बुधबार , अषोज २, २०८१

मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू

कुनैबेला यो शिला उचाल्दा गानोगोला कम हुने तथा धर्म मिल्ने कुरा गरिन्थ्यो र मानिसहरू यसलाई उचाल्ने प्रयास गर्दथे ।

image

  • हरि खनाल
    (मुरलीभञ्ज्याङ)

आरम्भ

राजधानी काठमाडौसँग कुम जोडेर बसेको जिल्ला धादिङ सञ्चारमाध्यममा पृथ्वी राजमार्ग बन्द हुँदा र सवारी साधनको दुर्घटना हुँदा मात्र अन्य जिल्लाका मानिसहरूले सुन्ने गरेको नाममा पर्दछ । कतिपय मानिसहरू नौबिसे, बैरेनी, सिम्ले, गजुरी, मलेखु, बेनीघाट धादिङ जिल्लामा नै पर्दछ भन्दासमेत आश्चर्य प्रकट गर्दछन् ।

मुलुकको पश्चिम क्षेत्र मात्र नभएर पूर्वक्षेत्र समेतका मानिस र भूभागलाई आफ्नो छातीमा गुडाएर राजधानीसँग जोडिदिने धादिङ, विकासनिर्माणमा त पछि छँदै छ, नाममा समेत गुमनाम भएजस्तो लाग्दछ । राजधानीबाट केवल ८९ कि.मी. को दूरीमा अवस्थित धादिङको सदरमुकाम धादिङवेसी पृथ्वीराजमार्गमा पर्ने मलेखुबाट १७ कि.मी. को दूरीमा पर्दछ । धादिङको विशाल भूभाग (जून १९२६ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ ) को यात्रा कम समयमा सम्भव छैन । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानकी इष्टदेवी त्रिपुरासुन्दरी, उनको व्रतबन्ध स्थल मैधीकोट, पहराको तिर्थ गङ्गा-जमुना, प्रसिद्ध देवी ज्वालामुखी र भैरवी, ढोलामण्डली र रामकोट मण्डली धादिङका पावन धार्मिक क्षेत्र हुन् । यी बाहेक पशुपतिनाथ, चित्रेकालिका, कालिका, वराहकालिका जस्ता अन्य धार्मिक क्षेत्रहरू पनि अस्तित्वमा रहेका छन् ।

भौगोलिक विविधता बोकेको धादिङमा प्रसिद्ध आँखु र बूढीगण्डकीको काखमा लमतन्न सुतेको सल्यानटार, आँखुको सान्निध्यमा निर्मित अचानेटार, आँखुकै पावनधारामा सिञ्चित सुकौरा फाँट, घाटबेँसी, धादिङबेँसी, महादेवबेँसी, टारीबेँसी, ठूलीबेँसी, धुनीबेँसी प्रसिद्ध स्थानहरू हुन् । यीबाहेक प्रसिद्ध धुवाँकोट र मैदीकोट, सल्यानकोट, रामकोट यहाँका प्रसिद्ध कोटहरू हुन् । पृथ्वी राजमार्गसँग परिचित केही घाटहरू बेनीघाट, सलाङघाट, आदमघाट व्यापारिक हिसाबले चर्चित स्थानहरूमा पर्दछन् । सुन्तले डाडाँको रूपमा चर्चित श्यादुल र त्यसको सेरोफेरो स्वर्गीय आनन्द दिने भ्रमणीय स्थलहरूमा पर्दछन् । धादिङको ज्यामरुङ दरबार ऐतिहासिक दरबार हो ।

उत्तरमा पाविलदेखि दक्षिणमा चितवन, मकवानपुर र पूर्वमा काठमाडौँ, नुवाकोट र पश्चिममा गोरखा जोडिएको धादिङको विशाल भूभागको वर्णन एउटा लेखमा सम्भव छैन । यो शब्दयात्रामा मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरोमा लेखकले देखे-सुनेका ऐतिहासिक, भौगोलिक, सांस्कृतिक सम्पदाको विवरणात्मक झल्को दिने प्रयास गरिएको छ ।

.मुरलीभञ्जयाङ गाउँ विकास समितिको सेरोफेरो

 मुरलीभञ्जयाङ

मुरलीभञ्जयाङ भञ्जयाङहरूको गाविस हो भन्दा पनि हुन्छ । यस गाविसमा लगभग पाँचवटा भञ्जयाङहरू छन् । खास मुरलीभञ्जयाङ सदरमुकामबाट लगभग ५ कि.मि. को दूरीमा पर्दछ । बाटोको छेउमा चौतारी, गाउँ विकास समितिको भवन र विद्यालय कमदूरीभित्र देख्न सकिन्छ । यहाँबाट धादिङ बजारलाई नियाल्दा एउटा सरलरेखामा गुजुमुज्जु घरहरू देखिन्छन् । यो भञ्ज्याङ जिल्ला सदरमुकामबाट सल्यानटार, ज्यामरुङ, चैनपुर मैदी जाने सडकको मूल भाग पनि हो । मुरलीभञ्ज्याङमा एक दुईपटा सल पनि छन् ।

मुरलीभञ्ज्याङमा उभिएर दक्षसणपश्चिमतिर आँखा लगाउनासाथ रामकोट मण्डलीको बाक्ला रूखहरूले बोलाएजस्तो लाग्यो । रामकोट मण्डलीढोलामण्डलीलाई ‘दिदीबहिनी’ मानिन्छ ।  रामकोट मण्डली र ढोलामण्डली दुवै बाक्ला रूखहरूको बीचमा छन् । उनीहरू वरिपरिका लेकहरू फँडानी गर्न नहुने विश्वासका कारण त्यो शोभा हालसम्म विद्यमान छ । रामकोट मण्डलीमा उभिएर हेर्दा दिदी मण्डली पारि नजिकैजस्तो देखिन्छिन् । पैदल यात्राबाट ढोला जाने मानिसहरू मुरलीभञ्ज्याङबाटै  पश्चिमतिर ओरालो झर्दछन् । सडक भने सिधै उत्तरतर्फ लाग्दछ ।

