जुम्लामा गोर्खाली फौजले बारम्बार धाडो हाल्ने (लुट्ने) गरेको जनश्रुति छन् । लुटबाट बच्न उतिबेला खाल्डोमा लुकाइएका बहुमुल्य गाडधन अचेल भेटिन्छन् ।
सन्दर्भ
सभ्यता भनेको उच्च सामाजिक, सांस्कृतिक तथा प्राविधिक विशेषतासहित विकसित भएको मिश्रित मानव समाज हो । मानवले फिरन्ते युगबाट सगोलमा बस्ने आवश्यकता महशुस गरेसँगै संसारका विभिन्न ठाउँमा शुरुवाती सभ्यताहरू विकास हुनथाले । मानवशास्त्रीय मान्यताअनुसार सांस्कृतिकरुपले राम्रा ठानिएका समाजलाई ‘सभ्य समाज’ भनियो । संस्कृति र सभ्यता जोडिएका अवधारणा हुन् तर सबै समाजमा रहेका संस्कृतिहरू सभ्यता बन्दैनन् । सांस्कृतिक रुपले उन्नत र नैतिक रुपमा असल समाजमा विकसित संरचना, संगठन र गतिविधिहरूलाई सभ्यता भनेर चिनियो । सभ्यता निर्माण हुनका लागि शहर वा बस्तीमा बनेको, जीविकाको लागि श्रमको बाँडफाँड भएको, शासकीय संरचनामा बाँधिएको, लिपी, व्यापार, कला र स्मारक, प्राविधिक विज्ञता आदि हाँसिल भएको हुनुपर्छ । शुरुवाती सभ्यताहरू प्रायजसो नदी किनारमा विकसित भएका पाइन्छन्, जस्तोः मानसरोवरबाट उद्गम भएका नदी प्रवाह क्षेत्र आसपास विकसित वैदिक गंगा सभ्यता र प्राचीन सिन्धु सभ्यताजस्ता पूर्वीय सभ्यताहरू । हरेक सभ्यताहरू आफ्नो साम्राज्य भित्र विकसित हुने र कतिपय सो सामाज्यको आयुसँगै विलय हुन्छन् । पश्चिमा सभ्यताहरुको एक अध्ययनअनुसार औसत ३३६ वर्षमा सभ्यताको अन्त्य भएको पाइन्छ । प्रतिकुल जलवायु, वातावरणीय परिवर्तन खडेरी तथा महामारीलगायत विपद, भूकम्प, बाढीजस्ता दैवीप्रकोप, आर्थिक तथा राजनीतिक असन्तुलन, आन्तरिक द्वन्द र बाह्य आक्रमण जस्ता कारणले सभ्यताहरु नाश हुन्छन् । तथापी चीन र इजिप्टका प्राचीन केही सभ्यताहरु भने पुनः विकसित, परिमार्जित र रुपान्तरण भएका पनि छन् ।
कर्णाली क्षेत्रको इतिहास अध्ययनको अवस्था
नेपालको सन्दर्भमा हाम्रो राष्ट्रियतालाई एकसुत्रमा बाँधेर मौलिक पहिचान दिने आधार निर्माण गरेको कर्णाली क्षेत्रमा विकसित खस सभ्यताको बारेमा अति कम चासो र चर्चा भएको छ । सदियौंदेखि तत्कालीन शासक र शासकीय संयन्त्रको अदुरदर्शिता तथा संकृणताले सिर्जिएको भू-राजनीतिक असन्तुलन र विभेदका कारण नेपालमा प्रजातन्त्र नआउन्जेल कर्णाली क्षेत्रको इतिहासबारे विश्वजगत अनभिज्ञ थियो । जुम्लाक्षेत्रमा गोर्खालीे विजयपछि काठमाडौंले शासन गर्न बडाहाकिमहरू खटाई रह्रयो तर इतिहास र सम्पदा संरक्षण गर्न भने चासो दिएन । केही विदेशी लेखक, बाबुराम आचार्य, नयराज पन्तहरूले पश्चिम नेपालको इतिहासबारे थोरै उल्लेख गर्ने प्रयास गरेका भएपनि यस क्षेत्रको वास्तविक अन्वेषण योगी नरहरिनाथको सत्प्रयासबाट वि.