अधिकांश विद्यालयहरूले जङ्क फुडलाई स्कूलभित्रका क्यान्टिनमा खुलेआम भित्र्याउन दिइएको पाइन्छ । यो डरलाग्दो अवस्था हो ।
– केआर पाण्डुलिपि
भोक लागेकै हो र ? नास्ता के खाने त ? – म:म, चाउचाउ ? कि चाउमिन ? या पिज्जा, बर्गर, बिस्कुट ?
पूर्व तयारी अवस्थामा रहेको वा छिटो र छरितो रूपमा तयार गर्न सकिने तथा मीठो, पिरो, अमिलो स्वादयुक्त यस्ता खाद्य खुराकको दिनानुदिन प्रयोग बढ्दो छ । कोही किन जङ्क फुडको दिवाना भइरहेको छ ? जङ्क फुडको लागि मरिमेट्ने गर्दैछ ? तपाईंलाई पनि सोधौँ, तपाईंले पछिल्लो हप्तामाको खाद्य खुराकमध्ये अधिकांश खाना जङ्क फुड नै थियो, होइन ? तपाईं हरेकपटक आफ्नो थालीमा जङ्क फुडलाई किन निमन्त्रणा दिनुहुन्छ ? दिँदै आउनुभएको छ ?
तपाईंलाई भनिहालौं, यसरी तपाईंले खानेकुराको प्रमुख विकल्पको रूपमा जङ्क फुड देखा पर्नुको मुख्य कारण यस्ता परिकारको सर्वत्र उपलब्धता तथा यी परिकार माथि हुने ब्रान्डिङ्ग र विज्ञापनहरू नै हुन् । टिकटक या इन्स्टाग्राम पोस्ट हेरेर तपाईं कतिपटक यस्ता खाद्य खुराक चाख्न वसन्तपुर/पाटन या पोखरा दौडिने गर्नुभएको छ ?
जङ्क फुड के हो ?
जङ्क फुडलाई नेपालीमा ‘पत्रु खाना’ भनिन्छ । सामान्य अर्थमा बुझ्ने हो भने पूर्ववत् तयारी अवस्थामा राखिएका वा तत्कालै तयार गर्न मिल्ने, जिब्रोलाई ट्वाक्क स्वाद दिने प्याकेटका वा प्याकेट बाहिरका खानेकुरा नै जङ्क फुड हुन् । दैनिक खाद्य पदार्थमा पौष्टिक तत्त्व कम भएका, सजिलो-सस्तो मूल्यमा उपलब्ध हुन सक्ने, सहज रूपमा उपभोग गर्न सकिने, रासायनिक तत्त्व मिश्रण गरी बनाइएका कमसल खाद्य एवम् पेय पदार्थलाई पत्रु खाना भनिन्छ। जस्तै: चाउचाउ, बिस्कुट, चकलेट, म:म, चाउमिन, चिसो पेय पदार्थ (कोको, फेन्टा, फ्रुटी) आदि।
जङ्क फुडको प्रयोग बढ्नुको कारण
छिटो र सजिलो रूपले बनाउन सकिने तथा पूर्व तयारी अवस्थामा नै पाइने वा जिब्रोलाई स्वाद दिने क्षमता भएकाले यस्ता खानेकुरा व्यक्तिको रोजाइमा पर्छन् । यी खाना व्यक्तिको रोजाइमा पर्नुको अर्को कारण भनेको पत्रुखानाको सर्वत्र उपलब्धता र विज्ञापन नै हो ।
उदाहरणका लागि :
“भोक लाग्यो ? भोक लागेमा प्रीति खाऊ । प्रीति तयारी चाउचाउ ।”
“चाउचाउ रारा मीठो भन्छन् सारा । रारा तयारी चाउचाउ ।”
“कोरियन स्वादको हट स्पाइसी 2 Pm चाउचाउ; हट एण्ड स्पाइसी आ…….. हाSS”
