नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले ठुलो सहयोग गरिरहेको हुनाले नेपाल सारकारले पर्यटकलाई विशेष प्राथमिकता दिएर पर्यटकको सुरक्षा र सुविधाका लागि पर्यटक प्रहरीको व्यवस्था गरेको हो ।
अधिकांशले देशमा जनपद, ट्राफिक र सशस्त्र प्रहरी छन् भन्ने मात्र बुझेका छन् । जसले देशमा शान्ति सुरक्षा कायम गर्न दिन-रात मिहिनेत गर्छन् । तर, नेपालमा पर्यटकको सुरक्षा तथा सहयोगका लागि खटिरहेका विशेष प्रहरी पनि छन्, जसलाई ‘पर्यटक प्रहरी’ भनेर चिनिन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटक प्रहरीले विविध कारणले नेपाल भ्रमणमा आएका पर्यटकलाई सहजीकरण मात्र गर्दैन, उनीहरूलाई सुरक्षा पनि प्रदान गर्ने कार्य गर्दछ ।
पर्यटकीय स्थलहरूमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकको लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकहरूबाट आएको उजुरी, निवेदनउपर छानबिन र कारबाही गर्ने/गराउने, विनाइजाजत गाइड कार्य गर्नेहरूमाथि नियन्त्रण तथा कारबाही गर्ने, होटल तथा ट्राभल, ट्रेकिङ र र्याफ्टिङ एजेन्सीहरूमा निरीक्षण, समझदारी र आवश्यक कारवाही गर्ने एवं अध्ययन गरी प्रतिवेदन तयार पार्ने, पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कारबाहीको लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्दछ ।
तत्कालीन श्री ५ को सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मिति वि.स २०३५ साल माघ १२ गते (तदनुसार १९७९ जनवरी २६ मा) ७ जनाको स्थायी दरबन्दीसहित पर्यटक प्रहरीको स्थापना भएको थियो । पर्यटक प्रहरीको लागि छुट्टै भर्ना लिइँदैन, नेपाल प्रहरीबाटै पर्यटक प्रहरीमा पठाउने काम गरिन्छ । हाल १२ जिल्लाका २८ इकाईमा गरी जम्मा २ सय ३९ जना पर्यटक प्रहरी कार्यरत छन् । भृकुटीमण्डप प्रदर्शनी मार्ग नेपाल पर्यटन बोर्डको भवनमा यसको प्रमुख कार्यालय रहेको छ ।
काठमाडौँमा भृकुटीमण्डप (प्रमुख कार्यालय), ठमेल, वसन्तपुर, पशुपति, स्वयम्भू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बौद्धमा पर्यटक प्रहरी रहेका छन् । ललितपुरमा मङ्गलबजार, भक्तपुरमा भक्तपुर दरबार स्क्वायर र नगरकोट, प्रदेश- १ मा काँकडभिट्टा र लुक्ला, मधेश प्रदेशमा जानकी मन्दिर र वीरगन्ज, बागमती प्रदेशमा सौराहा, पटिहानी र स्याफ्रुबेसी, गण्डकी प्रदेशमा पोखरा, धम्पुस, घान्द्रुक, बिरेठाँटि, चामे, धारापानी, जोमसोम, घोरेपानी र बन्दीपुरमा, लुम्बिनी प्रदेशमा बेलहिया र लुम्बिनीमा गरी २८ स्थानमा पर्यटक प्रहरी विस्तार भइसकेको छ ।
प्रस्तुत छ- पर्यटक प्रहरीसँग सम्बन्धी विभिन्न जिज्ञासाहरूलाई लिएर प्रहरी नायब उपरीक्षक, पर्यटक प्रहरी सुगन्ध श्रेष्ठ हिमाल दर्पणका लागि सुरज पराजुलीले गरेको कुराकानीको सम्पादित अंश:
पर्यटक प्रहरीलाई आम मानिसमाझ कसरी चिनाउनुहुन्छ ?
