उपत्यकामा निर्वाध यताउता गरिरहेका चौँरीहरू बिचैमा फस्छन् । पछिसम्म पनि गोठालाहरूले भेट्न नसकेका ६-७ वटा भोका चौँरी हिउँमै पुरिन्छन् । यसबाट तिनका मालिकहरूलाई ९ लाख ६० हजार रुपैयाँ बराबरको क्षति हुन्छ । गोठालाहरूले अब पहिलेझैँ पारम्परिक ज्ञानका आधारमा हिमपातको पूर्वानुमान गर्नसक्ने अवस्था छैन ।
उत्तरपूर्वी नेपालको वालुङ्गका बासिन्दा हिमपातले निम्ताएको अवरोध तथा अन्य पर्यावरणीय फेरबदललाई आफ्ना अनैतिक क्रियाकलापले निम्त्याएको दैवी प्रतिशोधको प्रमाणका रूपमा लिन्छन् ।
“अस्ति बिहान आकाशमा राताराता बादल थिए”, वालुङ्गमा चौँरी चराउने काम गर्दै आएकी पेम्बा भुति शेर्पा भन्छिन्, “भोलि हिउँ पर्नसक्छ ।”
हामीसँग कुरा गर्दा हिउँ पर्ने अड्कल काट्दै उनी उपत्यकाको उपल्लो भेगमा छरिएर चर्दै गरेका आफ्ना चौँरीका बथान सम्झिरहेकी थिइन् । आकाश फाट्नुअघि चौँरीलाई तल नझारे उनी तिनीहरूबाट सम्पर्कविहीन हुनेछिन् । हिउँको बाक्लो च्यादरमुनि घाँस पुरियो भने चारा नपाएर चौँरीहरू भोकभोकै मर्नेछन् । आकाशले देखाएको लक्षण देख्दा पक्का हिउँ पर्ने जानेर पेम्बा चौँरी बटुल्नतिर लाग्छिन् । चरिरहेका चौँरीहरूलाई डाक्न थाल्छिन् ।
तर, भोलिपल्ट हिउँ पर्दैन । अन्ततः डिसेम्बर २९ का दिन जब हिउँ पर्छ, तब लाग्छ कि मानौँ भएभरको सबै हिउँ एकैचोटी ओइरियो । केही घण्टामै हिउँको तीन फिट अग्लो चाङ लाग्छ- हिउँ नपरेको प्रत्येक महिनाको सट्टा एक-एक फिट परेजस्तो । पेम्बा सानी छँदा सेप्टेम्बर देखि नै हिउँ पर्न सुरु हुन्थ्यो ।
हिउँको भार थेग्न नसकेर एउटा घरको छानो भत्किएपछि गाउँलेहरू आआफ्ना घरका छानाबाट हिउँ सोहोर्न थाल्छन् । अघिल्ला वर्षहरूमा एकै वर्षमा ६ देखि ७ पटकसम्म यसो गर्नुपर्थ्यो तर, अचेल हिमपात पातलिँदै गएकाले यस्तो कहिलेकाहीँ मात्र हुन्छ ।
अनियमित हिमपातले निम्त्याउने विनाश
अप्रत्याशित हिमतुफानले गर्दा गोठालाहरूमा आघात पुग्छ । अघिल्लो दिनसम्म मौसम पुरै सफा थियो, हिउँ पर्ने कुनै छाँटकाँट थिएन । आकाशमा देखिने हिमपातका पारम्परिक सूचकमध्ये एक ‘गुजिग’ त्यो रात देखिएको थिएन । गुजिग आकाशका ताराहरूबिच बेरिएको जस्तो देखिने, बादलको मधुरो घेरा (रेशा) हो । यसरी बिना कुनै सङ्केत नै हिउँ परिदिन्छ । उपत्यकामा निर्वाध यताउता गरिरहेका चौँरीहरू बिचैमा फस्छन् । पछिसम्म पनि गोठालाहरूले भेट्न नसकेका ६-७ वटा भोका चौँरी हिउँमै पुरिन्छन् । यसबाट तिनका मालिकहरूलाई ९ लाख ६० हजार रुपैयाँ बराबरको क्षति हुन्छ ।
गोठालाहरूले अब पहिलेझैँ पारम्परिक ज्ञानका आधारमा हिमपातको पूर्वानुमान गर्नसक्ने अवस्था छैन ।