“पेप्सी-स्वादले पिऊ मजाले जिऊ ।”
“रेड बल- इनर्जी ड्रिङ्क्स ।”
श्रव्य-दृश्य स्रोतहरू मार्फत् अटुट रूपमा देखिने र सुनिने यस्ता विभिन्न स्लोगनले भरिएका विज्ञापनले गर्दा आमसर्वसाधारणको खाद्य सम्बन्धी मनोविज्ञान उथलपुथल भइसकेको र भइरहेको छ । यसरी क्रमशः सर्वसाधारणका मनमस्तिष्कमा जङ्क फुड सम्बन्धी नयाँ अवधारणा विस्तारै स्थापित गराउँदै लगिन्छ । चर्चित सेलिब्रेटी तथा प्रतिष्ठित व्यक्तिहरूलाई पत्रु खानाको विज्ञापनमा सामेल गराई ‘पत्रु खाना उत्कृष्ट हो’ भन्ने भ्रम छरिन्छ। अनमोल के.सी.ले ‘मुड फ्रेस गरिदिन्छ’ भन्दै चिसो पेय पदार्थ स्प्राइटको मोडेलिङ गरिरहँदा के.सी.का फ्यानहरूले स्प्राइट खानु उत्कृष्ट हुने ठहर गर्छन् । राजेश हमालले ‘मानसिक वृद्धि हुने’ भन्दै रियल जुसको बारेमा बोल्दा मानसिक वृद्धि हुने आशमा घरको दूध बेचेर गाईभैंसी पाल्ने किसानहरू फ्रुटी किन्न थाल्छन् । अनुप विक्रम शाहीले ‘डरको अगाडि जित छ, माउन्टेन डिउ पिऊ’ भन्दै बाइक उडाउँदा डिउले त आत्मविश्वास दिँदो रहेछ भन्नेबुझेर डिउ सेवन गर्न थाल्छन् । केएफसी (KFC) को चिकन लेग पिसको फोटो कुनै सेलिब्रेटीले सामाजिक सन्जालमा शेयर गरेको भरमा थुप्रै मान्छे केएफसी (KFC) पुग्छन् ।
यस्ता थुप्रै विज्ञापनहरू दिनहुँ छापा, अनलाइन, टी.भी जस्ता ठूला मिडियामा छाइरहन्छन् भने बजार तथा बाटोहरूमा हाई हेलो गर्न आइरहन्छन् । जसले गर्दा आम व्यक्तिको मानसिकतामा असर पर्छ नै र उसले यी पत्रुखाना स्वास्थ्यबर्द्धक ठान्दछ र प्रयोग गर्न तथा गराउन लगाउँछ । यस्ता विज्ञापनले कसरी आम मानिसको मानसिकता परिवर्तन गराउँछन् भन्ने गतिलो उदाहरण हो- ‘कोकाकोला’, ‘क्याडबरी’को विज्ञापन । कोकाकोलाको विज्ञापन जब शुरु हुन्छ, तब चाडपर्व, नातासम्बन्ध जोड्ने कडीको रूपमा कोकाकोला प्रस्तुत गरिन्छ ।
रिसाएकी दिदीलाई फकाउन ‘दिदी, मेरो नजीकको साथी’ लेखिएको कोकाकोला दिए खुशी हुने प्रसङ्ग देखाइन्छ । यसरी आममानिस यो बुझ्छन् कि कोकाकोला त सम्बन्ध बचाउने तथा शरीर बनाउने पेय पदार्थ रहेछ । अनि उनीहरू कोकाकोला पिउँछन् । यस्ता हजारौं विज्ञापन छन्, जसले आम मानिसलाई जङ्क फुड सेवनमा अभिप्रेरित गरिरहेको छ । यसप्रकार पत्रुखानाको विकास र प्रयोग बढ्न पुगेको छ । घरमा डाइना (ठेला) मकै खान नमान्नेहरू बजारमा पपकर्न खान पुग्ने अवस्थाको सृजना विज्ञापनकै कारण भएको हो।
