बुधबार , अषोज २, २०८१

राजा त्रिभुवन जन्माउने सेतो गणेश र सेता मुसाहरू !

उक्त मूर्तिलाई घर लागि धनको भकारी भित्र लुकाएर राख्दा भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किंवदन्ती छ ।

image

नेपाललाई मन्दिर नै मन्दिरको देश भनिन्छ ।  काठमाडौँमा हामी हिँड्ने सडक, गल्ली, चिया खाने पसल जहाँ पनि केही न केही मन्दिर या  मूर्ति हुन्छन् ।  हामीले मूर्तिहरूका संरचना, स्थिति र इतिहास बारे खासै  चासो राखी रहेका हुँदैनौँ ।  हामी कुनै मन्दिर गएर पूजा गरिरहेका हुन्छौँ तर त्यो मन्दिरको इतिहास र महत्त्वको बारेमा खोज्ने, बुझ्ने प्रयास गरिरहेका हुँदैनौँ ।

एक दिन म प्रज्ञा प्रतिष्ठानको विपरीततिर पर्ने चिया पसलमा बसेर चिया पिउँदै थिएँ । छेउमा असरल्ल रुखका काटिएका हाँगाहरू थिए । मैले यसो आँखा उठाएर माथितिर हेरेँ । बडेमानको रुख थियो । म कति पटक त्यही ठाउँमा बसे तर यो रुखलाई नियालेकै रहेनछु । मैले रुखलाई हेरिरहेको देखेर चिया पसलको आमा सिता राना मगरले छेउमै आएर भन्नु’भो, ‘मसलाको रुख हो नानी यो ।’

सेतो शरीर, हरिया पात, ठुला ठुला हाँगा । भुईँमा असरल्ल भएको त्यो हाँगा त उसैका रहेछन् । अघिल्लो साँझ त्यो ठुलो हाँगा खसेछ । ‘ठुलो पानी पर्‍यो, हामी पनि भर्खरै भित्र पसेका थियौँ । एक्कासि आवाज आयो, यत्रो ठुलो हाँगो पो खसेछ ।’ आमाले आफैँ सुनाउन थाल्नु’भो ।

२ सय वर्ष पुरानो रुख

हामीले त्रिचन्द्र क्याम्पसको साइडबाट कमलादी सडक हुँदै हिँडिरहँदा दाहिनेतिर एउटा पोखरी, एउटा मन्दिर र चिया पसलहरू र एउटा रुख देख्छौँ । काठमाडौँको मध्य  भागमा त्यत्रो ठुलो रुख सायदै देख्न पाइएला । हामीलाई सामान्य लाग्ने त्यो रुख रुख मात्रै होइन्, इतिहास पनि हो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञदेखि कुलपतिहरू, लेखक, बैङ्कका कर्मचारी लगायत हजारौँ मान्छेलाई गर्मीमा छायाँ र झरीमा ओत दिएको उक्त रुख अब भने समस्यामूलक बन्न थालेको छ ।

लामो समयदेखि सोही स्थानमा चिया पसल गरेर बसिरहेका ७८ वर्षीय बुवाका अनुसार त्यो रुख लगभग २०० वर्ष पुरानो हो । जमिनबाट माथि फर्किएर उक्त रुखलाई हेर्ने हो भने शिरको टोपी नै खस्छ । तर अब त्यो रुखबाट खस्ने हाँगाहरूले आसपास बस्नेहरूलाई भने सारै पिरोलेको छ । “बरु खुकुरी घाँटीमा राखेर सुत्न सकिन्छ तर यो रुखको छेउमा बस्न सकिन्न भन्न दिन आयो  । कुन दिन कुन हाँगो झर्छ, कसलाई लाग्छ के के हुन्छ भन्न सकिन्न,” राना भन्छिन् ।

आजकल रुखकै मुनि लगभग ५० देखि ६० वटा सेता मुसाहरू पनि बस्दा रहेछन् । ती मुसाहरू केही समय अघि छेउकै गणेश मन्दिरमा बस्थे तर कुकर र बिरालोले ती मुसाहरूलाई हैरान गरेकाले तिनीहरू रुख तिर सरेको हुनसक्ने स्थानीयहरू बताउँछन् । तपाई जति बेला पुगे पनि ती मुसाहरू रुखकै आसपास खानेकुरा खोज्दै हुन्छन् ।

ती मुसाहरूले माटो खनेर रुखकै फेद मुनि बस्छन् । रुखको हाँगो खस्ला की भन्ने डर त भइहाल्यो, मुसाले भित्र भित्रै माटो खनेर रुख निकै कमजोर पो भएको छ  की भन्ने डर पनि स्थानीयलाई छ ।

रुख वरपर लगभग १०० वर्ष पुराना घर छन् । रुखकै छेउमा सेतो मछिन्द्रनाथको रथ राख्ने गरिन्छ । त्यहाँ सेतो गणेशको मन्दिर हुनु र सेतो मछिन्द्रनाथको रथ हुनुमा भने केही किम्बदन्तीहरू छन् । तर त्यहीँ आएर सेता मुसाहरू बस्नु भने अचम्मकै कुरा हो ।

खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति

सेतो मछिन्द्रनाथको रथ चैतमा निकालिन्छ । अरु समयमा भने त्यो रथ त्यही हुन्छ ।

धेरै समय पहिले  एक दिन जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लागि धनको भकारी भित्र लुकाएर राख्दा भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किंवदन्ती छ ।

रुखकै छेउमा राखिएको सेतो मछिन्द्रनाथको रथ

आजकल पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगर परिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ ।

सेतो गणेशको दर्शानार्थ हरेक मङ्गलवार भिड लाग्ने गरेको छ

 खेतको बिचमा फेला परेका सेतो गणेश

सेतो मच्छिन्द्रनाथ र सेतो गणेशको उत्पत्तिको किंवदन्ती भने उस्तै रहेछ ।

एक दिन कमलादीमा खेतको बिचमा एक सेतो प्रस्तर फेला परेछ ।  किसानहरूले त्यसलाई गणेश भगवान् मानेर पूजाआजा गर्न थालेछन् । यसरी  जनमानसमा श्रद्धा र आस्था बढ्दै गयो । भक्तहरू हरेक मङ्गलवार भिड लाग्न थाले । त्यसपछि उनीहरूले ती गणेश काठमाडौँ उपत्यकाका पीठहरूका विनायक हुन् भन्ने थाहा पाएछन् । र राजा राजेन्द्र, नरसिंह, गजेन्द्र सिंह, भाजुविर सिंह आदिले मन्दिरको निर्माण गरेको मानिन्छ  ।

यस मन्दिरमा हरेक दिन जस्तो भक्तहरूको आवतजावत भई रहन्छ । तर मङ्गलवार भने यहाँ निकै भिड हुन्छ । सन्तान प्राप्तिको उद्देश्यले यस मन्दिरमा पूजाआजा गर्ने गरिन्छ । राजा पृथ्वीवीरविक्रम शाहले पनि यिनै गणेशको उपासना गरेपछि राजा त्रिभुवनको जन्म भएको विश्वास गरिन्छ । साथै, त्रिभुवनले पनि आफ्नो सन्तान हुन भन्दा अघि यही मन्दिरमा पूजाआजा गरेको भनिने गरिन्छ । त्यही समयदेखि नेपालका राजाहरूले यहाँ निरन्तर रूपमा पूजाआजा गर्दै आएका थिए ।

यस मन्दिर भित्र गणेशका आसपास विष्णु, रामचन्द्र ,माँ माया, हनुमान, मनकामना जस्ता अन्य धेरै देवीदेवताहरूको मूर्ति समेत छन् ।

मन्दिरको प्रवेशद्वारमा रहेको मुसाको प्रतिमूर्ति

मयुरमाथि आसीन गणेश

मन्दिरबाट निस्किए पछि सानो पोखरी छ । त्यहाँ एउटा अचम्मको मूर्ति छ । जहाँ सेतो गणेश मयुरमाथि खुट्टा चढाएर बसेका छन् । यसको कथन खोज्ने क्रममा एउटा रमाइलो किस्सा भेटियो । जसले कमलादी गणेशमा किन सन्तान प्राप्तिको लागि पूजा गर्छन् भन्ने विश्वासलाई पनि सायद पुष्टि गर्न सक्छ ।

१६ औँ शताब्दीमा पुणेको मोरगाउँ भन्ने बस्तीमा मोरया गोसावी नामक व्यक्ति थिए । उनका आमाबाबु (वामन भाट र पार्वती बाई) कर्नाटकबाट महाराष्ट्र गएका थिए । वामन भट्ट गणपत्य सम्प्रदायका थिए । हिन्दु धर्म चार सम्प्रदायमा विभाजित छ । यिनीहरूमध्ये शैव र वैष्णव प्रख्यात छन् भने शाक्त र गणपत्य अलि कम ज्ञात छन् । नामबाटै अनुमान लगाउन सकिन्छ, यी सम्प्रदायहरू क्रमशः शिव, विष्णु, शक्ति र गणपतिका उपासक हुन् । गणपत्यहरू गणेशलाई सर्वोच्च शक्ति मान्छन् र उनीहरूले त्रिपुरासौर-वधको पौराणिक कथा उद्धृत गर्छन्, जहाँ शिवले पिता भएर पनि युद्ध अघि गणेशको पूजा गरेका थिए ।

मोरगाउँ समय अवधिमा गणपत्यहरूको केन्द्रबिन्दु थियो । वामन भाट र पार्वती बाई सबै मोरगाउँमा सर्नुको कारण पनि यहि  थियो । तर मोरगाउँलाई पहिले मोरगाउँ किन भनियो ? मोरगाउँको शाब्दिक अर्थ हो- “मयूरको गाउँ ।” यो ठाउँ मयूरले भरिएको थियो । गाउँमा रहेको गणेश मूर्तिलाई मयुरेश्वर पनि भनिन्थ्यो जुन “मयूरको भगवान्” हो ।

