शुक्रबार , अषोज ४, २०८१

मङ्गलादेवी सिंह: जसले नेपालमा महिलालाई भोट हाल्ने अधिकार दिलाइन् 

पद्मशम्शेरले सोधे– ‘के भन्न आयौ तिमीहरु ?’ मैले भनें, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरूलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार ! ‘चुनाव हुने भनेर कसले भन्यो ?’ – पद्मशम्शेरले सोधे ।

image

नेपालमा महिलालाई पनि चुनावमा भोट हाल्न पाउने अधिकार दिलाउने श्रेय मङ्गलादेवी सिंहलाई जान्छ । उनले २००४ सालमा नेपाल महिला सङ्घ नामक भूमिगत संस्थाको स्थापना गरेकी थिइन् । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले नगरपालिकाका चुनाव गराउन खोज्दै थिए । महिलालाई भोट खसाल्ने अधिकार थिएन । उनले नेपालमा महिलाले मतदान गर्न पाउने व्यवस्था गर्न तत्कालीन राणा प्रधानमन्त्री पद्मशम्शेरसँग गरेको  विद्रोही संवादको अंश यस्तो छ:

प्रजा पञ्चायतका चारवटा मिटिङमा भाग लिएर र महिलाहरूको दयनीय अवस्था देखेर हामी २१ जना महिलाहरूले एकदिन सल्लाह गर्‍यौँ, पद्म शम्शेरकहाँ डेलिगेशन जाने र महिलाहरूलाई पनि भोट दिने अधिकार र विद्यालयमा पढ्ने बन्दोबस्तका लागि हुकुम गराउने । पद्म शम्शेरकाे निवास विशालनगरमा थियो । हामी सोध्दै खोज्दै हिँडेर विशालनगर पुग्यौँ । मूल गेटमा सोधखोज गरेपछि पालेबाट भित्र पस्न पायौँ ।

कम्पाउन्डको चउरमा घाँस काटिरहेको, फूलहरू रोप्ने र गोड्ने काम भइरहेको, बिरुवाहरूका झ्याङहरू छाँटिरहेको र बिजुली गार्डका घरहरू नाघ्दै हामी मूल भवनको अगाडि पुग्यौँ । जति ठाउँ हामीलाई, ‘किन आएको ?’ यति सोधिन्थ्यो । म ‘सरकारलाई भेट्न आएको’ भनेर ठाडो जवाफ दिन्थेँ । उनीहरू ‘दर्शन गर्न आएको भन’ भनी सिकाउँथे । त्यो सुनेपछि म झन् घमन्ड गरिहाल्थेँ र ढोके–सोकेहरुलाई भन्दथेँ ‘तिमीले गएर भनिदेऊ न, तपाईँलाई भेट्न मानिस आएको छ ।’ यस्तै खालको आग्रह एकजना सज्जनसँग मैले गरेथेँ । ती त भूपदेव सरदार पो रहेछन् । उनलाई मैले आफ्नै घरमा बुढा ससुरालाई भेट्न आउँदा देखेकी रहेछु । उनका अगाडि पछाडि भएका अरू कारिन्दाहरूले मेरो बोली र मिजासको विरोध गर्दै भने, ‘सरदार साहेबलाई चिनेर अदबका साथ बोल्नु पर्छ नि । यस्तो मिजासले सरकारको दर्शन गर्नु हुन्छ ?’ मैले भने ‘अबदेखि सरकार ! साहेब ! हजुर ! भनी दिउँला नि !’ म त्यहाँ पुगेको देखेर बुढा ससुरा त छाँगाबाट खसेजस्तो हुनुभयो । आश्चर्य र रिसले सोध्नु भयो– ‘कहाँ आएकी ?’

