मंगलबार , अषोज १, २०८१

देवघाटको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व

देवताहरूको सञ्चरण क्षेत्र भएकाले नै यसलाई देवाट भनिएको हो भन्ने कुरा वाराहपुराणले नै प्रमाणित गरेको छ ।

image

-प्रा.डा. नुरापति पोखरेल

१. परिचय

आर्यावर्तको शीर्षस्थानमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाले मण्डित सम्पूर्ण नेपाल नै एउटा तीर्थभूमि हो । त्यसैले नै नेपाललाई तीर्थमयी नेपालजननी भन्ने गरिन्छ । गौरीशङ्करका दिव्य क्रिडाभूमिका रूपमा अवस्थित नेपालका हरेक डाँडा-काँडा नदी-नाला पावन तीर्थका रूपमा रहेका छन् । यहाँका माटाका कण कणमा र नदीहरूमा प्रवाहित हुने जलका थोपा-थोपामा दिव्यत्व झल्किरहेको हुन्छ । यहाँका शिला-शिलामा देवत्व अभिव्यञ्जित भएको पाइन्छ । देवालयका रूपमा रहेका प्रत्येक गृहस्थका घर-घरबाट र प्रत्येक मठ-मन्दिरबाट प्रातः कालमा निस्कने घण्ट र शङ्खका निनादले चारै दिशालाई गुञ्जाइरहेको हुन्छ । यिनै सबै विशेषताले युक्त भएको एउटा पावन तीर्थ हो देवघाट । प्रस्तुत लेखमा बुँदागत रूपमा यसै पुण्यभूमिको परिचय दिने प्रयत्न गरिएको छ ।

देवघाटको पुरानो नाम देवाट हो । यसलाई अहिले जनबोलीमा देवघाट भनिन्छ । यसैलाई शास्त्रमा हरिहरक्षेत्र पनि भनिएको छ –

यदा नन्दी शूलपाणिगधनेन पुरस्कृतः ।
स्थितवान् तद्दिनादेव क्षेत्रं हरिहरात्मकम्।।
देवानामटनाच्चैव देवाट इतिसज्ञितम् । (वाराहपुरण१४४ / १४५ )।

अर्थात् जुन दिनबाट हातमा त्रिशूल धारण गरेका नन्दी गोधनअगाडि लगाएर यस क्षेत्रमा बस्न थाले त्यसै दिनबाट यो क्षेत्र हरिहरात्मक भयो भनिएको छ । हरिहरात्मक भएकाले नारायणीको र भागीरथीको सङ्गमभूमिलाई हरिहरक्षेत्र भनेझैँ कृष्णगण्डकीको र त्रिशूलीको सङ्गमभूमिलाई पनि हरिहरक्षेत्र भनिन्छ । काशीरामद्वारा रचित गण्डकीमाहात्म्यमा पनि हरि र हरको नित्य सान्निध्य रहने हुनाले यस क्षेत्रलाई हरिहरक्षेत्र भनिएको हो भन्ने उल्लेख गरिएको छ । दृश्यरूपमा र अदृश्यरूपमा अनेकौ पुण्यसलिला नदीहरूको यहाँ समागम हुने भएकाले यसलाई तीर्थकदम्ब वा सर्वतीर्थकदम्ब भनिएको छ-

एवम् नदीसमुद्भेदः सर्वतीर्थकदम्बकम् ।
मम क्षेत्रे समाख्यात पुण्य परमपावनम् ।। (पूर्ववत् १४५/८५)।

जस्ता पद्यहरूबाट प्रकट गरिएको छ । यस ठाउँलाई सिद्धाश्रम पनि भनिन्छ भन्ने कुरा वाराहपुराणको उक्त प्रसङ्गमै उल्लेख गरिएको छ –

यच्च सिद्धाश्रम इति विख्यातः पुण्यवर्धनः । ( पूर्ववत् १४५/८६)

भन्ने अर्धपद्यद्वारा अभिव्यक्त गरिएको छ । जसरी स्वच्छनीरा गङ्गा, कृष्णसलिला यमुना र श्वेतजला सरस्वतीको सङ्गमभूमिलाई प्रयाग भनिन्छ । त्यसरी नै स्वच्छनीरा त्रिशूली, कृष्णसलिला कृष्णगण्डकी र श्वेतजला शुक्लागण्डकीको सङ्गमभूमिलाई प्रयाग वा आदिप्रयाग भनिन्छ । गण्डकीमाहात्म्यमा ठाउँ-ठाउँमा देवघाटलाई प्रयाग वा आदिप्रयाग भनिएको छ । हाल प्रचलित देवघाट शब्द देवाट शब्दकै विकसित रूप हो तापनि यसलाई देवघट्ट शब्दबाट निष्पन्न शब्द पनि मान्न सकिन्छ । यसको अर्थ धरामण्डलमा अवतीर्ण देवताहरूद्वारा स्नान गरिने घाट भन्ने हुन्छ । यस अर्थले पनि देवाट शब्दको अर्थलाई नै पुष्ट गर्दछ हिमवत्खण्डमा सर्वप्रथम यस क्षेत्रका लागि देवघट्ट शब्दको प्रयोग गरिएको छ । परवर्ती कालमा सबै पुण्यक्षेत्रहरूका नाममा धाम जोड्ने परम्परा विकसित भएकाले देवघाटलाई पनि देवघाटधाम भनिन्छ । पर्यायका रूपमा रहेका अनेकौं नामले यस क्षेत्रको धार्मिक एवम् ऐतिहासिक गरिमालाई अभिव्यक्त गर्दछन् ।