पाल्पाभञ्ज्याङ

पाल्पाभञ्ज्याङमा सात चौताराहरू अझै छन् कोही प्वाँख काटिएका चराहरूजस्तै । पाल्पाभञ्ज्याङको छेउबाट एउटा बाटो बायाँ लाग्दछ जसबाट चैनपुर, ढोला, खरी मैदीतिर गइन्छ । अर्को बाटो सिधा अघि बढ्छ र सल्यानटार तथा ज्यामरुङको लक्ष्य लिन्छ । धादिङबेँसीबाट समीबजार हुँदै उक्लने मूल बाटो पनि यहीँ जोडिन्छ । यहाँबाट पैदलयात्रा गर्दा धादिङबेँसी मात्र ४० मिनेटमा पुग्न सकिन्छ तर, मोटरबाटो जाँदा ८ की. मी. को दूरी पार गर्नुपर्दछ । पाल्पाभञ्ज्याङले आफ्नो मौलिक स्वरूप गुमाएको छ । चौतारा क्षेत्र अतिक्रमणमा परेको धेरै भयो ।

त्यसमाथि पनि आरुघाट धादिङबेँसी सडकको निर्माण र वरपर बसेको बस्तीले यसको स्वरूप बिग्रिएको छ । दसैँ-तिहारमा यहाँ खेलिने रोटेपिङ इतिहास भएको छ र आजको सन्ततिका लागि एउटा सुन्दर आख्यान । लिंगे पिङ खेलिने स्थानमा हाल बाटो गएको छ र बाटोमुनि एउटा जीर्ण विद्यालय छ । स्वरूप जे जसो भएपनि यो सुन्दर स्थानमा छ । चैत्र-वैशाखको याममा पनि यहाँ चिसो हावाको स्पर्श पाइन्छ । भञ्जयाङमा उभिएर हेर्दा पूर्वतर्फ नीलकण्ठ र यसको काखमा लमतन्न सुतेको धादिङबेँसी बजार अनि त्यस भन्दामाथि चुलिमा रहेकी भैरवी, दक्षिणमा कुम्पुर, पश्चिममा ढोला, सुनखानी (चैनपुर) उत्तर मा कटुञ्जे, ज्यामरुङ एकसाथ आमनेसामने हुन्छन् ।

पाल्पाभञ्ज्याङको पश्चिम डाँडालाई मनकामना डाँडा भनिन्छ । यो अलिकति माथि उठेको डाँडा हो । यहाँ मनकामना देवीको शिला राखेर पूजा गरिने चलन लेखकले बाल्यकालमा देखेको थियो । तर, हाल यो क्षेत्र अतिक्रमणको चपेटामा परेको छ र मन्दिरको नामोनिशाना नै छैन । दृश्यावलोकनका हिसाबले यो अझ मनोरम थुम्की हो ।

पाल्पाभञ्ज्याङमा सुस्ताएर कुनै धार्मिक स्थलको खोजी गर्दा नजिकै रहेको धार्मिकस्थल भेटिन्छ कालिकास्थान । पाल्पाभञ्ज्याङबाट दक्षिणतर्फ उठेको एउटा मनोरम पहाडी इलाका हो यो । हाल पाल्पा सामरीमा माध्यमिक विद्यालय यिनै कालिका मन्दिर जाने बाटोमा पर्दछ । यहाँबाट माथि गएपछि करीब ५ देखि १० मिनेटको समयमा कालिकास्थान पुगिन्छ । हाल कालिकास्थान अतिक्रमणमा परिसकेको छ र यो सानो मन्दिरको रुपमात्र रहेको पाइन्छ । कालिकास्थान उचाइबाट मनोरम हिमाली श्रृंखलाहरू विशेषत गणेश हिमाल, मनास्लु र लाङटाङसमेत देख्न पाइन्छ । यो माल पाएर चाल नपाएको स्थान हो । यहाँ पर्यटकहरूका लागि होटेल, आन्तरिक पर्यटनका लागि पिकनिक स्पटहरू खोल्न सकिन्छ । यसैको सुदूर दक्षिण डाँडामा आकर्षक वनक्षेत्र छ । यो यहाँका मानिसहरूको दूर दृष्टिको उपज हो ।

पाल्पाभञ्ज्याङबाट सिधा अघि बढ्दा पौवाखाल्डोको एउटा गैरी गाउँ अर्थात् खाल्डोको गाउँमा पुगिन्छ । सडककै छेउमा एउटा चिटिक्क परेको राममन्दिरले बोलाएको महसुस हुन्छ । द्वन्द्वको क्रममा ज्यान गुमाएका नेपाली सेनाका बहादुर सिपाही रामकुमार श्रेष्ठ (जो त्यसै गाउँका निवासी थिए)को नाममा उनका बाबुआमाले स्थापना गरेको यस मन्दिरमा उनकै आमाले नित्य पूजाआजा गर्दछिन् । मोटर चढ्नेले पाल्पा गाउँलाई नागबेली चालमा परिक्रमा गर्दछन् भने पैदल यात्रीले पौवाखाल्डाको माथिल्लो भागबाट ज्यामिरेभञ्ज्याङ चढ्छन् ।

ज्यामिरे भञ्ज्याङ

ज्यामिरे भञ्ज्याङ सल्यानटार धादिङबेँसी मार्गले सममिति बनाएर चिरेको भूभाग हो । यहाँबाट पश्चिमतिर धौखोला फाँट, ढोला देखिन्छ भने पूर्वतर्फ सुनौलाबजार, खाल्दे अनि उत्तरतर्फ कटुञ्जे, ज्यामरुङ देख्न सकिन्छ ।

सल्यानटार धादिङ चल्ने गाडीहरूले यस स्थानलाई भान्छास्थान बनाएपछि यहाँको व्यवसायिक उन्नति फस्टाएको छ । केही बजारहरू खडा भएका छन् र मानिसहरूले शीतल ताप्नेदेखि विक्री गर्ने स्थानसमेत बनेको ज्यामिरे भञ्ज्याङ । ज्यामिरे भञ्ज्याङ नजिकै एउटा शिव मन्दिर पनि रहेको छ । स्थानीय समुदायको सक्रिय सहयोगमा निर्मित यस मन्दिरमा शिवरात्री र तिज पर्वमा विशेष मेला लाग्ने गर्दछ । पाल्पाभञ्ज्याडबाट मोटरबाटो छोडेर सिधै उकालो चढ्नेहरू पनि यस स्थानमा आइपुग्छन् र यहाँको चिसो हावामा थकान मेट्दछन् । ज्यामिरे भन्ज्याङ आइपुग्नसाथ प्रकृतिसँग रमाउनेहरूले अर्को अनुभूति गर्दछन् । सल्लाको सुसेली सुनिन थाल्दछ । सल्लाका नाङ्गा फलहरू जमिनमा बग्रेल्ती भेटिन्छन् । गाडी चढ्नेहरू सल्लाको यो वन सल्लाघारीलाई परिक्रमा लगाएर माथि चढ्छन् भने पैदलयात्रीहरू सिधै माथि ।