२०३५ सालमा सानो सङ्ख्यामा स्थापना भएको पर्यटक प्रहरी अहिले देशको १२ जिल्लामा विस्तार भइसकेको छ । पर्यटक प्रहरीको आवश्यकतालाई बुझेर धेरै ठाउँबाट पर्यटक प्रहरीको माग भइरहेकाले यसलाई विस्तार गर्ने क्रममा छौँ । विभिन्न कारणले नेपाल घुम्न आएका पर्यटकहरूको सुरक्षा र सहयोगका लागि नेपाल सरकारले पर्यटक प्रहरीको व्यवस्था गरेको छ । यसलाई आम मानिसमाझ चिनाउन विभिन्न किसिमका प्रयासहरू भइरहेका छन् । विगतमा भन्दा हाल पर्यटक प्रहरी र पर्यटक प्रहरीले प्रदान गर्ने सेवाको बारेमा जनमानसमा राम्रो जानकारी भएको पाइन्छ ।
आफ्नो स्थापना कालदेखि अहिलेको समयसम्म आइपुगेको पर्यटक प्रहरीको कामलाई पछाडि फर्किएर कसरी हेर्नुहुन्छ ?
जुन सोच अन्तर्गत पर्यटक प्रहरीको स्थापना भएको थियो, त्यही अनुरूप पर्यटकमाझ विश्वास कमाउने काम पर्यटक प्रहरीले गरेको छ ।
नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले ठुलो सहयोग गरिरहेको हुनाले नेपाल सारकारले पर्यटकलाई विशेष प्राथमिकता दिएर पर्यटकको सुरक्षा र सुविधाका लागि पर्यटक प्रहरीको व्यवस्था गरेको हो ।
सानो सङ्ख्यामा सुरु भएको पर्यटक प्रहरी माग बमोजिम निरन्तर विस्तार भइरहेको छ । सम्भव भएसम्म पर्यटक पुग्ने हरेक स्थानमा पर्यटक प्रहरी पुग्ने गरेको छ ।
पर्यटक प्रहरीले पर्यटकहरूलाई अपनत्व महसुस गराउँछ, र यो विश्वास अझ बढोस् भनेर पर्यटक प्रहरीले निरन्तर काम गरिरहेको छ ।
सिजन सुरु भएसँगै पर्यटकहरू भित्रिने क्रम बढिरहेको छ, पर्यटकको सुरक्षा र सहजीकरणको लागि के-कस्ता रणनीति अपनाइदैछ ?
शिकार, प्राकृतिक सम्पदाको अवलोकन, सांस्कृतिक एवम् पुरातात्त्विक अध्ययन आदि विभिन्न उद्देश्यले पर्यटकहरू नेपाल आउने गर्छन् । कोरोना महामारीको समयपश्चात् अहिले दिनानुदिन नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढिरहेको छ, जसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । त्यसैले पर्यटकलाई सुरक्षाको प्रत्याभूतिका लागि हामीले पर्यटनसँग सम्बन्धित पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, एनएमइ, टान आदिसँग छलफल गरी सुरक्षित नेपाल बसाई बनाउन काम गरिरहेका छौँ ।
पर्यटक प्रहरी नेपाल प्रहरीकै एउटा अङ्ग भएकाले नेपाल प्रहरीले पनि यसमा सहयोग गरिरहेको छ । सुरक्षाको राम्रो व्यवस्था गरिएकाले पर्यटकहरूले असुरक्षित महसुस गर्ने पर्ने अवस्था छैन ।
पर्यटकको सङ्ख्या बढिरहेको अहिलेको अवस्थामा पर्यटक प्रहरीको जनशक्ति बढाउने तयारी भइरहेको छ कि छैन ?
‘पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी’ भन्ने हाम्रो उद्देश्यले सार्थकता पाइरहेझैँ लाग्छ । पर्यटकहरूले पर्यटक प्रहरीबाट अपनत्व महसुस गर्ने गरेका छन् ।
पर्यटक प्रहरीको माग धेरै ठाउँबाट आइरहेको छ, त्यसैले यसको विस्तारका लागि हामी सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ । अहिले निर्वाचन नजिकिँदै गरेको अवस्था भएकाले यसबारेमा हामी निर्वाचन सकिए लगत्तै आफ्नो तर्फबाट प्रयास थाल्नेछौँ ।
पर्यटक प्रहरीलाई पर्यटक मैत्री बनाउन के-कस्ता तालिम सञ्चालन गरिँदैछ ?