जङ्क फुड र मोटोपनको सम्बन्ध
जङ्क फुडको लेबलमा न्युट्रिशनको नालिबेली लेखिएको हुन्छ । त्यो सबै लेखिएको तत्त्व उक्त कुरामा हुन्छ/हुँदैन त्यो खाद्य प्रयोगशालाले जाँच्ने कुरा भयो । तर, जङ्क फुडमा हुने अत्यधिक क्यालोरी, निम्नस्तरको कार्बोहाइड्रेड तथा गुणस्तर नभएको चिल्लो पदार्थले हामीलाई भित्रभित्रै हानि पुर्याइरहेको हुन्छ । हामीले खाएको जङ्क फुड हाम्रो शरीरमा पुगी पाचन हुने प्रक्रिया चल्दछ । जङ्कफुडमा हुने अत्यधिक क्यालोरी र काब्रोहाइड्रेटलाई हाम्रो शरीरले प्रयोग गर्न सक्दैन र शरीरमा उक्त कार्बोहाइड्रेट बोसोको रूपमा जम्मा भएर बस्न थाल्छ । यसरी बोसो जम्मा हुँदा व्यक्तिमा मोटोपन बढ्न पुग्दछ भने शरीरमा आवश्यक पर्ने अन्य पोषण तत्त्वको विस्तारै अभाव हुन थाल्छ ।
जङ्क फुडको धेरै सेवन गर्दा पेट तथा पाचन प्राणालीमा समस्या देखिन थाल्दछ, अपच हुने, खाना खान मन नलाग्ने, जुका पर्ने जस्ता समस्या देखिन थाल्दछन् । साथै, रक्ताल्पता हुने, हड्डी कमजोर हुने, मानसिक तथा शारीरिक विकासमा अवरोध आउने वा तिब्र विकास हुने समस्या देखिन्छ ।
के हो त मोटोपन ?
मोटोपन वा मोटोपनालाई अङ्ग्रेजीमा ‘अबेसिटी (Obesity)’ भनिन्छ, शरीरमा अत्यधिक रूपमा शारीरिक सेतो बोसो एकत्रित भएर मोटाउँदै जाने अवस्थालाई मोटोपन भनिन्छ । यसले स्वास्थ्यमा हानिकारक प्रभाव पार्न थाल्दछ । यसरी अनवश्यक रूपले बढ्दै गएको बोसोले व्यक्तिको आयु समेतलाई घटाउन सक्छ ।
वर्तमानमा मानिसको मोटोपनलाई शरीरभार सूचकांक बीएमआई (BMI) द्वारा नाप्ने प्रणालीको विकास भएको छ । मानव भार र लम्बाइको अनुपात नै बीएमआई हो । जब २५ कि.ग्रा./मी.२ र ३० कि.ग्रा/मी.२ का बीच रहन्छ, तब मोटोपन सामान्य स्थितिमा रहेको बुझिन्छ भने जब बी.एम.आई ३० कि.ग्रा/मी.२ भन्दा जति अधिक हुन्छ, उति नै अत्यधिक मोटोपन भएको निष्कर्ष निकालिन्छ ।
मोटोपनको प्रमुख कारण अत्यधिक क्यालोरी भएका खाद्यपदार्थको सेवन, शारीरिक क्रियाकलापको अभाव, आनुवांशिकीको मिश्रण हुन सक्छ । पछिल्लो समय मोटोपनको प्रमुख एक कारण पत्रु खाना (junk food) अत्यधिक सेवन रहेको छ भने आलस्य जीवनशैली पनि त्यसका लागि उत्तिकै जिम्मेवार छ ।
मोटोपन सम्बन्धी केही तथ्यांक हेरौँ,