प्रधानमन्त्रीसँग भेट्न आउनु थियो, त्यसैले आफ्नै बुढा ससुरासँग डराएर फर्किने कुरा थिएन । मैले पनि हाकाहाकी नै भनेँ– ‘सरकारलाई भेट्न आएकी । अधिकार माग्न आएकी ।’

त्यसपछि ससुरा अवाक् हुनुभयो । प्रधानमन्त्रीका हजुरिया जर्नेलले सम्झाए । पछि पद्म शम्शेरलाई  भेट्दा उनले पनि निकै सम्झाए । उनीहरू मलाई भन्दथे, ‘तिमी त त्यत्रो ठुलो घर खानदानकी बुहारी । त्यत्रो इज्जतमा बसेकी यी आइमाइहरुलाई लिएर हिँड्दा तिम्रो इज्जत के हुन्छ ? तिमीलाई कसले उचाल्यो ? यसो नगर, आफ्नै घर फर्क र इज्जतका साथ बस ।’

मैले पनि दृढ स्वरमा जवाफ दिएकी थिएँ । ‘यी सबै इज्जतदार स्वाभिमानी महिलाहरू हुन् । तपाईँले यिनीहरूलाई दरबारका पटरानी वा नानीजस्ता देख्नु भएन भन्दैमा यिनीहरूको इज्जतै छैन भन्ने नठान्नुहोस् । यिनीहरू अधिकारको खोजीमा यहाँ आइपुगेका हुन् । तपाईँहरूको दरबारमा हात पसारेर माग्ने होइनन् । यिनीहरूसँग हिँड्दा कसरी इज्जत जान्छ ? बरु इज्जत पो बढ्छ । मेरो अड्डी र आत्मविश्वासका अगाडि कारिन्दागिरी गर्नेहरूको केही जोड चलेन ।

केही छिनको प्रतीक्षा पछि पद्म शम्शेरलाई भेट्न बोलाहट आयो । बडाकाजीको नातिनी बुहारी भएको हुनाले नै सायद मलाई सम्झाएर बुझाएर फर्काउन पनि यति चाडै भेटघाटको लागि बोलाएको हुनुपर्छ । हामी भेट्ने बैठकमा पुग्यौँ । उनी पहिले नै बसिसकेका थिए र हामीलाई ‘बस’ भने । तर हामीले उभिएरै कुरा गयौँ ।

पद्म शम्शेरले सोधे– ‘के भन्न आयौ तिमीहरु ?’ मैले भनें, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरूलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार !

‘चुनाव हुने भनेर कसले भन्यो ?’ – पद्मशम्शेरले सोधे ।

‘हामीले मानिसहरूबाट सुनेका हौँ, मैले भनेकी थिएँ ।

‘महिलाहरूले भोट दिने अधिकार कहाँ छ ?’ उनले फेरि प्रश्न गरे ।

मैले भनेँ, ‘सबैतिर नहोला । जहाँ-जहाँ अधिकार दिइएको छ, ती समाजहरुमा महिलाहरूको स्थिति राम्रो छ । जनता खुसी छन् ।’

‘अरू केही छ ?’ पद्मशम्शेरले सोधे ।

‘महिलाहरूलाई पनि स्कुलमा पढ्न जाने व्यवस्था हुनु पर्दछ सरकार !’ मैले भनेँ ।

‘स्कुल खोले पनि कसले पढ्छ ?’ उनले सोधे ।

‘स्कूलमात्र खोलियोस् पढ्ने महिलाहरूको खाँचो हुँदैन । आफ्नो नामबाट खोलियोस् सरकार । सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने,’ हामीले भन्यौँ ।

‘ल अहिले जाओ । भोट दिने अधिकार पाउँछौ । स्कुलको कुरो पनि राम्रो छ । म विचार गर्छु ।’ यति भनेर पद्मशम्शेरले हामीलाई पठाए ।

कुन प्रेरणाले हो वा हाम्रै मागका कारणले हो, पद्मशम्शेरले त्यो भेटघाटको केही दिनपछि नै डिल्लीबजारस्थित आफ्नै जग्गा र भवनमा पद्मकन्या स्कुलको स्थापना गराए । हाम्रो पनि खुसीको सीमा रहेन । हामी कसैका दास होइन, आफ्नै सङ्कुचित भावना, आफै भित्रको डर, हीनता र रुढीवादी परम्पराको आज्ञाकारी हुन चाहने स्वभावले पो पिछडिएका रहेछौँ भन्ने धारणा त्यस घटनाले दियो ।

भोट दिने अधिकारका विषयमा पद्मशम्शेरले मौखिक आश्वासन दिएर मात्र हामी सन्तुष्ट भएका थिएनौँ मैले भनेँ, ‘मौखिक आश्वासनले मात्र हुँदैन सरकार, लालमोहर गरेर बक्सेन भने मौखिक आश्वासनलाई कसले टेर्छ ?’