निगालपानीको एउटा मोड अर्थात् मुरलीभञ्ज्याङ गाविसको पडा नं. ७ को गाउँ । पैदलयात्री त्यहाँ पुगेर केहीबेर अलमलिन्छन् । सोझै मोटरबाटो जाने कि अझै उकालो चढ्ने ? सिधै जानेहरू गाउँको बाटो हुँदै गोलाभञ्ज्याङ निस्कन्छन् । पुरानो बाटो अर्थात् पुरानो पैदलबाटो समात्नेहरू चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बायाँ बनाउँदै निगालपानीको विश्वकर्मा बस्तीलाई दायाँ बनाएर साथि उक्लिन्छन् ।

मोटरबाटोबाट जानेहरूले विश्वकर्मा गाउँबाट देखिने सुन्दरता जलमुखी देवीको मन्दिर रहेको डाँडो हेर्न र गोलाभञ्ज्याङको हटियाको भौगोलिक परिवेश हेर्न छुटाउँछन् ।

गोलाभञ्ज्याङ

गोलाभञ्ज्याङ आकारमा पनि गोलो छ । यसको आधा भाग धादिङको मुरलीभञ्ज्याङ र आधा भाग ज्यामरुङ गाविसमा पर्दछ । गोलाभञ्ज्याङले पनि आफ्नो प्राचीन स्वरूप गुमाइसकेको देखिन्छ । गाइवस्तु चराउँदा सुस्ताउने र लामो बाटो हिँडेर ज्यामरुङतर्फ जाने वा सल्यानटार जाने यात्रीहरू सुस्ताउने चौतारीहरू कमलपित्तका रोगीहरूझैं झोक्राएका देखिन्छन् । यहाँबाट उत्तर जाँदा ऐतिहासिक दरबार (जुन द्वन्द्वकालमा आगो लगाएर जलाइएको थियो) रहेको धमला ज्यामरुङ र दरबार क्षेत्रबाट बायाँ लागेपछि पुगिने सिम्ले ज्यामरुङमा पुगिन्छ ।

जलमुखी मन्दिर यसको ऐतिहासिकता

आजभन्दा करिब २११ वर्ष पहिले स्थापित यस मन्दिर जिल्लाको सदरमुकाम धादिङबेँसीबाट करिब दुई घण्टाको पैदलयात्रा अथवा सवाघण्टाको बसयात्रापछि करिब ३० मिनेटको पैदलयात्रा वा साना सवारी साधनमा मन्दिरको पाउसम्म नै पुग्न सकिन्छ ।

जलमुखीमाइ वडा नं ६

जलमुखीमाइ वडा नं ६

विश्वकर्माहरूको सुन्दर बस्तीबाट बायाँ लागेपछि मन्दिरको फेदीमा रहेको गाउँ मुरलीभञ्ज्याङ गाविसको वडा नं. ९ मा पुगिन्छ, यस गाउँलाई काफलपानी भनिन्छ । रसिक, हँसिला गुरुङहरूको बस्ती भएको यस गाउँबाट माथि चढेपछि मात्र जलमुखी मन्दिरमा पुग्न सकिन्छ । मन्दिर उक्लिनुअघि एउटा सानो मन्दिर हाम्रो आँखामा पर्दछ र यसलाई गोलादेवी भनिन्छ । गोलादेवी एउटा ठूलो गोलाकार शिला हो । कुनैबेला यो शिला उचाल्दा गानोगोला कम हुने तथा धर्म मिल्ने कुरा गरिन्थ्यो र मानिसहरू यसलाई उचाल्ने प्रयास गर्दथे । कसैले उचालिरहेको दृश्य बालककालमा यस लेखकले पनि देखेको हो ।

तर, त्यति ठूलो शिला उचाल्दा धेरै जोखिम लिनुपर्दथ्यो । कतिपय मानिसहरूको हातबाट शिला खस्ने र लाग्ने सम्भावना त छँदै थियो त्यसबाहेक शिला खसेर तल पुग्दा त्यहाँ ल्याएर राख्न अझै कठीन हुन्थ्यो । त्यसकारण, आजभोलि त्यस शिलालाई गाडेर राखिएको छ र पूजाआजा मात्र गर्ने गरिएको छ ।

एउटा सिंहको कथा

गोलादेवी मन्दिरलाई पार गरेर सिँढी उक्लिन थालेपछि जलमुखी मन्दिरको परिसरतर्फ लक्ष्य लिइन्छ । उकालो चढ्दा हुने परिश्रम र एवं थकानलाई बिस्तारै नजिकिँदै जाने मनोरम दृश्यहरूले बिर्साउन थाल्दछन् । वसन्त ऋतुको समयमा फूलेका लालीगुराँसहरू, वनाटिकामा उन्मुक्त स्वरले गाइरहेका पन्छीहरूका सुरम्य आवाजहरूसँगै चल्ने सिरसिर बतासमा चारैदिशातिर फर्किएर सुस्ताउनुको मज्जा बेग्लै हुन्छ । मन्दिरको संरक्षण नहुनाको कारण आजभोलि वनविनाश भएको छ, लालीगुराँसहरू अब ठुटाबुठामा परिणत भएका छन् ।

मन्दिरको परिसरमा पुग्नासाथ इँटको गाह्रो र ढुङ्गाको छानो (झिँगटी जिर्णोद्वारको क्रममा विस्थापन भएको) माथि हाँसिरहझैँ देखिने पहेँलो गजुरले मुस्कानसहित स्वागत गरेजस्तो लाग्दछ । मन्दिरतिर फर्केर देवीभक्तिमा लीन भएझैंँ देखिने सिंहको मूर्ति र देवलमा कुँदिएका काठमाडौँका टुँडाल सम्झाउने आकृतिहरूले मन लोभ्याउँछ । हाल विराजमान सिंह सिमेन्टले बनेको हो । यसभन्दा अघि त्यहाँ ढलौटको विशाल सिंह थियो र त्यसलाई लेखकले बाल्यकालमा देखेको पनि थियो । उक्त ढलौटको सिंह कहिले चोरियो ? त्यो सिंह कसले चढाएका थिए होलान् ? लेखकलाई कौतुहलले छोडेन ।