यस्ता घटना पेम्बाका लागि कुनै नौला हैनन् । दुई वर्षअघि अचानक आएको विनाशकारी हिउँले उनका ९० वटा जब्बर चौँरीको बथान आधा बनाइदिएको थियो । यसबाट उनलाई लाखौँ रुपैयाँ घाटा भएको थियो ।
इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ICIMOD), काठमाडौँमा ‘कञ्चनजङ्घा ल्यान्ड्स्केप इनिसिएटिभ’ नामको एउटा संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालनमा छ । कार्यक्रमका अध्यक्षसमेत रहेका तासी दोर्जेका अनुसार, तलको कथा वालुङ्गको व्यथासँग मिल्दोजुल्दो छ । गत वर्ष हिउँदमा भुटानमा उत्पात हिउँ पर्दा सयौँ चौँरी मारिएका थिए । उता, उत्तरी सिक्किमतिर पनि हिमपातका कारण मारिएका चौँरीहरूको सङ्ख्या ३०० भन्दा माथि थियो । वनस्पति परिवर्तन, रोगव्याधि अनि पानीको अभावले गर्दा पहिलैदेखि सास्ती खेप्दै आएको पूर्वी हिमाली भेगमा अनियमित हिमपात हुँदा त्यहाँका मूल्यवान् पशुचौपायाको मृत्युको अन्तिम घण्टी बनेर आइरहेको छ ।
“गोठालाहरूले अब पहिलेझैँ पारम्परिक ज्ञानका आधारमा हिमपातको पूर्वानुमान गर्नसक्ने अवस्था छैन”, दोर्जी भन्छन्, “पुस्तौँदेखि चल्तीमा रहेका जैविक एवम् खगोलीय विधिहरू जलवायु परिवर्तनको चपेटामा परेर हराउँदै गइरहेका छन् ।”
पृथ्वीका अन्य स्थानको तुलनामा हिमालयतिर जलवायु परिवर्तन तीव्र गतिमा अघि बढिरहेको छ । यही प्रवृत्ति कायम रहने निश्चित छ । अन्यत्र औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित रहेता पनि हिमालयतिर भने थप ०.३ डिग्रीले बढ्ने आंकलन गरिएको छ । हिमाली क्षेत्र उसै पनि अन्य क्षेत्रभन्दा बढी पारिस्थितिक संवेदनशीलता भएको क्षेत्र हो । थोरै मात्र तापक्रम वृद्धिबाट पनि उच्च हिमाली भेगमा पर्यावरणीय वितण्डा मच्चिनुलाई जलवायु वैज्ञानिकहरू आश्चर्यको विषयका रूपमा लिँदैनन् । वालुङ्गका कतिपय वासिन्दाका लागि भने पर्यावरणमा देखापरेको परिवर्तनको कारण स्पष्ट छ, यो परिवर्तन ‘कावा न्याम्पा’ अर्थात् नराम्रो घडीको आगमनको सङ्केत हो भन्ने उनीहरूको विश्वास छ ।
जलवायु परिवर्तन अर्थात् दैवी प्रतिशोधको अर्को रूप
बौद्ध समुदायको बाहुल्यता रहेका हिमाली क्षेत्रहरूमा त्यहाँको परिदृश्यमा स्थानीय देवीदेवता एवम् आत्माहरूको वास रहेको जनविश्वास व्याप्त छ । मानिसका क्रियाकलापहरूबाट रुष्ट भएर तिनले प्रतिशोधका लागि यस्तो भयावह मौसमको सिर्जना गर्छन् । मानवशास्त्रीद्वय टोनी हुबेर र पौल पेडरसनले यस प्रक्रियालाई ‘द तिब्बेतियन मोरल क्लाइमेट’ नाम दिएका छन् । यसका अनुसार मौसमले मानिसका क्रियाकलाप अनुरूपको विशेषता देखाउँछ ।