हामीले ढिपी कसेपछि महेन्द्रबहादुर महतले बाँसको कलमले राम्रा अक्षरमा नेपाली कागजमा लेखेर श्री ३ पद्मशम्शेरको हुकुम प्रमाङ्गी गराए । तर नगरपालिकाको तथा ग्राम पञ्चायतहरूको चुनाव हुन पाएन । मोहनशम्शेरको सत्ता षडयन्त्र एवम् खुराफात चलिरहेको थियो । राणाशाही नै कतिन्जेल टिक्ने हो सो को ठेगानै थिएन । एकदिन भए पनि श्री ३ को श्रीपेच लगाऊँ भन्ने मोहनशम्शेरलाई लाग्यो होला । पद्मशम्शेर पनि रोएर बिदा हुनु पर्‍यो ।

अधर्म बोल्नु हुँदैन । जुद्धशम्शेरको तुलनामा पद्मशम्शेर उदार र दयालु भावनाका थिए । उनका भाइहरू कोही थिएनन् । एउटै छोरा वसन्तशम्शेर हुन् । २ वर्ष राम्ररी शासन गर्न नपाउँदै उनी पनि बिदा भए र भारतमा गएर बसे । ००७ सालपछि म कलकत्ता जाँदा त्यहाँ महावीरशम्शेरको सिनेमा हल ‘लाइट हाउस’मा सुवर्णशम्शेरले मलाई डिनर दिनु भएको थियो । पद्मशम्शेरसँग मेरो त्यहाँ पुनः भेट भयो । उनले मलाई भने, ‘मैले त तपाइँहरुलाई अधिकार दिएकै हुँ नि हो कि !’ मेरो छुचो मुख, जवाफ दिइहालेँ—‘अधिकार त दिनु भयो, तर चुनाव गराउन सक्नु भएन । देश भित्र बस्दै बस्नु भएन ।’

श्री ३ पद्मशम्शेरलाई पहिलोपटक डेलिगेसन गएर भेटेर फर्केपछि बाटैमा, बाडकाजीसँगै घरबाट गएका नोकर र ड्राइभरहरूले खबर दिए, ‘दुलही साहेब ! अब घरमा बस्नु पर्दैन । घरतिर नगै बक्सियोस् रे । बडाकाजीले भन्नुभा छ ।’

मैले पनि कुनै आपत्ति नमानी ‘हुन्छ भनिदिनु’ भनी खबर गरिदिएँ । तर मनभित्र त तील–जौ पाक्यो । त्यसपछि त्यतैबाट मितिनीको घरमा मैले गएँ । उता भेटेँ भनेर कुनै कुरा गरिनँ । स्वाभाविक रूपमा कुराकानी गरेँ । मलाई माइती जान मन थिएन । त्यो दिन बिहानदेखि खाएकी पनि थिइनँ । दुई–अढाई बजेदेखि मितिनी आमाकहाँ बसेकी मेरो बारेमा बिस्तारै थाहा थाल्यो ।

त्यसपछि मलाई सोध्दै खोज्दै बुवा आइपुग्नु भयो । मलाई बडो सङ्कोच लागेको थियो । माइतीमा जाउँ, के भन्न हुने हो ! घर आफ्नो नभएपछि माइतमा के इज्जत होला र ! बुवाले जाउँ भनेपछि बाबुआमा भएकी छोरीले अरूतिर बस्नुभन्दा माइती बस्नु ठिक हुन्छ भनेर म माइतीमा गएँ । माइतीमा गएपछि मैले घरबाट निकालिनु परेको यथार्थ सबै बताउनु पर्‍यो किनकि सत्य लुकाइदियो भने मिथ्या फैलिने डर थियो । त्यसैले मैले सबैकुरा बताइ दिएँ ।