सं. २०१२ सालमा प्रारम्भ भयो । योगीले कुनाकन्दरामा पुगी संकलन गरेका दस्तावेजहरू प्रकाशन गरेपछि मात्र समकालीन नेपाली विद्वानहरूलाई खस साम्राज्यको अस्तित्वबोध भयो । त्यहि समयमा वि.सं. २०१३ सालतिरै इटालीका इतिहासकार प्रोफेसर जिसेफ टूचीले डोल्पा, तिब्रिकोट जुम्ला, दुल्लु सुर्खेतको अन्वेषण यात्रा गरेर आफ्नो अवलोकनको वर्णन ‘प्रलिमिनरी रिपोर्ट अन टू साइन्टिफिक एक्सपिडिसन इन नेपाल सन् १९५६’ रोमबाट छापे । यसले विश्वको प्राज्ञिक वर्गलाई कर्णाली क्षेत्रको इतिहासबारे चासो बढयो ।
वि.सं. २०१० को दशकको मध्यतिर नेपालमा विकसित प्राज्ञिक अभिरुचीले नेपाल साहित्य कला प्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालय जस्ता संस्थाहरु स्थापना भई बाह्य प्राज्ञिक संस्थाहरूसँग समन्वयमा अध्ययन अनुसन्धानको परम्परा भित्रियो । तथापी कर्णाली क्षेत्रको थप अध्ययन अनुसन्धानका गतिविधिहरू भने वि.सं. २०२० को मध्यतिरबाट शुरु हुन थाल्यो । त्यसयता, कयौं नेपाली तथा विदेशी विद्वानहरूले कर्णालीक्षेत्रको इतिहासबारे अध्ययन तथा प्रकाशन गरेका छन् । अध्येताहरू जस्तै: चुडामणी बन्धु, जनकराज शर्मा, धनवज्र बज्रचार्य, प्रयागराज शर्मा, पूर्णप्रकाश नेपाल ‘यात्री’, बालकृष्ण पोखरेल, बिहारीकृष्ण श्रेष्ठ, बेरी सि विसप, मोहनबहादुर मल्ल, मोहनप्रसाद खनाल, राजाराम सुवेदी, रामविक्रम सिंजापति, स्थीरजंगबहादुर सिंह, सत्यमोहन जोशी, सुर्यविक्रम ज्ञवाली, सुर्यमणी अधिकारी आदि र स्थानीय अध्येताहरू: भीमप्रसाद श्रेष्ठ, रत्नाकर देवकोटाहरूले विविध आयामबाट गरेका खस साम्राज्यकालीन इतिहास, पुरातत्व, भाषा, धर्म, कला, साहित्य, लोकसंस्कृति र सामाजिक व्यवस्थाको अध्ययन निष्कर्षले जुम्लाको सिंजामा केन्द्र रहेको शक्तिशाली खस साम्राज्यको प्रभाव क्षेत्रमा ‘खस सभ्यता’ विकसित भएको प्रमाण पाईन्छ ।
खस सभ्यताको निर्माण
खस सम्राज्यको शुभारम्भ नागराजको शासनकालबाट शुरु भएको मानिन्छ । इतिहासकारको मतअनुसार तिब्बतमा दिक्षित नागराजले सुरुको केही अवधि ताक्लाकोटबाट राजकाज चलाए र त्यसपछि बाह्रौँ शताब्दीको मध्यम् अर्थात ११५० आसपासदेखि सिंजा उपत्यकालाई राजधानी बनाएर शासन शुरु गरे । उनी पछिका पराक्रमी राजाहरू: क्राचल्ल, अशोकचल्ल, जितारीमल्ल, रिपुमल्ल, आदित्यमल्ल, पुण्यमल्ल र पृथ्वीमल्लले खस सामाज्यलाई कुशलतापूर्वक विस्तार गरे। पन्ध्रौँ शताब्दीको पूर्वाद्ध अर्थात वि.सं. १४५० ताका सम्राट अभयमल्लको पालासम्म खस साम्राज्य कायम रह्यो । यहाँको नदीप्रवाह क्षेत्रका प्राकृतिक श्रोत सम्पन्न सानाठूला उपत्यकाहरू समेटेर निर्माण भएको राज्यमा शासकीय संरक्षण र प्रोत्साहन पाएर अनेक विशिष्ठताहरू फस्टाए । भाषा, भेषभुषा, धार्मिक आस्था, कला, संस्कृति, सीप, शासकीय पद्धतिमा मौलिक विशेषताको विकास भयोे । पृथ्वीमल्लको शासनकालसम्म खस सभ्यता उत्कर्षमा पुगेको मानिन्छ ।