सुमेरु तथा प्रशान्त टापुमा बसोबास गर्ने केही आदिवासी समुदायमा पनि यस्तै किसिमको मान्यता रहेको छ । नेपालमा बाढीले वितण्डा मच्चाउँदा होस् वा पोलिनेसियामा समुद्रले बालुवा बगाउँदा, वर्षौँदेखिको निरन्तर हरितगृह ग्याँस उत्सर्जनको यस्ता असरहरू देखेर विश्वका तमाम अति असुरक्षित समुदाय आफूले भगवानलाई कतिसम्म क्रोधित बनाइएको रहेछ भनेर सोच्न बाध्य भएका छन् । त्यसो त कसैकसैले सबै दोष साथीभाई, इष्टमित्रमाथि थोपरेर आफू उम्किन खोजेको पनि देखिन्छ ।
यसै लेखको सिलसिलामा हामीले अन्तर्वार्ता लिएका वालुङ्गका केही स्थानीय धर्मबाट विश्वास उठ्दै जानुलाई नै कावा न्याम्पाले निम्त्याएको सामाजिक एवम् पर्यावरणीय क्षतिको मूल कारक मान्छन् । आँधी आउन थाल्दा कसैकसैले चिया र नौनीको धुप हाल्छन् । यसलाई ‘झसुमसु’ भनिन्छ र यसले गाईवस्तुको रक्षा गर्ने मान्यता छ । तर, अन्य केहीलाई भने यस चिन्ताले सताउँछ कि मान्छेको मनभित्र खोट भएर उत्पन्न भएको यस्तो परिस्थितिसामु बाहिर धुप हल्लाएर केही लाग्दैन ।
दिउँसै बत्ती गएर अँध्यारो भएको घरभित्र आगो फुक्दै गरेकी ५८ वर्षीया एकल महिला याङ्चेन शेर्पाका अनुसार, पछिल्लो केही समययता देखिएको जलवायु परिवर्तन पक्कै पनि कावा न्याम्पाकै सङ्केत हुनुपर्छ । “मलाई थाहा छैन, यसलाई कसरी व्याख्या गरौँ ? उहिले-उहिले हामीकहाँ ठिक समयमा हिउँ पर्थ्यो, पानी पनि ठिक समयमै पर्थ्यो अनि आकाश प्राय सफा नै रहन्थ्यो, तर आजकल हिउँ विरलै पर्छ अनि पानी परेको पर्यै गर्छ”, उनी भन्छिन् । धेरैबेर चुप लागेर फेरि बोल्छिन्, “अब समय फेरियो, मान्छे फेरिए । राम्रा मान्छे जति सबै मरिसके ।”
परिवर्तन,अशुभ संकेत
वालुङ्गवासीहरूले जलवायु परिवर्तनलाई सधैँ प्रकोपका रूपमा मात्र हेर्दैनन् । इको-सिस्टम नै तहसनहस पार्ने गरी हिमाली भेगका जैविक विविधता मासिँदै गइरहेको अवस्थामा पनि मानवीय क्षति भने भइहाल्दैन ।
एकजना गोठालाका अनुसार जलवायु परिवर्तनले केही हदसम्म उनीहरूको दैनिकीलाई सजिलो पनि बनाउँछ । पहिलेजस्तो भारी हिमपात नहुनाले घरमा पालेका वस्तुको रेखदेख गर्न सजिलो हुने उनी बताउँछन् । न्यानो मौसममा पशुको चाराको खर्च पनि बच्छ किनकि जमिनमा हिउँ नहुँदा वस्तुहरूलाई चर्न पठाउन सकिन्छ ।
राडीदेखि चौँरीसम्म बेच्ने व्यापारीहरू पनि जलवायु परिवर्तनको सबल पक्षबारे चर्चा गर्छन् । ५,१३६ मिटर उचाइमा तिब्बतको तिप्तामा अवस्थित सीमा नाका पहिले सधैँ हिउँले ढाकेर अवरुद्ध हुने गरेकोमा अचेल भने वर्षभरि नै खुला रहने गरेको छ ।
जेजस्तो भएपनि समग्रमा भने वालुङ्गका स्थानीयहरू पर्यावरणीय परिवर्तनलाई नराम्रै सङ्केतका रूपमा लिन्छन् । यी परिवर्तनहरूले एक खालको असहजता महसुस गराएर जान्छन् । उनीहरूलाई यस्तो महसुस हुन्छ कि मानौँ उनीहरूले देखेको अनि चिनेको दुनियाँ उनीहरूबाट फुत्किँदै छ ।