त्यसै साँझ घरबाट दुईजना नोकरहरू लालटिन बालेर मेरो माइतीमा आए र ‘दुलही साहेब, अब हजुर किलागलको घरमा बस्ने रे !’ भन्ने समाचार दिए । इटुम्बहालको अगाडि किलागलमा हाम्रो ठुलै घर थियो । नोकर, चाकर, भान्से, भाँडाकुँडा, सबै व्यवस्था गरेर मलाई त्यही घरमा राखे । तर घरको मुलढोकामा सधैँ ताल्चा मारेर एक किसिमको नजरबन्द गरेर राखिएको हुन्थ्यो । म सरेको अर्को हप्तामा मेरी सासु, बूढी सासु सबैलाई पनि ल्याएर राखिदिए । उहाँहरू घरबाट निकालिनु परेकोमा उहाँहरूले मलाई दोष दिनु भयो । मलाई उहाँहरू गाली गर्नुहुन्थ्यो । तर त्यो गाली मेरो कानमा पनि पस्दैनथ्यो । अब त मलाई थाप्लामाथिको जाँतो झिकेजस्तै हलुका भएको थियो । त्यसैले म राजनीतिक भेला, कार्यक्रम र अभियानमा झन् मग्न भएर जुट्न पाएँ । राजनीतिक पार्टीका मानिसहरूका बिचमा परिवारको सदस्यभन्दा साह्रै स्नेह र बन्धुत्वको भावना हुन्थ्यो । त्रिपुरवर सिंह प्रधान, विजयबहादुर मल्ल, विष्णु सुन्दर प्रधान बाहेक प्रेमबहादुर कंसकार, भुवनलाल जोशी, अमीरबहादुर, नन्दलाल जोशी, राजाराम श्रेष्ठ, दमनराज तुलाधर, भोलामान प्रधान आदि रहेको प्रजा पञ्चायतको ठुलो कमिटी बनेको थियो । यी सबैले मलाई कसैले नानी, कसैले भाउजू आदि साइनोले खूब आदर गर्दथे । प्रजा पञ्चायतका अध्यक्ष बी.पी. कोइराला हुनुहुन्थ्यो ।

किलागलको घरमा बस्न आएपछि जति स्वतन्त्रता प्राप्त भयो, तर त्यो स्वतन्त्रतालाई मिटिङमा भाग लिन जाने वा अरू राजनीतिक कार्यहरूमा संलग्न हुने भनेर घरमा घोषणा गरेर चाहिँ सासु, बूढी सासु र म तीनजनामात्र त्यो घरका परिवारका सदस्यहरू थियौँ । त्यसैले त कतै जानु पर्‍यो भने फलाना ठाउँ जान्छु भनेरै जान्थेँ । तर मिटिङ र राजनीतिक कार्यक्रमको उद्देश्यचाहिँ बताउँदैनथेँ ।

त्यो घरमा बस्दाबस्दै एक दिन महात्मा गान्धीको हत्या भयो भन्ने समाचार सुनियो । राणा शासकहरू, तिनीहरूका ताबेदार र भाइहरू यो समाचारले जति आनन्दित भए त्यति नै शोक सर्वसाधारणमा पर्न आयो । सारा भारत रोइरहेको थियो । धर्ममा भएको अहिंसालाई राजनीतिमा लागू गरेर त्यो विशाल भारत वर्षलाई स्वाधीन गराउने त्यत्रा महापुरुषको हत्याले नेपालमा हामी पनि मानसिक रुपमा आहत हुन पुग्यौँ ।

महात्मा गान्धीको हत्या भएपछि प्रजा पञ्चायतका हामी सबैले एउटा शान्ति जुलुस लिएर आर्यघाटमा पुगी गान्धीको प्रिय भजन, ‘रघुपति राघव राजाराम, पतित पवन सीताराम’, ईश्वर अल्लाह तेरे नाम, सबको सम्मति दे भगवान्’ गाउने र त्यहाँ अरू ईश्वर प्रार्थना गर्ने कार्यक्रम मिलायौँ । हाम्रो त्यस कार्यक्रममा नेपालका लागि भारतीय राजदूत सुरजीत सिंह मजिठिया पनि उपस्थित हुनुभएको थियो । सपत्नी राजदूत महोदय हाम्रो कार्यक्रममा आइदिनुले भारत राष्ट्रद्वारा हामीलाई मान्यता दिएको सङ्केत मिलेको अनुभव गर्‍यौँ ।