हाम्रो मुख्य जिम्मेवारी नै पर्यटकलाई कसरी धेरैभन्दा धेरै सुविधा दिन सक्छौँ भन्ने रहेको छ । त्यसैले विभिन्न एम्बेसीसँग समन्वय गरेर हामीले प्रहरीहरूलाई विभिन्न भाषा सिकाउने काम पनि गरिरहेका छौँ ।
साथै, पर्यटन विभागसँग समन्वय गरेर हाम्रो जनशक्तिको कौशलताको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ । निर्वाचन सकिए लगत्तै हामी यो कार्यलाई द्रूत गतिमा अघि बढाउने छौँ ।
विभिन्न पर्यटकीय क्षेत्रमा सडक बालबालिकाले पर्यटकहरूलाई दुःख दिइरहेको देखिन्छ तर उक्त ठाउँमा पर्यटक प्रहरीको उपस्थिति न्यून देखिन्छ नि, किन ?
धेरै ठाउँमा सडक बालबालिकाले पर्यटकलाई अनावश्यक दुःख दिएको जानकारी पाएर हामी सक्रिय रूपमा लागेका छौँ । यद्यपि कुनै ठाउँमा पर्यटक प्रहरी नपुगेको अवस्थामा नेपाल प्रहरीसँग सहयोग लिन सकिन्छ ।
जनशक्ति कम भएकाले हामी सबै ठाउँमा पुग्न नसक्ने अवस्था पनि हुनसक्छ तर जहाँ हामी पुगेका छौँ, त्यहाँ पूर्ण रूपमा सक्रिय भएर काम गरिरहेका छौँ ।
कोरोना महामारीको समयमा पर्यटक प्रहरीले के-कसरी काम गर्यो ?
महामारीको समयमा नेपाल आइपुगेका पर्यटक समस्यामा थिए । सो समयमा समस्यामा परेका पर्यटकलाई पर्यटक प्रहरीले उद्धार गर्ने कार्य गरेको थियो ।
लकडाउनले गर्दा मानिसहरू घरबाट बाहिर निस्कन पाउँदैन थिए, त्यस्तो अवस्थामा उनीहरूलाई सही सूचना प्रदान गर्नुले पनि धेरै राहत मिल्थ्यो । पर्यटक प्रहरीले ‘पुलको रूपमा’ काम गरेर सबै एम्बेसीहरूलाई उनीहरूको नागरिकको अवस्थाबारे जानकारी दिएको थियो ।
नेपाल घुम्न आउने पर्यटकहरूलाई के भन्न चाहनुहुन्छ ?
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल भ्रमणमा आउँदा असुरक्षित महसुस गर्नु पर्दैन । कतिपय ठाउँमा जाँदा सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ, पर्यटनसँग सम्बन्धित पर्यटन बोर्ड तथा नेपाल प्रहरीको वेबसाइटबाट ती मापदण्ड बारे जानकारी लिन सकिन्छ । यदि कुनै पर्यटक समस्या परेको खण्डमा सूचना पाउनासाथ हामी उद्धारको लागि खट्ने छौँ ।
नेपाल आउने पर्यटकहरूले आफ्नो सुरक्षाको लागि सम्बन्धित कार्यालय, नेपाल प्रहरी या पर्यटक प्रहरीलाई सम्झिन अनुरोध गर्न चाहन्छु ।
त्यसैगरि प्रहरी निरीक्षक चन्द्र किशोर शाहसँग पनि हामीले केही प्रश्न राख्ने मौका पायौँ ।
कोरोनाको समयमा पर्यटक प्रहरीको भूमिका के-कस्तो रह्यो ?