आँकडाहरू बताउँछन् कि सन् २०१७/१८ मा संसारका १४.५ प्रतिशत पुरुष र १३.५ प्रतिशत महिलाहरू मोटोपनको शिकार थिए र तिनको बीएमआई ३० भन्दा अधिक थियो । सन् २,००० का आँकडा हेर्दा त्यस समय ६.७ प्रतिशत पुरुष र ७.९ प्रतिशत महिलाहरू मोटोपनको शिकार थिए । प्रशान्त महासागरका द्वीपीय देशहरूमा मोटोपन संसारमै सबैभन्दा अधिक छ र जहाँ बी.एम.आईको औसत ३४ देखि ३५ का बीच छ । यो दक्षिण-पूर्वी एशियाका देशहरू र अफ्रीकी देशहरूको तुलनामा ६५ प्रतिशत भन्दा बढी हो ।
संसारमा मोटोपनको सम्बन्ध आयसँग पनि रहेको छ र अधिक आय भएका देशहरूमा मोटोपन अधिक बढेको छ । वर्ष १९८५ देखि २०२० का बीच विकसित देशहरूमा सबैभन्दा अधिक बी.एम.आई अमेरिकामा बढ्यो । यसका पछि महिलाहरूमा क्रमशः न्यूजील्याण्ड र अस्ट्रेलियाका महिलाहरू आउँछन् । साथै, पुरुषहरूको मोटोपनको अवस्था हेर्दा अमेरिकाका पछि सबैभन्दा अधिक मोटोपन ब्रिटेन र अस्ट्रेलियामा पाइएको छ । पश्चिमी यूरोपका केही देशहरूमा मानिसहरूले आफ्नो बी.एम.आईको स्तर यथावत् राख्न सफल भएको देखिन्छ । लक्जेम्बर, बेल्जियम, फिनल्यान्ड, फ्रान्स, इटली, स्विट्जरल्याण्ड जस्ता देशमा महिलाहरूका बीएमआईमा कुनै बढोत्तरी भएको देखिँदैन । नेपालमा भने मोटोपनको बारेमा खासै अध्ययन नभए पनि पत्रु खाना र क्यालोरियुक्त खानाको प्रभावका साथै आलस्य जीवनशैलीकै कारण विद्यालय उमेरका बालबालिकामा मोटोपन बढिरहेको छ भने वयस्क एवम् वृद्धमा मोटोपनमा यो संख्या अझ बढ्दै छ ।
मोटोपनले के रोगसँग पनि सम्बन्ध राख्दछ ?
विभिन्न अध्ययनका आधारमा हेर्दा मोटोपनले धेरै रोगहरूसित प्रत्यक्ष सम्बन्ध राख्दछ, जस्तै हृदय रोग, मधुमेह, निद्राकालीन श्वासप्रश्वासका समस्या, धेरै प्रकारका क्यान्सर र अस्टियोआर्थ्राइटिस, थाइराइडको समस्या तथा मानसिक समस्या ।
के हो त मोटोपनको कारण ?
मोटोपनका धेरै कारण हुन सक्छन् । जसमध्ये यी कारणहरू प्रमुख मानिन्छन् :
– मोटोपन र शरीरको वजन बढ्नु क्यालोरीको सेवन र क्यालोरीको उपयोग (burn) का बीच असंतुलन हुनु ।
– अधिक पत्रु खाना तथा बोसोयुक्त आहारको सेवन गर्नु ।
– कम शारीरिक व्यायाम गर्नु र आलस्य जीवनशैली अपनाउनु।
– असन्तुलित व्यवहार र मानसिक तनावको असरले मोटोपन बढ्न सक्दछ।
– सन्तुलित आहारको उचित प्रयोग नहुनु ।
मोटोपन कसरी घटाउन सकिन्छ ?