त्रिशुली र कालिगण्डकीको संगमस्थल, तस्बीर: राजु झल्लु प्रसाद

२. भौगोलिक अवस्थिति

देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा रहेको छ । एकातर्फ कालो आभा भएको कालीगण्डकी प्रवाहित भइरहेको छ भने अर्कातर्फ श्वेता गण्डकीको सेतो आभालाई आत्मसात् गर्दै त्रिशूली नदी प्रवाहित भएको छ । त्यसैले नै सदानीरा हिमगङ्गाका कलकल ध्वनिले सधैँ सङ्गीतको आनन्द प्रदान गर्ने देवघाट प्रकृतिको क्रिडाभूमिजस्तो लाग्दछ । यी दुई दिव्य नदीका सङ्गमले नै देवघाटलाई पावन भूमि बनाएको छ । हिमशृङ्खलाबाट उत्पन्न भई नेपालभूमिका डाँडा-काँडा एवम् पाखा पखेरालाई छिचल्दै गङ्गामा समाहित हुने दुई ठूला नदी कृष्णगण्डकी र कौशिकीको धार्मिक दृष्टिले आफ्नै वैशिष्ट्य रहेको छ । कोशीका तटमा महत्त्वपूर्ण तीर्थका रूपमा कोका रहेको छ भने गण्डकीका तटमा मुक्तिक्षेत्र, रुरुक्षेत्र, देवघाट र त्रिवेणी गरी चारवटा महत्त्वपूर्ण तीर्थ रहेका छन् ।

वाराहपुराण आदिमा महत्त्वका साथ वर्णन गरिएका तीर्थमध्येको एक तीर्थ देवघाट वर्तमान नेपालको मध्यभागमा लुम्बिनी, गण्डकी र नारायणी अञ्चलका एवम् नवलपुर, चितवन र तनहुँ जिल्लाका सङ्गममा अवस्थित छ । यसरी यो भूमि नेपालका तीनवटा अञ्चलको र तीनवटा जिल्लाको सङ्गम भूमिका रूपमा देखा पर्दछ। अर्को शब्दमा भन्नुपर्दा गैंडाकोट नगरपालिका, देवघाट गाउँपालिका र भरतपुर महानगरपालिकाका सिमानामा अवस्थित पुण्यभूमि नै देवघाट हो । दामोदरकुण्डबाट प्रवाहित हुने कालीगण्डकी र गोसाइँकुण्डबाट प्रवाहित हुने त्रिशूली नदीको समागम र त्यसपछिको एकरूपता नै यस भूमिको मूलभूत विशेषता हो ।

विश्व मानचित्रमा देवघाटक्षेत्र ८५°२२ ८५° २२’ ३० ‘ बाट ८४९३०००’ पूर्वी अक्षांश र २७° ४२’ ३” बाट २७° ४७’ ३०” उत्तरी देशान्तरको बीचमा पर्दछ भनिन्छ । यस भूमिलाई समुद्र सतहबाट २०० मि. देखि ५७५ मि. सम्मको उचाइमा रहेको मानिएको छ । भित्री मधेश र पहाडका सङ्गमका रूपमा रहेकाले यहाँको वातावरण समशीतोष्ण रहेको छ । जसका कारण यहाँको वातावरण मानवका लागि र वन्य पशुपंक्षिहरूका लागि उपयुक्त छ । मूलतः देवघाट क्षेत्र समतल भूमिमा रहेको छ । तापनि यसका वरिपरि अग्ला-अग्ला पहाड छन् । नेपाल सरकारद्वारा गठित देवघाट क्षेत्रविकास समितिले र अन्य संस्थाले यसको सिमाना निर्धारण गर्ने प्रयत्न गरेको पाइन्छ ।

गलेश्वर मन्दिर, तस्बीर: राजु झल्लु प्रसाद

३. पौराणिक सन्दर्भ

विभिन्न महापुराणहरूमा र उपपुराणहरूमा गण्डकीको माहात्म्य देखाइएको छ तापनि गण्डकीमाहात्म्य प्रतिपादनका दृष्टिले चारवटा पुराण महत्त्वपूर्ण देखा पर्दछन् । क) वाराहपुराण ख) पद्मपुराण ग) श्रीमद्भागवत घ) स्कन्दपुराणको हिमवत्खण्ड । यसै सन्दर्भमा काशीराम शर्माद्वारा पौराणिक शैलीमा लेखिएको गण्डकीमाहात्म्यसमेत गण्डकीका एवम् देवघाटका गरिमालाई उजागर गर्ने महत्त्वपूर्ण ग्रन्थका रूपमा देखापर्दछ । उपर्युक्त ग्रन्थहरूमा वर्णित गण्डकी एवम् देवघाटसम्बन्धी सन्दर्भको क्रमशः चर्चा गरिन्छ –

