विश्वव्यापी कोभिड-१९ महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् लयमा फर्काउन र यसको थप विकास र विस्तार गर्न भन्दै सरकारले अघि सारेको 'पर्यटन दशक' मनाउने योजनालाई कतिपय पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध सङ्घ-सङ्गठनका अगुवाहरूले भने कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
सरकारले सन् (२०२३-२०३३) लाई ‘पर्यटन दशक’को रूपमा मनाउने घोषणा गरेको छ । भ्रमण दशकको रणनीतिक कार्ययोजनाको प्रतिवेदन पनि तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनविद् प्रचण्डमान श्रेष्ठको नेतृत्वमा गठन गरेको कार्यदलले बनाएको रणनीतिक कार्ययोजनाको प्रतिवेदन गत शुक्रवार एक कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ ।
पाँच जना पर्यटन विज्ञहरू सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदनमा आगामी १० वर्षलाई १० छुट्टाछुट्टै उत्सवका रूपमा मनाउने गरी रणनीतिक योजनाको रूपरेखा तयार पारिएको छ । प्रत्येक वर्ष पर्यटनका फरक-फरक विषय र क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम गर्दा प्रभावकारी हुने भएकाले १० वर्षमा १० छुट्टाछुट्टै उत्सव मनाउँदा उपयुक्त हुने विज्ञहरूको सुझाव छ ।
पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको अवधारणा ल्याइएको बताए । मन्त्री श्रेष्ठले पर्यटन दशक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए ।
‘सबैका लागि पर्यटन’ भन्ने अवधारणा सहित आगामी १० वर्ष भित्र मुलुकका वार्षिक ३५ लाख पर्यटक आउने वातावरण बनाउने गरी भ्रमण दशकले लक्ष्य लिएको छ । कार्ययोजना अनुसार देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्याउने लक्ष्य लिइएको छ ।
पर्यटक आगमन हरेक वर्ष १५ प्रतिशतले बढ्दा २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक आउने सरकारको विश्वास छ । आगामी १० वर्ष भित्र वार्षिक १ लाखका दरले थप रोजगारी सिर्जना हुने समेत कार्ययोजनाको लक्ष्य रहेको छ ।
भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने लक्ष्य राखेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पुर्याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ । यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रवर्द्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटन उपजको विकास र विस्तार र देशैभर पर्यटनसम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ ।
योजना कार्यान्वयन हुनेमा आशङ्का
विश्वव्यापी कोभिड-१९ महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् लयमा फर्काउन र यसको थप विकास र विस्तार गर्न भन्दै सरकारले अघि सारेको ‘पर्यटन दशक’ मनाउने योजनालाई कतिपय पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध सङ्घ-सङ्गठनका अगुवाहरूले भने कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का निवर्तमान अध्यक्ष सन्तवीर लामाले सरकारको यो योजना कार्यान्वयन नहुनेमा आफू ढुक्क रहेको बताए । “हामी त पर्यटन क्षेत्रमा लागेर, काम गरेर नै बुढा भइसक्यो । सरकारले यस्ता कति योजना ल्याए, तर कार्यान्वयन भएको छैन । त्यसो भएको हुनाले यो पर्यटन दशकको योजना पनि सही कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्दैन ।” लामाले भने ।
पर्यटन क्षेत्रको लामो अनुभव बटुलेका लामाले नेपालको पर्यटनको विकासमा राज्यले अहिलेसम्म कुनै ठोस काम नगरेको दाबी गरे । “सन् १९५० को दशकदेखि नेपालमा पर्यटनको विकास सुरु भयो । अहिलेसम्म पर्यटनको विकास र विस्तारको लागि राज्यले कुनै ठोस योजना ल्याएको छैन र ल्याएका योजना पनि कार्यान्वयन भएको छैन”, उनले भने, “अहिलेसम्म जति भएको छ, ती सबै निजी क्षेत्रकै प्रयासमा भएको हो ।”
पर्यटकलाई आकर्षित गर्न सरकारसँग कुनै योजना नभएको र नेपाल आएका पर्यटकलाई व्यवस्थापन गर्न समेत नसकेको लामाको विश्लेषण छ । सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास र विस्तार गर्न भन्दै ठुलो रकम खर्च गर्ने गरेको तर ती उपलब्धिमूलक नभएको लामाको भनाइ छ । पर्यटन प्रवर्द्धनको लागि प्रचारप्रसार गर्ने नाममा सरकारको नेतृत्वमा रहेका राजनीतिक दलले आफ्ना कार्यकर्तालाई विदेश घुमाउने गरेको उनको आरोप छ ।
