शुक्रबार , अषोज २५, २०८१

ढिच्क्याऊ : जाँड पुराण

पहिलो पटक पिएको थट्टी एमएल घाँटी पोल्दै छाती चिर्दै यो नली ऊ नली हुँदै बल्ल-बल्ल छिर्‍यो । दिमाग झम्म भयो, संसार रम्म बन्यो, आँखा डम्म बन्यो ।

image

केही खाएर या धोकेर ट्वाँ पर्ने भएरै ‘ट्वाँके’ भनेका होलान् भन्ने मलाई लाग्छ । लाग्छ हौ लाग्छ, पिए तपाईंलाई पनि लाग्छ । अर्को भाषामा भन्दा जड् यहाँ एक ठाउँमा नटिक्ने भएकाले नै जँड्याहा भनेका होलान् । खासमा रक्सी कुनै पनि जन्तुले आफ्नो इच्छाले खान या भनौँ पिउन सिकेको हुँदैन । यसमा अरूकै योगदान हुन्छ, पछि आफ्नो गोजीको योगफल सबै दान हुन्छ त्यो बेग्लै कुरा हो ।

म अझै सम्झिन्छु, सुरु-सुरुमा एउटा पियक्कडले मलाई सुकुटी र भट्ट खानु पर्छ टक्क भन्दै भट्टी छिराएको थियो । पापीको याद अझै आउँछ । झुरुम-झुरुम परेका सुकुटी चर्याम-चर्याम चपाउँदा त मजै आउँथ्यो गाँठे । बिस्तारै धोक्नेले एकदिन अलिकति धोकेर तँ पनि धोकुवा बन्छस् ? भनेर सोध्यो । मलाई पनि अमृत नै खान्छस् भनेर सोधेँ झैँ भयो । हानम् न त हानम् !! तान्दिम् न त तान्दिम् !! तर, थोरै है भन्दै नाक खुम्च्याउँदै घुट्क्याइदिएँ । पहिलो पटक पिएको थट्टी एमएल घाँटी पोल्दै छाती चिर्दै यो नली उ नली हुँदै बल्ल-बल्ल छिर्‍यो । दिमाग झम्म भयो, संसार रम्म बन्यो, आँखा डम्म बन्यो । त्यो छ नि एउटा गीत ‘आकाशमा उड्दै छु म, बादलमा डुल्दै छु म’ वाला महसुस भयो । र, यसरी ट्वाँकलाल बन्ने यात्रा सुरु भयो । गीत त निकै मिलाएरै बनाएका रहेछन् नि “पिउँदिन भन्दा भन्दै पिलायो साथीले, म छु भनी भरोसा दिलायो साथीले । ‘

त्यसपछि थट्टी बढेर सिक्स्टि, सिक्स्टि बढेर वान एट्टी, क्वाटर बढेर फूल अनि रणभूल् । यता झूल् उता झुल, हाफ सकियो खोइ ले न हौ फूल । ठाउँ-ठाउँमा पाइन्छन् यस्ता ट्वाँक पढाउने स्कुल । त्यसपछि भुटन, सेकुवा, छोइला, भट्ट बने साथी, मेरा होइनन् रक्सीका । रक्सी खानेका साथी चाँडो बन्छ भन्छन् नि । मेरा पनि भए, भट्टी-भट्टीमा, मदिराका पसल-पसलमा, सेकुवा कर्नरमा, भुटुवा सेन्टरमा । सुँगुर, खसी, बोका, माछा, राँगा के-के हो के-केसँग खाइयो, भनेर सोचेको, खाएको त उसले पो रहेछ । पछि बल्ल थाह भयो, लौ सत्यानाश ! सब स्वाहा भयो । मायालुलाई झैँ अब छोड्न नसकिने भएछ हौ साइँला । ख्याल-ख्यालैमा टुरु लभ पो बनिसकेछ । साँझ पर्नै नहुने, यादले कलेजो दुखाइहाल्ने, चिलाइहाल्ने । झ्याप्पसँग कोदोको नङ्ग्राले नकनाई आनन्दै नआउने भन्या । यसरी सुकुटीबाट सुरु गरेको जाँडले ढाड भाँचेर ढुकुटी रित्याउन थालेपछि बल्ल होस् आयो । तर के गर्नु बेहोस बन्ने आदत बसिसक्यो, उठिसक्यो, हिँडीसक्यो ।