३.१ वाराहपुराण

वाराहपुराणमा मुक्तिक्षेत्रदेखि वर्तमान हरिहरक्षेत्रसम्मका गण्डकीका तटमा अवस्थित विभिन्न तीर्थहरूको र शालग्रामक्षेत्रको विस्तारपूर्वक चर्चा गरिएको छ । यस पुराणमा चर्चा गरिएका गण्डकीका तटमा अवस्थित प्रमुख चार तीर्थमध्येको एउटा तीर्थ देवघाट हो । देवघाटलाई वाराहपुराणमा देवाट भनिएको छ । देवताहरूको सञ्चरण क्षेत्र भएकाले नै यसलाई देवाट भनिएको हो भन्ने कुरा उक्त पुराणले नै प्रमाणित गरेको छ । वाराहपुराणका विभिन्न (मूलतः १४४-१४७) अध्यायमा गण्डकीका तटमा अवस्थित साना ठूला अनेकौं तीर्थहरूको वर्णन गरिएको छ । तापनि १४४ औँ अध्यायमा र १४५ औँ अध्यायमा देवघाटको आध्यात्मिक वैशिष्ट्यलाई उजागर गर्ने कार्य गरिएको छ ।

१४४ अध्यायमा सोमेश्वर आदि लिङ्गहरूको, मुक्तिक्षेत्र एवम् त्रिवेणी आदिको माहात्म्य बताइएको छ । यसै अध्यायका बीचमा शालग्रामक्षेत्रको माहात्म्य चर्चा गर्ने सन्दर्भमा देवताहरूले सञ्चरण गर्ने हुनाले यसलाई देवाट भनिन्छ भन्ने उल्लेख गरिएको छ । शालग्रामक्षेत्र माहात्म्यवर्णन नामक १४५ औं अध्यायमा कृष्णगण्डकीको र श्वेतागण्डकीको सङ्गमभूमिका रूपमा देवघाटको चर्चा पाइन्छ।

मूलतः यी दुई अध्यायलाई आधार मानेर विभिन्न सन्तहरूले दुई अध्याय भएका देवघाट माहात्म्यको प्रकाशन गरेको देखिन्छ । देवघाटलाई पौराणिक तीर्थका रूपमा उच्च गरिमा प्रदान गर्ने कार्य वाराहपुराणले नै गरेको हो तापनि जसरी यस पुराणमा मुक्तिक्षेत्र, रुरुक्षेत्र र त्रिवेणीक्षेत्रसित सम्बद्ध स्फुट कथाको निर्देशन पाइन्छ त्यसरी नै देवघाटसित सम्बद्ध स्फुट कथानकको उल्लेख पाइन्न । शालग्रामक्षेत्रको माहात्म्य वर्णन गर्ने सन्दर्भमा नै उक्त क्षेत्रभित्र पर्ने देवघाटको चर्चा आएको हो । यहाँ देवघाटलाई एक ठाउँमा देवाट भनिएको छ भने अन्यत्र दुईवटा दिव्यनदीहरूको सङ्गमभूमि भनिएको छ । वाराहपुराणमा देवघाटमै बसेर कुनै तपस्वीले तपस्या गरेको भन्ने सन्दर्भको उठान गरिएको छैन । कृष्णगण्डकीको र शुक्लागण्डकीको सङ्गमभूमि नेपालमा नै पर्छ भनी स्पष्टताका साथ यसको महिमागायन गरिएको छ।

१४५ अध्यायमा देवघाट सम्बद्ध केही पद्यहरू यस प्रकार रहेका छन् –

अन्यच्च ते प्रवक्ष्यामि क्षेत्रं गुह्यं परं मम ।
सम्भेदो देवनद्योस्तु समस्तसुखवल्लभः ।
दिवोऽवतीर्य तिष्ठन्ति देवा यत्र सहप्रियाः ।।
गन्धर्वाप्सरसश्चैव नागकन्याः सहोरगैः ।
देवर्षयश्च मुनयः समस्तसुरनायकाः ।।
सिद्धाश्च किन्नराश्चैव स्वर्गादवतरन्ति हि ।
नेपाले यच्छ्विस्थानं समस्तसुखवल्लभम् ।।
तेभ्यस्तेभ्यश्च स्थानेभ्यस्तीर्थभ्यश्च विशेषतः ।
महादेवजटाजुटान्नीलकण्ठाच्छिवालयः ।।
श्वेतमङ्गेति या प्रोक्ता तया सम्भूय सादरम् ।
नाना नद्यः समायाता दृश्यादृश्यतया स्थिताः ।।
गण्डक्या कृष्णया चैव या कृष्णस्य तनूद्भवा ।
तया सम्भेदमापन्ना या सा शिवतनूद्भवा ।।
त्रिशूलगत्याख्याता सापि तत्र महानदी ।।
एवम् नदिसमुद्भेदः सर्वतीर्थकदम्बकम् ।।
मम क्षेत्रे समाख्यातं पुण्यं परमपावनम् ।।
वसुधे त्वं विजानीहि देवानामपि दुर्लभम् ।।
यच्च सिद्धाश्रम इति विख्यातः पुण्यवर्द्धनः ।। ( वाराहपुराण १४५ / ७९-८६ )।