म पहिलो चरणको कोभिडको अन्त्य र दोस्रो चरणको सुरुआतमा म यहाँ (भृकुटीमण्डपमा रहेको कार्यालय) आएको थिएँ । सो समयमा ‘भिजिट नेपाल २०२०’ क्याम्पेन अन्तर्गत बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने योजना रहेको थियो । सोही अनुरूप पर्यटक आइरहेका थिए तर अचानक लकडाउन भयो । जसले गर्दा पर्यटकहरू जहाँ-जहाँ पुगेका छन्, त्यही अलपत्र परे ।
त्यसैले हामीले पर्यटन विभाग, पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, पर्यटनसँग सम्बन्धित विभिन्न एजेन्सीहरू तथा सम्बन्धित एम्बेसीहरूसँग समन्वय गरेर अलपत्र परेका पर्यटकलाई विभिन्न माध्यमले काठमाडौँ ल्यायौँ । कोरोना महामारी लम्बिने अवस्था देखेपछि उनीहरूलाई आफ्नो देश फर्काउन हामीले सहयोग गर्यौँ । सो समयमा नेपालको विभिन्न स्थानमा अलपत्र परेका करिब १९३३ जना पर्यटकलाई काठमाडौँ ल्याइ उनीहरूलाई आफ्नो देश फिर्ता पठायौँ ।
कोभिडको अन्त्यपछि २०२१को सिजनमा सगरमाथा आरोहण पुनः सुरु भएको थियो । १९/२०को भन्दा २०२१मा सगरमाथा जाने पर्यटक बढी थिए । त्यो अवस्थामा माथि बेस क्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३/४मा लेक लाग्ने लगायतका धेरै बिरामीले पर्यटकलाई समस्यामा परेको थियो । सो समयमा पनि हामीले सम्बन्धित सबै एजेन्सीहरूसँग समन्वय गरेर गम्भीर रूपमा खटेर करिब ६२ जनालाई उद्धार गर्ने कार्य गर्यौँ र २०७४ मा सगरमाथा चढ्ने क्रममा बेपत्ता भएका ४ जनाको शवलाई पनि सम्बन्धित देश पठाएका थियौँ ।
हामीले स्थानीय निकायसँग समन्वय गरेर पर्यटकलाई आफ्नो गन्तव्यमा पुग्नलाई सहज वातावरण निर्माण गर्ने कार्य गर्यौँ ।
अहिलेको समयमा पर्यटकहरूको मुख्य समस्या के रहेका छन् ?
अहिलेको समयमा पर्यटकले नेपाल र नेपालीको तर्फबाट कुनै किसिमको असुरक्षा महसुस गर्नु पर्ने अवस्था छैन । उनीहरूको मुख्य समस्या भनेकै आफ्नो सामान बिर्सिएर हिँड्नु रहेको छ । त्यसैगरि पर्यटकको चाप दिनानुदिन बढिरहेको अवस्थामा माग बमोजिम हरियो प्लेटका सवारीसाधन पर्याप्त नहुनु पनि समस्याको विषय रहेको छ । जुन पायो त्यही गाडीमा यात्रा गर्दा कुनै पर्यटकले उत्पीडनमा परेको सुनाउने गरेका छन् । यस विषयमा गम्भीर भएर हामी सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छौँ ।
भर्खरै मौसमको खराबीका कारण अलपत्र परेका पर्यटकलाई सम्बन्धित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने कार्य भयो । पछिल्लो समयमा हामी निकै गम्भीर भएर पर्यटनलाई व्यवस्थित गर्ने विषयमा काम गरिरहेका छौँ ।
त्यसैगरि भिसा समाप्त भएका, मानसिक रूपमा अस्वस्थ पर्यटकहरूलाई व्यवस्थापन गर्न समस्या छ । र, पर्यटकहरू हराएको सामान भेटिएमा राखिदिने निकाय छैन । त्यसैले हामीसँग ती सामान या पर्यटकलाई केही समय होल्ड गरेर राख्न कुनै व्यवस्था भए सजिलो हुने थियो । केही समयअघि हामीले ‘टुरिस्ट सेफ हाउस’को योजना पनि ल्याएका थियौँ तर विविध कारणले त्यो लागु भने हुन सकेन । यसको व्यवस्था भएको खण्डमा समस्यामा परेका पर्यटकलाई केही दिन राख्न या उनीहरूको भेटिएको सर-सामान राख्न सहज हुने थियो । यसले अन्तर्राष्ट्रियस्तरमा एउटा राम्रो सन्देश समेत जाने थियो ।
समस्यामा परेका पर्यटकले पर्यटक प्रहरीको वेबसाइट https://cid.nepalpolice.gov.np/cid-wings/tourist-police/बाट सहयोग लिन सक्नेछन् भने policetourist@nepalpolice.gov.np मा इमेल गरेर या ११४४मा फोन गरेर आफ्नो समस्या बताउन सक्नेछन् ।
भिडियो