स्थानीय कृष्ण आचार्यको साथ लागेर हाल नित्य पूजा चलाइरहेका लक्ष्मण शाक्यको घर ढकढक्याउन पुगेँ म । उनले सिंह चढाउँदा राखेको ताम्रपत्र देखाए । त्यस ताम्रपत्र पढ्दा जानकारी भयो सिंह चिफ कर्णेल गङ्गाबहादुरले वि.सं. १९८६ सालमा चढाएका रहेछन् । मन्दिरबाट सिंह मात्र चोरिएन, जल स्वर्णमुकुट पनि चोरिएछ । भन्दा र लेख्दा आफैलाई लज्जाबोध हुन्छ सांस्कितक सम्पदा जोगाउने चेतना नभएका हामी कति गँवार ? अनि संरक्षणको जिम्मा लिनुपर्ने हाम्रो सपना कति उदासीन ? धार्मिक सांस्कृतिक सम्पदा जोगाउने प्रयत्न नगर्ने हाम्रो चेतनाबाट फाइदा उठाएका अमूक व्यक्तिले त्यसलाई चोरेर लगे ।

“सायद वि.सं २०३८ सालकै समय हो, करिब पन्ध्र दिनको अन्तरालमा ती दुवै अमूल्य वस्तु चोरिए ।”, पुजारी लक्ष्मण स्मरण गर्दै भन्छन् । ढलौटको सिंह चोरिएर विदीर्ण भएको मन्दिरमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य श्री हरिबहादुर थापाले हालको सिमेन्ट निर्मित सिंह राख्न लगाएका रहेछन् ।

घण्टको कथा

मन्दिरको ऐतिहासिकतालाई प्रतिनिधित्व गरिरहेको एउटा घण्ट थियो जुन ३२ धार्नी १ सेर र ४ तोला वजनको थियो । बिहानको नित्यपूजाको क्रममा पुजारीको आगमन र भक्तजनको आगमनलाई त्यसैले रन्किएर सञ्चार गर्दथ्यो । त्यही घण्ट थियो जसले मन्दिरको निर्माणको इतिहास बताउँथ्यो । त्यसै घण्टको आधारमा लेखकले स्थानीय समुदायका जानकारहरूसँग यस मन्दिरको ऐतिहासिकताका विषयमा कुराकानी गर्ने अवसर पाएको थियो । त्यस घण्ट पनि २०६० सालको कार्तिक महिनामा अपराधीहरूको कर्तुतको सिकार भयो ।

मन्दिरमा शून्यता छाएपछि स्थानीय बासिन्दाहरूले घण्ट हराएको शङ्का गरे । नित्य पूजा गर्न गएका पुजारी घण्ट नदेखेर भावुक भए तर पहिलेजस्तै चोरहरूले कुनै कानुनी कारबाहीको दायराभित्र आउनुपरेन । घण्ट स्थायी रूपले हरायो । स्थानीय वासीहरूले परम्परागत रूपमा चिन्ता व्यक्त गरे । मन्दिर उजाडियो । अचेल सानासाना घण्टहरूमात्र बज्ने गर्छन् जलमुखीमा । अब ३२ धार्नीको घण्टको आवाजले वरिपरिका गाविसहरूसम्म मन्दिरको पलपल सुनाउँदैन ।

जलमुखीदेवीको उत्पत्ति सम्बन्धमा किंवदन्ती

जलमुखी देवीको अस्तित्व कहिलेदेखि आयो भन्ने आधिकारिक प्रमाण छैन । स्थानीय बुढापाकाहरूका भनाइअनुसार आजभन्दा लगभग ४०० वर्ष पहिले (हाल मन्दिर रहेको डाँडाभन्दा पश्चिमतर्फ) चैनपुर गाविस, सुनखानी गाउँका एकजना कामी अरूबेलाजस्तै गरी पानी भर्न कुवामा गएका थिए । बिहान सबेरै पानी भर्न गएका उनले गाग्री कुवामा डुबाएर पानी भर्न प्रयत्न गरे । गाग्री कुनै कडा चट्टानसँग ठोकिन पुग्यो र गाग्रीको मुखले एउटा शिला बाहिर निकाल्यो । उनले त्यस शिलालाई कुवाबाट बाहिर निकाली कुवाको माथितिर फालिदिए र पानी लिएर घरमा गए ।

अर्को बिहान पनि कामी बुढा पानी भर्न गए तर त्यही घटना दोहोरियो । कोही गोठाला वा उपद्रवी मान्छेले कुवामा ढुड्गा फालिदिएछ, भनेर पुनः त्यस शिलालाई उनले निकै टाढा फालिदिए र घर गए । त्यो प्रक्रिया तेस्रो दिनमा पनि दोहोरियो । उनी आश्चर्यचकित भए र त्यस शिलालाई कुवाको माथिपटि राखेर पानी लिई फर्किए । त्यस साँझ उनले सपना देखे ( सपनामा देवीले दर्शन दिइन् र भनिन् – म जलमुखी हुँ, तिमीले पटकपटक निकालेर फालेको शिला मै हुँ । मलाई उच्च स्थानमा राखेर पूजाआजा गरे म यहाँका सबैको कल्याण गर्नेछु । ) देवी अन्तरध्यान भइन् । कामी बुढाको सपना टुट्यो । उनी पहिलेजस्तै गरी कुवामा गए । उनले अघिल्लो दिन कुवामाथि राखेको शिला कुवामा नै भेटियो । उनले त्यस दिन शिलालाई दर्शन गरे र पानी भरेर फर्केपछि गाउँका ठूलाबडाहरूलाई भेला गरी विगत तीन दिनदेखि भएको घटना र सपनासमेतको वर्णन गरे । सबै गाउँलेहरू जम्मा भए र कुवामा गए । उनीहरूले वेदमन्त्रोच्चारणसहित शिलालाई डोलीमा राखेर पञ्चेबाजा बजाउँदै माथिको डाँडामा लगे र एउटा विशाल साल वृक्षको फेदमा स्थापना गरी नित्य पूजाआजा गर्न थाले ।

मन्दिर उत्पतिको किंवदन्ती अनुसार प्राप्त शिलालाई एउटा सालको रूखमुनि स्थापन गरिएको थियो । मन्दिर बनाएर हालको स्वरूपमा ल्याउने कार्य भने उनै देवज्ञकेशरी अयार्ल सुनखानी (हालको चैनपुर) आएपछि भएको अनुमान गरिएको छ ।

मन्दिर निर्माणको अनुमानित समय

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पं. चक्रपाणी अर्याललाई सुनखानीमा बिर्ता बक्सिस भएको थियो । पछि पं.चक्रपाणी अर्यालले आफ्नो कान्छो छोरा दैवज्ञ केशरी अर्याललाई त्यस बिर्ता पाएको स्थानमा ल्याए । दैवज्ञकेशरीले त्यसै स्थानमा बस्ने इच्छा राखे । राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमुखी मन्दिर पनि निर्माण भएको अनुमान गरिएको छ ।

मन्दिर बनाइसकेपछि घण्ट चढाइएको हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यस ऐतिहासिक घण्ट चोरिनुभन्दा करिब दुई वर्ष पहिले यस लेखकको क्यामराभित्र पसेको थियो । लेखकले जलमुखीको अध्ययनको क्रममा घण्टको समेत अवलोकन गरी त्यसमा कुँदिएका श्लोकहरूको व्यापक अर्थ खोजेको थियो । घण्टको घेरोमा लेखिएको श्लोक टिपोट गरेर छलफल गर्दा उक्त घण्ट वि.सं. १८५७ को दशहरा तिथिका दिन देवज्ञकेशरी अर्यालले चढाएको निष्कर्ष निकालियो ।

स्थानीय अर्यालहरूका अनुसार (नोदराज र नर्मराज), देवज्ञ केशरी अर्याल वि.सं. १८५० पछि नै त्यस स्थानमा आएका थिए भन्ने भनाइले यस कुरालाई पुष्टि गर्न आधार दिन्छ । घण्ट मन्दिरको निर्माण सकिएपछि चढाइएकोले मन्दिर निर्माण पनि वि.सं. १८५६/ ५७ मा सम्पन्न भएको अनुमान गर्न सकिन्छ र यसको निर्माणमा प्रधानमन्त्री भीमसेन थापासँग सहयोग लिने कार्य दैवज्ञ केशरीबाट नै सम्भव भएको अनुमान गर्न सकिन्छ ।

मन्दिरमा पूजाआजाको व्यवस्था

हाल मन्दिर रहेको स्थानको दायाँतिर एउटा पाटी पनि छ । यो पाटी मन्दिरमा पूजा गर्न र बत्ती बाल्न जाग्राम बस्न आउने भक्तजनहरूको सजिलोका लागि निर्माण गरिएको हो । हाल ढल्नै लागेको यस पाटीको छानो पनि वि.सं. २०१९ अघिसम्म झिंगटीको भएको स्थानीय लीलानाथ आचार्य बताउँछन् । जिर्णोद्वार गर्दा यसको छानो ढुङ्गाको हुन पुगेको पाइन्छ । यस मन्दिरमा नित्य पूजाआजा चलाउनका लागि दुई किसिमका गुठीहरूको व्यवस्था गरिएको देखिन्छ । लगभग २२४ मुरी माटोको गुठी व्यवस्था भएपनि यसले मन्दिरको संरक्षण तथा सम्वर्द्धनमा खासै उल्लेख्य काम गरेको पाइँदैन ।

जलमुखीको मन्दिर परिसरमा नित्य पूजाआजा चल्ने व्यवस्था छ, भलै त्यो क्रमले निरन्तरता पाए नपाएको हेर्ने निकाय भने छैन । यसबाहेक दसैँको बेला गरिने नवरात्री पाठ, महाअष्टमीमा गरिने बली पनि यहाँको अर्को विशेषता रहेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन तथा फागु पुर्णिमाका साँझ मेला लाग्दछ । यी मेलाका दिनमा भने गोरखा र नुवाकोटसम्मका श्रद्धालुहरू यस मन्दिरमा आउने गरेका कुरा स्थानीयहरू बताउँछन् ।

कार्तिक शुक्ल पूर्णिमाका दिन र पञ्चमीका दिन श्रद्धालु भक्तजनहरूले बाबियोले बनेको डोरीमा रङ्गीचङ्गी फूल उनेर त्यसलाई डोलीमा राखी पञ्चैबाजा बजाउँदै, गाउँदै र नाच्दै मन्दिरमा ल्याउँछन् र मन्दिरको वरिपरि फूलको डोली बाँधेर बडाँ दिने गर्दछन् । अन्य श्रद्धालु गृहिणीहरू रातभरि जाग्राम बसेर तेलको बत्ती बाल्दछन्, कतिपयले महाद्विप पनि बाल्दछन् । मानिसहरूले भजन, कीर्तन, नाचगान गर्दछन्, जलमुखी देवीको नाममा पूजाआजा तथा गौदान गरेपछिमात्र फूल बिसर्जन गरी घर जाने चलन अब पुरानो भइसकेको छ ।

जाँडरक्सी, होहल्ला झैझगडाका कारणा यस्तो संस्कार र चलन मेटिँदै गएको छ । आजभोलि बिहानपख मन्दिरमा पुगेर बत्ती बाली औपचारिकता पूरा गर्नेहरू बढिरहेका छन् । गाउँघर सुरक्षित नभएको मन्दिर देवालयहरू अपराधीहरूको अपराध गर्ने थलोको रूपमा विकास भएका कारणले होला अब महत्वपूर्ण तिर्थस्थल वा देवस्थलहरू शुन्य हुँदैछन् ।

दृश्यावलोकन स्थल

यस ठाउँमा उभिएर आँखु र बुढीगण्डकीको काखमा लम्पसार परेर सुतेको सल्यानटार, धावा लगायत गोरखाका कैयन उत्तरपश्चिमी भूभागका अतिरिक्त धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार, कुम्पुर, नीलकण्ठ, खाल्टे, ढोला, चैनपुर, धुवाँकोटदेखि उत्तरका विभिन्न गाउँ विकास समितिहरूलाई एकसाथ हेर्न सकिन्छ । बूढापाकाहरू यहाँबाट चन्द्रागिरी समेत हेर्न सकिने बताउँछन् । मन्दिरको परिशरमा उभिँदा मुसुक्क हाँसिरहेका देखिने गणेश हिमाल, लाङटाङ हिमाल तथा अन्नपूर्ण हिमखलाहरूले मनै लोभ्याउँछ । यहाँबाट अन्य के के कुरा देख्न सकिन्छ ।

प्रकृतिको सुन्दर उपहार जलमुखी क्षेत्र, पुर्खाहरूको अध्यात्मिक आस्था र विश्वासको केन्द्रको रूपमा रहेको जलमुखीको वर्तमान अवस्था असाध्यै दयनीय छ । यस्तै अवस्था रहिरहँदा यो एउटा खण्डहरको रुपमा मात्र परिणत हुन सक्दछ । आफ्नो मौलिक संस्कृति, आस्थाको केन्द्र मास्दै जाँदा र यसलाई एउटा भग्नावशेषको रुपमा परिणत गर्दै जाँदा यहाँका समुदायहरूको गर्व गर्न लायक ऐतिहासिक सम्पदा नै समाप्त हुनेछ । मासिँदै गएका बोटबिरुवाहरू ढल्ने दिन पर्खिरहेको पाटी रुग्ण बनेको जलमुखी मन्दिर, चोरको निर्वाध प्रकोपमा परेको मन्दिर र मन्दिरका गहनाहरू सभ्य समाजको लागि चुनौति हुन् ।