वराह र भूमिका संवादका रूपमा रहेका उद्धृत पद्यावलीबाट यस प्रकारको अर्थ निस्कन्छ । भगवान् वराह पृथ्वीलाई सम्बोधन गर्दै भन्नुहुन्छ- हे वसुन्धरे ! यस शालग्राम क्षेत्रमा एउटा अर्को मेरो अत्यन्त गुह्य स्थान छ जसका सम्बन्धमा म तिमीलाई बताउँछु दुईवटा देवनदीहरूको (अर्थात् कृष्णगण्डकीको र श्वेतागण्डकीको) सङ्गमभूमि सबै सुखदायक एवम् अत्यन्त प्रिय छ देवताहरू आफ्ना प्रियतमाका साथमा स्वर्गबाट आएर यहाँ निवास गर्दछन् । उरगहरूका साथमा गन्धर्वहरू, अप्सराहरू, नागकन्याहरू, देवर्षिहरू, मुनिहरू, देवनायकहरू, सिद्धहरू र किन्नरहरू यहाँ बस्न भनेर स्वर्गबाट आउँछन् । त्यसैले नै नेपालमा रहेको यस कल्याणकर भूमिले सबै सुख प्रदान गर्दछ र प्राकृतिक दृष्टिले यो ठाउँ अत्यन्त मनोहर छ । यहाँ विभिन्न ठाउँबाट र विशेषतः विभिन्न तीर्थबाट अनेकौं महात्माहरू आउँछन् । नीलकण्ठ महादेवका जटाजूटबाट निस्किएकी त्रिशूलगङ्गा श्वेतगङ्गाका साथमा एकाकार भएर यहाँ आई कृष्णगण्डकीमा मिल्दछिन् । त्यसैले नै यस ठाउँलाई कल्याणकर स्थान वा शिवभूमि भनिन्छ । यहाँ अनेकौं पुण्य नदीहरू कहिले दृश्य र कहिले अदृश्य भएर रहन्छन् ।

समग्रमा भन्नुपर्दा भगवान् नारायणका शरीरबाट उत्पन्न भएकी कृष्णगण्डकीको र भगवान् शङ्करका त्रिशूल प्रहारबाट उत्पन्न भएकी त्रिशूलगङ्गा (त्रिशूलीनदी) को यहाँ सङ्गम हुन्छ । यी दुवै दिव्य नदीहरूको एकाकारताबाट नारायणी नामक महानदीको प्रादुर्भाव हुन्छ । यस प्रकार दिव्य नदीहरूको सङ्गमभूमिलाई सर्वतीर्थकदम्बक (सबै तीर्थहरूको मिलनभूमि) भनिन्छ । हे पृथ्वि ! दिव्यनदीहरूको यस सङ्गम भूमिलाई अन्यन्त पवित्र एवम् पुण्यदायक मेरो क्षेत्र (वैष्णवक्षेत्र) भनिन्छ । यो भूमि देवताहरूका लागि पनि दुर्लभ छ । यो क्षेत्र पुण्यवर्धक सिद्धाश्रम भनेर पनि चिनिन्छ ।

कतिपय पुराणमा विष्णुको, कतिपय पुराणमा शिवको र कतिपय पुराणमा अन्य देवताको महत्त्व देखाइएको हुन्छ । तर वाराहपुराणले शिवका र विष्णुका बीचमा एकरूपता देखाउन खोजेको छ । यी दुई देवताका बीचमा भेददृष्टि राख्नेलाई अज्ञानी र नरकभागी भनेको छ । हुन पनि वाराहपुराणको प्रमुख वर्ण्यस्थानका रूपमा रहेको कृष्णगण्डकी स्वयं विष्णुमय भए तापनि त्यसको एकातर्फको भूमि विष्णुमय र अर्कातर्फको भूमि शिवमय छ ।

गलेश्वर मन्दिरमा बटुकहरू, तस्बीर: राजु झल्लु प्रसाद

३.२ पद्ममहापुराण

शिव र पार्वतीका संवादका रूपमा रहेको पद्ममहापुराणको भगवान् शिवले पार्वतीलाई गण्डकीको समष्टिगत माहात्म्य बताउनुभएको छ । शिवजी भन्नुहुन्छ- गङ्गाजीको जस्तो महिमा भएको गण्डिका अर्थात् गण्डकी नदी छ, यसका गर्भमा शालग्राम शिलाहरू उत्पन्न हुन्छन् । ती शिलाहरूको मुनिहरूले ठूलो माहात्म्य बताएका छन् । गण्डकीको स्मरण मात्रले प्राणीमात्रका सबै पापहरू नष्ट हुन्छन् । गण्डकीका तटमा बस्ने शङ्ख एवम् चक्रले अङ्कित सबै मनुष्य विष्णुरूप नै मानिन्छन् । गण्डकीमा अनेकौं देवता गन्धर्व आदि बस्दछन् । यसै गण्डकीका तटमा शुभ विष्णुस्थान छ । त्यहाँ अनेकौं देवताहरूका मूर्ति रहेका छन् । म पनि भगवान् नारायणका साथमा त्यहाँ बस्छु । गण्डकीको दर्शन गर्नाले र स्पर्शन गर्नाले ब्रह्महत्या आदि गरिएका ठूला-ठूला पापहरू पनि नष्ट हुन्छन् ।

