बुधबार , कार्तिक २८, २०८१

समाचार प्रभाव: अनकन्टार गाउँ ‘च्यात्रा’मा विद्यालय  सञ्चालन, श्रेय लिने होडले नामकरणमा विवाद 

image

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ स्थित विकट गाउँ च्यात्रामा प्रारम्भिक तहको  विद्यालय सञ्चालनमा  आएको छ । गाउँमा विद्यालय सञ्चालनमा आएसँगै च्यात्रा गाउँका बालबालिकाले पढ्न पाएका छन् ।

विद्यालय सञ्चालनमा आएसँगै प्रारम्भिक तहको शिक्षाबाटै वञ्चित भएका झन्डै चार दर्जन बालबालिकाले पढ्न पाउने भएका छन् । विद्यालय सञ्चालनमा आएपछि अभिभावक र विद्यार्थी हर्षित भएका छन् ।

यस विद्यालयमा कक्षा तीन सम्मको पठनपाठन हुने छ ।

गाउँमा विद्यालय नभएको र अर्को गाउँमा जान पनि टाढा भएपछि यस गाउँका झन्डै डेढ दर्जन घर दुरीका चार दर्जन बढी बालबालिका शिक्षाबाट वञ्चित थिए ।

लामो समयको सङ्घर्षपछि विद्यालय सञ्चालनमा आएको हो । यहाँका बासिन्दाले विगत लामो समयदेखि गाउँमा विद्यालय सञ्चालनमा ल्याउन माग गर्दै आएका  थिए ।

नेत्रविक्रम चन्द ‘विप्लव’को सहयोगमा बन्यो विद्यालय 

गाउँमा विद्यालय सञ्चालनमा ल्याउन च्यात्राका बासिन्दाले लामो समयदेखि नै सङ्घर्ष गर्दै आए पनि सरकारबाट सुनुवाइ भएको थिएन । त्यस्तैमा वि.सं. २०७३ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यालय निर्माण गर्न ट्रस्ट र जस्तापाता उपलब्ध गराएका थिए । सोही वर्ष स्थानीयले टहरो निर्माण गरे । तर, सरकारले स्थानीय तहको चुनाव घोषणा गरेपछि (नेकपा) चुनावको बहिष्कारमा लागेपछि  विद्यालयको निर्माण लथालिङ्ग बनेको थियो ।

विप्लव नेतृत्वको (नेकपा)ले छाडेर गए पनि स्थानीय सरकार बनेपछि विद्यालय बन्नेमा स्थानीय विश्वस्त थिए । तर पहिलो स्थानीय सरकारको नजर च्यात्रा गाउँको उदाङ्गो टहरोमा परेन । स्थानीयले हारगुहार गरिरहे । टहरो निर्माण सुरु भएताका जन्मिएका बालबालिका ६ वर्षका भइसकेका थिए । उनीहरूले विद्यालय टेक्न पाएका थिएनन् । स्थानीयको छटपटी बढ्दै थियो ।

२०७८ वैशाखमा ‘गाउँगाउँमा सिंहदरबार’को नारालाई गिज्याउने च्यात्रा डाँडाको टहरो  शीर्षकमा हिमाल दर्पण मा समाचार प्रकाशित भएपछि गाउँपालिकाले भवन निर्माणमा तदारूकता देखाएकाे थियाे । विद्यालयका लागि गाउँपालिकाले प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी) शिक्षक  उपलब्ध गराउने भएपछि पालिकाको दुई लाख रुपैयाँ र स्थानीयको श्रमदानले विद्यालय भवनकाे अधुराे काम पुरा भएको हो ।

विद्यालय भवन बनिसकेपछि विप्लव नेतृत्वको (नेकपा)ले विद्यालयलाई फर्निचर उपलब्ध गराएका छन् । उनीहरूले बेन्च, कुर्ची, डेस्कटप टेबल आदि सहयोग गरेका छन् ।

नामकरणमा विवाद 

विद्यालयको नामकरणमा भने विवाद देखिएको छ । भवन निर्माणमा सहयोग गरेको (नेकपा)ले विद्यालयको नाम श्री प्रज्वल नमुना आधारभूत विद्यालय राखेको छ भने गाउँपालिकाले भने श्री बुद्ध बाल विकास केन्द्र नामकरण गरेको छ ।

विद्यालय स्थापनाको श्रेय लिन होड चलेपछि गाउँपालिका र (नेकपा)बीच विवाद देखिएको छ । संयुक्त रूपमा विद्यालयको उद्घाटन गर्न गत शुक्रवार (भाद्र ३ गते) च्यात्रा गाउँ पुगेका उनीहरू आ आफ्नै ढङ्गले कार्यक्रम गरेर फर्किएका छन् ।

विद्यालयको उद्घाटन गर्न पुगेका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)सहितको टोली औपचारिक कार्यक्रम नगरीकनै फर्किएकाे वडाध्यक्ष जीवन सिं तामाङले बताए  ।

(नेकपा)का नेता कार्यकर्ताले आफ्नै ढङ्गले विद्यालयको उद्घाटन गरेका छन् । विद्यालयको बोर्ड पनि राखेका छन् ।

 

हेर्नुहाेस् पहिलाे समाचार: 

‘गाउँगाउँमा सिंहदरबार’को नारालाई गिज्याउने च्यात्रा डाँडाको टहरो

सम्बन्धित समाचार