पाँचौ शताब्दीबाट खसहरू पश्चिम पहाडमा प्रवेश गरेको अनुमान छ । नागराजको शासन अन्तर्गत आउनु अघि कर्णाली क्षेत्रमा पाल वंशको शासन प्रभाव थियो । त्यतिबेलासम्म खसआर्य जाति माझ विकसित भइरहेको सांस्कृतिक मौलिकताले संगठित र परिस्कृत हुन पाइसकेको थिएन । बाह्रौं शताब्दीमा आएर खस साम्राज्यको शासनकालमा यसले विकास र विस्तार हुने अवसर पायो ।
खस सभ्यताका विशेषताहरू
केही प्रमुख सभ्यताको अध्ययनअनुसार एउटा परिष्कृत सभ्यता निर्माणका लागि ‘बृहत जनसांख्यिक केन्द्र, पुरातात्विक स्मारक र विशिष्ठ कला शैली, संचारका रणनीतिहरू, प्रशासनिक प्रणाली, श्रमको बाँडफाँड, सामाजिक र आर्थिक वर्ग निर्माण र धार्मिक तथा सांस्कृतिक विशिष्ठता’ जस्ता प्रमुख विशेषताहरू हुन्छन् । खस सामाज्यमा पनि यस्ता विशेषता सहितको ‘सभ्य समाज’ निर्माणको लागि असल अभ्यास तथा नवीन शुरुवातका प्रशस्त आधारहरू भएको उदाहरण पाइन्छन् । तिनीहरूलाई छोटकरीमा तल व्याख्या गरिएको छ ।
१).केन्द्रिकृत सत्ता र विकेन्द्रित शासन व्यवस्थाः साम्राज्यलाई अक्षुण राख्न सिंजाबाट सन्चालित केन्द्रीय शासनका मातहतमा शक्ति सन्तुलनका लागि सामन्तमार्फत स-साना प्रशासनिक इृकाईबाट विकेन्द्रित सत्ताको अभ्यास गरिएको थियो । गण्डकीमा गुरुङ, मगरातमा मगर, खारी (तिब्बत) मा लामा, केदारखण्ड (कुमाउँ गढवाल)मा राउतले सामन्त भएर शासन गर्थे । स्पष्ट जिम्मेवारी सहितको प्रशासनिक ढाँचाको विकास भएको थियो । राजा, राजकुमार, मण्डलेश्वर, आमात्य, सेनापती, राजगुरु जोईसी, सामन्त जस्ता उच्चपदस्थहरू थिए भने विभिन्न स्थानमा भण्डारी, अडै, अधिकारी, कार्की, लेखक, भट्ट, बुढथापा, थापा, खड्का, राना, बुढाथोकी, महतारा, रोकायाजस्ता पदाधिकारी मार्फत प्रशासन चल्थ्यो । यिनै सरकारी दर्जाहरूबाट कतिपय खसआर्य जातिको थरको उत्पति भएको छ ।
२) सैन्यशक्ति निर्माण र परिचालन पद्धतिको विकासः शान्तिकालमा प्रशासन व्यवस्था समेत हेर्ने गरी महामण्डलेश्वर अन्तर्गत सेनापतिहरूको व्यवस्था थियो । भाला खड्ग र पास चलाउने कौशल भएका ‘पैकला यौद्धाहरू’ थिए । युद्ध प्रयोजनका लागि घोडाको उपयोग हुन्थ्यो । घोडाहरु प्रायः तिब्बतबाट ल्याईन्थे भने केही नश्लहरू अफगानिस्तानबाट समेत ल्याएको इतिहास छ । स्थानीय जुम्ली घोडाहरू पनि असल जातका थिए । यातायात र युद्धसाधन कम भएको युगमा सिपालु अश्वारोही सेना भएकोले खस साम्राज्यलाई हिमाल वारपार फैलिन सहज भएको अनुमान छ ।
