प्राकृतिक तथा धार्मिक रूपले ठूलो महत्व बोकेको यस ताल वरपर बनेका संरचनाले भने ताल वा दहको अस्तित्वमा चिन्ता प्रकट गरेको छ ।
काठमाडौंको किर्तिपुर नगरपालिकास्थित दक्षिणकाली जाने बाटोमा किर्तिपुर नगरपालिकाको कार्यालयदेखि चार किलोमिटर दक्षिण-पश्चिममा एउटा ताल छ । यस ताललाई स्थानीय भाषामा टौदह भनिन्छ । करीब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई भएको यस तालको सम्पूर्ण भाग आँखाले सजिलै हेर्न भने सकिँदैन । टौदहको बीचमा नाग मन्दिर रहेको छ । जसमा केही रूखहरू रहेका छन् ।
टौदह नेपाल भाषा बाट आएको शब्द हो । ‘टौ’ को अर्थ नाग र ‘दह’ को अर्थ पोखरी हुन्छ भने केही जानकारहरूका अनुसार “टौ” को अर्थ ठूलो र “दह”को अर्थ पानी जमेर बनेको पोखरी हुन्छ । यसरी हेर्दा टौदहको अर्थ नागराज बस्ने पोखरी सङ्ग नजिक देखिन्छ । टौदहमा निर्मित विभिन्न संरचना र मुर्तिहरू पनि नागसँग सम्बन्धित भएकोले पनि यो नागराजको पोखरी भन्ने किंवदन्ती अनुसार सजिलै मेल खान्छ ।
किंवदन्ती अनुसार टौदह बन्नुको पनि आफ्नै कारण देखिन्छ । “मञ्जुश्रीले काठमाडौंमा बस्ती बसाउन चोभारको डाँडो काटेसङ्गै काठमाडौ भित्र भएका माछा, भ्यागुता, सर्पहरू बग्न थाले । यसरी बग्नेमा नागहरू पनि परे । यसरी नागहरू सबै काठमाण्डौंबाट बगेपछि काठमाण्डौंलाई अनिष्ट हुने भन्दै कर्कट नागराजले मञ्जुश्रीलाई बिन्ती गरे, कर्कट नागराजको बिन्ती सुनेर काठमाण्डौंको भलो गर्नुको साथै नागराजलाई बास दिनका लागि टौदह निर्माण गरे । यसरी टौदह बनाउनका लागि मञ्जुश्रीले तीन पटक खनेर पोखरी बनाईदिए । यसरी तीन पटक फरुवा बाट खनेको माटो उत्तर तिर फाल्दा हाल ह्वाइट हाउस भनेर चिनेने बुस्टन डाँडो बन्यो र खनेको ठाँउमा टौदह बन्यो । जुन दहमा कर्कट नागराजलाई बस्न ठाउँ प्रदान गरियो ।”
रातो मछिन्द्रको जात्रा सङ्ग जोडिएको टौदह :
यसरी विभिन्न किंवदन्ती बोकेर बसेको टौदह रातो मछिन्द्रनाथको जात्रा (भोटो देखाउने जात्रा) सङ्ग पनि जोडिएको छ । किम्दबन्ती अनुसार कर्कट नागराजकी पत्निको आखाँमा समस्या आएर उनी साह्रै बिरामी भएछन् । अनेक उपचार गर्दा पनि निको नभएपछि उपचार गर्ने ठाउँ र विधि खोज्ने क्रममा नागराजले पाटनमा एक जान्ने नामी वैद्य छन्, उनले जस्तो नि रोग निको पार्छन् भन्ने सुनेछन् । र, अर्को दिन बिहानै नागराज ती वैद्यको घर पुगेछन् । श्रीमतीको अवस्थाको बेलि- विस्तारलाई आफूसँग जान आग्रह गरेछन् । नागराजाको आग्रह स्विकार्दै वैद्य नागरसङ्ग टौदह पुगेछन् र रानीको उपचार गरी दिएछन् ।
वैद्यको उपचारले रानी सन्चो भएपछि नागराजले खुशी हुँदै वैद्यलाई टल्किने भोटो प्रदान गरेछन् । भोटो सुन्दर चम्किलो रहेछ । वैद्य सधैँ त्यही भोटो लगाएर हिँड्न थालेछन् । वैद्यले लगाएको त्यो भोटो एउटा भुतले देखे छ । भोटो उसलाई औधी मन परेछ र उसले भोटो चोर्ने निर्णय गरेछ । एकदिन वैद्यले खेत खन्दै गर्दा भोटो निकालेर आलीमा राखेछन् । त्यसै बेला भुतले उक्त भोटो चोरेर भागेछ । चोरलाई खोज्दै हिँडेका वैद्य हरिशिद्दद्को जात्रामा पुगे छन् । त्यहाँ चोर भुतलाई भेटेछन् । भोटो मागे छन् । भुतले मेरो भोटो र वैद्यले मेरो भोटो भन्दा झगडा हुन पुगेछ । यसरी झगडा भएपछि जात्रा हेर्न आएका राजा सिद्विनरसिंहले भोटो पुजारीलाई दिएछन् र भनेछ्न्, ‘भोलि यो भोटो माग्न साक्षी लिएर जो आउँछ उसैलाइ दिनु ।’ राजाको यो निर्णय पछि वैद्य टौदह पुगि नागराजलाई सबै बेलिबिस्तार लगाई साक्षी बसिदिन आग्रह गरेछन् । नागराजले भनेछन् – ‘म भोलि सबैभन्दा अग्लो मान्छेको रूप लिएर त्यहाँ आउने छु । मलाई खोज्न राजा सङ्ग भेटाउनु म साक्षी बसिदिन्छु ।’ अर्को दिन वैद्य र नागराज दुवै जात्रामा पुगेछन् तर वैद्यले नागराजलाई चिन्न सकेनछन् । भोटो लिन पनि सकेनछन् । त्यस बेलादेखि पुजारीले यो भोटो कस्को हो भनी देखाउन थालेछन् र हाल सम्म यो भोटो कसैले आफ्नो हो भनी साक्षी नल्याएकाले प्रत्यक बर्ष भोटो जात्रा देखाउने गर्न थालियो भन्ने मान्यता रहेकाे छ ।
टौदह वरिपरीको माटो मलिलो र उब्जाउयुक्त भएकोले मानिसहरू दह वरिपरी बसोबास गर्न थाले र बस्ती बक्लिदै गयो । टौदह वरिपरी सिमसार थियो जहाँ धेरै धान फल्ने हुँदा काठमाडौं भरीलाई खान पुग्थ्यो । अहिले भने घर मात्र फलेका छन् । टौदह हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाकाे केन्द्र पनि हो । नागराजाको बास भएकाले टौदहमा नागपञ्चमिका दिन विषेश मेला लाग्छ । हिन्दु परम्पराअनुसार टौदहमा नाग पुजा गरिन्छ भने बौद्ध लामाहरू त्यहाँ अनुष्ठान गर्छन् । र, पुजा पछि माछा चढाउँछन् । टौदहमा चढाइएको माछा खान, बेच्न र मार्न नहुने, यदि यसो गरेको खण्डमा अनिष्ट हुने जनविश्वास रहि आएको छ ।
चरा प्रेमिका लागि अनुपम ठाउँ:
टौदह प्राकृतिरूपले महत्त्वपूर्ण ठाउँ हो । टौदहमा र यस वरपरको सिमसारमा आगन्तुक चराहरू आउने बस्ने र बचेरा कोरल्ने गर्छन् । हिउँदमा गर्मी छ्ल्न आएका आगन्तुक चराहरू केही समय यहाँ बसेर फेरि आफ्नै पुरानो ठाउँ फर्कन्छन् । पछिल्लो समय कंक्रीट लगायतका मानव निर्मित संरचना अत्याधिक बढेपछि चराहरूको बासस्थान र तालको प्रकृतिक स्वरूपमा समेत असर परेको विज्ञहरू बताउँछन् ।
खेतवारीमा विषादी प्रयोग हुँदा टौदहका माछा मर्न थाले:
२०७९ असार अन्तिम तिर नियमित भन्दा धेरै माछा टौदहमा मर्न थालेको देखिएकाे छ । दहमा नियमित औषत १५-२० माछा आफैं मर्छन् । दह संरक्षणमा खटिएका कर्मचरिका अनुसार ती माछा कालगतिले मर्ने गरेका थिए । तर, असार अन्तिम देखि साउन ५ गतेको बीचमा अत्याधिक माछा मरे । मरेका माछालाई गाड्न नै कर्मचारीलाई हम्मे हम्मे पर्यो । यसरी माछा मर्नुको पछाडी माछालाई घुम्न आउने प्रर्यटकले खुवाउने चारो हो या अरु कारण हाे त्याे भने थाहा हुन सकेन । दहमा खेत बारीको ढल मिसिएकाले भटमासको रस वा खेतमा प्रयोग गरेको बिषादी ढल मार्फत् तालमा पुगेकाले माछा मरेको स्थानीयको अनुमान छ । माछा मर्नुको कारण विषादी ठहर भएको छ तर कुन बिषादी हो र विषादी कसरी आयो भन्ने विषयमा खोजी भने भiरहेको छ । यसरी विषादी आउँदा दहका माछा, भ्यागुता, कछुवा, चरा तथा सर्पहरूमा पनि असर देख्न थालिएको स्थानीयहरू बताउँछन् ।
प्राकृति रूपमा अनुपम टौदह पाँचकुने देखिन्छ । दहको पश्चिमी कुनामा पानी निकासको व्यवस्था गरिएको छ । प्रर्यटकका लागि बस्ने बेन्चहरू राख्नुका साथै सानो बगैँचा समेत निर्माण गरिएको छ । प्राकृतिक तथा धार्मिक रूपले ठूलो महत्व बोकेको यस ताल वरपर बनेका संरचनाले भने ताल वा दहको अस्तित्वमा चिन्ता प्रकट गरेको छ ।