हिमपात पहिलेजस्तो भरपर्दो नहुन थालेसँगै स्थानीयहरूको गुनासो छ कि अब पहिलेजसरी मानिसको चरित्रमा पनि भर पर्न सकिने अवस्था रहेन । मनमुटाब र नैतिक पतन आदिले गर्दा कावा न्याम्पा निम्तिएको र यसबाट भएको पर्यावरणीय परिवर्तनले गर्दा सास्ती खेप्नुपरेको छ, जसले गर्दा कतिपयले त दिक्क मान्दै आफ्नो समुदाय नै छोडेर जाने गरेका छन् ।
“राजनीतिले सबैलाई विभाजित गरिदिएको छ”, ताम्दिङ्ग ग्याल्पा शेर्पा गुनासो गर्छन्, “उनीहरू एकअर्कालाई काँग्रेस र एमालेभन्दा बढी देख्दै देख्दैनन्, वा देख्न चाहँदैनन् । यसले गर्दा वालुङ्गको माहौल बिग्रेको छ ।”
राम्रा मान्छे माथिको विश्वास कायमै छ
६५ वर्षीय पूर्व व्यापारी दोर्जी बारा आफू सानो छँदा वालुङ्गमा हिमताल फुटेर आएको विनाशकारी बाढी सम्झन्छन् । यस्ता बाढी हिमालयतिर अब सामान्य लाग्न थालिसके । पटकपटक हिमतालले बनाएको प्राकृतिक ड्यामभित्र पानी पस्दा ड्याम भत्किएर आइरहने यस किसिमको बाढी यस क्षेत्रमा जलवायु परिवर्तनको प्रतीक नै बनेको छ ।
जीवनमा व्यापक पर्यावरणीय परिवर्तनको साक्षी भइसकेका दोर्जी सम्भावित जोखिमबारे भने आशावादी नै छन् । हिउँ पग्लिएर हिमाल नाङ्गिँदै गएसँगै ऊ बेला बाढी निम्त्याएको हिमताल अहिले सुक्दै गएको छ । वालुङ्गवासी यसलाई भविष्यमा हिमताल फुटेर बाढी आउनसक्ने खतरा टरेको सङ्केतका रूपमा लिन्छन् । तर, वैज्ञानिकहरूले भने हिमालयतिर खतरा टर्नुको सट्टा उल्टो बढ्दो छ भन्दै सचेत रहन आह्वान गरिरहेका छन् ।
बौद्ध धर्मको ‘कर्मा’ नीतिमा विश्वास गर्ने दोर्जी हाम्रा नकारात्मक सोच तथा व्यवहारले नै प्राकृतिक प्रकोप निम्त्याउने मान्यता राख्छन् । तर, उनलाई आफ्नो समुदायभित्रका सफा मनका राम्रा मान्छेमा पनि विश्वास छ । यसै विश्वासले उनलाई उपत्यकामा तत्काल कुनै क्षति नहुने कुराको आश्वासन दिने गरेको छ । सावधान रहने सन्देश दिएको पारामा उनी भन्छन्, “प्रकोप निम्त्याउने-ननिम्त्याउने हाम्रै हातमा छ । हामीले नराम्रो काम गर्यौँ र प्रकोप आयो भने त्यसको दोष मैले धर्तीलाई लगाउन सक्दिनँ, न त दलाई लामालाई नै लगाउन सक्छु । त्यसको जिम्मेवार हामी नै हुनेछौँ ।”
(एलिस क्याम्ब्रिज विश्वविद्यालयमा भूगोलमा पीएचडी अध्ययन गरिरहेकी विद्यार्थी हुन् । उनी नेपालको ताप्लेजुङमा एथ्नोग्राफिक विषयको स्थलगत अध्ययन सम्पन्न गर्ने क्रममा छिन् । उनले आफ्नो अध्ययनमा दुर्गम हिमाली समुदायमा जलवायु परिवर्तनको कारण र परिणामसम्बन्धी विश्वास, नैतिक सजाय र तिब्बती बुद्धिज्मसम्बन्धमा केन्द्रित छ । द थर्ड पोलमा छापिएको यस लेखलाई निशान अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् ।)