उत्तरखण्डमा पापनाशिनी एवम् पुण्यदायिनी गण्डकी तीर्थराज हो । यसै प्रसङ्गमा शिवजी भन्नुहुन्छ- हे देवी ! आषाढ महिनामा म त्यहाँ गएर एक महिनासम्म विधिपूर्वक स्नान गरेर तारक मन्त्रको जप गर्छु । अन्तमा शिवजी भन्नुहुन्छ- गण्डकी तीर्थ अत्यन्त दुर्लभ छ र त्यसमा पनि विष्णुक्षेत्र अझ दुर्लभ छ । त्यसैले, मानवमात्रले गण्डकीमा गएर भगवान् नारायणको आराधना गर्नुपर्छ । गण्डकीमाहात्म्य श्रवण मात्र गर्ने हो भने पनि मानव विष्णुलोकमा प्राप्त हुन्छ ।

महापुराणको पातालखण्डमा पनि गण्डकीको माहात्म्य वर्णन हगरिएको छ । उक्त प्रसङ्गमा प्रजापति ब्रह्माले प्रजाहरूलाई पापाचारले युक्त भएका देखेर आफ्ना गालाका पसिनाबाट अनेकौं पापराशिलाई नाश गर्ने गण्डकीको सृष्टि गर्नुभयो भनिएको छ । यसै सन्दर्भमा पवित्रजल भएको गण्डकीको स्पर्शमात्रले सबै पापलाई नष्ट गराई आमाका गर्भमा बस्न नपर्ने बनाउँछ, गण्डकीका चक्राङ्कित शालग्रामशिलाले मानिसका सयौं जन्मका पापलाई एकैछिनमा नाश गराउँछन् भन्दै गण्डकीको प्रोज्ज्वल महात्म्य प्रतिपादन गरिएको छ ।

यसरी पद्ममहापुराणमा समग्र गण्डकीप्रदेशको र शालग्रामक्षेत्रको वर्णनका सन्दर्भमा देवघाटको माहात्म्य पनि अनुस्यूत हुन्छ । देवघाटको व्यष्टि सन्दर्भ नदेखाइए तापनि जसका पावन तटमा अवस्थित भएकाले देवघाटको गरिमा बढेको हो उनै गण्डकीको महिमा यहाँ मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

३.३ श्रीमद्भागवतमहापुराण

श्रीमद्भागवतमहापुराणको पञ्चमस्कन्धमा गण्डकीपरिसरको चर्चा पाइन्छ । यहाँ गण्डकीलाई चक्रा सरित् भनिएको छ । श्रीमद्भागवतअनुसार ब्रह्माजीका मानसपुत्र पुलस्त्य र पुलह गण्डकी तटका महान् तपस्वी हुन् । आफ्ना भक्तका स्नेहले भगवान् विष्णु पुलस्त्य र पुलहका आश्रमका निकटमा गण्डकीका तटमा बस्नुहुन्छ । राजर्षि भरतका तीन जन्मका इतिवृत्त कृष्णगण्डकीकै तटमा घट्दछन् ।

अन्तमा जडभरतले गण्डकीकै अनुकम्पाले परमपद प्राप्त गर्दछन् । श्रीमद्भागवतमा नै पौराणिक रोमहषर्ण सूतको संहारपछि पाप परिमार्जनका लागि तीर्थयात्राका क्रममा बलराम गण्डकीस्नान गर्न गएको चर्चा गरिएको छ । श्रीमद्भागवतमा पनि देवघाटको व्यष्टि सन्दर्भको उठान गरेको पाइन्न तर गण्डकीको महिमाका साथै यसका तटमा कठोर तपस्या गरी सृजनशक्ति एवम् सिद्धि प्राप्त गर्ने पुलस्त्य, पुलह, भरतजस्ता महान् तपस्वीहरूको प्रशंसा गरिएको भने पाइन्छ । प्रौढ भाषा शैली आदिका दृष्टिले पौराणिक वाङ्मयकै उज्ज्वल रत्नका रूपमा समादृत श्रीमद्भागवतम वर्णित गण्डकीमाहात्म्यले यसको वैशिष्ट्यलाई उजिल्याएको छ ।

३.४ हिमवतखण्ड

स्कन्दमहापुराणको अङ्ग मानिएको हिमवत्खण्डमा देवघाटको लामो चर्चा पाइन्छ । विशेषतः हिमवत्खण्डको ४४ औं अध्यायमा देवघाटको महिमा प्रतिपादन गरिएको छ । यसै अध्यायका अन्तमा पत्नीद्वारा गरिएको देवघाटस्नानको पुण्यको प्रभावले कुनै पुरुष मुक्त भएका थिए भन्दै देवघाटको विशेषतालाई प्रस्फुटन गर्ने एउटा कथा पनि दिइएको छ । जसअनुसार रूपकेतु नामक राजाका कामप्रभा र पद्मिनी नामका दुई रानी हुन्छन् । विदर्भ देशका राजाकी छोरी एवम् कान्छी रानी राजाकी प्राणभन्दा पनि प्यारी हुन्छिन् । जेठी रानी कामप्रभालाई नराम्री भएकाले राजाले हेला गर्दछन् । उनको मुसमेत हेर्दैनन् । उनी सबै प्रकारका सुख सुविधाबाट वञ्चित हुन्छिन् । यसरी केही वर्षसम्म तिरष्कृत जीवन बिताएर रानी कामप्रभा एक दिन माइत जान भनेर हिँडिछन् । बाटामा उनको तीर्थयात्रीहरूसँग भेट हुन्छ । कामप्रभाले तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ भनी उनीहरूलाई सोध्छिन् । तीर्थयात्रीले हामीहरू स्नान गर्न देवघाट जान लागेका छौँ भन्दछन् । कामप्रभाले म पनि तपाइँहरूसँगै स्नान गर्न देवघाट जान्छु भन्छिन् र उनीहरूसँगै देवघाट जान्छिन् ।