३) न्याय व्यवस्था र न्यायिक परम्पराः राजा सर्वोच्च न्यायाधिकारी हुन्थे भने विभिन्न दरा र क्षेत्रमा तोकिएका अधिकारीले न्याय सम्पादन हेर्ने व्यवस्था थियो । त्यतिबेलाका दानपत्रहरूमा डण्डकुण्ड, पेटाली, मुडाली, जीउ, चोरी, जारीमा सजायको उल्लेख पाइन्छ। खस राजाहरू बौद्ध दर्शनबाट दिक्षित भएकाले सहिष्णुता र सहनशीलता सिद्धान्त अनुशरण गर्थे । रिपुमल्ललाई ‘न्याय गर्नमा धर्मराजसमान’ भनेर कुमाउँको अभिलेखमा लेखिएको छ।
४) सामाजिक व्यवस्थाः खस साम्राज्य स्थापनापूर्व पश्चिमी भागबाट फैलिँदै पसेका जाति र यतै बसोबास गर्ने खसजातिहरू माझ अन्तरघुलनले विकसित सामाजिक संगठनहरू नै सामाजिक वर्ण व्यवस्थाका आधार बने । विभिन्न लिखतहरूमा ब्रह्मण, क्षेत्री, शुद्रको जातिको उल्लेख भएको पाइन्छ । जातिअनुसारको श्रमको बाँडफाड गरिएको थियो । राजदरबारसँग पहुँच हुने जातिहरू राज्य संयन्त्रका पदाधिकारी बने । सम्राट र सामन्तबाट प्राप्त दान, विर्ताको जमीनमा नयाँबस्तीहरू विस्तार भए । यसरी बसेको गाउँ र अन्य ठाउँका नाउँबाट कतिपय खसआर्य थरहरूको उत्पति भएको मानिन्छ । यस्ता गाउँहरुहरु जुम्ला, मुगु, दैलेख, कालिकोट, अछाम, बाजुरा, डोटी, बझांग, रुकुममा छन् ।
५) मौलिक भाषाको विकास र विस्तारः खस साम्राज्यकालमा स्थानीय बोलिचालीको खसजुम्ली भाषा सरकारी लेखापढी र सम्पर्क भाषा बन्यो । राजकीय आदेश, दानपत्र र कीर्तिस्तम्भमा लिपीबद्ध भएर संरक्षित भयो । अशोकचल्ल (बिसं. १३१२ देखि १३३५)पालाको दुल्लुको शीलालेख तथा हुम्लाको रेलिंग गुम्बामा रहेको ताम्रपत्रलाई नेपालीभाषामा लेखिएका प्राचिनतम अभिलेख मध्ये मानिन्छन् । त्यसयता खसभाषामा लेखिएका वीरस्तम्भ, शिलापत्र, ताम्रपत्र, कनकपत्र, त्रिशुललेखनले यस क्षेत्रमा पूर्ण विकसित लेख्य परम्परा रहेको प्रमाण मिल्छ । शुरुवाती केही अभिलेखमा तिब्बती रञ्जना लिपीको प्रयोग पनि पाईन्छ । संरक्षण परम्परा नहुँदा पुस्तकको रुपमा खस साम्राज्यको साहित्य र गैरआख्यानहरु भने भेटिदैन । विभिन्न जातजातिका मानिसहरुबीच कारोबार तथा बोलचाल सम्पर्कको लागि खसभाषा उतिबेलै गण्डकी लगायत नेपालको पूर्वी क्षेत्रमा विस्तार भइसकेको थियो ।
६) सामाजिक आस्था र धार्मिक अवस्थाः कैलाश पर्वत र मानसरोवरको महत्वले गर्दा प्राचीनकालदेखि नै खस अधिराज्यमा हिन्दु र बौद्ध अनुयायीहरूको बसोबास थियो । दुबै परम्पराको अन्तरक्रियाबाट मिश्रित सहिष्णु सामाजिक आस्थाहरू विकसित हुन गयो । प्रसिद्ध बौद्ध अनुयायी दीपंकर श्रीज्ञान (अतिशा)ले बोधगया, सारनाथ, कुशीनगरबाट सुर्खेत, सिंजा, खोजरनाथ हुँदै ल्हासासम्म गरेको धर्मयात्राले यो बाटोलाई तीर्थयात्रामार्गको रुपमा प्रख्यात गराएको हो । त्यस्तै, शंकराचार्यको धार्मिक अभियानले केदारखण्डमा ल्याएको हिन्दुमतको पुनरुत्थानको प्रभाव क्षेत्र विस्तार भइरहेको थियो । खस सम्राटहरू बौद्ध दर्शनबाट दिक्षित थिए । पश्चिमी तिब्बतमा उत्कर्षमा रहेको गुगे सभ्यतासँग साक्षात्कार थिए । त्यसैले यसक्षेत्रका बौद्ध मूर्ति, प्रतिमा र कलाहरू प्रशस्त पाईन्छन् । बद्रीनाथ, मुक्तिनाथ, खोजरनाथ, छायानाथ आदि त्यसबेलाका प्रमुख तीथस्थलहरू थिए ।