भारत स्वतन्त्र भएपछि स्वतन्त्र भारतको काँग्रेस राजसँग तालमेल मिलाउने र अङ्ग्रेजहरूकै जस्तो गुलामी गरेर भए पनि आफ्नो सत्ता टिकाउने प्रयत्नमा राणा शासक बाटो खोजिरहेका थिए । यता देशभित्र खुकुलो वातावरण बनाउने र उता भारतको प्रजातान्त्रिक सरकारसँग लगनगाँठो कस्न राणाहरूले देखाएको आतुरताले हामीलाई आफ्नो गन्तव्यका प्रति झन् विश्वस्त बनायो । जुद्धशम्शेरको सन्यास जीवनले पनि के सङ्केत गर्दथ्यो भने राणाशाही आफ्ना कर्मले आफै पतोन्मुख भइरहेको थियो ।

किलागलमा सरेपछि केही दिनको आवतजावत एवम् एउटा दसैँको टीका र भेटघाट बन्द भएपछि आवतजावतको क्रम फेरि सुरु भयो । बूढा ससुरा आफै ‘किन नआएको ?’ भनी सोध्ने गर्नुहुन्थ्यो । यो प्रश्नमा नजानाको कारणको खोजी पनि थियो भने आऊ भन्ने निमन्त्रणा पनि । म जति हलुका र उन्मुक्त जीवनको महसुस गरिरहेकी थिएँ त्यति नै आफ्ना गतिविधिहरूलाई सुनियोजित र गोप्य बनाएकी थिएँ । त्यसकारण बूढा ससुरालाई मेरा गतिविधिहरूको बारेमा पत्तै भएन । अर्को संयोग के पनि भयो भने, उहाँले मलाई जतिपटक खोज्नुभयो त्यतिपटक म आफ्नो घरमा सहिसलामत बसिरहेकी हुन्थेँ ।

घरबाट बिदा दिए पनि बूढा ससुरामा मप्रति अगाध माया यथावतै रहेछ । माया भन्ने कुरा अनौठो हुँदो रहेछ । सच्चा माया भित्र स्नेह, विश्वास र हार्दिकता तीनै पक्ष हुन्छ । बूढा ससुराले माया गरेर यी तीनै पक्षलाई प्रकट गर्नुहुन्थ्यो । ‘किन नआएकी हँ ?’ भनेर उहाँले मलाई सोध्दा मैले जवाफ दिएकी थिएँ, ‘किन आउनु त घरबाट निकालेपछि ?’ उहाँले भन्नुभयो, ‘कसले निकाल्यो ? तिमी आफै त निस्किएर गएकी हौ । हामीले निकाल्न पर्‍यो र ।’ मेरो स्पष्ट बोल्ने (फ्यांक) स्वभाव पनि उहाँलाई बढी रुचिकर भएको होला जस्तो मलाई लागेको थियो । किनकि मैले कहिले काहीँ बक् बक् गरिहाले पनि उहाँ चुप लागेर बस्नुहुन्थ्यो र त्यसलाई पचाइदिनु हुन्थ्यो ।

घरबाट निकालिएर सरेपछि आवतजावत खुलाउन सर्वप्रथम दुईजना नोकरहरू बोलाउन पठाइएका थिए । ‘म आउँदिन भनिदेऊ’ भनी मैले खबर पठाएपछि काका ससुरा तीर्थमान आफै मलाई भेट्न आउनु भएको थियो र भन्नुभयो—‘बाले ज्यादै माया गरेको हुनाले तिमी मात्तिएर सबैको टाउको टेक्न थालेकी होइनौ ?’

‘पद्मशम्शेरकहाँबाट फर्केर आउँदा बूढा ससुरा पनि खुद त्यहीँ त हुनुहुन्थ्यो नि, उहाँ आफैले मलाई अबदेखि घरमा नआउनु भनेको भए हुन्थ्यो ! नोकरलाई भन्न लगाएर मेरो अपमान गरेपछि म आउँछु त ?’ मेरा यी अभिव्यक्तिहरू काका ससुराले सुनाउनुभयो वा भएन, तर बूढा ससुराले फेरी आफै बोलाउन पठाएपछि म त्यहाँ गएकी थिएँ र जान थालेँ ।

