मंगलबार , मंग्सिर ४, २०८१

राजनीति गरेकै कारण मारिइन् नाबीजादा !

उनलाई भनिएको थियो, "घरमै बस्नुहोस् ! नत्र खतरा छ !"

image

कस्तो बिडम्बना ! उनलाई अँध्यारोमा गोली हानी हत्या गरियो, भोलि अर्कोलाई मारिनेछ !

हिजोमात्रै अफगानिस्तानको काबुलमा एक महिलालाई गोली हानेर मारियो । गोली हानी हत्या गरिएकी महिला अफगानिस्तानकी पूर्व प्रतिनिधिसभा सदस्य थिइन् । उनको नाम मुरसल नाबीजादा हो । उनको मृत्युको कारण उनले राजनीति गर्नु हो । एउटा महिलाले बुर्काबाट बाहिर निस्केर राज्य र राज्यको नीतिका बारेमा छलफल र बहस गरे वा गर्न प्रेरित गरेबापत मृत्युवरण गर्नु परेको समाचार बनिरहँदा वा पढिरहँदा पनि हामी र हाम्रो मानवता चुप छ । मानव अधिकार र महिला अधिकारसँग कार्य गर्नेहरू पनि बिना क्रिया-प्रतिक्रिया मौन छन्, किन ? सायद, महिला राजनीतिकर्मीको त्यो मृत्युको साथमा सत्ता र शक्ति पहुँच नभएको कारण मौनता ! हो कि !

अफगानिस्तानको काबुलका तालिवानीको निर्मम दमन र बर्बरताको शासनमा महिलाले अनुहार ढाक्नैपर्ने बाध्यताको विपक्षमा उभिएका कारण उनको मृत्यु भयो । सामान्य मानिसहरूको लागि यो सजिलोसँग दिइने उत्तर हो ।

“कानुनले खुला हिँड्डुल निषेध गरेको ठाउँमा किन हिँड्नु त ! पढ्न-लेख्न पाइँदैन भने नपढ्नु नि त ! हामीले पाएकै छौँ, यो अर्काको देशको कुरा पर्यो ! “

हामी कतिले यस्तै भनिरहेका छौँ । तर, यस्तो भन्नु  जडता हो । मानिसको जीवन मानवीय भूमिकाको लागि हो, बाँच्नको लागि मात्रै होइन । पढ्नु, पढाउनु, हिँड्नु, बोल्नु, हक खोज्नु कुनै पदमा पुग्नु, उल्लेख्य कार्य गर्नु वा गर्ने वातावरणको माग गर्नु उसको स्वतन्त्रता र अधिकार हो । मानिस भएबापत उसले आफू नागरिक भएको राज्यमा ती अधिकार उपभोग गर्न  पाउनुपर्दछ । त्योचाहिँ उसको भूमिका हो । भूमिकासँग मानिसको पहिचान जोडिएको हुन्छ, पहिचान भएन भने मानवीय अस्तित्व समाप्त हुन्छ, त्यसैले मानिस अधिकारका लागि लडिरहेको हुन्छ ।

अफगानिस्तानमा जागिर खानु हुँदैन, राजनीति गर्न हुँदै हुँदैन । यति मात्रै होइन, महिलाले घरबाट बाहिर निस्कनु समेत हुँदैन ! यस्तो ज्यादतीबिच मुरसल नाबीजादा अफगानिस्तानको प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी थिइन् । उनी अफगानिस्तानका महिलाको स्वतन्त्रताको उदाहरण बनेकी थिइन् । उनको हत्याले अबका दिनमा राजनीतिमा महिलाको सहभागितामा ह्रास निम्त्याउने निश्चित छ । यो हत्या महिला स्वतन्त्रता र मानवअधिकारमाथिको चुनौती हो ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि, सबै क्षेत्रमा सार्वजनिक जीवनमा सहभागी हुनबाट महिलाहरूलाई वञ्चित गरियो। पूर्वसांसद मरियम सोलेमानखिलले भनेका छन्, ‘श्री नाबीजादा, एक साँचो ट्रेलब्लेजर- बलियो र स्पष्टवक्ता, हरेक खतराको सामना गरेर आफूले विश्वास गरेको कुराको पक्षमा उभिन सक्थिन्।’

