यस्तै ताल हो भने देश हिँड्छ एकदिन अरुकै शरणमा । अनि जोगाउनु भक्ति थापा, बलभद्रको स्वाभिमान परेर उसको चरणमा । कराइरहनु 'बुद्ध वाज बर्न इन नेपाल भन्दै ।
बाल भनेको कुनै बच्चा हो कि झैँ लाग्यो पहिला-पहिला, सुरु-सुरुमा । या कुनै सामाजिक सञ्जालको कुनै भित्तालाई कसैले अङ्ग्रेजी माध्यममा भनेकाे हाे कि ? या त कोठा भाडा भनेको हो ? कि टाउकाको कपाल पो भनेको हो ? याे पनि नभएर आगो लगा पाे भनेको हो कि ?
बुझ्नै कठिनाइ भयो । कोट्याउँदै जाँदा गनायो । कपाल त कपालै रहेछ । तर गोप्य ठाउँको पो भनेको रहेछ । जसको मतलब नै “मलाई के मतलब” हुँदो रहेछ । भन्दाखेरि त छाडा हो । तर अचेल चलन-चल्ती यसकै रहेछ ।
फलानो दुर्गम ठाउँमा यति जनाको समयमा अस्पताल पुग्न नसकेर, उपचार पाउन नसकेकाले मृत्यु । समाचार छापियो । देश खायो समाचारले । समाचार छाप्ने पत्रिकाले केके खायो कति खायो आफ्नो ठाउँमा होला । मलाई बाल !
स्वास्थ्य मन्त्रीलाई सबैले घेरे । र्याख-र्याख्ती बनाए । जुलुस निस्कियो । नारा लाग्यो । लाज शर्म पचाएर, हाँसेरै भनिदिए उनले पनि “मलाई बाल !”
प्रधानमन्त्रीले त झन् के टेर पुच्छर लगाउनु । उनलाई के-को टन्टा । झुक्याउन पाएकै छन् जनता । कोहि बोले ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ’ भन्यो, थर्कायो ।
पढ्न पाइएन भनेको सुनिन्छ कहिलेकाहीँ चुइँक्क । मास्टर आउँदैनन् । आए पनि जाडो महिनाको घाम जसरी आउँछन् । एकछिन तताउँछन् । हराउँछन् । यसरी त बिग्रेला नि देशको भविष्य । अलिअलि त पढेका जनता पनि त हुन पर्यो नि । भोलि भोट बाँड्ने बेलामा, रक्सी-मासु के-कत्ति ख्वाउने हिसाब राख्न परेन ? आफ्नो पार्टीमा के-कसरी भोट हाल्ने ? सिकाउने मान्छे पनि त चाहियो । कि सबै नेतै हुने हो र ? यति के बोलेको थिएँ औडाह भइहाल्यो । शिक्षा मन्त्रीलाई भाउन्न छुटिहाल्यो । कराइहाले “अरूलाई मतलब छैन, मलाई बाल !
सडक सडेको छ, प्वालै प्वाल । बर्खामा डुङ्गा चलाउन मिल्ने, अरुबेला धुलो उडाउने । तुइनबाट दिक्क छन् कोही, पुलको पैसा ठेकेदारले ठेकीमा राखेर मथे । ठेकेदारले सबैको मुखमा बुझो लगाउँदा-लगाउँदै पुलको कुरामा धूल लागेको सुनाउँछ । पानीले पानी पानी बनाएको छ । अनेक बहानामा अनेक तरिकाले अनेक मान्छेले ढुकुटी भर्दै गए । आफ्नो हौ देशको होइन । कसैले केही सोधिहाले उत्तर तयार छ नि ” म एक्लैले के-के हेर्नु ? सक्दिनँ म त, मलाई बाल !”
सिमाना मिचिएको मिचियै छ । सेनाका दाजुभाइ दिदीबहिनी के हेर्दै हुनुहुन्छ ? सोध्छन् जनता । सैनिक भन्छ “माथिबाट आदेशै आएको छैन” । माथि फर्किएर थुक्यो आफ्नै मुखमा छिटा । भो नथुकौँ । चल्न दिँउ । हामीलाई बाल !
‘भोक लाग्यो !’ भन्दै कराउँछन् फेरि कोही । चुनावको बेलामा ख्वाएको मासु-भातले अघाएनौ ? उनलाई लाग्दो हो भोक पनि पाँच वर्षमा एक पटक लाग्छ । ठाडो प्रश्नको ठाडै उत्तर “जम्मै तपाईकै कार्यकर्ताले सके नि, एकदुईजनाले चाख्न सम्म भ्याए होलान् । ” “दिएको बेला खाएनछौ । अब मलाई बाल ?”
“प्रहरी दाइ अपराधीलाई समाउन पर्यो।”
” समाउन त पर्ने हो । इच्छा पनि भएकै हो । तर कानुनको हातमा भएको तराजुले अचेल अर्थोकै जोख्न थालेको छ ।”
“न्यायाधीश अङ्कल अपराधीलाई सजाय दिन पर्यो ।”
” अपराधी म चिन्दिन । अरूले चिनाएर हुँदैन । चिनाउन पर्नेले चिनाउँदैन । थोरै कमाई मैले पनि गर्नै पर्यो ।”
एक दुई दिन आँसु झर्छ । मन भक्कानिन्छ । कन्पारो तात्छ । सडक उठ्छ । सदन जाग्छ । जर्याक जुरुक । फेसबुके राष्ट्रवाद मौलाउँछ, ट्विटर एकछिन बौलाउँछ, सकियो । भोलिपल्ट फेरी टिकटकमा नृत्य, मोटीभेसनल पातलीभेसनल कुरा, भाइरल-दाइरलको रन्को । पृथ्वीको उही आफ्नै फन्को, खत्तम ।
फेरि उही ताल उही रमिता । बढ्दो भ्रष्टाचार । ठाउँ-ठाउँमा बलात्कार । न्यायको हाहाकार । भत्केको बाटो घच्याक घुचुक । पानी तप्ल्याक तुप्लुक । फाइलहरूमा पुल, विद्युत् , विद्यालय, अस्पताल । भोकले लगेका दुई चार जना । सरकारी कर्मचारी उही हो काम, कहिले जाला घाम । विदेश जानेको उत्रै लाम । ‘दाइ पासपोर्ट बनाउने हो?’
पाँच वर्ष सकियो । फेरि उसैलाई या उ जस्तैलाई भोट । रक्सी मासु एक दुई हजारको नोट । बाइक र देशको भविष्यमा पेट्रोल । पाँच वर्षलाई पुनः आफ्नै खुट्टामा चोट ।
यस्तै ताल हो भने देश हिँड्छ एकदिन अरुकै शरणमा । अनि जोगाउनु भक्ति थापा, बलभद्रको स्वाभिमान परेर उसको चरणमा । कराइरहनु ‘बुद्ध वाज बर्न इन नेपाल भन्दै ।
ठड्याइरहनु सगरमाथा झैँ नाक । फरफराइरहनु मनमा चन्द्र-सूर्य ।
ए भएन हौ यसरी । अब त कोही बोलौँ, केही बोलौँ भनेको । सबैजना व्यस्त छन् । कोही लुट्न । कोही लुटाउन ।
र भनिरहेछन् साङ्केतिक रूपमा
“मलाई बाल ?”