यहाँको सरक्षण गर्न सके, भइरहेको गुठीलाई मन्दिरको हितमा परिचालन गर्न सके, राज्यका तर्फबाट यस्तो ठाउँको विकास पूर्वाधारलाई चासो राखेर संरक्षण गराउने प्रयास गराउन सके यो दर्शनीय स्थल धार्मिक आस्थाको लागि मात्र होइन पर्यटकीय स्थलका लागि पनि वरदान साबित हुने थियो ।

मुरलीभञ्ज्याङको सांस्कृतिक सम्पदा

मुरलीभञ्ज्याङ गाउँ विकास समितिअन्तर्गत वडा नं ४ मा पर्ने भालुवनमा अधिकांश नेवारहरू बस्दछन् । नेवारका अतिरिक्त केही क्षेत्रीहरू र चर्माकारहरूको बस्ती रहेको छ । यहाँका नेवारहरू सांस्कृतिक हिसाबले समृद्ध छन् । सोरठी, मारुनी र अन्य नाचगानका लागि उनीहरू निपुण छन् । सोरठी र मारुनीमा रम्ने एउटा पुस्ता सकिएको छ र पनि हालको मध्यपुस्ताहरूमा पनि यसको ज्ञान छ । वैदेशिक रोजगारी तथा स्वदेशमै पनि पेशागत कारण युवा तथा प्रौढ पुस्ताहरू यहाँबाट अन्यत्र पलायन भएपछि यी गाउँ मात्र होइन सिङ्गो गाउँविकास समिति नै सांस्कृतिक दृष्टिकोणले टुहुरो भएको छ ।

नाचगानमा अभिरुचि राख्ने अर्को न्यून संख्या वडा नं. ५ अन्गर्ततको धारापानीमा पनि छ । नेवार तथा क्षेत्रीहरू जात्रा तथा चाडपर्वमा रमाइलो गर्न मनपराउँछन् । हाल यो संख्या घट्दै गएको छ । यस्तै अवस्था छ वडा नं. ८ झगरे भन्ने स्थानमा । वडा नं. ८ मा अधिकांश मगरहरू बस्दछन् । यहाँका मगरहरूमा पनि उच्च सांस्कृतिक चेतना थियो । सोरठी तथा लोकसंस्कृतिमा रुचि राख्ने पुस्ताहरू समाप्त हुँदै गएको र नयाँ पुस्ताहरूमा यो प्रकारको ज्ञान सीप नसरेको तथा वैदेशिक रोजगारीमा विदेश पलायन भएको कारण लोकसंस्कृति पनि हास हुँदै गएको छ । लगभग यस्तै अवस्था छ वडा नं. ३ मा पर्ने कुमाल गाउँमा पनि । यहाँ जनजातिका रूपमा चिनिएका धेरै कुमालहरूको बस्ती छ ।

कुमाल बस्ती ज्वालामूखी-१

कुमाल बस्ती ज्वालामूखी-१

कुमालहरू नाचगानमा ज्यादै चाख राख्छन् । तर पनि, आधुनिकीकरण र रोजगारीका लागि यत्रतत्र जानुपर्ने बाध्यताका कारण कुमाल समुदायबाट पनि लोकसंस्कृति लोप हुँदै गएको पाइन्छ ।

. चैनपुर गाविसको सेरोफेरो

चैनपुर गाउँ विकास समिति मुरलीभञ्ज्याङ गाउँ विकास समितिबाट उत्तर पश्चिम दिशामा पर्दछ । मुरली भञ्ज्याङ गाविस र चैनपुरलाई धौखोलाले छुट्याउँछ । सदरमुकाम धादिङबेँसीबाट करिब दुई घण्टामा चैनपुर पुग्न सकिन्छ । पाल्पाभञ्ज्याङबाट भने करिब सवा एक घण्टामा चैनपुर र साँढे एक घण्टा जतिमा चैनपुरबेँसीसम्म पुग्न सकिन्छ ।

सवारीसाधनमा यात्रा गर्नेहरू छुटिन्छन् । पैदलयात्रा गर्नेहरू ज्यामिरे भञ्ज्याङ पुगेर वा नपुगी पाल्पाभञ्ज्याङबाट मोटरबाटो बाटै पनि यात्रा गर्दछन् । सिधा अधि बढिरहेपछि आउने सानो खोला जसलाई धौखोला भनिन्छ । हिउँदको बेलामा सानो भएपनि वर्षाको समयमा भने ठूलो भएर आउने हुँदा पार गर्न ‘धौ’ हुने अर्थात् गाह्रो हुने भएकै कारण धौ शब्दले धौ खोला नाम रहेको अनुमान बूढापाकाहरूको छ । यस खोलाले मुरली चैनपुरलाई छुट्याउँछ । चैनपुर गाविस अन्तर्गत पर्ने सुनखानी आरम्भ हुन्छ । लेखकले देखे सुनेको दोलखा जिल्लाको सुनखानी र धादिङ जिल्लाको सुनखानीको कहानी उस्तै जस्तो लाग्दछ । दोलखामा काली नाग भएको र नागले सुन दिएको प्रसङ्ग छ भने यहाँको सुनखानीमा पनि नागले सुन दिने गरेको तर कुनै व्यक्तिले लोभ गरेर अस्वभाविक रूपमा सम्पत्ति माग गरेको तथा गाउँघरमा सफाइ नगरेपछि नाग देखिन छोडी सुन दिन छोडेको भन्ने किंवदन्ती धादिङ सुनखानीमा पनि रहेको छ ।

साँधभञ्ज्याङको आसपासमा शाक्यहरूको बस्ती रहेको छ । अन्यत्रका शाक्यहरूले जस्तो उनीहरू गहनाका काम गर्दैनन् । खेती किसानीमा उनीहरू बढी सक्रिय छन् । साँधभञ्ज्याङबाट करिब आधा घण्टाको दूरीमा रहेको अर्को स्थल छ चित्रेकालिका । स्थानलाई चित्रेपाखा भनिन्छ र कालिकाको अधि स्थान जोडिँदा यसको नाम चित्रेकालिका रहेको हो । चित्रेकालिकामा मार्ग महिनामा मेला लाग्दछ । यहाँ भाकल बुझाउने र बत्ती बाल्ने कार्यमा ढोला, पुरुष, चैनपुर मैदी, नलाङ मुरलीभञ्ज्याङदेखि मानिसहरू आउने गर्दछन् । जलमुखीमा जस्तो मन्दिर र व्यवस्थित पूजाआजा भने यहाँ छैन । पहिलेपहिलेजस्तो रातभर नाचगान र भजनकीर्तन यहाँ पनि हुँदैन । सेवन तथा झैझगडाका कारणा यस्ता पर्वहरू हराउँदै गएका छन् । श्रद्धालु भक्तजनले भाकल बुझाउन बिहानपख गएर बत्ती बाल्ने कार्यमा मात्र मेलापर्व सीमित भएको छ ।