मोटापा घटाउनका लागि क्यालोरियुक्त खाना, पत्रु खानाको सेवन कम गर्ने तथा नियमित शारीरिक कसरत र व्यायाम गर्ने गर्नु पर्दछ । अन्य उपायलाई यसरी हेर्न सकिन्छ;
– जंक फुडको प्रयोग घटाउने
– चिलो र बोसोयुक्त खाना कम खाने,
– फलफूल र सागपातको अधिकतम प्रयोग गर्ने,
– फाइवर रेशायुक्त खाद्य पदार्थको सेवन अधिकभन्दा अधिक गर्ने, जस्तै अन्न, चना र अंकुरित चना, फलफूल, सागपात ।
– शरीरको वजनलाई संतुलित राख्नका लागि प्रतिदिन व्यायाम कसरत गर्ने।
– नियमित उपवास बस्ने
– धुम्रपान, मद्यपानको सेवन नगर्ने
– तनाब, चिन्ता जस्ता मानसिक समस्यालाई नियन्त्रण गर्ने,
अन्ततः मोटो शरीर हुनु ‘स्वस्थ हुनु’ होइन । मोटो हुनु ‘लज्जाको विषय’ पनि होइन । तर, यो पक्का कुरा हो कि मोटोपन नै स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको छ । भुँडी बढेकै भरमा नेता वा कर्मचारी ठान्नुले उनीहरूमा आलस्य जीवनशैली र अत्यधिक क्यालोरीयुक्त खानाको प्रयोग गर्ने तथा व्यायाम नगर्ने आदत भएको दर्शाउछ । तसर्थ, मोटोपन सामाजिक सम्पन्नता नभई रोगको कारक हुने हुँदा यसलाई निरुत्साहित गर्न व्यक्तिगत तरवरले नियमित ख्याल गर्ने, सन्तुलित भोजन ग्रहण गर्ने तथा शारीरिक व्यायाम गर्ने गर्नु पर्दछ । विद्यालय उमेरका बालबालिकालाई मोटोपनबाट बचाउन परिवारले जिम्मेवारी लिन जरुरी छ।
जङ्क फुडको प्रयोग बालबालिकामा बढ्नु खतराको संकेत
यसरी हेर्दा, जङ्क फुड मोटोपनको एक कारकको रूपमा विकास हुँदै गएको देखिएको छ । जङ्क फुडको प्रयोग बालबालिकामा बढ्दै जानु एक खतरापूर्ण सङ्केत हो । बालककालदेखि नै शरीर अवाञ्छित रूपले मोटो हुँदै गयो भने त्यसले भविष्यमा कुन रूप लिग्ला ?, सोच्नुपर्ने भएको छ । केही विद्यालयहरूले जङ्क फुडको विरोध गरे पनि कतिपय विद्यालयहरूले जङ्क फुडलाई स्कूलभित्रका क्यान्टिनमा खुलेआम भित्र्याउन दिइएको अवस्था छ । ती विद्यालयका क्यान्टिनमा चाउमिन, म:म, चिसो पेय पदार्थ, बर्गर तथा एउटै तेलमा पाकेका विभिन्न प्रकारका खाद्य पदार्थ स्कूलका विद्यार्थीलाई धमाधम बेचिरहँदा विद्यालय प्रशासन मौन बस्नु गलत हो ।
कतिपय त जङ्क फुड भनेको चाउचाउ र बिस्कुट मात्रै हो कि भन्ने गलत सोचाइका कारण अलमलमा परेको पनि देखिएको छ । तसर्थ, विद्यालय, अभिभावक तथा व्यक्तिले जङ्क फुड निरुत्साहित गर्नका लागि जङ्क फुडका बारेमा विस्तृत जानकारी राख्नु र त्यसको प्रयोग कम गर्नु आवश्यक छ । जङ्क फुडको तुलना घरमा उत्पादिन खाने कुरा नै उत्तम हुने कुरामा विभिन्न विद्वानका भनाईमा पंक्तिकार पनि सहमत छ ।