सूर्य मकर राशिमा गएका अवस्थामा नराम्रो मुख भएकी कामप्रभाले राम्रो मुखको कामना गर्दै गण्डकीमा स्नान गर्दछिन् । शिवजीको प्रसन्नताका लागि ब्राह्मणहरूलाई दक्षिणासमेत दिन्छिन् । त्यो रात त्यहीँ बिताएर प्रातः कालमा पुनः स्नान गरी उनी आफ्ना माइत जान्छिन् । माइत गएर उनले आफ्ना बुबाआमालाई पतिको दुर्व्यवहार सुनाउँछिन् । दुःखी भएका बुबा आमाले उनलाई आश्वासन दिन्छन् । माइतमा बसेकी कामप्रभा देवघाटमा स्नान गरेका पुण्यका प्रभावले छ महिनाभित्रै अप्सराजस्ती रूपवती बन्दछिन् । जताततै उनका सौन्दर्यको चर्चा हुन्छ । यो चर्चा राजा रूपकेतुका कानमा पनि पर्छ । राजाले सम्मानका साथ कामप्रभालाई आफ्ना राज्यमा भित्र्याउँछन् । उनका सौन्दर्यले राजा मोहित हुन्छन् । कामप्रभाले देवघाटमा स्नान गरेका पुण्यका प्रभावले नै अन्तमा रूपकेतु मुक्त हुन्छन् ।

देवघाटको महिमा प्रतिपादन गर्दै कामप्रभाको इतिवृत्त प्रस्तुत गरिएको छ –

सर्वासां सङ्गमे धीर देवघट्ट इति श्रुते ।
सर्वतीर्थमये पूते स्नानात् कोटिगुणं फलम् ।।
सर्वतीर्थमया नद्यः सर्वदेवमयो हरः ।
तासां सुसङ्गमे नित्यममरैः स्नायते समम् ।।
देवदेवः स्वयं तत्र तिष्ठति प्रमथैः सह ।
देवतीर्थमिति प्रोक्तं तस्मात्सर्वफलप्रदम् ।।
पृथिव्या यानि तीर्थानि सन्ति फलप्रदानि च ।
कोटिकोटिगुण तेभ्यः फलं स्नानेन लभ्यते ।। (हिमवत्खण्ड ४४ / १०३-१०६) ।

कामप्रभाको कथासँग सम्बद्ध भएर आएको देवघाटधामको महत्त्व हिमवत्खण्डको ४४ औं अध्यायमा विस्तारपूर्वक वर्णन गरिएको छ । हिमवत्खण्डकै गण्डकीमाहात्म्यका अनुसार स्वर्ग, मर्त्य र पातालमा रहेका साथै भारतवर्षमा रहेका सबै तीर्थहरू विशेषपर्वका अवसरमा देवघाटमा आउँछन । पृथ्वीका सम्पूर्ण तीर्थमा स्नान गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो फल देवघाटमा स्नानमात्र गर्नाले प्राप्त हुन्छ, स्वयं महादेव आफ्ना गणका साथमा यस तीर्थमा निवास गर्नुहुन्छ, त्यसैले यसलाई देवतीर्थ भनिन्छ भनिएको छ । हिमवत्खण्डमा देवघाटका महिमा दर्शाउने अन्य प्रसङ्ग पनि आउँछन् । नैमिषारण्यवासी मुनिहरूका बीचमा पृथ्वीमण्डलमा कुन ठाउँ श्रेष्ठ छ भन्ने विषयमा चर्चा भएको र अन्तमा भूमण्डलमा जम्बूद्वीप श्रेष्ठ छ । जम्बूद्वीपमा पनि आर्यावर्त श्रेष्ठ छ र त्यसमा गण्डकी प्रदेशसित सम्बद्ध पारकोट क्षेत्र श्रेष्ठ छ भनी निष्कर्ष निकालेको बताइएको छ ।

हरिहर मन्दिर, तस्बीर: राजु झल्लु प्रसाद

३.५ गण्डकीमाहत्म्य

देवघाटको माहात्म्यसित सम्बद्ध ग्रन्थहरूका सन्दर्भमा मूलतः वाराहपुराणलाई उपजीव्य बनाएर पौराणिक शैलीमा लिखित गण्डकीमाहात्म्य पनि उल्लेखनीय हुन आउँछ । पृथ्वीका र वराहका संवादका माध्यमले अभिव्यक्त गण्डकीमाहात्म्यलाई आधार बनाई भारद्वाजगोत्रीय भगवत् शर्मा र काश्यपगोत्रीय काशीरामका संवादका रूपमा संरचित प्रस्तुत गण्डकीमाहात्म्य एघार अध्यायमा विभक्त छ । विकीर्ण रूपमा रहेका गण्डकीका र गण्डकी प्रदेश (पारकोटक्षेत्र) मा विद्यमान विभिन्न तीर्थहरूका विषयवस्तुलाई समेटी तयार पारिएको प्रस्तुत ग्रन्थ गण्डकीको, गण्डकीका विभिन्न सङ्गमको र गण्डकीका तटमा अवस्थित प्रमुख एवम् गौण तीर्थको धार्मिक एवम् ऐतिहासिक महत्त्व प्रतिपादनमा केन्द्रित छ ।

