शनिबार , अषोज २६, २०८१

ढिच्क्याऊ: आफैँलाई कनाउँदै र कोट्याउँदै

मान्छेहरू लुकिलुकी आफ्नो पाइन्ट भित्र हात पसाएर माडिरहन्छन्, सुपारीको बोक्रा । खस्रो भित्तामा चिलाएको ढाड रगडेर लिइरहन्छन्, तृप्तता । यार्सागुम्बा भेटिनुभन्दा आनन्ददायी हुन्छ नाक भित्रबाट कोट्याउँदै खोजेर निकालिएको लुड्को ।

image

खरखर खरखर !! खर्याक खर्याक !! चरचर चिरित्त !! रवाईं रवाईं !! कस्तो साङ्गीतिक लाग्छ हगी ? यी आवाजहरू । लुतो कनाउँदा, पाप्रो कोट्याउँदा, दादमा चर्चरी रगत आउनेगरि नङ्ग्रा घिसार्दा आउने यी आवाजहरू कति मनमोहक हुन्छन् । मलाई लाग्छ संसारकै सुमधुर सङ्गीत पक्कै पनि कतै कोट्याउँदै या कनाउँदै गर्दा निस्किएको हुनुपर्छ । चिलाएको ठाउँमा पाप्रा उक्किनेगरि ‘ख्वारख्वार ख्वारख्वार’ गरेर कनाउँदा जुन आनन्द आउँछ, त्यसलाई सायदै कुनै सङ्गीतले जित्नसक्छ । न त एटिएम मेसिनको खररररले, न आफ्नो प्रेमी/प्रेमिकाको ‘आई लभ यु’ले  । यिनीहरू जस्तो नक्कली हुँदैन, कनाउँदाको आवाज ।

धेरै कविले नाक कोट्याउँदै सोचेको हुनुपर्छ, आफ्नो मास्टरपिस कविताको पहिलो ड्राफ्ट । या सुन्दर डाँडामा बसेर प्रकृतिको आनन्दमा हराउँदै गरेको कविले कन्याइ गरेपछि प्रकृतिले दिएको हुनसक्छ, उसलाई त्यो कविता जसले समाजको पाप्रो निकालेर आनन्द दिएको हुन्छ । चिलाएको तल्लो गाला कनाएपछि नै लेखिएको हुनपर्छ, पुरस्कृत उपन्यासको सनसनी अन्त्य ।

मलाई थाह छैन, मान्छे खोइ किन लजाउँछ दिल खोलेर कनाउन ? आफ्नै शरीर कनाउन पनि केको धक ? यो कस्तो सिभिलाइजेसन हो, जसले आफैँभित्र भएको आनन्दलाई पनि खुलेर लिन दिँदैन ? यदि कोट्याउनु अपराध हुन्थ्यो भने सारा पृथ्वीभरिको झ्यालखाना बनाउँदा पनि सानो हुने थियो । मान्छेहरू लुकिलुकी आफ्नो पाइन्ट भित्र हात पसाएर माडिरहन्छन्, सुपारीको बोक्रा । खस्रो भित्तामा चिलाएको ढाड रगडेर लिइरहन्छन्, तृप्तता । यार्सागुम्बा भेटिनुभन्दा आनन्ददायी हुन्छ नाक भित्रबाट कोट्याउँदै खोजेर निकालिएको लुड्को । र त मान्छे त्यसलाई औँलोको टुप्पोमा राखेर बडो तृप्तताका साथ हेर्छ । आफूले औधी माया गरेको व्यक्तिलाई पनि सायद मान्छेले त्यसरी हेर्दैन । निकै नाजुकसँग डल्लो बनाउँछ र कुनै निशानेबाजझैँ अर्को औँला प्रयोग गरेर फुत्त हुर्‍याउँछ । यो सबै आनन्द प्राप्तिको प्रक्रिया कुनै पनि मेडिटेसनबाट प्राप्त हुँदैन ।

मलाई थाह छैन, संसारमा सबैभन्दा पहिलो व्यक्ति को थियो- जसलाई काछ लागेको थियो । उसले कसरी मजा लुट्यो होला त्यसमा कनाएर । मलाई लाग्छ, ऊ त्यो आनन्दले गर्दा एक पटक नाच्यो होला । सायद नाचको उत्पत्ति पनि त्यहीँबाट भयो, जसको कुनै अभिलेख राखिएन । धर्म प्रचारक जस्तै उसले सबैलाई सुनाउँदै हिँड्यो होला केही दिनसम्म, आफ्नो शरीर भित्र रहेको ईश्वरको अस्तित्व । कोही न कोही त पक्कै थियो, जसले पहिलो पटक पसायो होला आफ्नो नाक भित्र औँला । उसैले बाँड्यो होला यो दिव्य ज्ञान अरूलाई । र त आइपुगेको छ हाम्रो युगसम्म । दाद आएको ठाउँमा या चिलाइरहेको बस्ने गालामा खरखर खरखर पार्न कुन वैज्ञानिकले पुर्यायो होला पहिलो पटक आफ्नो नङ ? उसले आफ्नो यो खोज क-कसलाई कति खुशीसाथ् बतायो होला ? या स्वार्थी भएर, आँखा चिम्लिएर लिइरह्यो होला त्यसको आनन्द, निकै दिनसम्म एक्लै ।