“जुन पार्टीको, जसको सरकार आए पनि पर्यटन प्रवर्द्धनको नाममा आफ्ना कार्यकर्तालाई विदेश घुमाउँछन्, पाँच तारे होटेलमा बैठक सेमिनार गर्छन्, तर वास्तविक पर्यटन व्यवसायीलाई वास्ता गर्दैनन् । पर्यटन सम्बन्धी नीति नियम बनाउँदा पनि पर्यटन क्षेत्रमा काम गरेका विज्ञलाई भन्दा आफ्ना कार्यकर्तालाई सोध्छन्”, उनले भने, “अहिलेको पर्यटन दशकको योजनामा पनि त्यही भएको छ । यो कार्यान्वयन हुन्न । भए पनि रिजल्ट दिँदैन ।”
त्यसैगरी साहसिक जल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले पनि पर्यटन दशक मनाउने सरकारको योजना ‘गफ’ मै सीमित रहने बताएका छन् । पर्यटन व्यवसायी, विज्ञ तथा सम्बद्ध सङ्घ-संस्थाहरूलाई बेवास्ता गरेर बन्द कोठाभित्र बसेर बनाएको योजना कार्यान्वयन हुन नसक्ने अधिकारीको जिकिर छ।
“नेपालको साहसिक पर्यटनको महत्त्वपूर्ण भाग ओगट्ने साहसिक जल पर्यटन व्यवसायीहरूकाे साझा सङ्गठन (नारा) को नेतृत्वमा मैले गर्दै छु । सरकारले देशमा पर्यटनको प्रवर्द्धन, विकास र विस्तार गर्न भन्दै पर्यटन दशकको रणनीतिक कार्ययाेजना बनाउँदै गर्दा हामीसँग पनि यसो सोधेको भए हुन्थ्यो होला नि ? हामीले पनि यस क्षेत्रका समस्याहरू, सुधारका योजनाहरू सरकारको कार्यक्रममा समेट्न सल्लाह दिने थियौँ । तर, हामीलाई वास्ता गरिएन”, अध्यक्ष अधिकारीले भने, “सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूकाे सहभागिता विना बनाएका योजनाहरू विफल नै हुन्छन् । याे पर्यटन दशकको रणनीतिक कार्ययाेजना जुन ल्याएको छ, यसले नेपालको पर्यटनको विकास गर्दैन । यसलाई परिमार्जित गर्दै लैजान सकियो भने केही रिजल्ट देला, अन्यथा ‘हावादारी गफ’ मै सीमित हुनेछ ।”
सरकारले पर्याप्त अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा योजनाहरू बनाउँदा ती कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । “योजना बनाउँदा सस्तो लोकप्रियता र कार्यकर्ताको पक्षपोषणलाई ध्यानमा राखेर बनाउने हुँदा सरकारै पिच्छे योजना पनि फेरिने गरेको इतिहास छ । मुलुकमा नयाँ सरकार बन्दैछ । अब याे योजनालाई अब आउने पर्यटनमन्त्रीले निरन्तरता दिन्छ भन्ने ग्यारेन्टी पनि छैन ।” अध्यक्ष अधिकारीले भने ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल पनि सरकारको पर्यटन दशक मनाउने योजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्छन् । “यस अघि पनि यस्ता थुप्रै योजनाहरू विफल भएका छन्, याे पनि हन्ड्रेड पर्सेन्ट कार्यान्वयन हुन्छ भने भन्न त सकिँदैन ।” रिजालले भने, “तर, हामीले कसरी बुझ्छौँ भन्नेमा पनि भर पर्छ ।”
“सबै योजनाहरू गफै हुन्” भन्ने मानसिकताबाट भने माथि उठ्न आवश्यक रहेको रिजालकाे भनाइ छ । सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्न सम्बद्ध सबैको भूमिका रहने भएकाले सबैले सकारात्मक सोचका साथ सहकार्य गर्दै गए योजना कार्यान्वयन हुने र राम्रो नतिजा पनि दिने रिजालले बताए ।
पर्वतीय पर्यटन व्यवसायीहररूकाे छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले सरकारले अघि सारेको पर्यटन दशक मनाउने योजना स्वागत योग्य भए पनि पूर्ण कार्यान्वयन हुनेमा शङ्का रहेको प्रतिक्रिया दिएका छन् । “सरकारले पर्यटनमा दीर्घकालीन महत्त्वको योजना अघि सारेको छ । याे निकै सुखद कुरा हो । तर, पूर्ण कार्यान्वयन नहोला कि भन्ने चिन्ता छ ।” अध्यक्ष बास्तोलाले भने, “यसलाई कार्यान्वयन याेग्य बनाउन जरुरी छ । अब कार्यविधि बन्न बाँकी छ । त्यस क्रममा सरकारले हामी निजी क्षेत्रलाई पनि प्राथमिकताका साथ सहभागी गराउनुपर्छ, ताकि पर्यटनमैत्री योजनाहरू बन्न सकुन् ।”
त्यसैगरी टानका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहालले भने सरकारले ल्याएको योजनालाई कार्यान्वयन गराउन सम्बद्ध सबै लागिपर्नुपर्नेमा जोड दिए । “हामी पर्यटन व्यवसायी, सङ्घसंस्था, सरकार, पत्रकार सबै मिलेर योजना कार्यान्वयनमा ध्यान दिनुपर्छ”, दाहालले भने, “केही कमीकमजोरी छन् भने परिमार्जन गर्न र गराउन सकिन्छ ।”
उनले पर्यटन क्षेत्रको हितकै लागि सरकारले ल्याएको योजनालाई असहयोग गरेर विफल पार्नतर्फ नभई सफल पार्नतर्फ सबैको ध्यान जानुपर्ने बताए ।
१० वर्षे योजनामा कुन वर्षमा के योजना छ ?