‘रक्सी खाने मान्छे कहिल्यै झुटो बोल्दैन’ यो कुन महान् जँड्याहाले भनेको हो म जान्दिनँ । तर, मैले अक्सर भट्टीमा भोलि दिन्छु भनेर ढाँट्ने गरेको छु । ‘अन्तिम थोपा रक्सी आफ्नो गिलासमा राख्नाले छोरी हुन्छ’ भन्ने ज्ञान कुन मतुवा डाक्टरले दिएको हो मलाई थाह छैन । यी पियक्कडहरू कुन युनिभर्सिटीमा पढेर आउँछन् त्यो पनि थाह छैन । यिनीहरूलाई थाह भने हरेक कुरा हुन्छ । यिनीहरू कवि हुन्छन्, यिनीहरू अङ्ग्रेजी शिक्षक हुन्छन्, यिनीहरूले देश कसरी चलाउने भनेर जानेका हुन्छन्, यिनीहरूले हिटलर र यहूदीको युद्ध आफ्नै आँखाले देखेका थिए, यिनीहरू दुवै विश्व युद्धमा लडेका सैनिक हुन्, यिनीहरू क्रिकेट-फुटबल लगायत संसारका सबै खेलका प्रशिक्षक हुन्, यिनीहरूलाई सबै रोगको उपचार रक्सीले कसरी गरिन्छ भन्ने जानकारी हुन्छ, यिनीहरूलाई सबैको प्रेम कहानी थाह हुन्छ, यिनीहरूलाई ओसामा बिन लादेनको ठेगाना थाह थियो, यिनीहरूलाई अमेरिकाको अर्को कदम के हुन्छ भन्ने सबै थाह हुन्छ, यिनीहरूलाई सोधेपछि मात्र कलियुग सकिन्छ, यिनीहरूले एकपटक संसारको सबै पैसा कमाएका थिए, यिनीहरूसँग बिल गेट्स आए पनि भेट्ने फुर्सद हुँदैन.., कतिको मिल्यो/ मिलेन कुन्नि मिले ठिकै छ, नमिले के गर्ने जी-बबलाई सोध्नु होला ।

मैले या भनौँ अन्तर्राष्ट्रिय रक्सी खपत तथा अनुसन्धान विभागका कर्मचारीले रक्सी छोड्न नखोजेको भने होइन । प्रत्येक नयाँ वर्षमा रक्सी छोड्ने बाचा सबैले सधैँ गर्छौँ, त्यसलाई अन्तर्राष्ट्रिय रक्सी छोडौँ बाचा दिवसको रूपमा मनाउँदा फरक पर्दैन । कतिले यो दिवस आफ्नो जन्मदिनमा समेत मनाउन पाउनेछन् । यी रक्सी खपत तथा अनुसन्धान विभागका कर्मचारीले रक्सीसँग सितन बनाएर कति कसम खाए भन्ने कुरा जान्ने हो भने राती हुँदो तारा गन्नु । प्रेमिकाको टाउकोमा हात राखेर ‘अबदेखि खान्न’ भनेनन् कि घरि-घरि ‘आम्मा कसम !!’ खाएर पचाएनन् । ‘विद्या कसम’ त कति हो कति, भगवानलाई पनि लाज लाग्ने गरी भगवान कसम पनि गाउँको पियोर लोकलसँग स्वाँठ्ठ पारियो । आज छोड्छु भन्यो, साँझ पर्‍यो कि ‘होस् भोलिबाट खान्न बरु’ भन्ने लागिहाल्छ । केही सितन नहुँदा यिनै कसमहरूको मिठो सितनसँग पिउनुपर्ने हुन्छ, कम्ता गाह्रो छ ।

‘खासमा जँड्याहालाई हेप्नु पर्ने कुनै कारण भने भेटिँदैन हौ । दुनियाँका भट्टी, मदिरा पसल चलाइदिएका छन् । रक्सी उत्पादन गर्ने, ढुवानी गर्ने, मासु पसले दुनियाँको जहान छोरा-छोरी पाल्दिन लाई खाएको हो, रहरले हो र ?’ भन्दै थिए एकजना समाज सुधारक रक्स्याहा । कुरो ठीकै हो तर उनको लागि मात्र । उनीहरूले पाए भने संसारमा रक्सी भित्र्याउने पहिलो व्यक्तिलाई भगवान् बनाएर, उसको एउटा मन्दिर नै बनाइदिन्थे होलान् । उसको भजन या चालिसा लेखिदिन्थे होलान् । आफ्नो-आफ्नो धर्म हो, उनीहरूको रक्सी हो ।

बोलौँ भने धेर बोल्छ भनेर मात्र हो । नभए रक्सी र रक्स्याहाको महिमा गाएर कहाँ सकिन्छ र ? विजय शाही जस्ता हजार जनालाई एकै ठाउँमा राखेर हजार वर्षसम्म बयान गर्न लगाउँदा पनि गाह्रै पर्ला । पढ्नेको या सुन्नेको युग सकिएला, कलियुगमा थालेको ढली युग आइपुग्ला । त्यसैले आजलाई जाँड पुराण यति गरुम । थप्ने भए आउनुहोला….त्यहीँ क्या त !

सम्बन्धित समाचार