खिया लागेर रङ उडिसकेको उक्त रेल इन्जिन हाल सार्वजनिक शौचालय भएको छ । ग्यारेजको टायल फुटेको, भत्किएको छ ।
रेल सेवा नेपालमा चर्चामा आइरहने यातायातको साधन हो । विश्वव्यापीरुपमा रेल सेवाले दरिलो फड्को मार्नुका साथै विस्तारित सेवा दिँदै आएको छ, तर नेपालमा भने सो पाइँदैन ।
नेपालमा रेल सेवा चुनावताका घोषणापत्रमा हुलदङ्गा गर्दै आउँछ । ‘नेपाललाई विभिन्न देश जस्तो बनाउँछौ’ भन्दै घोषणापत्र तयार गर्ने पार्टी तथा नेताहरूले मोनो र मेट्रो रेलको सपना बाँड्न् कहिल्यै छुताउँदैनन् । सपनाहरू जेजस्तो बाँडिए पनि नेपालमा हाल एक रेल सेवा चलिरहेको छ- कुर्था, जनपुरधाम हुँदै जयनगरसम्म ।
करिब ३४.५ कि. मि. चलिरहेको यो रेल सेवाले भारत र नेपाललाई जोड्ने काम गरेको छ । विशेषगरि मिथिला पर्यटनमा प्रभावकारी टेवा पुर्याइरहेको छ । हालको रेल्वे सेवा चल्नु अघि पनि नेपालमा रेल्वे सेवा रहेको थियो ।
अब कुरा गरौ ती रेल सेवाको बारेमा,
नेपालमा रेल सेवाको इतिहास :
पछिल्लो समय नेपालमा रेलको धेरै चर्चा हुन थालेको छ । विगतमा रेल सञ्चालन भएपनि हाल सञ्चालनमा छैन । नेपालको पहिलो रेल नेपाल सरकार रेल्वे ७६२ एमएम न्यारो गेज हो । यो रेल सेवा सन् १९२७ मा सञ्चालनमा आएको थियो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौल–अमलेखगन्ज ३९ किलोमिटर रेल निर्माण गरेको थियो । यसले अमलेखगन्ज–भीमफेदी हुँदै काठमाडौंसम्मको पैदलयात्रा सहज बनाएको थियो । उक्त रेल बाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो । रक्सौल–अमलेखगन्ज रेल सन् १९६५ सम्म सञ्चालनमा थियो । महेन्द्र राजमार्गको सञ्चालनमा आएपछि यो रेलमार्ग इतिहास भइसकेको छ ।
रक्सौल–अमलेखगन्ज रेल सेवा :
तत्कालीन ब्रिटिस शासक ब्रिटिस इस्ट इण्डिया कम्पनीले वि.स. १८८४ मा जनकपुर महत्तोरीको जङ्गलबाट गोलिया काठ ओसार्नका लागि रेल्वे सेवा सुरु गरेका थिए । जुन रक्सौल–अमलेखगन्ज रहेको थियो । नेपालको तराईमा रहेका बलिया रुख काटी ती रुखको गोलिया भारतमा बेच्ने कार्यका लागि यो रेल्वे सेवा सुरु भएको थियो ।
यो रेल सेवाको प्रमुख उद्देश्य भनेको काठ ओसार्नु मात्र रहेको थियो । त्यो समय स्टिम इन्जिन (वाष्प इन्जिन) रेल चल्ने गर्दथ्यो । जसमा १२ वटा कोत र ४२ वटा सम्म डिब्बा हुने गर्दथे । भारतमा स्वतन्त्र भारत आन्दोलन चलेसँगै यो रेल सेवा बन्द भएको मानिन्छ ।
जनकपुर-जयनगर रेल सेवा :
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले वि.सं. १९८४मा जनकपुर-जयनगर रेल सेवा विस्तार गरे । जुन रेल सेवा ५३ कि.मि. आसपास लम्बाई रहेको थियो । त्यो समयमा भारतसँग प्रत्यक्ष सम्पर्कको माध्यम भनेको यहि रेल सेवा रहेको थियो । तत्कालीन राजा त्रिभुवन राजा हुँदाको समय वा वि.सं. २०१३ सम्म भारतसँग प्रत्यक्ष सम्पर्कको माध्यम नै यहि रेल सेवा थियो । वि.सं. १९९९ मा आएको बाढीले विधि पुलमा क्षति गर्दा यो रेल्वेको दुरि घटेर २९ कि.मि. मा सीमित भएको थियो । नेपालको एक मात्र रेल्वे सेवाको नियमित मर्मत संम्भार नहुँदा उक्त रेल जीर्ण हुँदै गएपछि वि.सं. २०२२ मा बन्द भएको हो ।
संरक्षण कुरिरहेको जीर्ण रेल :
नेपाल रेल्वेको इतिहास बोकेको पुरानो रेल हाल संरक्षणको पर्खाइमा रहेको छ । जुद्ध शमशेरको पालादेखि सुरु भएको यो रेल बन्द हुनुपूर्वसम्म नेपाल र भारतलाइ जोड्ने गर्दथ्यो । यी दुई देशका हजारौ यात्रुलाई सेवा दिइसकेको यो रेल अहिले प्रयोजनविहिन बनेको छ । जनकपुरधाम रेल्वे पेल्टफर्मको अगाडिपट्टि एक जीर्ण ग्यारेजभित्र एक इन्जिन थन्किएको छ भने अर्को इन्जिन ग्यारेजको बाहिर रहेको छ । खिया लागेर रङ उडिसकेको उक्त रेल इन्जिन हाल सार्वजनिक शौचालय भएको छ । ग्यारेजको टायल फुटेको, भत्किएको छ । ग्यारेजभित्र अनेक बिरुवा उम्रिएर एक जङ्गल जस्तो बनेको छ । रेलको लिक पुरिएर शेष भेटिदैन । खिया लागेको पुरानो रेलको इन्जिन रुग्ण रेल सेवाको इतिहास बोकेर रहिरहेको छ ।
रेल्वेको इतिहास तत्कालीन समयमा नेपालमा चल्ने रेल सेवाको बारेमा बुझ्न र अध्ययन गर्नका लागि एक उपयुक्त गन्तव्य हुनुपर्ने यो रेल्वे, शासक र स्थानीय तहको नजर नपुग्दा माटोमै विलीन हुन थालेको छ ।
नेपालमा नयाँ (दोस्रो वा तेस्रो) पल्ट रेल्वे सेवा सुरु भइसकेपछि सबै मिडिया र सम्बन्धित क्षेत्र नयाँ रेल्वेलाई प्राथमिकतामा राख्न थालेपछि पुरानो रेल्वे सेवाको इतिहास छायाँमा परिरहेको छ । स्थानीय सरकारले उक्त पुरानो रेल्वे सेवालाई संरक्षण गरि पर्यटन प्रवर्द्धन गर्नुका साथै रेल्वेको इतिहास अध्ययन गर्ने थलोको रुपमा विकास गर्न सकिन्छ ।