कार्यदलले भर्खरै तयार पारेर सरकार समक्ष बुझाएको रणनीतिक कार्ययाेजनाकाे प्रतिवेदनमा उल्लेख भएअनुसार पहिलो वर्ष सन् २०२३ लाई कार्ययोजना निर्माण तथा योजना तर्जुमा लगायत तयारीका कामका रूपमा अभियान चलाउन सिफारिस गरिएको छ । सन् २०२४ लाई बागमती प्रदेशमा सांस्कृतिक सम्पदाका अभियान सञ्चालनको प्रस्ताव गरिएको छ । सन् २०२५ लाई गण्डकी प्रदेशका दुर्गम भेगलाई प्रवर्द्धन गर्ने गरी अभियान चलाउन प्रस्ताव गरिएको छ । सन् २०२६ मा भने राष्ट्रिय रूपमा साहसिक तथा आध्यात्मिक पर्यटन अभियान चलाउने प्रस्ताव कार्यदलले गरेको छ ।
यसै गरी, सन् २०२७ लाई लुम्बिनी प्रदेशमा बुद्धिस्ट पर्यटनको प्रवर्द्धनका रूपमा उत्सव मनाउने प्रस्ताव गरिएको छ । सन् २०२८ मा मधेस प्रदेशमा रामायणमा आधारित पर्यटन अभियान चलाइने छ । सन् २०२९ मा सुदूरपश्चिम प्रदेशको प्रकृति र आध्यात्मिक पर्यटनमा आधारित रहेर अभियान सञ्चालन गर्न प्रस्ताव गरिएको छ ।
सन् २०३० मा प्रदेश नम्बर १ मा केचनाकवलदेखि सगरमाथासम्मको जैविक विविधतालाई उत्सवका रूपमा मनाउन प्रस्ताव गरिएको छ । सन् २०३१ मा ‘भर्जिन कर्णाली प्रदेश’ अभियान चलाइने छ । सन् २०३२ लाई ‘फेस्टिभ नेपाल’ नाममा राष्ट्रिय अभियान चलाइने भएको छ ।
नेपालकाे पर्यटनकाे इतिहास र भविष्य ‘साहसिक पर्यटन’लाई वेवास्ता
नेपालको पर्यटनको इतिहास साहसिक पर्यटनबाट सुरु हुन्छ । खासगरी नेपाल पर्वतारोहण र जल पर्यटनको लागि विश्वमै प्रख्यात छ । विश्वकै सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमालमध्ये ८ ओटा नेपालमै छन् । अन्य थुप्रै हिमालहरू नेपालमै छन् । जुन पर्वतीय पर्यटनका आधार हुन् । त्यसैगरी हिमालबाट बग्ने कञ्चन नदीहरू जल पर्यटनका आधार हुन् । त्रिशूली, भोटेकोसी, कर्णाली, सेती, मर्स्याङ्दी लगायत थुप्रै नदीहरू जल पर्यटनका लागि विश्वमै औँलामा गन्न सकिने गन्तव्यमा पर्छन् । तर, सरकारले १० वर्षको कार्ययाेजना ल्याउँदै गर्दा पर्वतीय पर्यटन र जल पर्यटनलाई बेवास्ता गरेको देखिन्छ । नेपालको पर्यटनको इतिहास, सम्भावना र भविष्यलाई मध्यनजर गर्ने हो साहसिक पर्वतीय पर्यटन र जल पर्यटनलाई एक/एक वर्ष एक/एक उत्सवको रूपमा मनाउनुपर्ने देखिन्छ ।
लक्षित वर्गलाई वेवास्ता गरिए याेजना विफल हुन्छ
पर्यटन दशक मनाउने सरकारको योजना कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रलाई उठाउन, यसको थप प्रवर्द्धन, विकास र विस्तारका लागि महत्त्वपूर्ण छ । अथाह सम्भावना भएर पनि नेपालले लाभ लिन नसकेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस्ता दीर्घकालीन योजनाहरू आवश्यक छ । तर, यस्ता योजनाहरू अगाडि बढाउँदा पर्यटन व्यवसायी, सम्बद्ध सङ्घ-संस्था, विज्ञ र सरोकारवालाहरूको आवाजलाई समेट्न जरुरी छ । योजना निर्माण, कार्यान्वयन र लाभको वितरणमा लक्षित वर्गको सहभागिता अनिवार्य हुन्छ ।