नाबीजादाको बारेमा ट्वीटरमा यस्तो लेखिएको छ-
“अफगानिस्तान छोड्ने मौका पाए पनि आफ्ना जनताका लागि बस्ने र लड्ने  कुरा नाबीजादाले रोजिन् ।”
अफगानिस्तानका निर्वासित महिला सांसदहरू खोज्नेक्रममा नाबीजादालाई पनि त्यही वाक्य दोहोर्याउँदै काबुलका सरकारी कर्मचारीले बारम्बार भनेका थिए, ” घरमै बस्नुहोस् ! नत्र खतरा छ ! “

पूर्वी प्रान्त नान्गाहारकी सुश्री नाबीजादा २०१८ मा काबुलबाट संसद सदस्यका रूपमा निर्वाचित भएकी थिइन् र तालिवानले सत्ता कब्जा गरेको अवस्थासम्म उनी संसदीय रक्षा आयोगको सदस्य, मानव संसाधन विकास र अनुसन्धान संस्थानमा काम गर्थिन् । उनको हत्याको विरोधमा युरोपेली संसदकी सदस्य हन्ना न्युम्यानले भनिन्,  “म दुःखी र क्रोधित छु ! यो हत्याको विरोध गर्न म, संसारभरका मानिसहरूले थाहा पाउनु पर्छ र हत्याको जवाफ दिनुपर्छ भन्न चाहान्छु !” हन्ना भन्छिन् , “उनलाई  उज्यालोको निषेध गरी अन्धकारमा मारिएको छ । यो लैङ्गिक र  रङ्भेद प्रणालीको पक्षमा गरिएको हत्या हो । म यसको घोर निन्दा गर्दछु !”

यो हत्याको समाचार सुनिरहँदा यस्तो लाग्छ कि, ती तालिवान पुरुषहरू महिलाको कोखबाट होइन, उनीहरूको मोहम्मद / खुदाको कोखबाट जन्मिएका हुन् । उनीहरू पुरूषको दुध चुसेर हुर्किएका हुन् । पुरूषकै स्याहारसुसारमा पढे, बढे । उनीहरूको मातृभूमिसँगको सम्बन्ध मात्रै आफ्नो अस्तित्व र धर्मसँग जोडिएर उनीहरूका खुदाले उनीहरूलाई आकाशबाट पृथ्वीमा झारिदिएका हुन् । उनीहरूलाई घर, गृहस्थ र सन्तान पनि चाहिन्न । आमा, दिदी, बहिनी, छोरी, भतिजी, भान्जी र पत्नी चाहिन्न । महिलाको अस्तित्व नभएको / महिलाविहीन मुलुक उनीहरू बनाउन चाहन्छन् !

यस्तो निरङ्कुशताले समाजको विकासमा मद्दत गर्छ र ? भएको समाजको अस्तित्व रक्षा गर्न सक्छ र ? सूचना र प्रविधिको विकासले निर्माण भएको आधुनिक समाज विकाससँग जोडिएको सभ्यताको वर्तमान चरणका उपभोग्य वस्तुको उपभोग गर्न महिलाले नपाउने कस्तो समाज ?  कस्तो देश  ?

यो हत्याले विश्वको मानव अधिकारको अवस्थालाई चुनौती दिएको छ । दुनियाँमा मानवअधिकार र नागरिक स्वतन्त्रताको वकालत गर्नेहरूलाई लज्जित तुल्याएको छ । कायर र अमानवीय यो हत्याको निन्दा र भत्सर्ना  गरौँ ।

सम्बन्धित समाचार