७) कृषि, पशुपालन, उद्योगधन्दा, व्यवसायजस्ता आर्थिक गतिविधिः खसभूमीको मूलथलो कर्णाली, भेरी, सेती र महाकाली र स-साना सहायक नदीहरूले बनाएको हिमाली-पहाडी भू-भाग हो । यिनै नदी किनारका स-साना फाँट र उपत्यकामा खेतिपाती गरिन्थ्यो भने उच्च भेकमा पशुपालन गरिन्थ्यो। भू-स्वामित्वलाई सामाजिक प्रतिष्ठाको मापदण्ड मानिन्थ्यो । त्यसैले विर्ता र जागिरमा जमीन दान पाउनु शक्ति र सामर्थ्यको प्रतीक थियो। सेराखेत र गुठीखेतमा राजदरबार र मठमन्दिरको खेती हुन्थ्यो । चौँरी, भेडा, घोडा, बाजपालन आयआर्जनका व्यवसायिक श्रोत थिए । ऊन उत्पादनको केन्द्र थियो । घरेलु तानमा राडीपाखी, कम्बल, लिऊ, फेरुवा बनाइन्थे भने रुवा (कपास)को धागोबाट ठेटुवा कपडा बुनिन्थ्यो । स्थानीय खानीको तामा र फलामको प्रयोग गरी भाँडाकुँडा, शस्त्र, औजार र उपकरणहरू बनाइन्थ्यो । हिमाल वारपार व्यापारको लागि मुस्ताङको लोमान्थाङ, मध्यको ताक्लाखार र पश्चिम टिकर भन्ज्याङहरू सन्चालनमा थिए । वस्तु विनिमयका लागि नापतौलको ईकाई- मुठी, माना, पाथीको प्रचलन थियो ।
खस सभ्यताको विस्तार
माथि उल्लिखित विशेषताका आधारमा खस एक पूर्ण विकसित सभ्यता हो भन्न सकिन्छ । कुनैपनि सभ्यता विस्तार हुनको लागि युद्ध वा द्वन्द्व, व्यापार र अन्वेषणजस्ता तत्वहरूले भुमिका खेल्छ । खस सभ्यताले पनि यस्तै अवसर पाएर विस्तारित भएको थियो । ति तत्वहरूलाई निम्न उदाहरणहरूमा वर्णन गर्न सकिन्छ ।
पहिलो, खस साम्राज्यको राज्य विस्तारका क्रममा खस सभ्यता पनि फैलियो । अशोकचल्लको पालासम्म पश्चिममा गढवाल, कस्मिर, लद्दाख दक्षिणमा बोधगयासम्म फैलिएको थियो । वि.सं. १२५० पछि उत्तरभारत मुसलमान आक्रमणले ल्याएको उथलपुथलले बोधगया लगायत केही क्षेत्र लामो समयसम्म टिकेनन् । त्यसैले यहाँ खस सभ्यताको प्रभाव दीगो भएन । तर बाह्रौँ र तेह्रौँ शताब्दीमा पूर्वतर्फ गण्डकी क्षेत्रमा भएको विस्तारले पकड बनिरह्यो । चौधौँ शताब्दीमा काठमाडौंलाई समेत आफ्नो प्रभावमा ल्याउन सफल भयो । वि.सं. १३४४ देखि १३९१ सम्म जितारीमल्ल, रिपुमल्ल, आदित्यमल्ल र पृथ्वीमल्लले काठमाडौं उपत्यकाका सबै राज्य जितेर, सो वापत खस साम्रज्यलाई नियमित कर तिर्ने चलन बसाए । खस राजाले उपत्यकामा स्वयम्भूनाथ, बौद्धनाथ, मच्छिन्द्रनाथ, पशुपतिनाथको पूजा गर्थे । खस राज्य विस्तार सँगै बाह्रौँ र तेह्रौँ शताब्दीमा गण्डकी क्षेत्रतिर खस भाषा र संस्कृति पनि फैलिन गयो भने चौधौं शताब्दीमा उपत्यका र आसपासको युद्ध र विजयसँगै बसोबास पनि विस्तार भयो ।
