काठमाडौं । २७ औँ तामाङ चलचित्र प्रदर्शनी दिवस भव्य रूपमा सम्पन्न भएको छ । तामाङ चलचित्र संघले ‘ह्याङला चलचित्र मौलिक चलचित्र राष्ट्र निर्माणमा तामाङ चलचित्र’ भन्ने मूल नाराका साथ तामाङ चलचित्र प्रदर्शनी दिवस काठमाडौंमा मनाएको हो ।
२०५२ साल भदौ १६ गते स्व. जयनन्द लामाद्वारा निर्देशित ऐतिहासिक चलचित्र ‘सेम्री छोरङान’ प्रदर्शन भएको थियो । सोही दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ १६ गते तामाङ चलचित्र दिवस मनाउँदै आएको छ ।
तामाङ चलचित्र प्रदर्शन सुरु भएको २७ वर्ष हुँदै छ । यस वर्षको तामाङ चलचित्र दिवसलाई रजत जयन्तीको रूपमा पनि मनाइएको छ । पहिलो चलचित्र ‘सेम्री छोरङान‘मा अभिनय गरेको र तामाङ चलचित्र र सङ्गीतको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको रोज मोक्तानलाई विशेष सम्मान गरिएको छ ।
कार्यक्रममा तामाङ चलचित्रसँग सम्बन्धित विभिन्न क्षेत्रका १६ व्यक्तित्वलाई सम्मान गरिएको छ । तामाङ चलचित्रमा लामो समय देखि कथा लेखन गरिरहेका रितुराज पाख्रिन, चलचित्र निर्मात्री भगवती तामाङ, गीतकार कुमार स्याङतन, सङ्गीतकार तथा संयोजक जोगलाल तामाङ, गायिका जितु लोप्चन, अभिनेता तुलसा लामा, अभिनेत्री निशा तामाङ, अभिनेत्री मायादेवी मोक्तान, निर्देशक अजय स्याङतन, नृत्य निर्देशक सुनिल कुमार मोक्तान, छायाकार विक्रम लामा, शृङ्गारीका बिना लामा, द्वन्द्व निर्देशक राजु किराँत, सम्पादक दीपक तामाङ, पत्रकार जगतमान तामाङ, कलाकार राजकुमार तामाङ, गायक तथा निर्देशक हुत्त बहादुर तामाङ आदिलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा तामाङ चलचित्रकाे इतिहासमा महत्त्वपूर्ण याेगदान दिएका स्व. जयनन्द लामाकाे सम्झना र सम्मानका लागि भने कुनै कार्यक्रम गरेनन् । स्व. लामाकै याेगदानका कारण तामाङ चलचित्र यहाँसम्म आइपुगेकाे भए पनि उनकाे सम्मानमा कुनै कार्यक्रम तय नगर्नु उनी प्रति अपमान भएकाे भन्दै कतिपय सहभागीले आलाेचना समेत गरेका थिए ।
स्रष्टालाई सम्मान नयाँलाई प्रोत्साहन स्वरूप सम्मान प्रदान गरेको हो । त्यसै गरी तामाङ चलचित्र दार्बुङ का नायक हुत्त सञ्जय लामालाई नगद ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ ।
चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा तामाङ चलचित्र, गीत सङ्गीत, कला, संस्कृति, भाषा, पत्रकारिता लगायत क्षेत्रमा आबद्ध व्यक्तिहरूको उपस्थिति थियो । साथै सयौँ दर्शकहरूको पनि उपस्थिति थियो ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल टेलिभिजनका प्रवन्ध निर्देशक फुलमान बल विशेष अतिथिको रूपमा रहेको थियो ।
प्रमुख अतिथि मन्त्री मोक्तानले दिप प्रज्वलन गरी सुरु भएको कार्यक्रमलाई लामा गुरुले मोलम पाठ गरेर औपचारिक रूपमा उद्घाटन गरेका थिए । कार्यक्रमका बिचमा विभिन्न कलाकारहरूद्वारा दिइएको साङ्गीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।
तस्बिरहरू: