शुक्रबार , अषोज २५, २०८१

ढिच्क्याऊ: माग्नेले ‘माग्न पाइँदैन’ भनेछ !

पशुपतिनाथसँग वरदान, दक्षिणकालीसँग भाकल, जिसससँग कुनै रोगको उपचार, बुद्धसँग नेपालको नागरिकता माग्लाऊ नि मगन्तेहरू ! त्यो भन्छन् नि गोपाल नेपालले ‘नियम कडा छ !’

image

भर्खरै, आजभोलि, अचेल, हालसालै, अहिले माग्न नपाउने नियमको हल्लाले बजारमा सबैको ध्यान मागिरहेको छ । यसले सबैभन्दा बढी यो देशसँग यति, त्यो देशसँग त्यति माग्छु भन्नेको निद हराम गर्ने भयो । ए अँ, साँच्ची चन्दन घस्नेले माग्न पाउने रे ! अब तिनीहरू चन्दन घसेर विभिन्न देशअघि कमण्डलु थाप्लान् कि अरू केही थाप्लान्,  त्यो उनीहरूको कुरा हो ।

चुनाव नजिक आउँदै छ, अब व्यापारीहरूसँग पनि माग्न नपाइने भयो, जसले यो नियम चाँडै खारेज हुने केही मान्छेको भावना, सम् भावना देखियो । कि त खरानी घसेर, गेरु लुगा लगाएर नाङ्गिन जानु पर्‍यो, होइन भने मासु भात घिचाउने पैसा रोकिने भयो । भिक (भिख) मागेर चलाउनेलाई गाह्रो हुने भयो ! चाहे यो पार्टी होस्, सरकार होस्, घर होस् या देश । लौ न कस्तो विपद् आइलाग्यो ? हुन त लाज पचाएर, कानुन मिचेर माग्नेहरूकै हालीमुहाली भएको देशमा यो नियम आउनु/नआउनुले केही फरक या जामा या पाइन्ट पार्छ जस्तो लाग्दैन । माग्नुलाई नै पेसा बनाएकालाई गाह्रो छैन, बाध्यताले माग्ने बनेकालाई साह्रो हो । किनभने पेसा नै यही भएकालाई पैसा नै यही हो ।

अब छिमेकीसँग नुन, तेल, बेसार, या एक बटुको तरकारी माग्न नपाइने भयो । सापटी दिएकाले फिर्ता माग्न नपाउने भए, लिन चाहने नयाँ ऋणीको बाटो पनि बन्द भयो । टेक अ डाइभर्सन है सोल्टा/सोल्टीहरू !! वर्षौँदेखि कसैलाई मन पराई रहेका प्रेमीले मायालुको हात, खुट्टा या सम्पूर्ण प्रेमिका माग्न नपाउने भए । चन्दन या खरानी घसेर गए अझ जोगी भन्लान्, खेदाउलान् भन्ने पिर भयो । तिमीहरू प्राप्ति नै प्रेम होइन भनेर चित्त बुझाओ !

एकछिन अरूको डटपेन, वाइफाईको पासवर्ड, पढिरहेको पत्रिका, बाटोमा लिफ्ट-मेलो बेबीसँग गिफ्ट सबै सत्यनास पारे सत्यनासीहरूले ।  कान्छो छोराछोरीसँग पानी, अन्तिम थोपा रक्सी, एक घण्टा मेनु हेरेर म:म र म:मसँग थपी-थपी अचार सब ठ्यास्स-ठुस्स-फुस्स ।

‘यो फोटो राखेर बर्थ डे विश गर्दे न’ भन्ने शुभकामना, ‘बुवाको नाम तुलसी, आमाको नाम रिमा, छोरा/छोरीको नाम के राख्ने होला’ भन्ने प्रश्नको जवाफ, ‘लिङ्क प्लिज’ भन्दै बोकाले उत्तेजना, ‘यति पैसामा के व्यापार गर्दा ठिक होला?’ भनेर सल्लाह, सबथोक बन्द । ड्याम्म-डुम्म!! घड्याक-घुडुक!! च्वाइँ-च्वाइ चुइँ-चुइ !! ढ्याप्प !!

राम्रो नेपाली चलचित्र, राम्रो नेपाली चलचित्रलाई दर्शक, सिनेमा घरमा रुने मान्छे, नाटकको लागि पास, कलाकारको हातबाट शिलान्यास, रियालिटी सोका लागि भोट, झुर चलचित्रको लागि जनताको सपोर्ट  केही पनि, कतै पनि माग्न पाइँदैन । भन्द्याछु !

पशुपतिनाथसँग वरदान, दक्षिणकालीसँग भाकल, जिसससँग कुनै रोगको उपचार, बुद्धसँग नेपालको नागरिकता माग्लाउ नि मगन्तेहरू । त्यो भन्छन् नि गोपाल नेपालले ‘नियम कडा छ  !’

‘मागेर पाउने भए म तिम्रो लागि खुसी माग्थे’ भन्न नपाइने भयो । के रे ?! पैसा मात्र माग्न नपाउने ? ए ! भिकारीले ? ए ! भिख पो ? तर भिकारी को हो, भिख के हो ?  जसको अनुहार हर्दा पनि अब यसले केही माग्ला झैँ लाग्छ । कोही प्रेमले बोल्यो भने यसले के फुत्काउन लाग्यो भन्ने डर लाग्छ ।

कर्मचारीहरू यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट यो कोठा कुदाउँछन् र सुटुक्क थाप्छन् सिल्भरको बटुको । गुन्डाहरूको उस्तै छ हालत, मागेरै खान परे के गुन्डा बनेको होला ? नेता ?! नेताले गर्दा त झन् अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइ सके । पहिला देशमा अलिअलि पैसा थियो, यतैबाट काम चल्थ्यो । काम चल्न छोडेपछि विदेशी अनुहार ताक्नै पर्‍यो । देशको नाम राख्नै पर्‍यो !

टिकटकमा ‘एले बिलाई बिले एलाई, बि,ले एलाई एले बिलाई’ भन्दै माग्ने डिजिटल मगन्ते । भगवान्को नाम लिँदै घर-घरमा आउने फिजिकल मगन्ते ।  युट्युबबाट अरूको दुःख देखाएर माग्ने साइकोलोजिकल मगन्ते । घर-घरमा, मान्छे-मान्छेमा, अनुहार-अनुहारमा रहेका छन् मगन्ते । म आफ्नै अनुहारमा पनि भेट्छु कसैको केही आसमा बसिरहेको एउटा दुखी आत्मा ।

ए ! असहायहरूले मात्र हो, माग्न नपाउने ? मलाई थाह छैन उनीहरूको आँखामा गरिब नै किन बिझाउँछ ? आँखा धेर सफा भएर होला । खैर यहाँ देशै असहाय छ, अरू अब के भनौँ ? बरु मलाई यो प्रभुहरूको लीला देखेर एउटा कुरा नभनी भएन, ‘माग्नेले माग्न पाइँदैन भनेछ’ ।

अनि कि त्यो मन्दिर अगाडी ठुलो दान पेटिका राखिएको हुन्छ नि, के हामीले भगवान्लाई पनि..!?

सम्बन्धित समाचार