दोस्रो, बाह्रौँदेखि पन्ध्रौँ शताब्दीसम्म यस क्षेत्रमा सिल्करोड विकसित भएको थियो । खसराज्यको उत्कर्ष अवधिमा बनेका बाटाहरूल चौडा ‘राजमार्ग’ आकारका थिए । मार्गभरी यात्रुका निम्ति बस्ने र पानी खाने सुविधा ‘नाउली’ बनाइएका थिए । खस साम्राज्य अवधिभर कर्णालीखण्डको सिल्करोड भारत र तिब्बत बीच बौद्धमार्गको रुपमा चलेको थियो । यी मार्गका अवशेषहरु आज पर्यन्त भेटिन्छन् । बाटोमा भेटिने पुरातत्विक सम्पदाहरोऊ, बौद्ध मुर्ति, मन्दिर, शिलालेख, स्मारकले यो बाटो नियमित प्रयोग भइरहेको बुझिन्छ । राजमार्ग र बाटो बनाएर हिमाल वारपारको व्यापार फस्टाएको थियो । राजकाज सुविधाको लागि कैयौँ आन्तरिक बाटोहरू बनाएर सिल्क रोडसँग जोडिएका थिए । शासन सन्चालनका लागि ससाना केन्द्रहरू बनेका थिए । आन्तरिक व्यापार र आवागमनका लागि भरपर्दा बाटाघाटा र बसोबासका व्यवस्था गरिएका थिए । बाटोमा ढुंगेसाँघु, धर्मशाला, मुग्राँहा (धारा) बनाएर व्यवस्थित गरिएको थियो । नेपालका पहाड, मधेस र भारतीय शहरमा घोडा, बाज, कस्तुरी, ऊनीका कपडा लिएर व्यापारीहरु जान्थे ।
तेस्रो, खस साम्राज्यमा ब्राह्मण, पण्डित, भिक्षु, साधुसन्त, महात्माहरूको महत्व थियो । उनीहरुलाई आमन्त्रण र सम्मान हुने परिपाटीको विकास भएको थियो । त्यस्तै ज्ञान सीपयुक्त दक्ष कालिगढ ल्याएर विभिन्न राजनीतिक आध्यात्मिक संरचनाहरुको निर्माण गरिएका थिए । पथ्थरले बनेको यस्ता पुरातात्विक महत्वका देवल, स्तुप, मन्दिर, स्तम्भ, कुवा आदि कर्णाली प्रदेशका भूभाग र बस्तीहरुम अहिलेसम्म यत्रतत्र भेटिन्छन् । धातु र काठबाट बनेका कलाकृतिहरु भने हराए वा लोप भैसके । कर्णाली प्रदेश विभिन्न खसआर्य जातिरूको उद्गमस्थल हुनुका साथै उनीहरूले मान्ने, विश्वासगर्ने सांस्कृतिक परम्परा मष्टो संस्कृतिको केन्द्र पनि हो । मष्टो उपासनाको परम्परा वैदिक सभ्यतापूर्व धर्म हो । यो हालसम्म लिखित परम्परा नभेटिएको तर नभूलिएको अति प्राचिन संस्कृति हो । मष्टो संस्कृतिे खसआर्य परम्पराको अभिन्न बनेको थियो, जुन अझैसम्म कायम छ ।
खस सभ्यताको अवसान
शासन व्यवस्था कमजोर हुँदै जाँदा आन्तरिक कलह बढ्छ भने दुश्मनको अतिक्रमण पनि थपिन्छ । युद्धकालीन अतिक्रमणको निशाना राज्यका ऐतिहासिक र संस्कृति धरोहरहरू पर्छन्। खसराज्यको अन्तिमतिर अभयमल्लपछि वि.सं. १४५० मलैबम्म राजा भए । त्यो बेलासम्म विशाल खस साम्राज्य खुम्चिन थालिसकेको थियो । उनले आफ्नो राज्यलाई चार भागमा बाँडेर आफ्ना छोराछोरीलाई रेखदेखको जिम्मा दिए । उनले छोरीलाई कालैंगाउँ क्षेत्र (हालको मुगु), जेठा छोरालाई सल्यान क्षेत्र, माहिला छोरालाई जुम्ला क्षेत्र (जो पछि जाजरकोट गएर बसे), साहिला छोरालाई धौलकोट (हालको सुर्खेत) र कान्छा छोरालाई दैलेख भाग लगाए । त्यही कदम लेखस साम्राज्यको अन्त्य र कालान्तरमा बाइस्सी लगायत कैयौँ ससाना राज्यको विजारोपण हुन्छ ।