सुनखानी हुलाकी गाउँबाट चैनपुर जाने र ढोला मैदी जाने बाटो छुटिन्छ । चैनपुर जानेहरू दायाँ लाग्छन् । पाल्पाभञ्ज्याङ उक्लेदेखि नै तेर्सो बाटो सुरु हुने भएकोले चैनपुरसम्म उकालो ओरालोको अनुभव गर्नुपदैन । चैनपुर पुग्नु अघि एउटा सानो बजार आइपुग्छ र यसलाई सालबास भनिन्छ । सालघारीमा सुरु गरिएको बस्तीसँग जोडिएको सालबास आजका सन्ततीहरूका लागि अनौठो लाग्न सक्दछ । सालबास पुगेपछि दायाँतिर सल्यानटार देखिन्छ भने बायाँतिर सुन्दर गाउँबस्ती । पैदलयात्रा गरेर सल्यानटार तथा आरुघाट वा गोर्खाका उत्तर पश्चिम क्षेत्रमा जानेहरू सालवासबाट दायाँतिर ओरालो लाग्छन् । सालबासमा हेल्थपोष्ट र कृषिसम्बन्धी कार्यालय पनि रहेका छन् । सालबासबाट अघि बढेपछि करीब ३० मिनेटको हिँडाइ र १० मिनेटजतिको गाडी हँकाइमा चैनपुर पुगिन्छ । चैनपुरको पुरानो विद्यालय सालबास माध्यमिक विद्यालय चैनपुर बाटैमा भेटिन्छ ।

अनकन्येदेवी, चैनपुर

चैनपुर गाविसको वडा नं ४ मा अर्को एउटा ऐतिहासिक मन्दिर रहेको छ । अनकन्येदेवीको मन्दिर । नामै अनौठो लाग्न सक्छ हाम्रो लागि । चैनपुरमै निवास भएका बुद्धिजीवि श्री लोकनाथ लोहनीका अनुसार यो मन्दिर लगभग ४०० वर्ष पुरानो हो । चैनपुरको चुलीमा अर्थात चैनपुरकोटमा अवस्थित यस मन्दिरमा बलभद्र डिट्ठा लगायतका व्यक्तिहरूले चढाएको घण्ट नै २०० वर्ष पुरानो भएको जानकारी लोकनाथ लोहनीसँग छ ।

अनकन्या मन्दिर ज्वालामूखी

अनकन्या मन्दिर ज्वालामूखी

कसरी रह्यो अनकन्ये नाम ?

नामको सम्बन्धमा पनि एउटा रोचक किंवदन्ती रहेछ (लोकनाथ लोहनीको शब्दमा आधारित) । जाडोको समयमा एकजना स्थानीय मगरको घरमा मानिसहरू गफिँदै आगो तापिरहेका थिए । अनायास अगुल्टोमा आगो पडकियो र बाहिर निस्कियो । आगो पड्केर नजिकै खरानी खस्ने सामान्य कुरा हो तर, त्यसपटक आगोको झिल्को बाहिर आँगनसम्म पुग्यो । मानिसहरू चकित भए र बाहिर निस्किए । आगो खसेको ठाउँमा खरानी नभएर एउटा अनौठो शिला फेलापर्यो । मानिसहरूले यसलाई देवी शक्ति माने । सपनामा त्यस घरका मूलीले देवीको दर्शन पाए । आफूलाई उच्चस्थानमा राखेर पूजाआजा गरे सबैको भलो गर्ने कुरा देवीले भनिन् । भोलिपल्ट मगर बुढाले सपनाको कुरासमेत सुनाए । सबैले मिलेर शिलालाई उच्च स्थानमा (हाल रहेको स्थानमा) लगे । अँगेनाबाट निस्केकी हुनाले उनीहरूले ५ यसलाई अनकन्ये देवी भन्ने नाम राखे र पूजाआजा गर्न थाले ।

पूजापाठ तथा मेला

अनकन्यैदेवीको मन्दिरमा दसैँको पन्ध्र दिनसम्म भक्तजनहरू पूजाआजा गर्न जान्छन् । नवरात्रमा पूजापाठ चल्दछ । कोजाग्रत पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन धुमधाम मेला लाग्दछ । जेष्ठ शुक्लको कुनै एउटा दिन तिथिमिति जुराएर विशेष मेला लाग्दछ । यस मन्दिरमा हाल पूजारीको काम दलबहादुर मगरले गर्दछन् भने स्थानीय खोपराज लोहनीले पुरोहितको कर्म गर्दछन् ।

दृश्यस्थल तथा पर्यटकीय स्थान

चैनपुरको उच्चस्थानमा रहेको अनकन्ये देवीको मन्दिर क्षेत्र धार्मिक हिसाबले नभएर दृश्यावलोकनको हिसाबले पनि ज्यादै उपयुक्त छ । यहाँबाट माछापुच्छ्रेदेखि लाङटाङ  हिमाल समेत देख्न सकिन्छ । डाँडामा बसेर पश्चिम फर्किदा लमतन्न परेर सुतेजस्तो देखिने सल्यानटार, सल्यानटारलाई काखमा संयुक्त काख दिएका नेत्रावती (आँखु) र बूढी गण्डकीको दृश्यले प्रकृतिप्रेमीलाई भावविभोर बनाउँछ । यसबाहेक यहाँबाट देखिने गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानहरू त्यत्तिकै मनमोहक लाग्छन् ।

मन्दिरलाई अझै व्यवस्थित बनाई यहाँको सरसफाइ तथा संरक्षण गर्ने, मन्दिरको नजिकै दृश्यावलोकन केन्द्र बनाउन सके यो धार्मिक र पर्यटकीय हिसाबले उत्तम गन्तव्य स्थान बन्नसक्ने धारणा राख्दछन् लोकनाथ लोहनी ।