त्यही बिचमा मेरो बुवाको आफ्नै कामले कलकत्ता जानुपर्ने भयो । त्यो सिलसिलामा उहाँले ज्वाइँ कलकत्ता आइपुग्नु भयो कि भनी सोधखोज गर्नुभयो र भेट पनि भयो । भारतमा उहाँ सकुशल हुनुहुन्छ भन्ने थाहा पाएपछि मन ढुक्क भयो । हुन पनि उहाँले बनारसमा बस्दाखेरि एउटा छोटो पत्र पठाउनु बाहेक चिठी खबर केही पठाउनु भएको थिएन । मैले पनि खर्चबर्च पठाउन र अरू कारणले सहयोग गर्न सकिन । मैले चिठीको प्रत्युत्तरमा उहाँको एउटा फोटो पठाइदिन अनुरोध गरेकी थिएँ । यहाँ ‘गणेशमान भन्या कस्तो अनुहारका छन् हँ ?’ भनेर सोधखोज गर्ने मानिसहरू धेरै भएकाले अनुहार देखाउन फोटो मगाएकी थिएँ । कलकत्ता र बनारस पछिका दिनहरूमा उहाँ कताकता पुग्नुभयो केही थाहा भएन । एक पटक उहाँ सेनामा भर्ना हुनका लागि (अहिले पाकिस्तानको) लाहोर पनि पुग्नु भएको रहेछ । फेरि एकताका खबर आयो उहाँ त सिक्किममा दुर्गाशम्शेरको घरमा मास्टर भएर बस्नु भएको छ । हुन त उनी राणा (शम्शेर) होइनन्, प्रधान (नेवार) हुन् तर रीसइवीका कारणले उनले शम्शेर लेख्ने गरेका रहेछन् । बाबुले दुर्गाशम्शेर लेख्दा पनि छोराहरूचाहिँ प्रधान नै लेख्ने गर्दथे ।

यसरी जेलबाट भागेर मुग्लान पसेपछि उहाँलाई कति कति हन्डर–ठक्कर खानु परेको रहेछ । यता काठमाडौँमा उहाँको विषयमा नानाथरीका कुरा काट्ने मानिसहरूको कमी थिएन । यो कुरौटे प्रवृत्तिमा आलोचना गर्ने र अर्ति उपदेश दिने स्वभाव लुकेको हुन्थ्यो । तर आफैँ दासताको जीवनमा बाँचेकाले दासताको सिक्री चुँडाल्न हिँडेको कुनै विद्रोहीप्रति आलोचना गर्नु र उपदेश दिनु कति नै महत्त्व हुन्थ्यो र ! म यस्ता कुराहरू सुन्दासुन्दै अभ्यस्त भइसकेकी थिएँ । जो शासनमा आए पनि त्यसैको जय जयकार गर्नमा आफ्नो गौरव देख्ने दासहरूलाई रिझाउने मेरो उद्देश्य थिएन । बरु आफ्नो मुक्ति र सबैको मुक्तिको बाटो खोज्नुमा नै मैले गौरव देखेकी थिएँ । मुक्ति प्राप्त गर्ने बाटो विकट हुन्छ भन्ने मलाई थाहा थियो । महात्मा गान्धीको हत्या हुँदा बेलायतका समाजवादी दार्शनिक, लेखक तथा नाटककार बर्नार्ड शाले भनेका थिए, ‘भलो हुनु कति खतरनाक रहेछ ।’ साँच्चै भलो हुनु खतरनाक नै हुँदो रहेछ । सबैको भलाइ खोजेर हिँड्ने सज्जन र सद्गुणीहरूले त्यो बेला विद्रोह गर्नु परेको थियो र भलाइमा खतराको तरबार झुन्डिरहेको थियो ।

(मङ्गलादेवी सिंहको आत्मसंस्मरणात्मक कृति ‘नारी सङ्घर्षका पाइलाहरू’बाट साभार ।)

काे हुन् उनी ? 

नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौँको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो ।

वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन् । २००४ सालमा काठमाडौँ म्हैमीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला सङ्घको स्थापना गरी आजन्म अध्यक्ष रहिन् ।

२००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । उनले २००७ सालको क्रान्तिमा ठुलो भूमिका निर्वाह गरेकी थिइन् ।

श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् ।

२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनी सक्रिय भइन् । २०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन् ।

सिंहले ‘नारी सङ्घर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेखिन् । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भयो ।

सम्बन्धित समाचार