गणेश पुराणका अनुसार गणेशले सिन्धु नामक दानवलाई मार्न मयूरमा चढेका थिए । मोरगाउँमा उही मयुरेश्वर अवतार देख्न सकिन्छ, जसलाई मोरेश्वर पनि भनिन्छ । यो पनि भनिन्छ कि मोरेश्वरको पूजा गरेपछि मात्र वामन र पार्वतीले बच्चाको वरदान पाएका थिए ।उनीहरुले उनको नाम मोरया राखे । मोरया सानैदेखि गणेशभक्त थिए । उनी थेउर गएर पनि गणेशको आराधना गरे, यतिसम्म कि उनले वास्तवमा उहाँको ईश्वरीय उपस्थिति महसुस गरे । त्यसबेलादेखि उनलाई ‘मोरोबा गोसावी’ वा केवल ‘मोरया’ भनिन्थ्यो ।

पोखरीछेउ मयुरमाथि खुट्टा चढाएर बसेका सेतो गणेश

बोरोमाले वेद-वेदाङ्ग, पुराण, उपनिषदको गहिरो अध्ययन गरे । उनले पुणेको पवन नदी नजिक चिन्चावाडमा आश्रम बनाए । उनको आश्रममा समर्थ रामदास र सन्त तुकारामलाई पनि भेट्ने गरेको किंवदन्ती छ । मोरयाको पालादेखि नै गणेश चतुर्थी पर्व मोरगाउँ गणेश मन्दिरमा भक्तिपूर्वक मनाइन्छ । मोरेश्वर अष्टविनायक यात्राको पहिलो प्रस्थान बिन्दू पनि हो । पार्वती र वामन भाटले गणेशको पूजा गरेर मोरया जन्मेको घटनाबाट प्रभावित भएर नेपालमा पनि मयुरमाथि बसेका गणेशको मूर्ति बनेको हुनसक्छ । सोही मिथलाई आधार मानेर नेपालका राजाहरूले सन्तान प्राप्तिको लागि सोही ठाउँमा पूजा गर्न थालेका पो थिए की ?

काठमाडौँको मध्य भागमा रहेको उक्त रुख, मन्दिर, मछिन्द्रनाथको रथ, सेता मुसाहरू सँगसँगै उक्त ठाउँमा अन्य धेरै मूर्तिहरू पुराना घर पनि छन् । आजकल त सोही रुखबाट अगाडितिर फर्किएर हेर्ने हो भने रुख जत्रै अग्लो भ्यु टावर पनि बन्दै छ । भ्यू टावर बनाउन खर्च गर्नु भन्दा यस्ता पुराना रुखहरू जोगाउन पहलकदमी चाल्नु अत्यावश्यक कुरा हो !

त्यहाँ भएका सबै घरहरू गुठीको हो । सोही पसल अघिका बुढानीलकण्ठ लगायतका मूर्तिहरू भने असन आसपास बस्ने नेवार समुदायको कुल देवताहरू हुन्  । त्यहाँ धेरै वर्ष पहिले एउटा इनार पनि थियो, ढुङ्गे धारा पनि थियो । स्थानीयले बताए अनुसार उक्त धारामा नक्साल, मैतीदेवी देखि मान्छेहरू नुहाउन, लुगा धुन आउँथे । आजकल त्यो ट्याङ्की र धारा दुवै प्रयोगमा आइरहेका छैनन् ।

ढुंगेधाराको पुनर्निर्माण भइरहेको छ । उक्त मन्दिर आसपास धेरै ऐतिहासिक सम्पदा, हिटीहरू छन् । अहिले सोही स्थानमा भजन घर र सत्तल समेत पुनर्निर्माणको अवस्थामा छ  ।

विस्तारै सबै चिज सामान्य भएपछि मन्दिरमा झन् भक्तहरूको घुइँचो लाग्ने पुजारी र मन्दिर हेरचार समितिको विश्वास छ ।

ढुंगेधाराको पुनर्निर्माण भइरहेको छ

अब तपाई पनि त्यो बाटो ओहोरदोहोर गर्दा मछिन्द्रनाथको रथमाथि नाचिरहेका मुसाहरू, ठुलो सेतो रुख, मयुरमाथि बसेका गणेश, सत्तल  आदिको अवलोकन गर्न नबिर्सिनु होला है त ।

अझै अर्को कुरा, बिहान साँझ त्यो बाटो बेस्सरी बाईक कुदाउनु हुन्छ भने अबबाट विचार गर्नुस् है, मुसाहरू त्यही बाटोबाट मन्दिर र रुख ओहोरदोहोर गरिरहेका हुन्छन् ।

आखिर जीवन त जीवन हो नि..! मुसाको भए पनि मान्छेको भए पनि !

मन्दिर र रुख वरपर दौडिरहने सेता मुसा

सम्बन्धित समाचार