नेत्रावती मेला महादेवस्थान

चैनपुरको दक्षिण र दक्षिण पश्चिम क्षेत्रलाई उत्तरबाट बगी आएको आँखुको पावन धाराले स्पर्श गरेको छ । आँखुलाई नेत्रावती पनि भनिन्छ । भगवान शिवको आँखा (नेत्र) रसाएर बगेको मानिएकोले आँखुको मौलिक नाम नेत्रावती भनिन्छ । चैनपुरको वडा नं. ३ स्थित महादेव मन्दिर, बेलघारी नेत्रावतीको स्पर्श क्षेत्र हो । श्रद्धालु भक्तजनहरू माघेसङ्क्रान्तिको अघिल्लो रात महादेवस्थानमा भेला भएर पूजाअर्चनाका साथै नाचगान गर्दछन् र भोलिपल्ट बिहान नेत्रावतीमा स्नान गरेर घर फर्कन्छन् । पहिलेपहिले यो काम भव्य रूपमा हुने गरेको भएपनि हाल रातको बसाइँ घटेको छ र बिहान स्नान गर्ने भक्तजनहरूको भने कमी छैन ।

. चैनपुरका अन्य सांस्कृतिक पर्वहरू

परम्परालाई जीवित राख्ने कुरामा केही वर्ष अघिसम्म चैनपुरका बासिन्दाहरू सजग र सक्रिय थिए । द्वन्द्वकालपछि यस्ता पक्षहरू छायाँमा पर्दै गए । कृष्णअष्टमी, जनैपूर्णिमातिजका दिन झिकिने लाखे नाच, विभिन्न पूजाआजाका बेलामा आयोजना गरिने सोरठी नाचले चैनपुरको सांस्कृतिका चिनारी कायम गरेको थियो भन्छन् लोकनाथ लोहनी । लाखेनाचको आरम्भका बारेमा उनीसँग रमाइलो स्मरण छ ।

प्रतिकात्मक फोटो, लाखे नाच

वि.सं. २०१८ सालमा बाघले स्थानीय समुदायका मानिसलाई दुःख दियो । सबै गाउँले मिलेर बाघ मार्ने अभियानमा लागे । बाघ मारियो र गाउँमा घुमाइयो । त्यसबखत स्थानीय समुदायहरूले केही रकम सङ्कलन गरेर सामुदायिक एकता अभिवृद्धि गर्ने तथा सामाजिक सांस्कृतिक परम्परालाई मजबुत तुल्याउने सल्लाह गरे । उनीहरूले यसकै एउटा अंशको रूपमा माथि उल्लेखित तिथि तथा पर्वहरूमा लाखे नाच लगाउने भनेर सल्लाह गरे र स्थानीय नगर्चीहरूलाई जिम्मा दिए । त्यसबेला देखि बसेको परम्परालाई स्थानीय नगर्चीहरूले हालसम्म पनि निरन्तरता दिएको प्रसङ्ग सुनाउछन् लोहनी ।

महाकवी देवकोटाको यात्री कविताले भनेजस्तो मान्छेहरू आत्माभित्र बसेको ईश्वरलाई चिन्दैनन् तर ईश्वरको खोजीमा सर्वत्र भड्कन्छन् । प्राकृतिक सौन्दर्यको खोजीमा हामी पनि नैनीताल र दार्जिलिङका कुरा गर्छौं तर, आफ्नै आँखा अघिको प्रकृतिलाई नियाल्दैनौँ । राष्ट्र र राष्ट्रियताको कुरा गर्छौँ तर, आफ्नो पहिचानलाई जोगाउने कुरा सोच्दैनौँ । आफ्नै मौलिकता नभएर रित्तो भइसकेपछि मानिस राष्ट्रविहीन हुन्छ । धर्म, संस्कृति, परम्परा, प्रकृति भन्ने कुरा राष्ट्रियताको परिभाषाभित्र पर्दछ ।

अन्तमा

राष्ट्रियता भौगोलिक सिमानामा मात्र हुँदैन । भौगोलिक सिमाना मिचिन सक्छ, इमराजाहरू हराउन सक्छन् तर, मनभित्र बसेको राष्ट्रियताले दशगजा खोजेर गाड्न सक्छ र मिचिएको सिमानाको पुनः रेखाङ्कन गराउन सक्दछ । गाउँहरूले मौलिकता गुमाउँदै छन् । मानिसहरूमा मानवताका गुगहरू हराउदै छन् । विश्वव्यापीकरणको नाममा यान्त्रिकता मिलिएको छ । गाउँठाउँले मौलिकता हराउनु भनेको देशको मौलिक चिनारी हराउनु हो । देशको मौलिक चिनारी हराउनु भनेको राष्ट्रियता हराउनु हो ।

यस विषयमा मुलुक चलाउने जिम्मा लिएकाहरूमा चेतना आउनुपर्दछ । स्थानीय निकाय चलाउने जिम्मा लिएकाहरूले आफ्नो गाउँ ठाउँको सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्पदा जोगाउने खालका बनाउनुपर्दछ । बजेटलाई डोजर लगाएर सक्ने कुरामामात्र सिमित गरिनुहुन्न । हरेक गाउँठाउँको संस्कृतिलाई जगेना गर्ने, ऐतिहासिक धार्मिकस्थलहरूको संरक्षण तथा प्रचार प्रसार गर्ने आदिजस्ता विषयमा पनि सोचिनुपर्दछ । यस्ता सोच आएको भए आज मुरलीभञ्ज्याङ गाविसको रामकोट मण्डली परिचित स्थान बनिसकक्ने थियो, वडा नं. ४ को कालिकास्थानमा मन्दिर बनेर र त्यसको व्यवस्थित प्रचारप्रसार भएर आन्तरिक बाह्य पर्यटनको विकास भइसक्ने थियो । ऐतिहासिक जलमुखीको अवस्थामाथि उल्लेख गरेजस्तो हुने थिएन । एतिहासिक भञ्ज्याङ चौतारीहरू जीवन्त रहने थिए ।

सांस्कृतिक प्रतिष्ठान वा क्लब खोलेर त्यसलाई बर्सेनि विभिन्न सभासमारोहमा जगाउने उपाय गर्दामात्र पुराना पुस्तामा निहित सांस्कृतिक चिनारीलाई नयाँ पुस्तामा सारेर जीवन्त राख्न सकिन्छ । यस्ता विषयमा सम्बन्धित सबैको ध्यान पुग्नु आजको आवश्यकता हो ।

(प्रस्तुत लेख अमृत सापकोटाले सम्पादन गरेका पर्यटकीय विम्बचित्रमा धादिङबाट साभार गरिएको हो, यसकारण यहाँ साविककै गाविस र वडाहरू उल्लेख छन्- सम्पादक ।)

सम्बन्धित समाचार