ब्रह्माजीले सृष्टि गरेको पहिलो मनुष्यलाई लुतो आयो कि आएन होला ? चिलायो कि चिलाएन होला उसको शरीरको कुनै अङ्ग ? त्यसको पौराणिक कथन मलाई थाह छैन । या एडमले कोट्यायो कि कोट्याएन कुनै पाप्रो कतै लेखेको थाह छैन । या पहिलो सेपिएन्सले पुर्यायो कि पुर्याएन होला, आफ्नो तिघ्राको कापमा हात भन्ने पनि जानेको छैन । अनुभवले भन्ने कुरा हो । मजा आउँछ !!

राम, लक्ष्मण वनवास जाँदा कति पटक लाग्यो होला काछ गर्मीमा । तर यसको उल्लेख कतै गरिएको छैन । मोहम्मदले कति गोप्य तरिकाले सुटुक्क कनाउँथे होलान् चिलाएको ठाउँ । अहँ कतै लेखिएको छैन । ध्यान बस्दा बस्दा बुद्धको ढाड, नाक, कानमा कति पटक पुग्यो हात कसैलाई थाह छैन । जिससको झन् बिजोगै देख्छु हातमै किला ठोकिदिएका थिए, कसरी कनाउनु । भगवान् भनेर हुँदैन क्यारे !

‘बाँदरको पुच्छर लौरो न हतियार’ भने झैँ हाम्रो हातमा उम्रिरहने नङको अरू के नै पो उपयोगिता होला । ऊ बार-बार पलाएर बताइरहन्छ कि हामीले बिर्सनु हुँदैन कनाउन आफ्नो शरीर  । सुकिसकेको घाउको पाप्रो चट्टसँग उक्काउन प्रयोग गरौँ उसलाई । भन्नलाई मान्छे ‘पिसाबले एकदम च्यापेको बेला पिसाब गर्न पाउँदा चरम आनन्द आउँछ’ भन्छन् । कोही चरमोत्कर्ष समयमा स्वर्ग पुगिने गफ लडाउँछन् । कोही पैसा कमाउन पाए त कोही भाइरल हुन पाए संसारकै सुखी म हुने थिएँ झैँ गर्छन् । सायद उनीहरूले कोट्याएका छैनन् आफूलाई । चुनाव जितेर आफ्नो ठाउँलाई बेवास्ता गरिरहेको नेता झैँ थाह पाएका छैनन् या बेवास्ता गरिरहेका छन् आफ्नो शरीरको चिलाइ । एक पटक चायाले भरिएको टाउकोमा ख्वारख्वार पार्नुपर्छ । या कनाउनु पर्छ मोजा भित्र पसिनाले भिजेर सुकेको खुट्टाको औँलाको काप । कि भित्री कट्टु या इलास्टिक भएको लुगाले डामेको ठाउँमा पुर्‍याउनु पर्छ नङ । अनि बल्ल थाह हुन्छ स्वर्ग त बस मिथ्या हो ।  खरखर खरखर !! खर्याक खर्याक !! चरचर चिरित्त !! रवाईं रवाईं !! नै हो चरम आनन्द ।

‘जिन्दगीमा केही नगरे पनि एक पटक चिलाएको ठाउँमा कनाउनु’ भनेर कुनै पनि महान् व्यक्तिले भन्न बिर्सिए या तानासाही सरकारले त्यस्तो लेख्न/भन्न दिएन, मलाई थाह छैन । तर आफ्नो शरीरको चिलाएको कुनै भागमा नकनाउने मान्छेलाई नर्कमा विशेष दण्ड दिइनु पर्छ जस्तो लाग्छ मलाई । या जहन्नुममा, या हेलमा । तातो तेलमा डुबाउनु पर्छ, काँडा भएको बाटोमा हिँडाउनु पर्छ, चिलाउने दल्दिनु पर्छ र हात बाँधी दिनुपर्छ ऐजन ऐजन ।

संसारमा कनाउने र कोट्याउने समबन्धि विशेष क्याम्प राखेर यससम्बन्धी जनचेतना जगाउनु पर्छ । यसको चरम आनन्दको खुल्लम खुल्ला चर्चा गरिनु पर्छ । या अनुभव नभएकाहरूलाई एक पटक यसको स्वाद चखाउनु पर्छ । यो सबै पढ्दै गर्दा टाउको चिलायो भने कनाइ हाल्नुस् है । कि अघि पढ्दै गर्दा हात-नाक जोडिसक्नु भयो ।

खैर जे होस्, आफ्नो कनाउनुहोस् अरुको होइन ।

सम्बन्धित समाचार