सल्यान टुक्रेर माल्नेटा, फलाबाङ सहित तीन टुक्रा बन्यो । जाजरकोट टुक्रेर जहारी, रुकुम, बाँफी, मुसिकोट र गोताम राज्य बने । रुकुमबाट फेरी छुट्टै दार्माराज्य पनि बन्यो । यसरी बनेका अनेक ससाना टुक्रेराज्यहरूबीच आपसमा झै-झगडा भइरहने, एकअर्कामा विश्वासको कमी हुने, साना राज्य र कमजोर सामर्थ्यको कारण शासनसत्ता केवल परिवार र आसेपासे भित्र सिमित हुनगयो । यो क्रम गोर्खालीहरू राज्यमा गाभिने बेलासम्म कायम रह्यो ।
यसरी टुक्रेर कमजोर बनेका बाइस्सी राज्यमा खस साम्राज्यका धरोहरको संरक्षण र संवर्द्धन गर्ने चासो र समार्थ्य थिएन । खस मल्लकालीन समयपछि पनि कतिपय ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वका संरचनाहरू बने तर, तिनीहरूमा न कलाकारिता छ न त आकर्षक नै छन् ।
जुम्ला र आसपास गोर्खा राज्यमा गाभिएको १६० वर्षसम्म पनि कर्णालीमा इतिहास तथा सांस्कृतिक महत्त्वका काम भएको प्रमाण मिल्दैन । बरू यही अवधिमा भएका संरचनाहरू लुटिए, भत्किए, हराए र लोप भए । जुम्लामा गोर्खाली फौजले बारम्बार धाडो हाल्ने (लुट्ने) गरेको जनश्रुति छन् । लुटबाट बच्न उतिबेला खाल्डोमा लुकाइएका बहुमुल्य गाडधन अचेल भेटिन्छन् ।
खस साम्राज्यको विलयसँगै कर्णाली क्षेत्र क्रमशः बाहिरी सम्पर्कबाट अलग्गिन थाल्यो । वि.सं. १५६२ मा कर्णालीमै केन्द्रविन्दु भएको ८.८ रेक्टरको भुईंचालोले सबै संरचनाहरू ध्वस्त भएको अनुमान गर्न सकिन्छ । तिब्बतको सम्पर्क टुटेसँगै स्थापित आर्थिक र सामाजिक प्रणालीहरू अवरुद्ध भए । जनताको समग्र राजनीतिक, सामाजिक र आर्थिक हैसियत कमजोर हुँदै गएर विपन्नतातिर मोडियो । त्यसयताका सबै शासन व्यवस्थामा यो क्षेत्र झन अलग्गिँदै झन्झन् दुर्गम र जर्जर बन्यो । यसरी थिच्चिएका यहाँका बासिन्दाहरू प्रजातन्त्र आइसकेपछि पनि बाहिरीया मान्छे र विदेशीहरू माथि विश्वास गदैन थिए । त्यसैले धेरैजसो कर्णाली वासिन्दाको सिंगो नेपालको राज्य र राष्ट्रियताको अवधारणासँग अपनत्वबोध नहुनु कुनै अनौठो होइन ।
निष्कर्ष