प्रस्तुत ग्रन्थमा गण्डकीका तटमा अवस्थित १. मुक्तिक्षेत्र २. रुरुक्षेत्र ३. हरिहर (देवघाट) क्षेत्र ४. त्रिवेणीक्षेत्र र ५. हरिक्षेत्र गरी पाँच प्रकटतीर्थ एवम् एउटा अप्रकटतीर्थ रामपुरक्षेत्र गरी छवटा प्रमुखतीर्थको र अन्य सहायक वा महत्त्वपूर्ण तीर्थहरूको वर्णन गरिएको छ । सातौँ अध्यायमा देवघाटको माहात्म्य बताइएको छ । गण्डकी क्षेत्रको आध्यात्मिक एवम् ऐतिहासिक गरिमालाई उजागर गर्ने प्रस्तुत ग्रन्थमा छरिएर रहेका गण्डकी क्षेत्रका विषयलाई एउटै ग्रन्थमा अध्ययन गर्न वा आस्वादन गर्न चाहने पाठकको आकांक्षालाई पूरा गरिएको छ । प्रस्तुत ग्रन्थमा सेनवंशमा जन्मिएका प्रतापी राजा मुकुन्द सेनको ऐतिह्यको पनि सङ्केत गरिएको छ ।

३.६ अन्य पौराणिक एवम् साहित्यिक ग्रन्थसन्दर्भ

वाराहपुराण र हिमवत्खण्डबाहेकका पुराणहरूमा देवघाट भनी नामोल्लेख गरेर वा गण्डकीलाई नै विषयवस्तु बनाएर विस्तृत वर्णन गरेको पाइन्न तर पनि अधिकांश पुराणहरूमा कुनै न कुनै रूपमा गण्डकीको महत्त्व दर्शाइएको र गण्डकीका गर्भमा उत्पन्न हुने शालग्रामशिलाको महिमा प्रतिपादन गरेको पाइन्छ ।

भगवान् रामचन्द्रले पनि अश्वमेध यज्ञ सम्पन्न गरेपछि गण्डकीमा स्नान गर्नुभएको थियो भन्ने कुरा आनन्दरामायणले उल्लेख गरेको छ । उक्त रामायणमा रामचन्द्रका गण्डकीयात्राको वर्णन समेत गरिएको छ । लीलावतार भगवान् श्रीकृष्णले यमुनाका तटमा अनेकौं दिव्य लीला प्रदर्शन गरेझैँ पार्वतीनन्दन गणेशले पनि नारायणीका तटमा आफ्ना दिव्य लीलाहरू प्रदर्शन गर्नुभएको थियो भन्ने कुरा गणेशपुराणमा देखाइएको छ । मिथिलामाहात्म्यमा नारायणीको तटलाई विशाल मिथिलाको पश्चिमतर्फको सिमाना मानिएको छ । बृहन्नारदीय, विष्णुधर्मोत्तर आदि पुराणहरूमा पनि गण्डकीको चर्चा पाइन्छ ।

यसरी विभिन्न पुराणमा कुनै न कुनै रूपमा देवघाटको महिमा प्रतिपादन गरिएको छ, तापनि प्रत्यक्षतः वाराहपुराणमा र हिमवत्खण्डमा देवघाटको समग्र धार्मिक महत्त्व प्रकट भएको छ । यसै सन्दर्भमा समग्र गण्डकीक्षेत्रको महिमाको प्रतिपादन गर्ने गण्डकीमहात्म्य उल्लेखनीय कृतिका रूपमा देखा पर्दछ ।

गण्डकीका गरिमाद्वारा आकृष्ट भई साहित्यिक प्रतिभाद्वारा रचना गरिएका स्तोत्रकाव्यको परम्परा पनि महनीय देखापर्दछ । जगद्गुरु शङ्कराचायर्यद्वरा रचित गण्डकीस्तोत्रमा गण्डकीको समग्र धार्मिक विशेषताको चर्चा गर्दै भागीरथीलाई छाडेर अन्य कुनै नदीको गण्डकीसित तुलना हुन सक्दैन भन्ने तथ्य उजागर गरिएको छ । नेपाली कवि उमाकान्त पन्थीद्वारा रचित गण्डकीगौरवम् स्तोत्रकाव्यकै इतिहासमा महत्त्वपूर्ण ग्रन्थका रूपमा देखा पर्दछ । प्रस्तुत ग्रन्थका अन्तमा नौ पद्य भएको हृषीकेशस्तोत्र पनि समावेश गरिएको छ । यसै सन्दर्भमा दधिराम मरासिनीद्वारा गण्डकीलाई विषय बनाएर रचना गरिएका स्तोत्रहरू पनि महत्त्वपूर्ण साहित्यिक सामग्रीका रूपमा देखा पर्दछन् ।

