहले पुरुषमा भएको आत्मविश्वास र शक्ति क्षीण हुन्छ भन्ने थियो । तर सेन्ट भेलेन्टाइनले यसको विरोध गर्दै विवाह गर्न प्रेरित गराए । जसको फलस्वरूप क्रुद्ध भएका राजाले सेन्ट भेलेन्टाइनलाई १४ फेब्रुअरी २६९ मा फाँसी दिए ।
फलस्वरूप पाँचौँ शताब्दीमा पोप गेलासियसले १४ फेब्रुअरीलाई सेन्ट भेलेन्टाइन डे घोषणा गरे । तर प्रेमी प्रेमिकाको लागी थिएन । सन १४१५ मा कैदमा बसिरहेका चार्ल्स, ड्युक अफ ओर्लियन्सले पहिलो पटक आफ्नो पत्नीलाई प्रेमपत्र पठाए, जसमा उनले लेखेका थिए, ‘तिम्रो भेलेन्टाइन’ । यसपछि भेलेन्टाइन शब्द नै प्रेमीको पर्याय बन्यो ।
अचेल त यो सप्ताहव्यापी उत्सव भएको छ । ७ तारिखबाट सुरु हुने उत्सवमा पहिलो दिन आफ्नो मन परेको प्रेमी वा प्रेमिकालाई गुलाबको फूल दिँदै आफ्नो अन्तर्भावना मौन रूपमा व्यक्त गरिन्छ । दोस्रो दिन व्यक्त गर्दै प्रपोज गरिन्छ, तेस्रो दिन सुरुवात मिठो होस भन्दै चकलेट दिइन्छ, चौथो दिन खुला हृदयले एक अर्कोलाई चाहेको भावना स्वरूप भालुको बच्चा खेलौना (टेड्डी बियर) दिने गरिन्छ । पाँचौँ दिन सदैव एक अर्काको हुने बाचा गरिन्छ, छैटौँ दिन अँगालोमा बाँधेर प्रेम सत्य रहेको भाव जनाइन्छ । सातौँ दिन चुम्बन गर्दै सपना साकार भएको स्वीकारोक्ति गरिन्छ । आठौँ अर्थात् अन्तिम दिन वास्तविक भेलेन्टाइन भएको स्विकार्दै प्रेमको दिवस मनाइन्छ ।
विदेशी प्रभावमा प्रवेश गरेको उत्सव हुँदा अनावश्यक खर्च गर्दै उच्छृङ्खलताले नमनाऔँ । सामाजिक रूपले हाम्रो पर्व होइन तर पनि विश्वव्यापीकरणको प्रभाव हामी कहाँ प्रवेश गरेको स्विकार्नै पर्छ । तसर्थ मनाउनेलाई मनाउन दिऊ ।
ब्यानरमा प्रयोग गरिएको फोटो सन् १४१५ मा पठाइएको पहिलो प्रेमपत्र हो । ६०० वर्ष पुरानो प्रेमपत्र यसरी सुरक्षित राखिएको छ । आजका प्रेमिल जोडीको प्रेम पनि यसरी नै अमर रहुन् ।