तीनसय वर्ष हाराहारी चलेको खस साम्राज्यमा पूर्ण विकसित एउटा सभ्यताका कयौँ विशेषताहरू केही परिमार्जन र परिष्कृत हुँदै वर्तमान नेपाली राष्ट्रियताको अभिन्न अंग बनेका हुन् । अहिलेको नेपाली भाषा, खस जाति थर, भेषभुषा र संस्कृतिका अनेक आयामहरू रुपान्तरण हुँदै जीवित रहेको मान्न सकिन्छ । तथापि, कर्णाली क्षेत्रमा विद्यमान खस सभ्यताकालीन अनेकौँ पुरातात्विक तथा ऐतिहासिक धरोहरहरू उत्खनन् र अध्ययनको अभावमा लोप भइरहेका छन् । समृद्ध समाजमा सरकारी तथा प्राज्ञिक संस्थाहरूले यस्ता अवशेषहरुलाई महत्व दिएर संरक्षण र संवर्द्धन गर्छन् । नेपालमा पनि आधुनिक विज्ञान र प्रविधिको उपयोग गरी नयाँ पद्धतिबाट खस सभ्यताको अनुसन्धान गर्न सके नेपाली इतिहास लेखनमा नयाँ आयाम थप्न सकिन्छ ।
स्रोत सन्दर्भ :
१. Sharma, Amit KUmar. “Elements of Indian Civilisation: A Sociological Perspective.” Indian Anthropologists, vol33, no.1, 2003.
२. Nicolash Hagger, The Rise and Fall of Civilizations: Why Civilizations Rise and Fall and What Happens When They End,2008.
३. https//www.bbc.com/article/2010-218-are-we-pn-the-road-to-civilisation-collaspse (Luke Kemp).
४. प्रा.डा. सूर्यमणि अधिकारी, खश साम्राज्यको इतिहास, २०६१
५. www.nationalgeographich.org
६. डा. विदुर चालिसे प्राचिन अभिलेखिय नेपाली भाषाका विशेषताहरू, प्राचिन नेपाल, अंक १७९
७. Surya Man Adhikari, “The Khas Kingdom- a trans-himalayan empire of Middle age,1988.
८. Susanne von der Heide “linking routes from the silk road through Nepal- the ancient passage through Mustang and its importance as a Buddhist cultrual landscape” ARchi-Cultural Translations through the Silk Road 2nd International Confernce, Mukogawa Women’s Univ, Nishinomiya Japan, July14-16, 2012, Proceedings.
९. Michel Hutt, Nepal- A guide to art and architecture of the Kathmadnu Valley.
१०. मोहनबहादुर मल्ल, कर्णाली प्रदेशका पाल
११. तेजबहादुर कार्की, मष्टो संस्कृति ऐतिहासिक एवम् सांस्कृतिक अध्ययन, २०७५
१२. Prayagraj Sharma, Preliminary study of the ARt and ARchtitecture of the Kranli Bassin, WEQm Nepal,1972.
१३. Barry C Bishop, Kranli Under Stress: Livelihood Strategies and Seasonal Rhythms in a Changing Nepal HImalaya,1990.
(प्रस्तुत लेख नेपाल, वर्ष-५०, अंक-५, पूर्णाङ्क २३२, चैत/वैशाख, २०७७-२०७८मा प्रकाशित छ ।)
लेखक परिचयः माधव चौलागाँई कर्णालीको इतिहास, संस्कृति, समाज विज्ञान, विकास र जनस्वास्थ्यका मुद्दाहरुमा अध्ययन र विश्लेषण गरी राष्ट्रिय मिडियामा लेख्छन् । उनले थाईल्याण्डको चुलालोंंगकोर्न विश्वविद्यालयबाट जनस्वास्थ्य विषय तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् । उनी कर्णाली प्रदेश, जुम्ला जिल्ला, तातोपानी गाउँपालिका, लाम्रा गाउँका बासिन्दा हुन् ।