देवघाटका विशेषताका सम्बन्धमा चर्चा गरिएका अन्य कृतिहरूमा योगी नरहरिनाथद्वारा लिखित हाम्रो देशदर्शन, सूचना विभागद्वारा प्रकाशित मेचीदेखि महाकालीसम्म (भाग ३) उल्लेखनीय हुन आउँछन् ।

४. धार्मिक सांस्कृतिक महत्ता

प्रस्तुत सन्दर्भमा धर्म भन्नाले जनताले परम्पराबाट ग्रहण गर्दै आएका सनातन हिन्दूधर्म आदि बुझिन्छ । देवघाटको धार्मिक सन्दर्भलाई हेर्दा यो भूमि प्राचीनकालदेखि नै हिन्दूहरूको पवित्र तीर्थस्थलका रूपमा रहेको पाइन्छ । पौराणिक एवम् ऐतिहासिक सन्दर्भले समेत यसै तथ्यलाई प्रमाणित गर्दछ । उत्तरवर्ती समयमा गण्डकीक्षेत्र हिन्दूधर्मावलम्बीको र बौद्धधर्मावलम्बीको साझा मिलन भूमिका रूपमा विकसित भएको देखिन्छ । देवघाट वर्तमान समयमा पनि हिन्दूहरूको आस्थाको केन्द्र बनेको पाइन्छ । यहाँ टाढा-टाढाबाट आएर बसोबास गर्ने हिन्दूहरूको बाहुल्य छ । यत्र तत्र परमार्थ साधनमा लागेका र कल्पवासमा बसेर जीवनको उत्तरार्धलाई सफल बनाइरहेका धर्मपरायण महात्माहरूका साधना कुटीहरू देख्न पाइन्छन् । यहाँ सधैँ ब्रह्मविद्याको चिन्तन भइरहेको हुन्छ । बोटे, मगर आदि यहाँका आदिवासीका रूपमा चिनिन्छन् । उनीहरू पनि हिन्दूसंस्कारबाट प्रभावित देखिन्छन् । हिन्दूधर्मानुसार मनाइने विभिन्न पर्वहरूमा उनीहरूको समान सहभागिता पाइन्छ ।

गण्डकीको एउटा तट वैष्णवक्षेत्र र अर्को तट शैवक्षेत्र रूपमा प्रख्यात छ । रुरुक्षेत्रका सम्बन्धमा भन्नुपर्दा पाल्पा जिल्ला र गुल्मी जिल्लामा पर्ने हृषीकेश भगवान्‌को मन्दिर भएको र रुरुकन्याको तपःस्थली रहेको कृष्णगण्डकीको दायाँतर्फको भूमि वैष्णवक्षेत्रका रूपमा र स्याङ्जा जिल्लामा पर्ने भृगुको तपःस्थली भएको र भार्गव देवदत्तको अन्तिम कृष्णगण्डकीको बायाँतर्फको क्षेत्र शैवक्षेत्रका रूपमा प्रख्यात छ ।

यसरी नै कृष्णगण्डकीको र त्रिशूली नदीको सङ्गमभूमिका रूपमा रहेको देवघाट कृष्णगण्डकीतर्फको भूमि वैष्णवभूमि र त्रिशूलीतर्फको भूमि शैवभूमि मानिन्छ । हिन्दूधर्मका प्रमुख सम्प्रदायका रूपमा रहेका वैष्णव र शैव परम्पराका आराध्य देवका मठ मन्दिर आदिले देवघाटको धार्मिक महनलाई बढाएका छन् । स्वयं हरि र हरका मिलनबिन्दुका रूपमा रहेको साथै हरि रहरको प्रतिनिधित्व गर्ने दुई दिव्य नदीको सङ्गम भूमि देवघाट आपने विशेषताले चम्किएको छ । यहाँ अनेक देवी देवता आदिका मन्दिरको निर्माण गरिएको छ तापनि वैष्णवगङ्गा र शैवगङ्गाका रूपमा प्रतिष्ठित दुई दिव्य नदीहरूको सङ्गममा स्नान गर्नु नै यहाँको प्रमुख धार्मिक कृत्य ।

बिहान र साँझमा देवालयबाट निस्कने शङ्ख र घण्टका निनादले एवम् ब्राह्मणवटुकका वैदिक उद्घोषले यहाँको वातावरणलाई नै पवित्र बनाइरहेको हुन्छ । हरिहर क्षेत्रका रूपमा परिचित देवघाटबाट प्राप्त हुने आध्यात्मिक ज्ञान भनेको हरिहर का बीचको अभेद वा अद्वैत ज्ञान हो । वाराहपुराण, गण्डकीमाहात्म्य आदिले यसै तथ्यलाई प्रकाश पार्न चाहेको देखिन्छ । धार्मिक दृष्टिले देवघाटमा यज्ञ यागादिको सम्पादनलाई महत्त्वपूर्ण मानिन्छ । धर्मका साथमा संस्कृति पनि जोडिएर आउँछ। तत् तत् धर्मावलम्बीहरूले मनाउने रीति-रिवाज, चाड-पर्व आदि नै संस्कृति हुन् । देवघाट क्षेत्रको आफ्नै सांस्कृतिक विशेषता रहेको छ ।

(लेखक प्रा.डा. नुरापति पोखरेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ काठमाडौँका प्राध्यापक हुनुहुन्छ ।)

सम्बन्धित समाचार