बुधबार , अषोज २, २०८१

‘फोहोर व्यवस्थापनमा अवरोध गर्न चरणबद्ध चलखेल भइरहेको छ’ -मेयर बालेन 

'कानुनी रूपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ' उनले भने ।

image

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको फोहोर व्यवस्थापनमा चरणबद्ध रूपमा अवरोध सिर्जना गरिरहेको बताएका छन् । गए राति बन्चरे डाँडामा भएको गाडी तथा फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूमा भएको तोडफोडलाई फोहोर व्यवस्थापनमा सिर्जना गरिएको पछिल्लो चलखेलको रूपमा महानगरले लिएको बताएका छन् ।

मेयर बालेनले भनेका छन्, ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँ-नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ । यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ ।’

फोहोर बोक्ने सवारी साधनको तोडफोड कानुनी हिसाबले पनि जघन्य अपराध भएको भन्दै अपराधीलाई कडा कारबाही गर्न महानगर स्पष्ट रहेको पनि उनले बताएका छन् । अपराधी पत्ता लगाउन र कारबाही गर्नका लागि महानगरले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिएका छन् ।

‘कानुनी रूपमा पनि फोहोर बोक्ने साधनहरूको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको छ ।’ बालेनले भने ।

सीमित व्यक्तिहरूको स्वार्थका कारण महानगरका लाखौँ जनताले दुःख पाइरहेको र अव यस्तो हर्कत सह्य नहुने बालेनले चेतावनी दिएका छन् ।

‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’ मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सोमबार राति बन्चरे डाँडामा फोहोर लगेर गएका १८ वटा टिपर गाडी र त्यहाँ रहेको अन्य साधनहरूमा तोडफोड भएको  छ । घटना कसले र किन घटायो भन्ने पत्ता लागि नसकेको बताइएको छ ।

सम्बन्धित समाचार